बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
बजार

दसैँ बजार : भिडभाड देखिन्छ, तर व्यापार धेरै छैन (भिडियोसहित)

आइतबार, १२ असोज २०८२

काठमाडौँ । दसैँमा  काठमाडौँ उपत्यका लगायत देशका प्रमुख सहर र बजारहरूमा किनमेल गर्नेहरूको घुइँचो बढेको छ । 

दसैँका लागि लुगा-कपडा, खाद्यान्न लगायत आवश्यक सामग्री किनमेल गर्नेहरूको भीडले काठमाडौँ उपत्यकाका मुख्य व्यापारिक केन्द्र न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, महाबौद्ध, भृकुटीमण्डप, कोटेश्वर, चाबहिल, लगनखेल गुल्जार बनेका छन् । के फुटपाथ, के खुद्रा पसल, के सपिङ मल । सबैतिर ग्राहकहरूले ढाकिएका छन् । 

दसैँलाई राम्रो लगाउने र मिठो खाने चाडको रुपमा लिइन्छ । आफू र आफ्नो परिवारलाई  नयाँ  कपडा, जुत्ता-चप्पल खरिद गर्ने दसैँको परम्परा नै हो । 

हालैको जेनजी आन्दोलनको असरले अघिल्ला वर्षहरूमा जस्तो यसपालि व्यापार नभएको व्यवसायीहरू बताउँछन् । बजारमा भीड देखिए पनि त्यसअनुसार कारोबार नभएको उनीहरूको अनुभव छ । जेनजी आन्दोलनका साथै बाढीपहिरो र रसुवागढीमा आएको बाढीले व्यापारमा प्रभाव पारेको छ । 

नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवाल यो वर्ष व्यवसायीहरू दुई किसिमका समस्यामा परेको बताउँछन् । जेनजी आन्दोलनपछिको त्रास, रसुवागढीमा व्यवसायीहरूको सामान बगाउनु र तातोपानी नाका सञ्चालनमा आउन नसक्नुले दसैँ बजार निराश बनेको छ । 

‘व्यवसायीहरू समस्यैसमस्यामा हुँदा भनेजस्तो सामान बजारमा ल्याउन पाएनन् । धेरै कपडा र जुत्ताचप्पल चीनबाट आउने थियो । तर दुवै नाका अवरुद्ध हुँदा समस्या भयो,’ उनी भन्छन्, ‘नेपालमा नै जुत्ताचप्पल उत्पादन गर्नेहरूको व्यापार भने राम्रो भएको बुझिएको छ । यसलाई चाहिँ सकारात्मक रूपमा लिनुपर्छ ।‘

कटुवालका अनुसार बजारमा भीड देखिए पनि व्यापार वृद्धि भएको छैन । सक्रिय उपभोक्ता विदेश पलायन भएकाले पनि विगतको तुलनामा व्यापारमा कमी आएको उनको बुझाइ छ । 

यसपालिको दसैँमा बाढी पहिरोको असर निकै परेको छ । काठमाडौँबाट बाहिरिने राजमार्गहरू अवरुद्ध हुँदा समयमै सामान पुर्‍याउन थोक विक्रेताहरूले सकेनन् । जसले व्यापार प्रभावित बनेको छ ।

त्यस्तै,नेपाल राष्ट्रिय व्यवसायी महासंघका पूर्वअध्यक्ष कुमार कार्कीले विगतको तुलनामा ४० प्रतिशत व्यापारमा कमी आएको बताए । उनले भने,‘ जेनजी आन्दोलन र रसुवागढी बाढी, तातोपानीको पहिरोका कारण सामान आउन पाएन । त्यसले पनि बजारमा व्यापार कम छ । आन्दोलनका कारण व्यवसायीहरूमा पनि निराशा छाएको छ । बजारमा चहलपहल भए पनि व्यापार भने छैन ।’

उनले चीनबाट सामान आउन नपाउँदा स्टक  सामान भने बजारमा गएको बताए । उनले नेपालीहरूको महानपर्व दसैँमा नयाँ कपडा लगाउने र परिवारलाई दिने प्रचलन रहेकाले बजारमा किनमेलको लागि भिडभाड भने बढेको बताए ।

नेपाल व्यापार संघका अध्यक्ष हरि गौतम भन्छन्, ‘चीनतर्फका दुवै नाका ठप्प हुँदा व्यवसायीहरुले भनेजस्तो व्यापार गर्न पाएका छैनन् । बजारमा केही भीड देखिएको छ, तर व्यापार धेरै छैन । अर्बौँको सामान बाढीले बगाएको छ । त्यसको राहत कसले दिने थाहा छैन ।’ स्टक रहेका केही सामानले नै अहिलेको दसैँ धानिरहेको उनी बताउँछन् । 

कीर्तिपुरबाट भृकुटीमण्डपका दसैँका लागि लत्ताकपडा किन्न आएकी कमला श्रेष्ठ यो वर्षको दसैँमा खासै रौनक नभएको बताउँछिन् । 

‘निराशा छ तर पनि परम्परागत रूपमा दसैँ मान्नुपर्ने छ । बालबच्चाका लागि भएपनि नयाँ कपडा किन्नुपर्छ । तर पहिलाजस्तो बजारमा रौनक छैन । जेनजी आन्दोलनले गर्दा पनि होला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया