साउदी रियाल देखाउँदै डकैती धन्दामा वडा सदस्य, १६ वटा डाँकाचोरी र ठगी मुद्दा दर्ता
सारांश
- सिन्धुलीको दुधौली नगरपालिका वडा सदस्य टेकबहादुर घिसिङ ठगी र डकैतीको आरोपमा संलग्न भएको पाइएको छ।
- घिसिङ र उनको समूहले साउदी रियाल साट्ने बहानामा सुनको रिङ र नगद लुटेको खुलेको छ, जसले गर्दा उनी पक्राउ परेका थिए।
- घिसिङको समूहले काठमाडौं उपत्यकामा विभिन्न व्यक्तिहरूलाई ठगी गरेको आरोपमा मुद्दा दर्ता भएको छ, र उनी 'मोस्ट वान्टेड' सूचीमा रहेका छन्।
काठमाडौँ । जनप्रतिनिधि नै ठगी र डकैतीमा संलग्न भएपछि कसको विश्वास गर्नु ? यस्तै सोचिरहेका छन्- सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर १२ का बासिन्दा । जसलाई भोट दिएर जिताए, उनी जनताका समस्या समाधान गर्नुको सट्टा ठगी र डकैतीको धन्दामा लागेको भेटिए ।
५० वर्षीय टेकबहादुर घिसिङ दुधौली नगरपालिका वडा नम्बर १२ का वडा सदस्य हुन् । नेकपा माओवादी केन्द्रबाट वडा सदस्य जितेका घिसिङ काठमाडौँमा विभिन्न ठाउँमा समूह बनाएर डकैती गर्ने र ठग्ने काममा संलग्न रहेको भेटिएका छन् । प्रहरीको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा उनीविरुद्ध काठमाडौँ उपत्यकाका विभिन्न प्रहरी युनिटहरुमा १६ वटा जाहेरी दर्ता भएको भेटिएको छ ।
काठमाडौँ जोरपाटीको नारायणटार पुलबाट २०८१ जेठ १८ मा घिसिङ पक्राउ परेका थिए । प्रहरी वृत्त बौद्धले उनीविरद्ध अनुसन्धान गरेको थियो । काठमाडौँ जिल्ला अदालतले तोकेको जरिवाना तिरेर उनी २०८१ असारमा सुटुक्क कारागारबाट रिहा भए, तर उनीविरुद्ध अहिले पनि प्रहरी वृत्त जगाती र थिमिमा जाहेरी दर्ता छ ।
घिसिङ प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका आरोपी हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृत भन्छन्, ‘टेकबहादुर घिसिङ अहिले हाम्रो खोजी सूचीमा छन् ।’
२०८० चैत २७ मा साँझ ५ बजेतिर कविता तामाङ (नाम परिवर्तन) पैदल हिँड्दै थिइन् । टेकबहादुर घिसिङ र उनीसँगै रहेका दीपक तामाङ, नीरबहादुर तामाङ र दानबहादुर तामाङले उनलाई सोधे, बैंक कता छ ?’ त्यसबेला बैंक बन्द भइसकेको थियो । उनीहरुले भने, ‘हामी विदेश साउदीबाट आएका हौं, हामीसँग भएको साउदीको पैसा सटही गर्न सहयोग गर्नुस् न ।’
बैंक बन्द भइसकेको र आफूलाई तत्काल नगद आवश्यक परेको भन्दै उनीहरुले साउदी रियाल प्रशस्त रहेको हुनाले सटही गरेपछि कमिसन समेत दिने भन्दै कवितालाई लोभ्याए । ‘रियाल तपाईँ नै राख्नुस्, हामीलाई सुनको रिङ दिनुस्’ भने । त्यसपछि उनीहरुले ललाइफकाई एक तोला सुनको रिङ र २० हजार डकैती गरेर भागे ।
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार उनीहरुले दुईतिर रियालले कभर गरेर कागजको बन्डल बनाउने र त्यही देखाएर डकैती गर्ने गर्छन् । २०७९ सालमा भएको निर्वाचनमा वडा सदस्य जितेका घिसिङको समूहले धेरै डलर दिएर थोरै नगद लिने परिपञ्च गरेर समेत ठगीधन्दा चलाउँछन् ।
अपराधमा संलग्न घिसिङका सहयोगीहरु दुधौली नगरपालिका वडा नम्बर १२ कै स्थानीय हुन् । ३६ वर्षीय वर्षीय नीरबहादुर तामाङ उनका सालो हुन् भने दीपक तामाङ छिमेकी ।
२०८१ असार ११ मा बौद्ध प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला न्यायाधिवक्ता विना खड्का थापाले घिसिङको समूहविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेकी थिइन् । बूढानीलकण्ठमा जस्तै उनीहरुले कपन र बौद्ध क्षेत्रमा १० जनालाई डकैती र ठगी गरेको अभियोग पत्रमा उल्लेख छ । उनीहरुविरुद्ध डाँका र ठगी मुद्दा चलेको थियो ।
एउटै शैली
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ हरियालीनगर बस्ने एक महिला २०८१ जेठ १६ मा दक्षिणढोकामा हिँड्दै थिइन् । घिसिङको समूहले उनलाई सोधे- ‘यो एरियामा बैंक कता छ ?’
उनीहरुले त्यहाँ पनि साउदी अरबबाट आएको र रियाल साट्नुपर्ने कहानी सुनाए । पैसा साट्न सहयोग मागे । अनि साँझपख बैंक बन्द भइसकेको कुरा पीडितले सुनाएपछि उनीहरुले भने- ‘पैसा साटेर तपाईंलाई केही रकम दिन्छौं, एउटा कामका लागि तपाईंको साथमा रहेको गहना दिनुहोस् ।’ रियाल भनेर कागजको बन्डल राख्न दिए । त्यसपछि उनीहरुले डेढ तोलाको सुनको रिङ खोसेर फरार भए ।
घिसिङको समूहले साउदी रियाल देखाउँदै लोभ्याएर लुट्ने एउटै शैली पछ्याउँदै आएको देखिएको छ । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘उनीहरुको अपराध शैली एकै प्रकारको छ ।’
गिरोहका मुख्य नाइके घिसिङ प्रदेश १–०५–००१ प ८०३७ नम्बरको मोटरसाइकल चढ्छन् । अनुसन्धान अधिकृतहरु यो समूहलाई ‘सिन्धुली ग्याङ’ भन्छन् । तीन–चार जनाको समूहमा लुट्न हिँड्ने उनीहरु सुरुमा बहाना बनाएर फकाउँछन् र लुटेर भाग्छन् ।
परिस्थिति हेरेर एकजना बोल्न नसक्ने बहाना बनाउँछ । अनि अरुले भन्छन्, ‘साउदी रियाल उसले ल्याएको हो, बोली नआउने हुनाले हामीले सहयोग गर्न खोजेका हौं ।’
वडा सदस्य घिसिङविरुद्ध प्रहरीमा अभद्र व्यवहार र बैंकिङ कसुरमा पनि जाहेरी दर्ता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण