बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

महाअष्टमी पर्व र बागलुङ कालिका मन्दिर

मङ्गलबार, १४ असोज २०८२, ११ : ०७
मङ्गलबार, १४ असोज २०८२

आज नवरात्रको आठौं दिन, आश्विन शुक्ल अष्टमी अर्थात् महाअष्टमी पर्व। आजको दिन दुर्गाको आठौं स्वरूपा महागौरीको विशेष पूजा आराधना गरिन्छ। शक्तिपीठहरूमा भक्तजनहरूको बिहानैदेखि घुइँचो हुन्छ। घटस्थापनापछि सप्तमीको फूलपातीको बढाइपछि महाअष्टमीमा कालरात्रीको पूजा गरी भगवतीको आह्वान पूजन गर्दै शक्तिको उपासना गर्ने विधान शास्त्रले गरेको पाइन्छ।

महाअष्टमीलाई विशेषतः शक्ति, भक्ति, शान्ति र अनुष्ठानको प्रतीकका रूपमा मनाइन्छ। यो प्राचीन समयदेखि देश र देशवासीको सुरक्षा सहित समृद्धिलाई जोडेर मनाइने धार्मिक कार्य हो। यो सामाजिक तथा सांस्कृतिक हिसाबले पनि महत्वपूर्ण पर्व हो। हाम्रो सनातन धर्म, इतिहास र आस्थाको समेत प्रतीक हो।

महाअष्टमीको दिन शक्तिपीठहरूमा देवीको विशेष पूजा आराधना हुन्छ नै। घरघरमा समेत नवदुर्गा भवानीको पूजापाठ गरिन्छ। घटस्थापनाका दिन वैदिक परम्परा अनुसार स्थापना गरिएको कलश र जमरा राखिएको स्थानमा पूजापाठ गर्ने चलन रहेको छ। दशैंघर तथा कोतघरलगायतका शक्तिपीठहरूमा पञ्चबलीसहित पूजा अर्चना गरिन्छ।

महाअष्टमीमा हातहतियार, कलपुर्जा, सवारीसाधन आदिलाई सरसफाईसहित पूजिन्छ। विशेषतः देवीको शस्त्रास्त्रलाई यो दिन पूज्ने चलनलाई सम्झेर पछिल्लो समय यो चलन अस्तित्वमा आएको मानिन्छ। यो अवसरमा शक्तिपीठहरूमा बली दिइन्छ। बली नदिनेहरूले फलफूल, नरिवल, फूर्सी, कुबिन्डो, अन्न प्रसादी चढाइन्छ। यद्यपि देवमन्दिरहरूमा विधिपूर्वक दिइने बलीले ती पशुहरू मोक्ष प्राप्त गर्ने र माथिल्लो योनीमा जन्म लिने विश्वास गरिन्छ।

प्राचीनकालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने अत्यन्त शक्तिशाली भद्रकालीका साथ अष्टमीका दिन उत्पन्न भएकाले पनि यो तिथिको महत्व र महिमा बढेको पाइन्छ। शक्तिस्वरूपा देवीले असुरहरूलाई खोजी खोजी संहार गरेपछि बाँचेका असुरहरू जनावरको रूपमा भेष बदलेर लुकेकाले जनावरका भेषका असुरहरूलाई बली चढाइएको किंवदन्ती पनि छ।

महाअष्टमीको विशेष अवसरमा बागलुङ कालिका मन्दिरमा देश, देशवासी, कूल तथा पुवार खड्का दाजुभाइहरूलाई सम्झेर सरकारी पूजा समेत गरिन्छ। कालिका भगवती गुठी व्यवस्थापन समितिले वर्षको २ पटक चैतेदशैं र बडादशैंको महाअष्टमीमा सरकारी पूजाको व्यवस्था मिलाउने गर्दछ।

करिब १५९१ सालमा कालिका मन्दिरको स्थापना भएको मानिन्छ। पर्वतका राजा प्रतापी नारायण मल्लको पाल्पाली राजा मणीमुकुन्द शेनकी राजकुमारीसँग विवाह हुँदा शेन दरबारबाट विवाहकै समयमा बागलुङ ल्याइएको हो। भनिन्छ, राजकुमारीको विवाह भइरहेको समयमा मणीमुकुन्द शेनसँग राजकुमारीले दरबारमा नियमित पूजा गरी राखिएकी देवीलाई आफूसँगै पर्वत लैजाने इच्छा व्यक्त गरिन्। राजाले अनुमति दिए तर जन्ती कसैले पनि देवी र खड्ग बोक्न सकेनन्।

दरबारमा देखिएका एक जना शिकारी भेषधारी व्यक्तिलाई देवीको खड्ग बोक्न लगाउँदा उनले सजिलै उठाउन सके। तत्पश्चात देवी र राजकुमारीको डोली उठ्यो। यसरी खड्ग समात्ने व्यक्ति चक्र पवार थिए भने राजकुमारीको डोली बोक्ने लुङगाउले मगरहरू थिए। यसरी पर्वतको ढोरलथान जान हिँडेको जन्ती हालको कालिका मन्दिर रहेको स्थानमा आउँदा देवीको खड्ग र डोली अघि बढेन। त्यस बेला राजा र राजकुमारीले सोही स्थानमा देवीको मन्दिर बनाई खड्ग समातेर ल्याउने चक्र पवारलाई पुजारी राखे। उनै चक्र पवारका वंशजहरूले निरन्तर देवीको सेवा गर्न थाले। चक्र पवारका वंशज बागलुङका पवार खड्का दाजुभाइहरू हुन्।

देशकै महत्वपूर्ण शक्तिपीठमध्ये एकको रूपमा रहेको बागलुङ कालिका मन्दिरमा विशेषतः श्रीमहाकाली, श्रीमहालक्ष्मी, श्रीमहासरस्वतीको प्रतीकका रूपमा मण्डपमा रहेका चाँदीका मुकुटमा पूजा गरिन्छ। पञ्चदेवका रूपमा श्रीगणेश र शिवलाई समावेश गरिएको छ। मण्डपको पूर्वतर्फ नाग तथा नजिकै अखण्डध्वनी रहेका छन्। आजको दिन महाकाली, महालक्ष्मी तथा महासरस्वतीको विशेष पूजा हुने भएकाले पनि बागलुङ कालिका मन्दिरमा यो पर्वको विशेष महत्व रहिआएको छ।

महाअष्टमीका दिन कालिका देवीलाई थप शक्तिशाली बनाउने अवसरका रूपमा बुझिन्छ। यो समयमा कालिका मन्दिरमा दुर्गा सप्तशती, चण्डी, देवीस्तोत्र, श्रीमद्देवी भागवत पाठ गरिन्छ। घटस्थापनाको दिन चोखो निष्ठापूर्वक विशेष स्थानमा जमरा राखिन्छ।

कालिका मन्दिरमा दैनिक भक्तजनहरूको उल्लेख्य उपस्थिति हुने गर्दछ। शनिबार र मंगलबार भिडभाड हुने गर्दछ। खासमा कालिका मन्दिरमा अष्टमी तिथिमा विशेष पूजा हुने गर्दछ। गुठी व्यवस्थापन समितिले अष्टमी पूजापाठका लागि व्यवस्था मिलाउने गर्दछ। भनिन्छ, अष्टमी तिथि कालिकाको प्रिय समय हो। त्यसमा पनि चैतेदशैंको चैत्र शुक्ल महाअष्टमी र बडादशैंको आश्विन शुक्ल महाअष्टमी विशेष अवसर हो। चैत्र शुक्ल महाअष्टमीलाई त चैतेदशैंका रूपमा मनाइन्छ, जुन पर्व नेपालकै ठूलो सांस्कृतिक मेलाका रूपमा प्रसिद्ध छ। चैतेदशैंका दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिने गर्दछ। यो दिन कालिका मन्दिरमा सर्वाधिक दर्शनार्थीहरूको उल्लेख्य उपस्थिति रहन्छ। यस समयमा बागलुङ बजारमा १५ दिन मेला लाग्ने गर्थ्यो। यसै समयमा गुठी व्यवस्थापन समितिले मेला महोत्सव समेतको आयोजना गर्दछ।

बिगतमा बागलुङ चौरकी देवीका रूपमा पूजिने देवीलाई पछिल्लो समय कालिका, भगवती, माझकी देवी, देवीस्थान, माइको थान आदि नामले पनि पुकारिएको पाइन्छ। कालिका मन्दिरमा पवार खड्का थरका पुजारी हुने गर्दछन्। ब्राह्मण पुजारीहरू पनि रहेका हुन्छन्। पुजारीहरूले दैनिक कालिगण्डकी नदीमा पुगी स्नान गर्दछन् र कालिगण्डकीबाट ल्याएको जलले देवीसहित मन्दिरमा रहेका देवी–देवताहरूलाई स्नान गराउने गर्दछन्।

श्रीखण्ड, चन्दन, अक्षता, जौ, तिल, फूल, प्रसादीले पूजा गरेपछि दीप र धुप बालिन्छ। शंख, घण्ट, नगारा सहित खैजडी, मुजुरा, मादल बजाएर चण्डीपाठसहित मण्डप ३ पटक परिक्रमा गरिन्छ। भजन–कीर्तन पनि गरिन्छ। अखण्ड ध्वनीमा हवन गरिन्छ। मन्दिरको उत्तरतर्फ कौडण्य थानमा धुप दिइन्छ। तत्पश्चात मण्डपको अगाडि एक बर्ने सरकारी बोका बलि दिइन्छ। त्यस्तै गरी एउटा भाले र एउटा हाँस पनि बलि दिइन्छ। गुप्त रूपमा यो पूजा सकिएपछि आम भक्तजनहरूका लागि मन्दिरका तीनवटा ढोकाहरू खुला गरी पूजा गरिन्छ। मन्दिरको पूर्वतर्फको ढोकामा नाग पूजिने भएकाले खोलिँदैन। मन्दिरको मूल पूजा सकिएपछि चण्डीकाली मन्दिरमा पूजा सहित धुप–दीप बालिन्छ।

महाअष्टमीको विशेष पूजा मध्यान्हपछि दिउँसो पनि हुने गर्दछ। यो समयमा मन्दिरको मूल ढोका अगाडि रहेको काठको मौलोमा रांगो राखिएको हुन्छ। नियमित गरिने पूजा दिउँसो पनि गरिन्छ। मण्डपको चार भागमा रहेका खड्गहरूमा विशेष पूजा गरी चारवटा पुजारीहरूले समातेका खड्ग लिएर धुप दिँदै ३ पटक मण्डप परिक्रमा गर्दछन्। बाहिरको मौलो ३ पटक परिक्रमा गरी ३ पटक पुनः धुप दिएर परिक्रमा गरी यथास्थानमा राखिन्छ। यो पूजा पनि गुप्त रूपमा गरिन्छ। मौलोमा रहेको सरकारी रांगो बलि दिएपछि मन्दिरको उत्तरतर्फ सुंगुर बलि दिइन्छ। सहभागीहरूलाई टिका, प्रसाद वितरणपछि भक्तजनहरूको पूजा पुनः प्रारम्भ गरिन्छ।

महाअष्टमीको अन्त्य तथा महानवमीको सुरुवातमा कालरात्रीको विशेष पूजा अनुष्ठान गरी मनाइन्छ। साँझदेखि भजन–कीर्तन हुने गर्दछ। अष्टमी र नवमीको बीचको रातमा गरिने कालरात्री पूजा समय परिस्थितिले केही समय अगाडि गर्ने गरिएको छ। गुप्त रूपमा गरिने यो पूजामा सदाजस्तैको पूजा सकिएपछि एउटा कालो बोका बलि दिइन्छ। टिका, प्रसादी वितरणपछि मन्दिर बन्द गरिन्छ।

कालरात्रीको रातमा कालिका मन्दिरमा जप, ध्यान, पाठ, पूजा, भजन तथा मनोकामना सहित जाग्राम बस्नेहरूको संख्या उल्लेख्य हुन्छ। देवीलाई भाकल गरेर जाग्राम बस्नाले सन्तानप्राप्ति, सुख, नोकरी, पदोन्नति, समृद्धि, विद्या प्राप्ति तथा शक्ति आर्जन हुने विश्वास गरिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजु खड्का
राजु खड्का
लेखकबाट थप