राजु पाण्डेको स्पष्टीकरण : सिंहदरबारको आगलागीमा महानगरकै दमकल पहिला पुगेको थियो
सारांश
- भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा राजधानीमा भएका आगजनी र तोडफोडमा काठमाडौँ महानगरपालिकामाथि प्रश्न उठेको छ।
- आगजनीमा निष्क्रिय रहेको आरोपको खण्डन गर्दै, काठमाडौँ महानगरका प्रहरी प्रमुखले सिंहदरबारको आगो निभाउन दमकल पठाएको दाबी गरे।
- मेयर बालेन शाहमाथि लागेको निष्क्रियताको आरोप चिर्न प्रहरी प्रमुखले सामाजिक सञ्जालमा स्पष्टिकरण दिएका छन्।
काठमाडौँ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा राजधानीमा भएका अभूतपूर्व तोडफोड र आगजनीको घटनामा काठमाडौँ महानगरपालिकामाथि चौतर्फी प्रश्न उठ्न थालेको छ ।
उक्त दिन संघीय संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार, राष्ट्रपति निवास र प्रधानमन्त्रीको सरकारी निवाससहित राज्यका प्रमुख निकायहरूमा प्रदर्शनकारीले आगजनी गरेका थिए । तर, राजधानीका प्रमुख सरकारी संस्थाहरू जल्दा पनि काठमाडौँ महानगरपालिकाले दमकल पठाएर आगो निभाउन किन मद्दत गरेन भन्ने प्रश्न जनस्तरबाट उठेपछि महानगर प्रशासनले त्यसको जवाफ दिएको छ ।
बुधबार दिउँसो काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा जवाफ दिँदै महानगर र मेयर बालेन शाहको बचाउ गरेका छन् ।
आगलागीमा निष्क्रिय रहेको आरोपलाई खण्डन गर्दै प्रहरी प्रमुख पाण्डेले फेसबुकमा लेखेका छन्, 'सिंहदरबारको आगो निभाउन सबै भन्दा पहिला काठमाडौँ महानगरको दमकल पुगेको थियो ।' उनले आफ्नो दाबीलाई पुष्टि गर्न आवश्यक परे नेपाली सेनासँग सोध्नसमेत चुनौती दिएका छन् ।
पाण्डेले फेसबुकमा लेखेका छन् –
'सिंहदरबारको आगो निभाउन सबैभन्दा पहिला काठमाडौँ महानगरको दमकल पुगेको थियो । पत्यार नलागे नेपाली सेनासँग सोधे हुन्छ ।'
पाण्डेले सामाजिक सञ्जालमा गरेको यो पोस्टलाई मेयर बालेन शाहमाथि लागेको ‘निष्क्रियताको आरोप’ चिर्ने प्रयासका रूपमा हेरिएको छ । जेनजी आन्दोलनले निम्त्याएको क्षतिमाथि राज्यका निकायहरूले समयमै समन्वय नगरेको भन्दै प्रमुख रूपमा महानगर र यसका मेयरको आलोचना भइरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण