शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
व्यक्तित्व

…अनि अमेरिकाबाट नेपाल फर्किए उदयशमशेर राणा

सोमबार, १३ असोज २०८२, १४ : ४९
सोमबार, १३ असोज २०८२

सारांश

  • उदयशमशेर राणाको जीवन यात्राबारे लेखिएको छ, जसमा उनको जन्म, शिक्षा र राजनीतिक यात्राको चर्चा गरिएको छ।
  • राणा परिवारमा जन्मेका उदयले अमेरिकामा उच्च शिक्षा हासिल गरे र पछि नेपाल फर्केर राजनीतिमा सक्रिय भए।
  • उदयले आफ्नो राजनीतिक यात्रामा आत्मसन्तुष्टि पाएको र परिवारको ठूलो सहयोग रहेको कुरा बताए।

काठमाडौँ । सम्पन्न परिवारमा जन्म, अमेरिकामा पढाइ, नेपाल फर्किएर राजनीतिमा सक्रिय । उदयशमशेर राणाको जीवन यात्रा हो यो । उदय विघटित प्रतिनिधिसभामा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित थिए । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित उनी निर्वाचित भएका थिए, त्यसबेला अर्थराज्यमन्त्रीसमेत बने । उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य पनि हुन् ।

चाहेको भए उनी अमेरिकामै गुणस्तरीय जीवन बिताउन सक्थे । तर नेपाल फर्केर राजनीतिमा लाग्ने सोच र त्यसपछिको यात्रा निकै रुचिकर र प्रेरणादायी लाग्छ । 

सागर शमशेर जबरा र बृन्दा राणाको कोखबाट जन्मिएका उदयले प्ररम्भिक शिक्षा एसटी जेभियर स्कुल ललितपुरबाट लिए । त्यसपछि उच्च शिक्षाका लागि भारत र अमेरिका गए । अध्ययनका लागि नौ वर्षमै उनी नेपाल छाडेर गए । फर्किँदा २५ वर्ष उमेरका भएका थिए । ‘मैले लगभग नौ वर्षमा अध्ययनका लागि नेपाल छोडेर पच्चिस वर्षमा फर्किएँ,’ रातोपाटीसँग उदय भन्छन् । 

नेपालको सम्भ्रान्त ‘ए’ वर्गको राणा परिवारमा जन्मिएका उदयले माध्यमिक शिक्षा भारतको दार्जिलिङस्थित एसटी जोसेफ कलेज नर्थ प्वाइन्ट र उच्च शिक्षा लवरेन्स स्कुल सनवारबाट गरे । दिल्ली विश्वविद्यालय अन्तर्गतको एसटी स्टेफेन कलेजबाट आर्ट्समा स्नातक तह पास गरेका उदयले अमेरिकाको न्युयोर्कस्थित कोर्नेल युनिभर्सिटी इटहाबाट स्नातकोत्तर पूरा गरे । 

  • अध्ययनका लागि किन विदेसिए त उदय ? 

‘विदेशमा अध्ययनका लागि जाने विभिन्न कारण थिए । एउटा पञ्चायतकाल थियो । हाम्रो परिवार कांग्रेस पार्टीमा थियो,’ उदय भन्छन्, ‘कांग्रेस परिवार भरत शमशेरको भतिजा भएकाले मेरो बुवामुवालाई हामी नेपाल बाहिरै भएमा मानसिक रूपमा सजिलो भएकाले हो जस्तो लाग्छ ।’ 

जनमत संग्रहको बेला भएकाले बुबाले दार्जिलिङमा माध्यमिक तहको अध्ययनका लागि पठाएको हुनसक्ने उनको बुझाइ छ । अलि सोझै स्वभावका उदय उच्च शिक्षाका लागि दिल्ली गएपछि भने चलाख बन्न सिके । ‘कलेज दिल्ली विश्वविद्यालयको सेन्ट स्टिफेन्स कलेजमा पढें । दिल्ली अलिकति रफ सिटी हो । त्यहाँ सर्भाइभ गर्न अलिकति चलाखै हुनुपर्ने हुन्छ,’ उनी सुनाउँछन् । उदयले त्यही ‘रफ सिटी’ दिल्लीबाटै राजनीति सिके । 

दिल्लीपछि स्नातकोत्तर अध्ययनका लागि अमेरिका पुगे । त्यहाँ दुई वर्ष पढे, अर्को एक वर्ष घुमघाममा बिताए । त्यस अवधिमा आफूले अमेरिकी समाज धेरै नबुझेको उनी बताउँछन् । एक किसिमले ‘टुरिस्ट’ भएकाले त्यस्तो भएको हुनसक्ने उनको बुझाइ छ । 

‘अमेरिकामा लामो समय काम गरेर नबसेको भएर त्यहाँ आफू एउटा अतिथिको रूपमा, एउटा फरेनरको रूपमा, एउटा विद्यार्थीको रूपमा बिताएँ,’ उनी भन्छन्, ‘भित्री अमेरिकन समाजमा छिरिएन ।‘

अमेरिकामा मध्यपूर्व र उत्तरपूर्वमा पनि निकै फरक पाए ।  क्यालिफोर्निया, टेक्सस, फ्लोरिडामा अर्कै किसिमको संस्कृति पाए । त्यसैले होमोजेनियस रूपमा अमेरिका हेर्न नसक्ने उदयको अनुभव छ । 

  • किन फर्किए नेपाल ?

सामान्य नेपाली अमेरिका पुगेपछि सितिमिति नेपाल अलि चाहँदैनन् । सानैदेखि सम्पन्न जीवनशैली र अमेरिकामा पढ्दा पनि दु:ख गर्नु नपरेकाले उदयलाई जहाँ बसे पनि सहज नै हुन्थ्यो । तर उनले पढाइ सकेपछि नेपाललाई नै रोजे । 

‘साथी, परिवार जुन हाम्रो दक्षिण एसियाका नेपाल, भारतमा हुन्छ । हामी र समाजले साथी र परिवारलाई जति प्राथमिकता दिन्छौँ । त्यो अमेरिकामा पाइनँ,’ नेपाल फर्किनुको कारण खुलाउँदै उदय भन्छन्, ‘अमेरिकामा अलिकति आइसोलेसन इन्डिभिजुअलिस कल्चर छ । हाम्रो सोसल कल्चर छ । त्यसमा मलाई एडजस्ट गर्न गाह्रो भयो ।’ 

अमेरिकामा आफूले ठ्याक्कै प्रभाव पार्ने काम पनि उनले देखेनन् । अमेरिकामा आफ्ना लागि अवसर बढी थियो, तर समाज र देशलाई दिनसक्ने अवस्था हुँदैनथ्यो । त्यसै बुवा र दाइसँग सल्लाह गरेर नेपाल फर्किने निर्णय गरे । 

नेपाल त फर्किए तर उनलाई यहाँ ‘एडजस्ट’ हुन गाह्रो भयो । आफ्नै देश भएपनि सानैदेखि अध्ययनका क्रममा विदेश बसेकाले उनलाई धेरै कुरा असहज भयो । तर पछि माछाले पानी पाएपछि पौडिन सजिलो भएजस्तै उनी पनि अभ्यस्त हुँदै गए । 

‘मलाई सबैभन्दा ठुलो समस्या स्वास्थ्यमा नै भयो । पेट दुख्ने, खाना नपच्ने हुन्थ्यो । त्योभन्दा व्यावहारिक रूपमा अरुलाई जस्तो अप्ठ्यारो भएन,’ उनी सुनाउँछन् ।  

उनको बालापन आम नेपालीको भन्दा फरक तरिकाले बित्यो । आर्थिक रुपमा कुनै अप्ठ्यारो परेन, तर स्कुल जाँदा पकेट मनी भने अरुको जति नै हुन्थ्यो । आमाबुवाले ‘कन्ट्रोल’ले खर्च पाउँथे । 

‘धेरै खर्च गर्न पाउँदैनथेँ । खान मन लागेको पाउँथेँ तर जथाभावी गर्न पाउँदैनथेँ । अर्कोतर्फ सानो उमेरदेखि नै बुवाले हामीलाई विदेश समय–समयमा घुमाउन लैजानुहुन्थ्यो । धेरै कम मान्छे अमेरिका, युरोप घुम्न पाउने बेलामा हामी घुमिसकेका थियौँ । घुम्न जाँदा हामीलाई बुबाले एजुकेसन ट्रिप जस्तो बनाउनुहुन्थ्यो,’ उनी सुनाउँछन्, ‘म्युजियममा लग्नुहुन्थ्यो । विभिन्न ठाउँमा लगेर त्यहाँको इतिहासबारे पढाएर भिजिट गराउनुहुन्थ्यो ।‘

सानोमा बुवाआमाले कहिल्यै पुलपुल्याएर हुर्काएनन् । ‘अनुशासित हुने, अध्ययन गर्ने, बुझ्नुपर्ने, मान्छेको भावना के हुन्छ भन्ने कुरा जहिले पनि हाम्रो प्राथमिकतामा पर्‍यो । म अमेरिका गएर बस्दाखेरि लाइफस्टाइल हाम्रो थिएन । साधारण हुन्थ्यो । किनभने बुवामुवाले मलाई सीमित पैसा पठाउनुहुन्थ्यो,’ उनी भन्छन्, ‘म धनी परिवारमा जन्में पनि हाम्रो दृष्टिकोण चाहिँ केही हदसम्म समाजवादी नै थियो । त्यही कारणले नेपाल फर्केर बस्न सहज भयो होला ।‘ 

  • राजनीतिले दियो आत्मसन्तुष्टि  

उदय राजनीतिले आफूलाई आत्मसन्तुष्टि दिएको बताउँछन् । तर चित्त बुझेसम्म राजनीतिको बाटोमा दौडिनुपर्ने उनको तर्क छ । 

‘मलाई मेरो निर्वाचन क्षेत्रमा, मेरो जिल्लामा राम्रै माया उहाँहरुले  गर्नुभएको छ । मेरो सबैभन्दा ठुलो स्याटिसफ्याक्सन त्यही हो,’ उनी भन्छन् । 

राजनीतिक यात्रामा अरुले धिक्कार्ने गरी कुनै काम गरेजस्तो नलाग्ने उनी बताउँछन् । ‘मलाई आजको दिनसम्म सायद कमै व्यक्तिले धिक्कार्छन् होला, खत्तम छ, नराम्रो छ, फटाहा छ भन्लान् । मलाई मन नपराउने मान्छे पक्कै पनि यो देशमा र मेरो निर्वाचन क्षेत्रमा छन् । तर मलाई थुथु दुरदुर गर्ने मान्छे चाहिँ सायद सीमित रूपमा होलान्,’ उनी भन्छन्, ‘त्यसलाई नै म उपलब्धि मान्छु ।’ 

कुनै दिन परिस्थिति नै बिग्रिएर यो मान्छे ठिक छैन भन्ने भयो भने बाटो मोड्न पनि तयार रहेको उदय बताउँछन् । 

उदय आफू यहाँसम्म आइपुग्न आफ्नो परिवारको ठुलो देन रहेको बताउँछन् । ‘अहिलेसम्म म जुन बाटोमा दौडिएको छु । त्यो बाटोमा धेरै उथलपुथल भए । धेरैचोटि निराश पनि भइयो,’ उनी सुनाउँछन्, ‘तर एउटा मसँग जस्तो ठुलो शक्ति धेरै कम मान्छेसँग हुन्छ । जुन शक्ति मेरो परिवारको ब्याकअप हो । मेरो बुवा, मुवा, श्रीमती, दाइ, दिदी, भतिजहरू, सासूससुराको सपोर्ट हो ।‘

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप