१० बजे १० समाचार : ओलीलाई विदेश जान रोकदेखि एमालेको आपत्तिसम्म
सारांश
- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्रीसहित ५ जनालाई विदेश जान रोक लगाइएको छ।
- एमालेले ओलीको राहदानी रोक्का गर्ने निर्णयको विरोध गर्दै पार्टी बैठक बोलाएको छ।
- गृह मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा पक्राउ परेकालाई रिहा गर्न निर्देशन दिएको छ।
काठमाडौँ । रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा ‘१० बजे १० समाचार’ लिएर उपस्थित भएका छौँ–
१. ओलीलाई विदेश यात्रामा रोक
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकसहित ५ जनालाई विदेश जान रोक लगाइएको छ ।
ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश जान रोक लगाइएको हो ।
भदौ २३ र २४ को आन्दोलनको छानविन गर्न गठित जाँचबुझ आयोगले उनीहरूको विदेश यात्रामा रोक लगाएको आयोगका सदस्य विज्ञानराज शर्माले रातोपाटीलाई जानकारी दिए ।
२. एमालेको आपत्ति
नेकपा एमालेले अध्यक्ष केपी ओलीको राहदानी रोक्का गर्ने निर्णयलाई प्रतिशोध भनेको छ । साथै एमालेले सरकार दलहरूलाई निषेध गर्नेगरी अघि बढेको ठहर समेत गरेको छ ।
एमालेले आगामी असोज २७ देखि २९ गते बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको छ ।
३. गृहको सर्कुलर
जेनजी प्रदर्शनका क्रममा उच्छृङ्खल गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूलाई ‘स्क्रिनिङ’ गरी रिहा गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।
मन्त्रालयको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले जघन्य अपराधमा संलग्नबाहेकका प्रदर्शनकारीलाई हिरासतमुक्त गर्ने प्रक्रिया सुरु गरेको छ ।
४. एमाले बैठक थप
नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्नका लागि असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
केन्द्रीय सचिवालयको आइतबार गुण्डुमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
केन्द्रीय कमिटीका एजेन्डा तय गर्न असोज १९ र २० गते सचिवालयको अर्को बैठक काठमाडौँमा बस्नेछ ।
५. बढुवा सिफारिस
गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीको जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई बढुवाका लागि सिफारिस गरेको छ ।
६. एकीकृत समाजवादीमा असन्तुष्टि
केन्द्रीय कमिटी बैठक नबोलाई पार्टी एकताका लागि कार्यदल गठन गरेको भन्दै नेकपा एकीकृत समाजवादीको विद्रोही पक्षले पत्रकार सम्मेलनको तयारी गरेको छ ।
अध्यक्ष माधवकुमार नेपालले वरिष्ठ नेता बेदुराम भुसालको संयोजकत्वमा ३ सदस्यीय प्रमेश हमाल र प्रकाश ज्वाला सदस्य रहेको पार्टी एकता वार्ता समिति गठन गरेका थिए ।
७. मन्त्रिपरिषद्
सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएकाहरूको पहिचानका लागि परिचयपत्र दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरण गर्ने र जेनजी क्लिनिकमार्फत सहज उपचार उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।
८. हर्कको पार्टी
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
आइतबार साम्पाङले दल दर्ताका लागि निवदेन दिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
९. सेयर बजार
सेयर बजार अब एक साता नखुल्ने भएको छ । दसैँ बिदाका कारण बजार शनिबारसम्म बन्द हुने भएको हो । दसैँ सकिएपछि आगामी आइतबारदेखि मात्रै बजार खुला हुनेछ ।
१०. कांग्रेसको कुरा
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले लोकतन्त्र र देशलाई कमजोर पार्न खोज्ने शक्तिहरू सफल नहुने बताएका छन् ।
आज बिहान निजी निवास महाराजगन्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले फेरि पार्टीहरू जागरूक भएर, एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत बनाउन अघि बढ्ने बताए । कांग्रेस पुनः माथि उठ्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण