शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
जुत्ता चप्पल व्यवसाय

दसैँले जुत्ता उद्योगमा उत्साह : ७५ प्रतिशत बजार हिस्सा, तर चोरी पैठारी चुनौती

आइतबार, १२ असोज २०८२, २० : ००
आइतबार, १२ असोज २०८२

सारांश

  • नेपाल जुत्ता-चप्पलमा आत्मनिर्भर बन्दै गएको छ, दशैंमा खपत बढ्दा उद्योगी उत्साहित छन्।
  • स्वदेशी उत्पादनले बजारको ८०% हिस्सा ओगटेको छ, तर कच्चा पदार्थको अभाव र चोरी पैठारी मुख्य चुनौती हुन्।
  • चोरी पैठारीका कारण राज्यले वार्षिक ५ अर्ब ६० करोड रुपैयाँ राजस्व गुमाउँदै आएको छ, सरकारले यसलाई नियन्त्रण गर्नुपर्छ।

काठमाडौँ । नेपाल पछिल्लो समय जुत्ता–चप्पलमा आत्मनिर्भर बन्दै गएको छ । नेपाली उत्पादनले बजारमा आफ्नो वर्चस्व स्थापित गर्दै आयात प्रतिस्थापन गर्नुका साथै विदेश निर्यात समेत गरिरहेको छ । विशेषगरी दशैंको समयमा नेपाली जुत्ताचप्पलको खपतमा उल्लेखनीय वृद्धि भइरहेको छ, जसले उद्योगीहरूमा उत्साह थपेको छ ।

फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपाल (फम्यान)का अनुसार नेपाली जुत्ता–चप्पल उद्योगको वार्षिक उत्पादन क्षमता १६ करोड जोडी छ । हाल नेपाली बजारमा वार्षिक १० करोड जोडी जुत्ता–चप्पलको माग रहेकोमा नेपाली उद्योगहरूले यसको ८० प्रतिशत हिस्सा ओगटेका छन् । आगामी वर्षसम्म यो माग बढेर ११ करोड जोडी पुग्ने अनुमान छ ।

यद्यपि, कच्चा पदार्थको आयातमा समस्याका कारण उद्योगहरू पूर्ण क्षमतामा चल्न सकेका छैनन् । व्यवसायीहरूले स्वदेशी जुत्ता–चप्पलको माग बढिरहे पनि लाखौं युवाहरूको विदेश पलायनले गर्दा उपभोग गर्ने जनसंख्या घट्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

जुत्ता–चप्पलको सबैभन्दा बढी खपत दशैं, तिहार र छठ पर्वको समय (साउन, भदौ र असोज) मा हुने गर्दछ । कुल वार्षिक कारोबारको करिब ३० प्रतिशत व्यापार यसै अवधिमा हुन्छ । विगतमा दशैं–तिहारमा ४ करोड जोडी जुत्ता–चप्पल बिक्री हुने गरेकोमा यो वर्ष करिब ५ करोड जोडी पुग्ने अनुमान छ ।

फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपाल फम्यानका अध्यक्ष रुद्र न्यौपानेले चीनबाट हुने आयातमा कमी आउँदा स्वदेशी उत्पादनको बजारमा वर्चस्व बढेको बताए । उनका अनुसार चीनसँगको सीमा नाका बन्द भएपछि र नेपाली उपभोक्ताको स्वदेशी उत्पादनप्रतिको विश्वास बढेकाले अहिले ७५ देखि ८० प्रतिशत बजार हिस्सा नेपाली जुत्ता–चप्पलले ओगटेका छन् ।

rudra

अध्यक्ष न्यौपानेका अनुसार यो वर्ष उद्योगहरूबाट करिब ७ करोड जोडी जुत्ता–चप्पल उत्पादन भएको छ । दशैंमा मात्र करिब ४ करोड जोडी स्वदेशी जुत्ता–चप्पल खपत हुने अनुमान व्यवसायीहरूको छ । यद्यपि, जनसंख्या वृद्धि दर स्थिर रहेकाले समग्र खपतमा ठुलो वृद्धि नभए पनि प्रतिशतका हिसाबले नेपाली उत्पादनको बजार हिस्सा बढेको उनले प्रस्ट पारे ।

चोरी पैठारीः स्वदेशी उद्योगको मुख्य शत्रु

नेपाली जुत्ता–चप्पल उद्योगको यो सफलताका बाबजुद चोरी पैठारी प्रमुख चुनौती बनेको छ । व्यवसायीहरूका अनुसार कुल बजारको करिब ४० प्रतिशत हिस्सा चोरी पैठारी गरिएका जुत्ता–चप्पलले ओगटेको छ । यसले स्वदेशमा अरबौंको लगानी र हजारौंको रोजगारीमाथि निर्मम प्रहार गरिरहेको उनीहरूको गुनासो छ ।

गोल्डस्टार जुत्ता कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणाले चोरी पैठारीलाई नेपाली जुत्ता उद्योगको अस्तित्वमाथि नै प्रश्नचिह्न खडा गर्ने मुख्य शत्रुको संज्ञा दिइन् । खुला सिमानाका कारण भारतबाट ठुलो मात्रामा अवैध जुत्ताहरू भित्रिने गरेको उनको भनाइ छ ।

Bidushi-Rana

निर्देशक राणाका अनुसार चोरी पैठारी गरी ल्याएका जुत्तामा कुनै कर, भ्याट वा राजस्व तिर्नु नपर्ने हुँदा नेपाली उत्पादनभन्दा धेरै सस्तोमा बजारमा उपलब्ध हुन्छन् । उनले भने, ‘नेपाली उद्योगले रोजगारी दिनुपर्ने, बैंकको ब्याज, ट्याक्स, भ्याट, राजस्व तिर्नुपर्ने तर कर नतिरेको जुत्तासँग प्रतिस्पर्धा गर्नुपर्दा यो स्वस्थ प्रतिस्पर्धा हुन सक्दैन ।’ यसले इमानदार व्यवसायीहरूलाई हतोत्साहित मात्र नभई बजारबाटै विस्थापित गरिरहेको उनको भनाइ छ ।

राणाका अनुसार नेपालको कुल जुत्ता–चप्पल खपतमध्ये करिब ३० प्रतिशत नेपाली उत्पादनले धान्छ भने ३० प्रतिशत वैध माध्यमबाट आयात हुन्छ । बाँकी ४० प्रतिशत जुत्ता भने चोरी पैठारीबाट भित्रिने अनुमान छ । यसले देशलाई राजस्वमा अरबौंको घाटा पुर्‍याउनुका साथै अवैध कारोबार र कालो अर्थतन्त्रलाई प्रोत्साहन गरिरहेको छ ।

अध्यक्ष न्यौपानेले पनि चीन सीमा नाका बन्द भए पनि चोरी पैठारी पूर्ण नियन्त्रणमा आउन नसकेको र केही मात्रामा बढेको स्वीकार गरे । चोरी पैठारीका कारण नेपाली उत्पादनले बजार गुमाउनुका साथै राज्यले वार्षिक ५ अर्ब ६० करोड रुपैयाँ बराबरको राजस्व गुमाइरहेको उनले बताए । जुत्ता–चप्पलको न्यून विजकीकरण (अन्डर–बिलिङ) अर्को प्रमुख समस्याका रूपमा रहेको उनको भनाइ छ ।

यसबाहेक, उद्योगहरूले कच्चा पदार्थको अभाव, उत्पादन लागतमा वृद्धि, दक्ष जनशक्तिको कमी र ढुवानीमा समस्या जस्ता चुनौतीहरूको सामना गरिरहेका छन् । वीरगञ्ज लगायतका भन्सार नाकामा हुने चोरी पैठारी पनि उद्योगका लागि टाउको दुखाइको विषय बनेको छ ।

यी चुनौतीका बाबजुद नेपाली उत्पादनको बजार हिस्सा बढ्नु र उपभोक्ताको विश्वास जित्नु सकारात्मक संकेत भएको अध्यक्ष न्यौपानेको भनाइ छ । उनले सरकारले चोरी पैठारी नियन्त्रण गरी स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

नेपाली उद्योगीहरूले अब बजारको माग पूरा गरी विदेश निर्यात समेत गर्न थालेका छन् । नेपाली जुत्ता–चप्पल उद्योगले गुणस्तरीय र आवश्यकताअनुसार उत्पादन गरी आफ्नो विकास गरिरहेको छ । विशेषगरी २ हजारदेखि २५ सय रुपैयाँसम्मका जुत्तामा नेपालले आत्मनिर्भरता हासिल गरिसकेको छ, जसले मध्यम वर्गको आवश्यकता पूरा गरेको छ ।

कृषिबाहेक नेपालमा गार्मेन्ट र फुटवेयर क्षेत्र सबैभन्दा धेरै रोजगारी प्रदान गर्ने उद्योग हुन् । जुत्ता–चप्पल उद्योगले मात्रै ५० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ । हाल देशभर २ हजारभन्दा बढी जुत्ता–चप्पल उद्योग सञ्चालनमा छन्, जसमा ३० अर्ब रुपैयाँभन्दा धेरै लगानी भइसकेको छ ।

यी उद्योगहरूले वार्षिक ३५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने गरेका छन् । वार्षिक कारोबारको ४० प्रतिशत अर्थात् करिब १४ अर्ब रुपैयाँको व्यापार दशैंको समयमा हुने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप