शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सुब्बा नन्दप्रसाद तुम्खेवाको त्यो योगदान

मङ्गलबार, १४ असोज २०८२, १८ : १६
मङ्गलबार, १४ असोज २०८२

सारांश

  • नन्दप्रसाद तुम्खेवाले जेलमा भोक हडताल सुरु गरे, जुन नेपालको इतिहासमै पहिलो थियो।
  • उहाँ लिम्बुवान समाज र देशको विकासका लागि समर्पित व्यक्तित्व हुनुहुन्थ्यो र राणा शासनको विरोध गर्नुभयो।
  • नन्दप्रसाद तुम्खेवाको शिक्षा, खानेपानी र सडक निर्माणमा ठूलो योगदान रहेको थियो।

नेपालको ऐतिहासिक स्थल तेह्रथुम जिल्लाको तत्कालीन छथर ओख्रे गाउँ विकास समिति– ५ मा १९७२ फागुन २९ गते बुवा नरध्वज तुम्बाखेवा र आमा मचिहाङ चोम्बाङको कोखबाट नन्दप्रसाद तुम्खेवाको जन्म भएको हो । उहाँ तत्कालीन नेपाली राजनीति, लिम्बुवान समाज र देशकै विकासका निम्ति समर्पित एक सम्मानित व्यक्तित्व हुनुहुन्थ्यो । राजनीति र समाजको गहिरो जानकारी र अनुभव राख्नुहुने उहाँ तत्कालीन समयमा एकतन्त्रीय राणाशासनको विरोधमा जनताका तर्फबाट आवाज उठाउने एक क्रान्तिकारी चेतको व्यक्तित्व हुनुहुन्थ्यो । 

७० वर्षअघि समग्र नेपाली समाजको सामाजिक, शैक्षिक र जनचेतनाको अवस्था अन्धकारमय थियो । आम नागरिकहरू शिक्षा, स्वास्थ्य र राजनीतिक अवसरबाट वञ्चित थिए । राणाशासनका कारण शिक्षामा जनसाधारणको पहुँच थिएन । शिक्षा नीतिमै नागरिकका निम्ति विद्यालय खोल्न अनुमति थिएन । काठमाडौँबाहिर स्कुल अत्यन्तै न्यून थिए । त्यो बेलाको साक्षरता दर अनुमानित दुई प्रतिशतभन्दा माथि थिएन । संस्कृत र प्राचीन गुरुकुल पद्धतिमा आधारित तत्कालीन शिक्षा उच्च जाति र शासक वर्गतिर केन्द्रित थियो, महिलाको शिक्षामा पहुँच शून्य थियो । जनचेतनाको दृष्टिकोणले सञ्चारको विकास भएकै थिएन । जातगत विभेद, महिला हिंसा चर्को थियो । १९४० को दशकमा भारतमा भएको स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनको प्रभाव नेपालमा पनि पर्‍यो । जसको गहिरो प्रभाव स्वर्गीय नन्दप्रसाद तुम्खेवामा पनि परेको देखिन्छ । 

विश्वभरि नै राजनीतिक र आर्थिक परिवर्तनका निम्ति चलेका ठुल्ठुला क्रान्तिको प्रभाव त्यो समयमा नेपालमा परेको थियो । बिस्तारै युवाहरूमा जागरण आइरहेको थियो । 

तत्कालीन राणाशासनको अन्त्य र प्रजातन्त्रका निम्ति १९४६ मा भारतको कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेस स्थापना हुनु र उही समय नेपालमा नेपाल प्रजा परिषद् गठन भई राणाशासनको विरोधमा आन्दोलन हुनु यी सब घटनाक्रमले नन्दप्रसाद तुम्खेवालाई नेपाली कांग्रेससँग नजिक रहेर परिवर्तनका निम्ति क्रियाशील हुन प्रेरित गर्‍यो । २०१५ सालमा नेपाली कांग्रेसले बहुमतको सरकार बनाउँदा पूर्वाञ्चलमा उहाँले पार्टीभित्र खेल्नुभएको भूमिका महत्त्वपूर्ण छ तर पार्टीले उहाँको योगदानलाई जति कदर गर्नुपर्थ्यो त्यति गरेको छैन । 

बोल्न–लेख्न पाउने अधिकारलाई लिएर देशमा बहस सुरु भइसकेको थियो । यही चेतनाले उहाँलाई गहिरो प्रभाव पारेको देखिन्छ । तत्कालीन समयमा बीपी कोइराला लगायत युवाहरू जागरणको अभियानमा थिए । बीपी कोइरालासँग उहाँको नजिकको सम्बन्ध रहेको पारिवारिक स्रोतले बताउँछ । राणाशासनको अन्त्यपछि देशमा विद्यालय, छापाखाना खोल्ने बाटो खुल्यो र समाज जनचेतना विस्तारतर्फ अघि बढ्न थाल्यो । देश परिवर्तनका निम्ति जागरणको दौरानमा थियो । उहाँको जीवनका कालखण्डलाई गहिरिएर अध्ययन गर्ने हो भने नेपाल र भारतमा भएका राजनीतिक, शैक्षिक र जनचेतनासम्बन्धी परिवर्तनको ठुलो प्रभाव परेको स्पष्ट हुन्छ । ७० वर्षअघि जनचेतना सीमित थियो, ग्रामीण बस्तीहरूमा सूचनाको अभाव र परम्परागत सोच बलियो थियो । यही समयमा उहाँले आफ्नो ठाउँलाई विकासको मार्गमा पुर्‍याउनुभएको योगदान त्यही परिवर्तनको चेतना थियो । 

वंश–परम्पराको आधारबाट हेर्ने हो भने प्राचीन किरात राजवंशका प्रतीक राजा श्री सुनुहाङ तुम्बाखेवाको सन्तति नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले १८८४ सालमा लालमोहर प्रदान गरेका छथरका मुख्य मन्त्री रामजित तुम्बाखेवाको वंशजमध्ये एक हुनुहुन्छ । कुलमानसिंहको नाति नरध्वज तुम्बाखेवा, नरध्वजको छोरा नन्दप्रसाद तुम्बाखेवा हुनुहुन्थ्यो । त्यही तुम्बाखेवाको सन्तान अहिले तुम्खेवाको थरले परिचित छ । 
राजनीति, समाजसेवा र नेतृत्वमा समान रूपमा ऊबेलाको समाजमा योगदान पुर्‍याउनुहुने नन्दप्रसाद तुम्खेवा किरात–लिम्बुवान समाजको एक महत्त्वपूर्ण व्यक्तित्व मात्र होइन, नेपाली समाजलाई उज्यालोतर्फ डोर्‍याउन प्रजातन्त्रको अग्रदूत हुनुहुन्छ । उहाँले राणाशासनको अन्यायका विरुद्धमा निरन्तर जागरण अभियानमा संलग्न हुँदै २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय सहभागिता जनाउनुभएको थियो । लोकतान्त्रिक पद्धतिमा विश्वास राख्ने उहाँले २००९ सालमा धनकुटामा आयोजित नेपाली कांग्रेसको पूर्वाञ्चल महाधिवेशनमा सभाध्यक्षको भूमिका निभाउनुभएको थियो । बीपी कोइराला, सुवर्णशमशेर, सूर्यप्रसाद उपाध्यायजस्ता शीर्ष नेताको उपस्थिति रहेको उक्त समारोह नेपाली कांग्रेसको इतिहासमा एक महत्त्वपूर्ण दस्ताबेजका रूपमा रहनु आजको दिनमा समग्र तुम्खेवाहरूका निम्ति गौरवमय इतिहास हो । यसैबाट पनि थाहा हुन्छ कि तुम्खेवाहरूको योगदान प्रजातन्त्र प्राप्तिको हरेक आन्दोलनमा कति अर्थपूर्ण र महत्त्वपूर्ण छ भनेर । 

उहाँले तत्कालीन जेल व्यवस्था र प्रचलित कानुनप्रति पहिलोपटक जेलमै भोक हडताल गर्नुभयो । नेपालको इतिहासमा जेलभित्रै अन्नविना अनशन बसेको यो सुरुवात थियो । उहाँसँगै त्यो बेला नीलकण्ठ ढकाल र गोरखबहादुर खुलाल एउटै अभियोगमा जेल परेका हुन् । 

तत्कालीन समयमा राजा र प्रजाबिचको सम्बन्धलाई सन्तुलनमा राख्न पनि उहाँको महत्त्वपूर्ण योगदान थियो । २०१३ सालमा राजा महेन्द्रले लिम्बुहरूको किपट भूमिसम्बन्धी छलफलका लागि उहाँलाई प्रतिनिधिका रूपमा बोलाएका थिए । सोही अवसरमा दरबारमा उहाँले च्याब्रुङ उपहार पेस गरेको इतिहास तुम्खेवाहरूको आउने पुस्ताका निम्ति गौरवमय छ । कुनै पनि जाति वा समुदायको गरिमा उसका अग्रज र पुर्खाले समाज विकासका निम्ति गरेको योगदानको आधारमा तय हुन्छ । आजको समयमा उक्त च्याब्रुङ छाउनीस्थित सैनिक सङ्ग्रहालयमा सुरक्षित छ । 

शिक्षाविना परिवर्तन सम्भव छैन भन्ने मूल मन्त्र राम्रोसँग बुझेका उहाँले पूर्वाञ्चलमा शिक्षाको पहुँच आम नागरिकसम्म पुर्‍याएको योगदान अद्वितीय छ । २००९ सालको आसपासमा धुलपजे मिडिल स्कुल, हालको निशान प्राथमिक विद्यालय (तत्कालीन भगवती प्राथमिक विद्यालय), हालको भगवती उच्च माध्यमिक विद्यालय (तत्कालीन सरस्वती प्राथमिक विद्यालय), शुक्रबारेस्थित हालको सरस्वती उच्च माध्यमिक विद्यालय र कार्तिकेमा रहेको श्री भारती प्राथमिक विद्यालय उहाँको प्रमुख पहलमा स्थापना भएका हुन् । त्यसबेला दरबार र उच्च तहका मानिसको मात्र शिक्षामा सहज रूपमा पहुँच थियो । उहाँले कैयौँ अवरोधका बाबजुद पनि आफ्नो गाउँमा शिक्षाको उज्यालो पुर्‍याउनुभयो । फलस्वरूप आजको दिनमा हरेक घरमा शिक्षाको उज्यालो पुगेको छ । 

बहुआयामिक क्षमताको व्यक्तित्वको धनी उहाँले बाटो, खानेपानी र कृषि–सिँचाइमा समेत महत्त्वपूर्ण योगदान गर्नुभएको थियो । त्यो बेला दारेगौडा, शुक्रबारे हुँदै लुभुघाट, त्यस्तै गरी अर्को परियोजना दारेगौडा, छिपुवा, दोभान र साक्मा हुँदै बर्खेडेकसम्मको सडक २००९ सालमा उहाँकै पहलमा निर्माण भएको हो । तेह्रथुम जिल्लामा भएका आधुनिक सडकहरूको पूर्वाधार उहाँले सुरुवात गरेको हो । २०१५ सालमा खानेपानीको परियोजना अन्तर्गत अन्धेरी खोलाको पानी र सुदाप छिपुवाका मुहान एकत्रित गरी फुवारतप्पा आहालमा पानी संकलन गर्दै गाउँमा खानेपानी र कृषिका लागि सिँचाइ सुविधा उपलब्ध गराउनु तत्कालीन समयमा ठुलो चुनौती थियो तर यस्तो प्रतिकूल परिस्थितिमा पनि विकासका निम्ति पुर्‍याएको योगदान आज सम्झँदा समग्र लिम्बु समाजका निम्ति सम्मानको कुरा हो । 

त्यसअघि सुदाप वरिपरिको भेगमा तत्कालीन समयमा पानीको अति ठुलो सङ्कट थियो । अन्धेरी खोला, जुझारे मुहान र सुदाप छिपुवाको पानीलाई एकीकृत गरी हिटी कुलो हुँदै फर्तापसम्म पानी लगेर त्यहाँका नागरिकको जीवनस्तरमा क्रान्ति ल्याउनु अर्को क्रान्ति थियो । उहाँकै पहलमा सञ्चालनमा आएको भगवती खानेपानी परियोजना अहिले पनि सञ्चालनमा छ । यो नै ओख्रेको पहिलो खानेपानी परियोजना हो । उहाँले गर्नुभएको विकासको सम्मान गर्दै २०३५ सालमा जिल्ला विकास समितिको खानेपानी योजनाको सदस्य हुनुभयो । 

नेपाली राजनीति र समाज विकासका निम्ति उहाँले पुर्‍याएको योगदान समग्र तुम्बाखेवाहरूको निम्ति एक गौरव र सम्मान हो तर उहाँको योगदान, संघर्ष र बलिदानको विषयमा जसरी चर्चा हुनुपर्ने हो त्यसरी नहुनु, नेपाली कांग्रेसभित्रै यहाँको योगदानको उचित सम्मान नहुनु दुःखदायी अवस्था हो । 

सुदापमा ल्याउन खोजेको पानी पञ्चकन्या लान खोज्दा नन्दप्रसाद तुम्बाखेवाले आवाज उठाए । त्यतिबेला तत्कालीन समयमा धनकुटाका तत्कालीन बडाहाकिमलाई आफ्नो प्रभावमा पारेर उहाँलाई १३ महिना जेल हाल्न विरोधी सफल भए । त्यतिबेला नेपाली कांग्रेसका सादगीपूर्ण नेता कृष्णविक्रम नेम्वाङसँग जेलमा भेट भएपछि जनताको अधिकार र प्रजातन्त्रका निम्ति अझ निर्बाध रूपमा अगाडि बढेको इतिहास छ । उहाँले तत्कालीन जेल व्यवस्था र प्रचलित कानुनप्रति पहिलोपटक जेलमै भोक हडताल गर्नुभयो । नेपालको इतिहासमा जेलभित्रै अन्नविना अनशन बसेको यो सुरुवात थियो । उहाँसँगै त्यो बेला नीलकण्ठ ढकाल र गोरखबहादुर खुलाल एउटै अभियोगमा जेल परेका हुन् । 

जेलमा रहँदारहँदै चार श्रीमतीमध्ये जेठी लक्ष्मी धनञ्जय तेङयुङ, माइली एकलमाया माङयाक, साइँली जुक्तिकला बान्तवा राई र कान्छी गौरीलक्ष्मी माङयाकमध्ये जुक्तिकला राईको सुत्केरी व्यथाका कारण मृत्यु भएपछि उहाँभित्र गहिरो पीडा भयो । चार श्रीमतीबाट जन्मिएका ३२ सन्तानमध्ये हाल जीवित चार सन्तानमा एक छोरा भुवनजित तुम्खेवा र तीन छोरीहरू सन्तकुमारी तुम्खेवा, कृष्णकुमारी तुम्खेवा र दिलकुमारी मात्रै जीवित छन् । 

यो घटनाले उहाँलाई कमजोर होइन अझ मजबुत बनाउँदै लग्यो । आजको दिनमा उहाँको सम्पूर्ण योगदान र समर्पण नेपाली राजनीति र समाजसेवाको क्षेत्रमा राष्ट्रिय रूपमा परिचित छ । स्वर्गीय नन्दप्रसाद तुम्खेवालाई आजको पुस्ताले एक कुशल समाजसेवी, शिक्षासम्बन्धी अभियन्ता, राजनीतिक नेता, विकासप्रेमी, प्रजातन्त्रको रक्षक, किपट अधिकारको संरक्षकका रूपमा चिन्न जरुरी छ । यहाँको योगदानलाई नजरअन्दाज गरे आधुनिक नेपालको विकासक्रममा पूर्वको लिम्बुवान भेगमा आएको परिवर्तनको इतिहास अधुरो हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विमला तुम्खेवा
विमला तुम्खेवा
लेखकबाट थप