बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रविधि

प्रविधिले सिर्जना गरेको ‘लुइस अर्थतन्त्र’ : अब सहरभित्रै असीमित रोजगारी

मङ्गलबार, १४ असोज २०८२, २० : ००
मङ्गलबार, १४ असोज २०८२

सारांश

  • सञ्चारकर्मी निरोजन खड्काले जागिरे जीवन त्यागेर युट्युब च्यानल सुरु गरेका छन्, र राम्रो आम्दानी गरिरहेका छन्।
  • काठमाडौँलगायतका सहरहरूमा स्वरोजगारीका नयाँ अवसरहरू बढिरहेका छन्, जसमा राइड सेयरिङ, अनलाइन मार्केटिङ, र कन्टेन्ट क्रिएसन मुख्य छन्।
  • अर्थशास्त्रीहरूका अनुसार, डिजिटल प्रविधिको प्रयोगले शहरमा स्वरोजगारका अवसरहरू बढेका छन्, र अब बेरोजगार भएर बस्नुपर्ने अवस्था छैन।

काठमाडौँ । निरोजन खड्का (नाम परिवर्तन) पेसाले सञ्चारकर्मी हुन् । जीवनका झण्डै दुई दशक आधार दर्जन बढी मिडिया हाउसमा रहेर पत्रकारिता गरेका उनीसँग लेखन, वाचन र प्रस्तुतीकरणको राम्रो खुबी छ । तरजागिरे जीवनदेखि वाक्क लागेपछि अहिले उनी आफैँले युट्युब च्यानल सञ्चालन गरेका छन् । 

उनी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग अन्तर्वार्ता लिन्छन्, आम चासो र जिज्ञासा समेटेर भिडियो बनाउँछन् । करिब तीन लाख सब्सक्राइबर रहेको उनको च्यानलले अहिले उनलाई जागिरे जीवनको भन्दा बढी आर्जन भइरहेको छ । 

निरोजन भन्छन्, ‘जुनसुकै रुपमा पनि मान्छे सक्रिय भइरहन्छ । मेरो सक्रियता पनि पहिले र अहिले उत्तिकै छ । तर पहिलेको मिडिया हाउसले बनाएको नियम अनुसार चल्नुपर्थ्यो, अहिले आफ्नै नियम अनुसार चल्न पाइन्छ । कमाइ एकनास हुँदैन, अहिले त फेसबुक पनि मनिटाइज भयो, आम्दानी बढ्न सक्छ ।’

रियान सुब्बा राइड सेयरिङ चालक हुन् । पाँचथरबाट काठमाडौँ आएका उनी अहिले स्नातक तह अध्ययन गर्दैछन् । विदेश जाने तयारीका लागि उनी भाषा कक्षा पनि लिँदै आएका छन् । दैनिक खर्च चलाउन राइड सेयरिङको काम गर्दै आएको उनी बताउँछन् । 

काठमाडौँलगायत मुख्य सहरहरुमा अहिले हजारौँ संख्यामा त्यस्ता मानिसहरू छन्, जसले स्वरोजगारीका यस्तै नयाँ अवसरलाई सदुपयोग गरिरहेका छन् ।

‘म राति राइड सेयरिङको काम गर्छु, राति काम गर्दा जाम हुँदैन, कहिलेकाहीँ अफलाइन गर्न नि पाइन्छ । दिउँसो पढ्छु, खर्च पनि चलेको छ । भयो भने विदेश जान्छु, भएन भने यतै ब्याचलर्स सकाउँछु, अनि के गर्ने सोच्नुपर्ला,’ उनी भन्छन् । 

एउटा प्रतिष्ठित व्यापारिक कम्पनीमा काम गर्दै आएकी अनुष्का श्रेष्ठ अहिले अन्योलमा छिन् । भदौ २४ गतेको जेनजी आन्दोलन भएको आगजनीपछि उनी अहिले काममा गएकी छैनन् । ‘अहिलेसम्म अफिसले केही भनेको छैन,’ उनी भन्छिन्, ‘जागिर गयो भने अब अनलाइन मार्केटिङतिर लाग्नुपर्ला । साथीसँग यस्तै सल्लाह भइरहेको छ ।’

यी त केही प्रतिनिधि उदाहरण हुन् । काठमाडौँलगायत मुख्य सहरहरुमा अहिले हजारौँ संख्यामा त्यस्ता मानिसहरू छन्, जसले स्वरोजगारीका यस्तै नयाँ अवसरलाई सदुपयोग गरिरहेका छन् । खासगरी मोबाइल तथा इन्टरनेटको पहुँच भएका र सामाजिक सञ्जाल राम्रोसँग चलाउन जान्ने व्यक्तिको रुचिमा यो पेसा रहने गरेको देखिन्छ । 

रोजगारीको सन्दर्भमा लुइसको अर्को व्याख्या छ । सहरी अर्थतन्त्रले आफूलाई आवश्यक जनशक्ति ग्रामीण अर्थतन्त्रबाट आपूर्ति गर्छ ।

सन् १९५० को दशकमा प्रसिद्ध अर्थशास्त्री विलियन आर्थर लुइसले द्वैध अर्थतन्त्रबारे व्याख्या गरेका थिए । उनका अनुसार ग्रामीण अर्थतन्त्र प्राथमिक वस्तुको उत्पादनसँग सम्बन्धित हुन्छ । ग्रामीण अर्थतन्त्रले जमिनबाट उत्पादन हुने कृषि तथा खानीजन्य वस्तुको उत्पादन गर्छ । त्यसलाई सहरी अर्थात् औद्योगिक अर्थतन्त्रमार्फत प्रशोधन वा तयारी गरिन्छ । त्यसले दुई अर्थतन्त्रबीच वस्तु, सेवा, स्रोतसाधन र जनशक्तिबीचको एउटा ‘सर्कुलर फ्लो’ तयार हुन्छ ।

रोजगारीको सन्दर्भमा लुइसको अर्को व्याख्या छ । सहरी अर्थतन्त्रले आफूलाई आवश्यक जनशक्ति ग्रामीण अर्थतन्त्रबाट आपूर्ति गर्छ । यसरी आपूर्ति सहज किन हुन्छ भने सहरी अर्थतन्त्रको ज्यालादर ग्रामीणको भन्दा धेरै हुन्छ । जब सहरमा रोजगारी घट्छ, मान्छे फेरि गाउँमै गएर खेतीकिसानी गर्छ भन्ने मान्यता उनको थियो । 

अर्थशास्त्री लुइसको करिब ७० वर्षअघिको यो व्याख्या विकसित देशमा धेरै परिवर्तन भइसकेको छ । खासगरी कृषिको व्यवसायीकरण भएपछि अहिले यो व्याख्याले धेरै हदसम्म काम गर्न छोडेको छ । तरनेपालजस्तो अर्थतन्त्रमा भने यो व्याख्या अझै सान्दर्भिक नै देखिन्छ । पछिल्लो समय वैदेशिक रोजगारीको ट्रेन्डले केही फरक अभ्यास देखिएपनि सहरमा रोजगारी गुमाएपछि गाउँ फर्किने चलन नेपालका लागि नौलो होइन । 

अर्थशास्त्री दिलनाथ दंगाल पछिल्लो समय सूचना प्रविधि क्षेत्रको बढ्दै गएको प्रयोगले सहरभित्र यस्ता स्वरोजगारीका विभिन्न अवसर खुल्दै गएको बताउँछन् ।

तरपछिल्ला वर्षमा भित्रिएका स्वरोजगारीका नयाँ अवसरले भने रोजगारीको अवस्थालाई समेत परिमार्जन गर्दै गएको देखिन्छ । माथिका उदाहरणजस्तै सहरी क्षेत्रका केही त्यस्ता स्वरोजगारीका अवसर सिर्जना भएका छन् । जसले असीमित रोजगारीलाई स्वीकार गर्न सक्छ । यसले सहरी बेरोजगारीको बदला सहरमै अवसरको अवस्था सिर्जना भएको अर्थशास्त्रीहरू बताउँछन् ।

अर्थशास्त्री दिलनाथ दंगाल पछिल्लो समय सूचना प्रविधि क्षेत्रको बढ्दै गएको प्रयोगले सहरभित्र यस्ता स्वरोजगारीका विभिन्न अवसर खुल्दै गएको बताउँछन् । यसले कुनै पनि रोजगारी वा पेसामा आवद्ध भएका व्यक्तिको जागिर गुम्यो भन्दैमा परम्परागत रुपमा गाउँ फर्किनुपर्ने वा सहरमै बेरोजगार भएर बस्नुपर्ने अवस्था अब नरहेको उनको भनाइ छ । पछिल्लो समय फस्टाउँदै अर्थतन्त्रको यो महत्त्वपूर्ण हिस्सा भएको उनको भनाइ छ । 

  • कुन क्षेत्रमा कति छ अवसर? 

डिजिटल प्रविधिमा आधारित तथा छोटो अवधि काम गर्ने तथा अस्थायी प्रकृतिका यस्ता अवसर तथा रोजगारी सिर्जना गर्ने अर्थतन्त्रलाई ‘गिग अर्थतन्त्र’ भनिन्छ । सुरुमा छोटो समयको कामलाई जनाउने यो शब्दको प्रयोग अहिले व्यापक ढंगबाट गर्न सुरु गरिएको छ । 

नेपालमा राइड सेयरिङ, कन्टेन्ट क्रिएसन, फुड डेलिभरी, इमार्केटिङदेखि सफ्टवेयर निर्माण तथा अन्य सूचना प्रविधिसम्बन्धी सेवालाई ‘गिग’ अर्थतन्त्रको हिस्सा मानिन्छ । यो पेसामा पछिल्लो समय युवादेखि वयस्क पुस्तासम्मको आवद्धता बढ्दै गएको बताइन्छ । 

यो क्षेत्रमा कति व्यक्ति आवद्ध छन् भन्ने सम्बन्धमा यकिन तथ्यांक नभएपनि केही अध्ययनले यससम्बन्धी अनुमान गरेका छन् । एचआरएम नेपालको एउटा तथ्यांक अनुसार अहिले राइड सेयरिङमा मात्रै झण्डै १ लाख २५ हजार व्यक्ति आवद्ध रहेको र १० लाखभन्दा धेरैले यसको प्रयोग गर्ने गरेका छन् । अहिले पठाओ, इन्ड्राइभ, याङ्गो, सहारा एप, सजिलो एप, ट्याक्सीमाण्डू, जुमजुम लगायत राइड सेयरिङ एप बढी प्रचलनमा छन् । 

त्यस्तै, अनलाइन फुड डेलिभरीमा पनि अहिले आकर्षण बढ्दो छ । यो सेवामा अहिले नै १० हजार भन्दा धेरै व्यक्ति रोजगारीमा रहेको अनुमान गरिएको छ । फुड डेलिभरीका लागि अहिले फुडमाण्डु, पठाओ फुड, भोजजस्ता एप्लिकेसनहरू छन् । 

सूचना प्रविधि (आईटी) क्षेत्रको शिक्षा हासिल गरेका युवापुस्ताले त अहिले आफ्नै एप्लिकेसन तथा सफ्टवेयरहरू बनाउने काम समेत गर्दै आएका छन् ।

त्यस्तैयुबट्युब, फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालको प्लेटफर्मका लागि कन्टेन्ट क्रिएसन गर्नेको जमात पनि अहिले ठुलो छ । भ्लगर तथा कन्टेन्ट क्रिएटर समेत गरी दशौं हजार व्यक्ति यसमा आवद्ध रहेको देखिन्छ ।

पछिल्लो समय सामाजिक सञ्जालकै प्रयोग वा आफ्नै अनलाइन प्लेटफर्ममार्फत इमार्केटिङ गर्ने चलन समेत बढ्दै गएको छ । खासगरी कपडा, जुत्ताचप्पल, खेलौनादेखि, गिफ्टदेखि सेकेन्डह्यान्ड वस्तुसम्म बिक्रीमा समेत यस्तो प्लेटफर्मको प्रयोग हुँदै आएको देखिन्छ ।

सूचना प्रविधि (आईटी) क्षेत्रको शिक्षा हासिल गरेका युवापुस्ताले त अहिले आफ्नै एप्लिकेसन तथा सफ्टवेयरहरू बनाउने काम समेत गर्दै आएका छन् । यसमध्ये कतिपय व्यावसायिक रुपमा हुँदै आएको छ भने कतिपयले भने फ्रिलान्सरको रुपमा समेत आवद्ध हुँदै आएको विज्ञहरू बताउँछन् । 

अर्थशास्त्री दंगाल नेपालजस्ता देशले अहिले ग्रोथ–पोल (एउटा विकसित क्षेत्रले अन्य क्षेत्रलाई विकासतिर डोहोर्याउँछ भन्ने अवधारणा) र ग्रोथ सेन्टर (एउटा निश्चित क्षेत्रलाई केन्द्रित गरेर विकस गर्ने अवधारणा) दुवै अनुसार विकास तथा सहरीकरणलाई विस्तार गर्दै आएको सन्दर्भमा पछिल्लो समय यस्ता अवसर सिर्जना हुँदै गएको बताउँछन् ।  

‘पहिले सानो सानो रहेका बजारहरू विस्तार भएर अहिले ठुला सहर बनेका छन् । संघीयतापछि प्रदेश र स्थानीय तहलाई केन्द्रित गरेर विकास कार्य अघि बढाउने चलन भएकाले थप क्षेत्र विकसित हुँदै पनि गएका छन् । यसले बजारको विस्तार गरेको छ, अवसर पनि सिर्जना गर्दै गएको छ,’ उनी भन्छन् ।

अब कम्तीमा पनि काठमाडौँ, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, बुटवल, नेपालगञ्जजस्ता सहरमा मान्छे बेरोजगार भएँ भनेर बस्नुपर्ने अवस्था नरहेको र डिजिटल प्रविधिलाई सदुपयोग गरेर स्वरोजगारमा आवद्ध भइहाल्न सक्ने अवस्था रहेको उनको भनाइ छ । उनी भन्छन्,‘गाउँसम्म चाहिँ यो अवस्था पुगेको छैन, यसका लागि समय लाग्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप