बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी आन्दोलनकी घाइतेको बयान

आँखै अगाडि साथीहरू ढलेको देखेकी लीजा : ‘एकचोटि जुटेर लड्ने आत्मविश्वास छ’

बुधबार, १५ असोज २०८२, १० : ५९
बुधबार, १५ असोज २०८२

सारांश

  • भ्रष्टाचार विरुद्धको प्रदर्शनमा सहभागी लीजा अधिकारी घाइते भइन्, उनको उपचार जारी छ।
  • प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा लीजासहित १९ जनाको मृत्यु भयो, र धेरै घाइते भए।
  • लीजा देशमै सेवा गर्ने सपना बोकेकी थिइन् तर भ्रष्टाचार र सरकारी उदासीनताबाट निराश भइन्।

काठमाडौँ । भदौ २३ गते बिहान ११ बजे भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ताले आयोजना गरेको प्रदर्शनमा सहभागी हुन लीजा अधिकारी साथीहरूसँग माइतीघर मण्डला पुगिन् । 

माइतीघरमा शान्तिपूर्ण रहेको प्रदर्शन बानेश्वर पुग्दा तनावपूर्ण बन्न पुग्यो । प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा कम्तीमा १९ जना युवाको मृत्यु भयो भने थुप्रै घाइते भए । गम्भीर घाइते भएकीमध्ये लीजा पनि एक हुन् । उनी २० दिनदेखि ट्रमा सेन्टरमा उपचाररत् छिन् । 

मोरङको रतुवामाई नगरपालिका-८ की २० वर्षीया लीजा काठमाडौँमा आमा र भाइसँग बस्दै आएकी थिइन् । बालकुमारीस्थित कुसुम कलेजमा बीबीए अध्ययनरत उनको अहिलेको दैनिकी नै अस्पताल बनेको छ । 

असोज ७ गते रातोपाटी टिम ट्रमा सेन्टर पुग्दा लीजाको शरीरबाट गोलीको छर्रा निकालिएको थियो, अप्रेसनको प्रतीक्षा गरिरहेकी थिइन् । फुटेको हड्डीलाई तारहरूले बाँधेर कुमको पातोलाई ब्यान्डेज गरिएको अवस्थामा उनी शय्यामा पल्टिरहेकी थिइन् । छेउमै एउटा कुर्सीमा लीजाकी आमा चिन्तित मुद्रामा देखिन्थिन् । अप्रेसन गरेर पातोमा स्टिल राख्न बाँकी छ । तर डाक्टरले अप्रेसनको मिति तोकेका छैनन् । 

लीजाभन्दा अगाडिको वार्डमा भर्ना भएका केही घाइते साथीहरू डिस्चार्ज भएर घर फर्किसकेका छन् । यसपालि दसैँ अस्पतालमै बित्ने हो कि भन्ने चिन्तामा छिन् उनी । लीजालाई आमा र भाइले पालैपालो कुरेर बसेका छन् । 

लोकसेवा लडेर नेपालमै सेवा गर्ने सपना बोकेर उनी एसएलसीपछि काठमाडौँ आएकी थिइन् । नेपालमा राम्रो अवसर नभए विदेश जाने उनको सोच थियो । तर भनेजस्तो जागिर कतै नपाउने, पाएपनि थोरै तलबका कारण निराश बन्दै गएको उनी सुनाउँछिन् । 

LIZA (5)

‘म पढ्दै जागिर गर्दै गर्ने मान्छे हो । यहाँ कस्तो स्थिति छ, कति स्यालरी छ ? कति बाँच्न गाह्रो छ भनेर मलाई थाहा छ,‘ उनी भन्छिन्। 

लोकसेवा पढेर देशमै केही गर्ने प्रयास गरेकी उनी सरकारी उदासीनता र भ्रष्टाचारबाट निराश भइसकेकी थिइन् । जब बंगलादेश, श्रीलंका, इन्डोनेसियालगायत देशमा ‘एन्टी–करप्सन मुभमेन्ट’को लहर चुलियो, उनको मनमा एउटा आशाको दियो बल्यो । 

‘एकचोटि एन्टी–करप्सन मुभमेन्ट भयो भने राम्रो हुन्छ भन्ने सोचेँ । आखिरमा हाम्रो देश बिग्रिएको करप्सनले हो । करप्सन भइदिएन भने हाम्रो न्यूनतम पारिश्रमिक पनि बढ्छ । देशमै रोजगारी सिर्जना हुन्छ । देश विकास हुन्छ । अहिले सरकारले तोकेको न्यूनतम पारिश्रमिक जम्मा १९ हजार ५०० छ । त्यति स्यालरी पनि दिँदैनन्’, उनी भन्छिन् । 

लीजाले यो आन्दोलन टिकटक लगायत अनलाइन माध्यमबाट थाहा पाएकी थिइन् । पछिल्लो समय इन्डोनेसियामा ‘नेपो–किड्स’ आन्दोलन चर्किरहेको थियो । तर नेपालमा तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि उनी टिकटकमा जोडिएकी थिइन् । सरकारको कदमबाट आक्रोशित भएका जेनजी युवाहरूले टिकटकमार्फत नै ‘८ सेप्टेम्बर’मा भ्रष्टाचारविरुद्ध भेला हुन आह्वान गरेका थिए । सोही अभियानलाई पछ्याउँदै विरोध प्रदर्शनमा गएको उनी बताउँछिन् ।  

‘नेपो किट्स भन्ने एउटा एकदमै ट्रेन्ड चलेको थियो । अरू देशहरूले गरिसकेपछि हामीले पनि सक्छौँ भन्ने एउटा आँटले आयौँ हामी,’ उनी सम्झिन्छिन् । 

अन्तर्राष्ट्रिय कानुन अनुसार विद्यार्थीलाई छुन पनि नमिल्ने विश्वासका साथ, उनी माइतीघरमा भेला भएका युवाहरूको समूहमा सामेल भइन् । उनका साथीहरू केही स्कुल ड्रेस पनि सहभागी थिए । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले केही गर्दैन भन्ने विश्वासका साथ लीजा सहभागी भएकी थिइन् ।

‘प्रोटेस्ट नै गर्ने हो, अरू केही गर्ने होइन भन्दै थियौँ । त्यति बुझेर आको हो । केही गर्दैन भन्दाभन्दै गोलीसम्म चल्यो,’ उनी भावुक हुँदै भन्छिन् ।

बिहान ११ बजे माइतीघर पुगेको जेनजी समूह माइतीघरबाट अगाडि बढ्दै संसद् भवनको मूल गेट नजिक पुगेको थियो । तर परिस्थितिले अप्रत्याशित मोड लियो, सर्ट मोमेन्टमै गोली चल्न थालेपछि कोलाहल मच्चियो । 

‘एकदमै सर्ट मोमेन्टमै गोली चल्न थालिसकेको थियो । अर्डर फलो नगरीकन एकदमै सर्ट मोमेन्टमा चलाएको थियो,’ त्यस दिनको घटना सम्झिँदै उनी भन्छिन् । 

लीजाको आँखै अगाडि दुई-चार जना साथी ढलेका थिए । एकजना दाइलाई खुट्टामा गोली लागेको देख्दा उनी र अर्का एकजना साथीले बोकेर सुरक्षित ठाउँमा पुर्‍याए । 

‘जसलाई गोली लागे पनि एकदमै नराम्रो फिल हुने रहेछ,’ उनी भन्छिन् । 

गोली चलेपछि आक्रोशित बनेका प्रदर्शनकारीहरू ‘यिनीहरूले अति नै गरे’ भन्दै अगाडि बढे । प्रहरीले गोली नताक्दासम्म शान्तिपूर्ण प्रदर्शन भइरहेको उनी बताउँछिन् । 

‘हामीले शान्तिपूर्ण गर्न खोजेका हौँ । केही गर्दैनौँ, यहीँ धर्ना दिएर बस्छौँ भन्यौँ । फेरि गोली चलायो । त्यसपछि हामी पनि आक्रोशित भएर बोल्यौँ । तिमीहरूको छोराछोरी छैनन् भन्यौँ’, लीजा सुनाउँछिन्, ‘त्यसपछि हामीले केवल दुई नारा लगाएका थियौँ– ’प्रहरी दमन बन्द गर’ र ’मान्छे मार्न पाउँदैनौँ’ । तर पुलिसको निर्ममता रोकिएन । अगाडि बढेर गोली नताक भन्दाभन्दै मलाई नै ताकेर हान्यो ।’

यदि गोली सिधा आएको भए उनको छातीमा लाग्ने तर भाग्यवश गोली बाङ्गिएर सोल्जर (पातो) मा लागेर बाहिर बताउँछिन् ।  

‘गोली सिधा भएको भए म मर्ने थिएँ । प्रहरीले व्यक्तिहरूलाई टाउकोमा र छातीमा ताकी-ताकी गोली हानिएको छ । घुँडामुनि हान्नुपर्ने गोली टाउको, छातीमा कसरी लाग्छ ? बिच निधारमा गोली लागेको छ,  छातीमै लागेको छ,’ उनी भन्छिन् । 

एक जनाको मुटुमै गोली लागेर भुक्लुक्कै ढलेको उनले प्रत्यक्ष देखिन् । त्यस दिन घुसपैठ गरेर बाहिरबाट कसैले गोली चलाएको भन्नेमा उनी विश्वास गर्दिनन् । 

‘त्यो बेलामा गोली हान्ने सबैले पुलिसको ड्रेस लगाउनुभएको थियो । सिभिल ड्रेसबाट गोली पड्केको देखेको होइन । पुलिसकै ड्रेस लगाएका व्यक्तिले ताकी-ताकी गोली हानेका छन् । पुलिस होइन भने उनीहरूलाई ड्रेस किन दियो ?’ उनको प्रश्न छ । 

त्यस दिन प्रहरीले आतंककारीलाई जस्तै व्यवहार गरेको उनी सम्झिन्छिन् । 

‘स्पेसल फोर्सहरुले मात्रै गन सर्ट हान्न सक्थ्यो । त्यो भनेको टेरोरिस्टलाई हान्ने पुलिसहरू थियो । हामी त टेरोरिस्ट होइनौँ नि । के नियतले हान्नुभयो ?’ उनी भन्छिन्, ‘उहाँहरूलाई थाहा होला । यिनीहरूले मान्छेलाई अर्डर दिने मान्छेलाई थाहा होला । पुलिस ड्रेसमै हो गोली ताकेको देखेको ।’

आफूलाई गोली लागेको क्षण उनले सम्झिइन् । ‘संसद् भवन प्रवेश गर्दा राइट साइडको कर्नरको पुलिसले गोली हानेको हो । त्यो भिडियोमा पनि देख्न सकिन्छ । मलाई एउटा गोली लागेको हो । पछाडि लागेको हो । ठ्याक्कै अगाडिबाट गोली बाहिर निस्कियो’, उनी सुनाउँछिन्, ‘साथीहरुले नजिकैको एभरेस्ट अस्पताल लगे । त्यहाँ प्राथमिक उपचार गरेपछि ट्रमामा रिफर गरेको हो ।’

LIZA (6)

गोली लागेपछि होसमै रहेकी लीजाले आफ्नी मुटुरोगी आमालाई खबर नगर्न भनेकी थिइन् । 

‘मेरो मामु हट पेसेन्ट हो । मेरो मामुको मुटुको अप्रेसन गराएको छ । अनि रिसेन्ट हटफेल पनि दुईचोटि भइसकेको छ । एकैचोटि सुन्दा हर्ट-एट्याक होला भनेर उहाँलाई फोन नउठाइदिनु भनेको थिएँ,’ उनी भन्छिन् । 

आफैँले फोन अनलक गरेर भाइलाई खबर गरेपछि उनका साथीहरूले उनलाई ट्रमा सेन्टर पुर्‍याए । गोली लाग्ने बित्तिकै अस्पताल लैजाने एम्बुलेन्स पाइनन् उनले । पछि एक जनाले बाइकको पछाडि राखेर नजिकै एभरेस्ट हस्पिटल पुर्‍याए । त्यहाँ प्राथमिक उपचारपछि उनलाई ट्रमा सेन्टर रिफर गरियो । हाल ट्रमा सेन्टरमा उपचाररत् लीजाको हड्डीहरू फुटेका छन् । फुटेका स–साना हड्डीलाई तारले बाँधिएको छ । डिस्चार्जको समय अनिश्चित छ ।

सुरुको दिन ठुलो ‘सरप्राइज’ भएको उनी बताउँछिन् । सरकारले यतिसम्म आतंककारी व्यवहार गर्छ भन्ने लीजालाई विश्वासै थिएन । 

‘अघिल्लो सरकार अति नै खतम नालायक सरकार हो । हत्यारा सरकार हो । भ्रष्ट त थियो तर हत्यारा नै हो भनेर हामीले सोचेकै थिएन’, उनी आक्रोश पोख्छिन् । 

भदौ २४ गते सिंहदरबार र सर्वोच्च अदालत जलाइएको घटना उनलाई नराम्रो लागेको छ । त्यत्रो विध्वंसकारी घटना जेनजी युवाहरूले गरेको भन्नेमा उनको विश्वास छैन । अप्रेसन सकेर भोलिपल्ट होसमा आउँदा शेरबहादुर देउवा र आरजु देउवालाई कुटेको भिडियो उनले देखिन् । त्यतिबेला ओलीले पदबाट राजीनामा दिइसकेका थिए । 

‘भ्रष्ट सरकारले दमन र  विध्वंस गरेर बल्ल राजीनामा दिइराखेको थियो । पछि सिंहदरबार पनि जलायो । सर्वोच्च अदालत पनि जलायो भन्दा मलाई नराम्रो लाग्यो । ती काम फेरि हाम्रै जेनेरेसनले गर्‍यो भन्ने पनि लाग्दैन । किनभने त्यो एजेन्डा नै थिएन । हामी त्यसो गर्न आँट भएको मान्छे पनि होइन’, उनी भन्छिन्, ‘मस्तिष्कमा जे बोकेर गएका थियौँ– हामीलाई ‘करप्सन फ्री कन्ट्री’ चाहिएको थियो । नेपोटिजम नहोस् भन्ने थियो । अनि नेपोटिजमले गर्दाखेरि नै कति मान्छे ब्याक परिरहेका छन् । यो त षड्यन्त्र नै हो सिधासिधी कुरा गर्दा ।’

उनी यसमा राज्यकै षड्यन्त्र हुनसक्ने आशंका गर्छिन् । ‘उनीहरू पहिलेदेखि नै प्रदर्शनमा गोली हान्ने योजनामा थिए जस्तो लाग्छ । त्यसपछि भिड आक्रोशित हुन्छन्, आगो लगाइदिन्छौँ भन्ने षड्यन्त्र गरेका हुनसक्छन्,’ उनी आशंका गर्छिन्, ‘त्यो त प्रमाण नै नष्ट गरियो । सर्वोच्च अदालत जलाउनु भनेको त प्रमाण नष्ट गर्नु हो । हाम्रो सर्वोच्च अदालतसँग कुनै रिसइबी थिएन, करप्सनसँग थियो, सिस्टमसँग थियो ।’

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पुरानै संसदीय निर्वाचन गर्न लागेकोमा उनको चित्त बुझेको छैन । दमनकारीमाथि छानबिन गरी कारबाही गर्न भइरहेको ढिलाइप्रति लीजा निराशा व्यक्त गर्छिन् । 

‘हाम्रो माग प्रत्यक्ष कार्यकारीको निर्वाचन हो । अहिलेको सरकारले उही संसदीय निर्वाचन नै गर्न खोजेको छ । त्यस्तो हुनु नपर्ने हो । अहिलेको सरकार हामीले चुनेको हो । हाम्रै माग पूरा गर्न भनेर आउनुभएको हो’, उनी भन्छिन्, ‘उहाँले के गर्नुहुन्छ ? अहिलेसम्म कुरा अगाडि बढेको छ जस्तो लाछैन । छानबिन समिति बनेको सुनेको छु, छानबिन हुनुपर्‍यो ।’

प्रधानमन्त्री आफैँ पूर्वप्रधानन्यायाधीश भएकाले आफूले उठाएको माग सम्बोधन हुनेमा उनी विश्वस्त छिन् । ‘प्रधानमन्त्री आफैँ पूर्वन्यायाधीश हुनुहुन्छ । उहाँलाई झन् हामीलाई भन्दा धेरै नै कुरा थाहा छ । उहाँले त्यति गर्दिनुहुन्छ कि भन्ने आशा छ,’ उनी भन्छिन्, ‘केपी ओलीमाथि अहिलेसम्म छानबिन प्रक्रिया नै अगाडि बढेको छैन । निराश हुने बेला भइसक्यो । यतिबेलासम्म गरिसक्नुपर्ने कुराहरु किन भइरहेको छैन ?’ 

लीजाको विदेश जाने योजना जेनजी आन्दोलनपछि अनिश्चित बनेको छ । फेरि एकपटक जुटेर लड्ने आत्मविश्वास छ उनको ।

‘यति गरिसकेपछि के विदेश जानु भन्ने नै छ मलाई । एकचोटि जुटेर लड्ने हो,’ उनी भन्छिन् । 

नेपालका हजारौँ युवाहरूको प्रतिनिधित्व गरेकी लीजा, जसले भ्रष्टाचारमुक्त, न्यायपूर्ण र सुशासनयुक्त नेपालको सपना देखेका छन् । शरीरमा लागेको गोलीको घाउले उनको शारीरिक पीडा मात्र बढाएको छैन, बरु सिस्टमविरुद्ध लड्ने उनको संकल्पलाई अझ बलियो बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप