शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
एमाले सचिवालय बैठक

एमालेको प्रश्न : पुराना दलहरूलाई चुनावमा जानै दिन्नौँ भन्दैछन्, यसले चुनावको सुनिश्चिता गर्छ ?

आइतबार, १२ असोज २०८२, २० : ४४
आइतबार, १२ असोज २०८२

सारांश

  • नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असोज २७ देखि २९ गतेसम्म बस्ने भएको छ, जसले राजनीतिक घटनाक्रमबारे छलफल गर्नेछ।
  • पार्टीले अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्का सिफारिसप्रति आपत्ति जनाएको छ र गृह मन्त्रालयको कदमको विरोध गरेको छ।
  • एमालेले सरकारको राजनीतिक दलहरूलाई पन्छाउने र चुनावमा जान नदिने नियतप्रति आशंका व्यक्त गर्दै, दोषीलाई कारबाहीको माग गरेको छ।

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्नका लागि असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

केन्द्रीय सचिवालयको आइतबार गुण्डुमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

केन्द्रीय कमिटीका एजेन्डा तय गर्न असोज १९ र २० गते सचिवालयको अर्को बैठक काठमाडौँमा बस्नेछ । 

उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘सम्भवत हामी चाँडै राष्ट्रिय महाधिवेशन गर्दैछौँ, केन्द्रीय कमिटीले यस विषयमा निर्णय लिन सक्छ ।’ 

अध्यक्षको राहदानी रोक्का सिफारिसप्रति आपत्ति

पार्टीले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतको राहदानी रोक्काका लागि सिफारिस गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रीय सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ । ज्ञवालीले यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामा समेत गम्भीर प्रश्न खडा गरेको बताए । 

एमालेले सरकारले राजनीतिक दलहरूलाई पन्छाउन खोजेको मात्र नभई निषेध गरेको र दलहरूलाई सम्पर्क, संवाद आदि गर्न नचाहेको देखिएको भन्दै यी सबै घटनाप्रति गम्भीर र चिन्तित भएको जनाएको छ ।

एमालेले भदौ २४ को विध्वंसकारी घटनामा संलग्न दोषीहरूलाई कारबाही अगाडि नबढाउनु भनेर गृह मन्त्रालयले नेपाल प्रहरीलाई दिएको निर्देशनप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

पार्टीका अनुसार यस निर्देशनले अपराध अनुसन्धान गर्ने नेपाली प्रहरीको कानुनसम्मत क्षेत्राधिकार माथि हस्तक्षेप गरेको छ । यसले अपराधीहरूको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनसाय बोकेको भन्दै एमालेले नेपाल प्रहरीलाई निर्बाध काम गर्ने वातावरण सुनिश्चित गर्न माग गरेको हो । 

कतिपय नेताहरूलाई भौतिक आक्रमणको धम्की दिइएको तथा ‘पुराना राजनीतिक दलहरूलाई चुनावमा जानै दिन्नौँ’ भन्दै हिँड्नेहरूका कारण सरकारको नियतमाथि एमालेले आशंका व्यक्त गरेको छ । ज्ञवालीले यस प्रकारले गराइएको चुनावले वैद्यता पाउँछ भनी प्रश्न गरे ।

बैठकले जेनजी आन्दोलनका क्रममा निधन भएकाहरूप्रति श्रद्धाञ्जलि र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

यसैगरी आन्दोलनका दोषी र तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीहको दायरामा ल्याउन पनि बैठकले माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप