शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचारः नेपालबाहिर पनि जेनजी आन्दोलन, दसैँमा घर फर्कनेको संख्या घट्यो

बुधबार, १५ असोज २०८२, २३ : ३०
बुधबार, १५ असोज २०८२

सारांश

  • काठमाडौं उपत्यकाबाट दसैँ मनाउन घर फर्किनेको संख्यामा कमी आएको छ।
  • सर्लाहीमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ।
  • जेनजी अभियन्ता मिराज ढुंगानाले अक्टोबर ९ मा कुनै आन्दोलन नहुने बताए।

काठमाडौँ ।  आज २०८२ असोज १५ गते बुधबार । दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । 

नेपालबाहिर पनि जेनजी आन्दोलन

नेपालमा चलेको आन्दोलनलगत्तै विश्वका केही मुलुकहरूमा पनि यस्तै प्रकृतिका आन्दोलनहरू चल्न थालेका छन् । अहिले कम्तीमा पनि पाँच मुलुकमा आंशिक वा पूर्ण रूपमा जेनजी आन्दोलनहरू चलिरहेका छन् । 

सुनसान प्रायः छ काठमाडौँ

आज काठमाडौँका सडक सुनसान प्रायः छन् । दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आआफ्नो जन्मस्थान जान सुरु भएको थियो । हिजोआज दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्म कमी आएको जनाइएको छ । 

उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा देखिने यात्रुको भीड कम हुँदै गएको छ । वर्षभरि रोजगारी, अध्ययन, व्यापार तथा अन्य विभिन्न कारणले राजधानीमा रहेकाहरू दसैँका अवसरमा आआफ्नो गाउँ फर्किएका छन् । लामो समयपछि परिवारसँग पुनर्मिलनको आशा, आफ्नै गाउँको माटोको सुवास, चाडपर्वको स्वाद र बाल्यकालका सम्झनाले सबैलाई तानेको छ । 

दसैँमा घर फर्कनेको संख्या घट्यो, किन डराए यात्रु ?

यस वर्षको दसैँमा काठमाडौं उपत्यका छाड्नेको संख्यामा उल्लेख्य कमी आएको छ, जसले गर्दा चाडपर्वको उत्साहमा केही कमी देखिएको छ ।

घटस्थापनादेखि नवौं दिनसम्म ६ लाख ११ हजार जनाले मात्र काठमाडौँ छाडेका छन्, जुन गत वर्षको तुलनामा कम हो । यसका पछाडि विभिन्न कारणहरू रहेका यातायातविज्ञ आशीष गजुरेलले औंल्याएका छन् । 

सर्लाहीमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु

सर्लाहीको हरिपुर्वा नगरपालिका–१, हर्दी नदी किनारमा माटो खन्ने क्रममा ढिस्को खस्दा चार जनाको मृत्यु भएको छ ।

मृतकहरूमा महोत्तरी सोनमा गाउँपालिका–६ की ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन् ।

अक्टोबर ९ मा कुनै आन्दोलन छैन, शान्ति बिथोल्न चाहन्नौँ – मिराज ढुंगाना

जेनजी अभियन्ता मिराज ढुंगानाले अक्टोबर ९ मा जेनजीको कुनै पनि आन्दोलन नभएको बताएका छन् । 

ढुंगानाले अक्टोबर ९ मा जेनजीहरूको फेरि हिंसात्मक प्रदर्शन हुने भनेर सामाजिक सञ्जालमा हल्ला फैल्याएको भन्दै त्यस्तो कुनै आन्दोलन भएको स्पष्ट बनाएका हुन् । उनले जेनजीहरुले गर्ने एजेन्डाबिना आन्दोलन अर्थ नभएको भन्दै आफूहरू यसमा संलग्न नहुने बताए । 

उनले जेनजीहरूले देशमा कायम भएको शान्ति बिथोल्न नचाहेको बताए । 

साउदी रियाल देखाउँदै डकैती धन्दामा वडा सदस्य, १६ वटा डाँकाचोरी र ठगी मुद्दा दर्ता

जनप्रतिनिधि नै ठगी र डकैतीमा संलग्न भएपछि कसको विश्वास गर्नु ? यस्तै सोचिरहेका छन्– सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर १२ का बासिन्दा । जसलाई भोट दिएर जिताए, उनी जनताका समस्या समाधान गर्नुको सट्टा ठगी र डकैतीको धन्दामा लागेको भेटिए ।

५० वर्षीय टेकबहादुर घिसिङ दुधौली नगरपालिका वडा नम्बर १२ का वडा सदस्य हुन् । नेकपा माओवादी केन्द्रबाट वडा सदस्य जितेका घिसिङ काठमाडौँमा विभिन्न ठाउँमा समूह बनाएर डकैती गर्ने र ठग्ने काममा संलग्न रहेको भेटिएका छन् । प्रहरीको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा उनीविरुद्ध काठमाडौँ उपत्यकाका विभिन्न प्रहरी युनिटहरुमा १६ वटा जाहेरी दर्ता भएको भेटिएको छ ।

आँखै अगाडि साथीहरू ढलेको देखेकी लीजा: ‘एकचोटि जुटेर लड्ने आत्मविश्वास छ’

भदौ २३ गते बिहान ११ बजे भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ताले आयोजना गरेको प्रदर्शनमा सहभागी हुन लीजा अधिकारी साथीहरूसँग माइतीघर मण्डला पुगिन् । 

माइतीघरमा शान्तिपूर्ण रहेको प्रदर्शन बानेश्वर पुग्दा तनावपूर्ण बन्न पुग्यो । प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा कम्तीमा १९ जना युवाको मृत्यु भयो भने थुप्रै घाइते भए । गम्भीर घाइते भएकीमध्ये लीजा पनि एक हुन् । उनी २० दिनदेखि ट्रमा सेन्टरमा उपचाररत् छिन् । 

मोरङको रतुवामाई नगरपालिका–८ की २० वर्षीया लीजा काठमाडौँमा आमा र भाइसँग बस्दै आएकी थिइन् । बालकुमारीस्थित कुसुम कलेजमा बीबीए अध्ययनरत उनको अहिलेको दैनिकी नै अस्पताल बनेको छ । 

पोखरालाई दातृ निकायको सहयोग कति ?

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अचेल औपचारिक भाषणमा भन्ने गरेको एउटा बुँदा छ– हामी आएपछि पोखरालाई कालोसूचीबाट हटायौँ । अहिले पोखरामा विकास साझेदारको सहयोग प्रशस्त छ ।

राजु पाण्डेको स्पष्टीकरण – सिंहदरबारको आगलागीमा महानगरकै दमकल पहिला पुगेको थियो

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा राजधानीमा भएका अभूतपूर्व तोडफोड र आगजनीको घटनामा काठमाडौँ महानगरपालिकामाथि चौतर्फी प्रश्न उठ्न थालेको छ । 

उक्त दिन संघीय संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार, राष्ट्रपति निवास र प्रधानमन्त्रीको सरकारी निवाससहित राज्यका प्रमुख निकायहरूमा प्रदर्शनकारीले आगजनी गरेका थिए । तर, राजधानीका प्रमुख सरकारी संस्थाहरू जल्दा पनि काठमाडौँ महानगरपालिकाले दमकल पठाएर आगो निभाउन किन मद्दत गरेन भन्ने प्रश्न जनस्तरबाट उठेपछि महानगर प्रशासनले त्यसको जवाफ दिएको छ । 

वेस्ट इन्डिजसँग पहिलो खेल नखेलेपछि क्यानको निलम्बनमा परेका थिए सन्दीप

नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिजको राष्ट्रिय क्रिकेट टोलीसँगको टी–२० आई शृंखलाको बाँकी दुई खेलका लागि राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई निलम्बन गरेको जानकारी दिएको छ । 

क्यानका सचिव पारस खड्काले मिति असोज १५ गते (आज) जारी गरेको प्रेस विज्ञप्तिमा उक्त ऐतिहासिक शृंखलाको पहिलो खेल सुरु हुनुभन्दा ४५ मिनेटअघि सन्दीप लामिछानेले आफू स्वयंले म्याच नखेल्ने निर्णय गरेको उल्लेख छ । 

वीरगन्जको दसैँ मेलामा ‘ग्याङ फाइट’: एकको मृत्यु, तीन जना पक्राउ

वीरगन्जमा आयोजित दसैँ मेलामा मंगलबार राति दुई समूहबिच भएको ग्याङ फाइटमा एक जनाको ज्यान गएको छ ।

पर्सा प्रहरीका अनुसार मेलामा पसल राख्ने विषयलाई लिएर भएको विवादका कारण झगडा चर्किँदा २० वर्षीय गोल्डेन नाम गरेका युवकको मृत्यु भएको हो ।

फाेटाे फिचर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप