एकीकृत समाजवादीमा असन्तुष्टि : माओवादीसँगको मात्रै एकता प्रत्युत्पादक बन्ने चेतावनी
सारांश
- नेकपा एकीकृत समाजवादीको विद्रोही पक्षले पार्टी एकताका लागि कार्यदल गठनको विरोध गर्दै पत्रकार सम्मेलनको तयारी गरेको छ।
- अध्यक्ष माधवकुमार नेपालले वरिष्ठ नेता बेदुराम भुसालको संयोजकत्वमा पार्टी एकता वार्ता समिति गठन गरेपछि असन्तुष्टि उत्पन्न भएको हो।
- विद्रोही पक्षले पार्टीलाई मजबुत बनाउन केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने र बृहत् वाम एकताको पहल गर्नुपर्ने जनाएको छ।
काठमाडौँ । केन्द्रीय कमिटी बैठक नबोलाई पार्टी एकताका लागि कार्यदल गठन गरेको भन्दै नेकपा एकीकृत समाजवादीको विद्रोही पक्षले पत्रकार सम्मेलनको तयारी गरेको छ ।
अध्यक्ष माधवकुमार नेपालले वरिष्ठ नेता बेदुराम भुसालको संयोजकत्वमा ३ सदस्यीय प्रमेश हमाल र प्रकाश ज्वाला सदस्य रहेको पार्टी एकता वार्ता समिति गठन गरेका थिए ।
पार्टी एकताका लागि अध्यक्ष नेपालले ११ बुँदे सैद्धान्तिक आधार समेत सार्वजनिक गरेका थिए ।
‘वामपन्थी, कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहहरूसँग एकता वार्ता गर्नको लागि वरिष्ठ नेता डा. बेदुराम भुसालको संयोजकत्वमा वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला सदस्य रहनु भएको वार्ता टोली गठन गरिएको छ’, अध्यक्ष नेपालले भदौ १० गते जारी गरेको अपानि–५ मा भनिएको छ, ‘वार्ता टोलीले ११ बुँदे सैद्धान्तिक आधारमा छलफल गर्नेछ ।’
सचिवालय बैठकको हवला दिँदै अध्यक्षले जारी गरेको अपानि र पार्टी एकताबारे गठित कार्यदलप्रति महासचिव घनश्याम भुसाललगायतका सचिवालय सदस्यहरूले नै असन्तुष्टि जनाएका छन् ।
उनीहरूले त्यसबारे धारणा सार्वजनिक गर्न सोमबार पत्रकार सम्मेलन गर्ने तयारी गरेको बुझिएको छ ।
‘सोमबार विद्रोही पक्षले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । सोही पत्रकार सम्मेलनमा धारणा सार्वजनिक गरिनेछ’, विद्रोही पक्षका एक नेताले रातोपाटीलाई बताए ।
उपाध्यक्ष जगन्नाथ खतिवडाले वार्ता टोली गठन बृहत् वाम एकताका लागि अघि बढ्न गरिएको खुला पहलका रूपमा बुझ्नुपर्ने बताए ।
‘माओवादीसँग मात्र नभएर बृहत् वाम एकताका लागि पहल गर्न वार्ता टोली गठन गरिएको हो’, खतिवडाले भने, ‘तर माओवादी केन्द्रसँगमात्रै एकता गर्ने भनेर गरिएको प्रचार गलत हो ।’ उनले माओवादीसँग मात्र गरिने एकता प्रत्युत्पादक हुने समेत बताए ।
‘माओवादीसँग मात्र हाम्रो पार्टी एकता अहिले सम्भव छैन । किनभने त्यसले पार्टीभित्र आन्तरिक विग्रह पैदा गर्ने सम्भावना छ’, खतिवडाले भने, ‘बृहत् वाम एकताका लागि अन्य वामहरू पनि सँगै आउने, छलफल गर्ने, विचार विमर्श गर्ने, एकताको प्लेटफर्म तयार गर्ने ठुलो कम्युनिस्ट पार्टी बनाउन सकिन्छ । यो दुवै कुरालाई हेरेर हामी व्यवस्थापन गर्दैछौँ ।’
पोलिटब्युरो सदस्य अशेष घिमिरेले पार्टी एकतातर्फ नै अघि बढ्ने हो भनेपनि पहिला पार्टीलाई मजबुत बनाउनुपर्ने विद्रोही पक्षको भनाइ रहेको बताए ।
‘पहिला पार्टीभित्रका अन्तर्विरोध समाधान गर्नुपर्यो र एकमत हुनुपर्यो । त्यो धारणा बनाउन तत्काल केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्यो’, घिमिरेले भने, ‘पछिल्लो पटक जे घटना भयो र समाजले जे भनिरहेको छ यस्तो अवस्थामा समाज एकातिर पार्टी अर्कोतिर हुनु हुँदैन ।’
उनले राजनीतिक सङ्कट आएका बेला नेताहरू जनताको शरणमा जानुपर्नेमा सेनाको शरणमा पुगेको भन्दै यो अवस्था किन आयो भनेर छलफल गर्न आफूहरूले केन्द्रीय कमिटीको बैठक चाँडो बोलाइयोस् भनेर माग गरेको बताए । यो विषयमा छलफल नगरी झ्यापझुप एकता गर्दा समस्या समाधान नहुने घिमिरेको भनाइ छ ।
स्रोतका अनुसार नेताहरू घनेन्द्र बस्नेत, प्रकाश ज्वाला, जयन्ती राई, गरिमा शाह, जगन्नाथ खतिवडासहितका नेताहरू पनि केन्द्रीय कमिटीको बैठक बोलाएर मात्र एकता प्रक्रिया अघि बढाउनुपर्ने पक्षमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण