विजयादशमीको रौनक, टीका र जयन्ती
अहिले मिथिलामा र पहाडमा पनि बडा दसैँको रौनक बढेको छ । सनातन संस्कृतिका कुनै पनि आस्थावान् आज दुर्गतिनाशिनी शक्ति पराम्बा भगवती दुर्गा एवं उनको उपासनाबाट अपरिचित छैनन् । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म मनाइने शारदीय नवरात्र अर्थात् बडादसैँ पर्व यिनै दुर्गा भवानीको पूजा–आराधना हो । सनातन संस्कृतिमा शारदीय नवरात्र अत्यन्तै उत्साहका साथ मनाइन्छ । यस अवसरमा देवीको मन्दिर र गह्वरहरूलाई सुन्दर ढंगले सजाइन्छ ।
यस वर्षको विजयादशमीको पहिलो दिन आश्विन ६ गते सोमबार घरघरमा वैदिक विधि अनुसार अखण्ड दीप र जयन्तीका साथ कलश स्थापना गरी शक्तिकी अधिष्ठात्री देवी दुर्गाको पूजा आरम्भ भएको थियो भने दैनिक देवीपूजन गर्दै आश्विन १६ गते दशमी तिथिको दिन बिहीबार पूजा विसर्जन गरिनेछ । दशमी तिथि विशेषको पर्वलाई नै विजयादशमी भनिन्छ । मिथिलामा दशमी र पहाडतिर बडादसैँ भनिने आधा महिना लामो यो पर्व आश्विन शुक्ल प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म मानिने विशेष पर्व र उत्सव हो ।
दुर्गा देवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजाअर्चना गरिन्छ । महाकालीलाई शक्तिकी प्रतीक, महालक्ष्मीलाई धनधान्य र ऐश्वर्यकी प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिकी प्रतीकका रूपमा पूजा–आराधना गर्ने वैदिक कालदेखिकै परम्परा हो ।
देवी भगवतीका अनेक रूपको पूजा गरिन्छ । दसैँको १० दिनमध्ये नौ दिन नवदुर्गाका नौ रूपको पूजा गरिन्छ । यसका अतिरिक्त पनि भगवतीका सहस्र रूप रहेका छन् । नवदुर्गाका नौवटा रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिधात्रीका रूपमा देवीको पूजाआजा गरिन्छ । प्रथम दिवसमा प्रथम रूप र यसै क्रमले नौ दिवससम्म प्रत्येक रूपको पूजन गरिन्छ ।
महाकालीलाई शक्तिकी प्रतीक, महालक्ष्मीलाई धनधान्य र ऐश्वर्यकी प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिकी प्रतीकका रूपमा पूजा–आराधना गर्ने वैदिक कालदेखिकै परम्परा हो ।
आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका निशा पूजा (फूलपाती), महाष्टमी, महानवमी र विजयादशमी क्रमशः चारवटै दिवसमा भने धार्मिक गतिविधि शिखरमा पुगेको हुन्छ । देवीको आराधना गर्नाले सुख र समृद्धिको प्राप्ति हुन्छ । दसैँ सनातन परम्परा, संस्कार, संस्कृति, धर्म, आस्था र विश्वाससँग जोडिएको पर्व मात्र नभएर यो वैज्ञानिक महत्त्वको विषय पनि हो । यो समाज विज्ञान, मनोविज्ञान र व्यवहार विज्ञानसँग पनि जोडिएको छ ।
- विजयादशमी
विजयादशमी पौराणिक देवासुर संग्रामको विजय पर्व हो । सृष्टिको संरचनादेखि लिएर जगत्को सुव्यवस्था सञ्चालनसम्मको युगमा अनेकपटकको देवासुर संग्राममा देवताहरूका तर्फबाट असुरहरूको संहार गर्दा देवी दुर्गाले प्राप्त गर्नुभएको विजयको स्मृतिमा विजय पर्वको रूपमा विजयादशमी महापर्व मनाइन्छ । देवीले अनेक रूपमा अवतरित भएर मधु, कैटभ, महिषासुर, शुम्भ, निशुम्भ, चण्ड, मुण्ड युगौँ युगका असंख्य असुरहरूको संहार गर्नुभयो ।
त्रेता युगमा यही दिनमा मर्यादा पुरुषोत्तम श्रीरामले पत्नी सीताको हरण गर्ने लंका नरेश रावणको संहार गरी प्राप्त गर्नुभएको विजयको सम्झनामा पनि नवरात्र मनाइन्छ, तर दसैँलाई असत्यमाथि सत्यको विजय, अन्धकारमाथि प्रकाशको विजय, अज्ञानमाथि ज्ञानको विजयको रूपमा लिई भक्तजनले देवी दुर्गाको आराधना गर्छन् । विजयादशमी भगवान् रामको विजयका रूपमा मनाइयोस् अथवा देवी दुर्गाको विजयको रूपमा— यी दुवै रूपमा यो शक्ति–पूजाको पर्व हो । हर्षोल्लास तथा विजयको पर्व हो । वीरता र शौर्यको पर्व हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले पनि यस परम्पराले निरन्तरता पाएको हो ।
- विसर्जन र देवीको बिदाइ
दशमी तिथिको दिन विजयादशमीको विधिपूर्वक विसर्जन हुन्छ । देवी मन्दिर तथा गह्वरहरूमा र घर–घरमा देवीको पूजा–अर्चना गरी दसैँको विसर्जन गरिन्छ । प्रथम दिवस प्रतिपदाको दिन स्थापना गरिएको कलश अनावृत गरी कलशको जल पूजा कक्षका सबै वस्तुमा छर्किएपछि पूजा विसर्जन हुन्छ । पूजाको विसर्जनसँगै देवी भवानी दुर्गाको बिदाइ हुन्छ । पूजाको विसर्जन र आरती गर्दा भक्तजनहरूले देवी भवानीसँग आशीर्वाद प्राप्त गर्छन् । देवीको प्रसादले प्राप्त गरिने आशीर्वादको रूपमा चन्दन, रक्षासूत्र र अक्षताको तिलक (टीका) र जयन्ती (जमरा) धारण गर्ने चलन छ ।
देवीको बिदाइ यस वर्ष बिहीबारको दिन हुने भएकाले डोलीमा उनको बिदाइ हुँदा केही उथलपुथल हुने आशंका व्यक्त गरिएको छ ।
- तिलक (टीका) र जयन्ती (जमरा) धारण
मिथिलामा देवी पर्वमा नौ दिन देवी उपासना गरी देवीबाट आशीर्वादको याचना प्रार्थना गर्ने गरिन्छ भने सम्पूर्ण पर्वको समापनपश्चात् विजयादशमीको दिन आशीर्वाद प्राप्त गरिन्छ । आशीर्वाद प्राप्तिको स्वरूपमा तिलक र जयन्ती धारण गरिन्छ । यसरी तिलक र जयन्ती धारण गर्दा दसैँभरि देवीको पूजा गर्ने मुख्य व्यक्तिले तिलक र जयन्ती लगाइदिने चलन भए पनि अरूले वा आफैँले पनि तिलक र जयन्ती धारण गर्न सकिन्छ ।
ब्राह्मणहरूले आफ्नो पूजा स्थानमा उमारेको जयन्ती आजको दिन आफ्ना यजमानहरूलाई वितरण गर्छन् तर पहाडतिर ज्येष्ठ नातेदारले कनिष्ठ नातेदारलाई टीका (तिलक) र जमरा (जयन्ती) लगाइदिई दक्षिणा दिने चलन छ । मिथिलामा विजयादशमीको दिन तिलक र जयन्ती धारण गरेपछि तिलक परम्परा पूरा हुन्छ तर पहाडतिर विजयादशमीको दिनदेखि पूर्णिमासम्म टीका र जमरा लगाउने कार्य चलिरहन्छ । साताभरिको यो अवधिमा टाढा–टाढा रहेका नातेदारले पनि आ–आफ्ना मान्यजनबाट आशीर्वाद प्राप्त गर्न भ्याएका हुन्छन् ।
दसैँमा आफूभन्दा ठुला मान्यजन र आफन्तबाट आशीर्वाद लिन निधारमा टीका थापिन्छ । यसरी मान्यजनले आशिष दिँदै लगाइदिने टीकाको मनोवैज्ञानिक महत्त्व छ ।
शास्त्र अनुसार, यदि कुनै व्यक्तिले तिलक नलगाएको खण्डमा कुनै पनि शुभ कार्य, पूजा आदि फलदायी हुँदैन र तिलक नलगाएको व्यक्तिलाई हेर्न पनि निषेध गरिएको छ । कसैले पवित्र स्नान, जप, दान, यज्ञ, होम, पितृहरूको श्राद्ध र देवताहरूको पूजामा तिलक लगाउँदैन भने यी सबै कर्म निष्फल हुन्छन् ।
तिलक निधारको मध्यभाग अर्थात् भृकुटी (आज्ञाचक्र) मा लगाइन्छ । यो दुवै आँखीभौँको माझमा हुन्छ । यसलाई तेस्रो नेत्र अर्थात् तेस्रो आँखा पनि भनिन्छ, जो पराविद्याको केन्द्र हो । तिलकले मस्तिष्क, मन र विचारलाई शुद्ध चेतनायुक्त तुल्याउँछ । पुरुषको निधारमा चन्दन र महिलाको निधारमा कुमकुम लगाउनु शुभ हुन्छ । तिलक स्थानमा धनञ्जय प्राणको बास छ । जानकारहरू धनञ्जय प्राण जागृत गर्न तिलक लगाउँछन् । यसले मानिसलाई आध्यात्मिक मार्गमा लैजान्छ । नियमित रूपमा तिलक लगाउनेलाई टाउको दुख्ने समस्या हुँदैन । तिलक निधारमा लगाइनुका साथै शरीरका अन्य भागमा पनि तिलक लगाइन्छ । तिलक सधैँ चन्दन वा कुमकुमको लगाउनुपर्छ । बेसार र कागतीको पानीबाट बनेको कुमकुम सबैभन्दा राम्रो हुन्छ । साधकहरू पहाडको चुचुरो, नदी किनार, पवित्र तीर्थस्थल, तुलसीको बोटको जराको माटो वा गोपी चन्दनको माटोबाट बनेको तिलकलाई उत्तम मान्छन् ।
पहाडतिर आफ्नो घरमा टीका लगाएर आफन्तकोमा पनि टीका ग्रहण गर्ने चलन छ, तर मिथिलामा त्यस्तो छैन ।
तिलक विशेष प्रकारले तयार गरिन्छ । सामान्यतया कुमकुम र अक्षता मिसाई तिलक तयार गरिन्छ । विशेष रूपमा यसमा गाईको दुधको दही मिसाइन्छ । कुमकुम अप्राप्य अवस्थामा रातोपनाका लागि जिठोको रातो रङ मिसाई लसिलोपनाका लागि चिनीसमेत मिसाइन्छ । यसो गर्नाले तिलक स्वरूपको अक्षता निधारमा धेरै बेरसम्म टाँसिएर बस्ने हुन्छ ।
विजयादशमी भगवान् रामको विजयका रूपमा मनाइयोस् अथवा देवी दुर्गाको विजयको रूपमा— यी दुवै रूपमा यो शक्ति–पूजाको पर्व हो । हर्षोल्लास तथा विजयको पर्व हो । वीरता र शौर्यको पर्व हो ।
सनातन संस्कृतिमा पूजा वा कुनै पनि शुभ अवसरका लागि अक्षता निकै उपयोगी मानिन्छ । यसको महत्त्व यसरी बुझ्न सकिन्छ— पूजाको समयमा कुनै वस्तु अप्राप्य छ भने त्यस वस्तुको स्मरण गरी अक्षता चढाएर त्यस वस्तुको पूर्ति गरिन्छ । चामलको दानालाई नै अक्षत भनिएको हो तर नटुटेको चामल अर्थात् क्षतिग्रस्त नभएको पवित्र चामल मात्र अक्षतको रूपमा ग्राह्य मानिन्छ ।
अक्षत कहिल्यै बिग्रँदैन, यो दीर्घायु हुन्छ । जति बढी पुरानो हुन्छ, त्यति नै बढी स्वादिष्ट हुन्छ, त्यसैले पुरानो चामलको मूल्य बढी हुन्छ । अक्षतको दीर्घायुको कारण, तिनलाई आयुको प्रतीक मानिन्छ । जब कसैको निधारमा तिलक लगाइन्छ, तब त्यो सम्मान र यशको प्रतीक मानिन्छ, तिलकमा दुईवटा अक्षत लगाउनुको अर्थ यो हो कि उसको आयुको साथै उसको यश र सम्मान पनि लामो कालसम्म जीवन्त रहोस् ।
- आशीर्वाद मन्त्र
‘आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।’
अर्थात् अश्वत्थामाको जस्तो आयु, दशरथको जस्तो श्री, भगवान् रामको जस्तो शत्रु संहारक सामर्थ्य, नहुषको जस्तो ऐश्वर्य, हनुमानको जस्तो गति, दुर्योधनको जस्तो मान, कर्णको जस्तो दानवीरता, बलरामको जस्तो बल, युधिष्ठिरको जस्तो धर्म, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति र प्रसिद्धि प्राप्त होस् ।
उपरोक्त मन्त्र पुरुषलाई आशीर्वाद दिँदा उच्चारण गरिन्छ भने नारीलाई आशीर्वाद दिँदा ‘जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वहा स्वधा नमोऽस्तुते’ भनिन्छ । यस मन्त्रमा प्रयुक्त सबै शब्द देवी शक्तिको सगुण नाम हुन् । सबै नाममा जस्तो प्रकारको गुण परिलक्षित हुन्छ, त्यस्तै जीवन प्राप्त होस् भन्ने आशीर्वादको अभिप्राय रहेको प्रतीत हुन्छ ।
‘जयन्ती सर्वोत्कर्षेण वर्तते इति जयन्ती ।’ अर्थात् सबैभन्दा उत्कृष्ट एवं विजयशालिनी देवी जयन्ती हुन् ।
‘मंगल जननमरणादिरूपं सर्पणं भक्तानां लाति गृह्णाति या सा मंगला मोक्षप्रदा ।’
अर्थात् जो आफ्ना भक्तलाई जन्म–मरण आदि संसार–बन्धनबाट टाढा गर्छिन्, उनै मोक्षदायिनी मंगलदेवीको नाम मंगला हो ।
‘कलयति भक्षयति प्रलयकाले सर्वम् इति काली’ अर्थात् जो प्रलयकालमा सम्पूर्ण सृष्टिलाई आफ्नो ग्रास बनाइलिन्छिन् उनी नै काली हुन् । ‘भद्रं मंगलं सुखं वा कलयति स्वीकरोति भक्तेभ्योदातुम् इति भद्रकाली सुखप्रदा’ अर्थात् जो आफ्नो भक्तलाई दिनका लागि नै भद्र सुख वा मंगल स्वीकार गर्छिन्, उनी नै भद्रकाली हुन् । जसले हातमा कपाल तथा गलामा मुण्डमाल धारण गर्छिन्, उनी नै कपालिनी हुन् ।
‘दुःखेन अष्टांगयोगमोपासनारूपेण क्लेशेन गम्यते प्राप्तते या– सा दुर्गा’
अर्थात् जो अष्टांगयोग, कर्म एवं उपासना रूप दुःसाध्यबाट प्राप्त हुन्छिन्, उनी नै जगदम्बा ‘दुर्गा’ हुन् ।
‘क्षमते सहते भक्तानाम् अन्येषां वा सर्वानपराघान् जननीत्वेनातिशय–करुणामयस्वभावदिति क्षमा ।’
अर्थात् सम्पूर्ण जगत्की जननी भएकी कारणले अत्यन्त करुणामय स्वभाव भएकी कारण (किनभने माता करुणामय हुन्छिन् ।) ले जसले भक्तको अपराध क्षमा गर्दछिन्, उनै देवीको नाम क्षमा हो ।
जस्तो नाम छ, त्यस्तै देवीको गुण पनि छ । शिवसँग सायुज्य भएकाले शिवा कहलिएकी हुन् । सम्पूर्ण संसारलाई पालनपोषण गर्ने भएकीले देवी धातृ कहलिएकी हुन् । स्वाहाको रूपमा, आहुतिको अंश ग्रहण गरेर देवताहरूको पालनपोषण गर्ने देवी स्वाहा हुन् । श्राद्ध र तर्पण ग्रहण गरेर पितृहरूको पालनपोषण गर्ने देवी स्वधा हुन् ।
दसैँमा टीका थाप्न आएका छोरीचेली, ज्वाइँ, नातेदारलाई मान्यजनले टीका लगाइसकेपछि दक्षिणा दिने गर्छन् । सुख, शान्ति, बल र समृद्धिको कामना गर्दै दिइएको दक्षिणालाई घरमा राख्नु भनेको लक्ष्मीलाई भित्र्याउनु हो भन्ने मानिन्छ र त्यस्तो दक्षिणा खर्च नगरी राख्ने गरेको पनि पाइन्छ ।
- जयन्ती अर्थात् जमरा
‘ॐ जयन्ती मंगला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वहा स्वधा नमोऽस्तुते ।’
यस मन्त्रमा प्रयुक्त ‘जयन्ती’ शब्द विजयको प्रतीक हो । यद्यपि सान्दर्भिक रूपमा यसले अनेक अर्थको प्रतिपादन गर्छ । जयन्ती जौ (अन्न) को रूपमा समृद्धि र शुभताको प्रतीक पनि हो । देवी पर्वमा जौको प्रयोग यिनै अर्थमा गरिएको छ ।
पौराणिक सन्दर्भमा जयन्ती भनेर देवी शक्तिको एक रूप मानिएको छ । संस्कृतमा ‘जयन्ती’ शब्दको एक अर्थ ‘विजयी’ वा ‘जसले विजय प्राप्त गर्यो’ भन्ने पनि हुन्छ । देवासुर संग्राममा देवीको विजय भएको अर्थ र स्वयं देवी विजयशालिनी भएकीले पनि प्रयोगमा आएको हो ।
साथै जौ वनस्पति (अन्नबाली)का लागि अर्थात् जौको अंकुरित अवस्थाका लागि पनि जयन्ती प्रयोग गरिन्छ । पहाडतिर यसैलाई भनिएको जमरा भन्ने संस्कृतको यव धातुबाट जौ भई त्यसैबाट जमरा बनेको हो ।
पौराणिक कथा अनुसार, जब पृथ्वीमा राक्षस र दानवहरूको अत्याचार बढ्दै थियो, देवी दुर्गाले असुरहरूलाई मारेर प्रकृतिको रक्षा गरिन् । धार्मिक मान्यता अनुसार देवी दुर्गा र दानवहरू बिचको द्वन्द्वको समयमा पृथ्वीमा अनिकाल पर्यो । असुरहरूको विनाशपछि जौ पृथ्वीमा उब्जने पहिलो बाली थियो । त्यसैले सनातन धर्ममा नवरात्रमा जौ रोप्नुलाई उर्वरता र समृद्धिको प्रतीक मानिएको छ ।
नवरात्रिको समयमा जौ छर्ने चलन छ, जसलाई जयन्ती वा जमरा पनि भनिन्छ । यो अनुष्ठान नवरात्रको पहिलो दिनमा गरिन्छ, जसलाई प्रतिपदा भनिन्छ, र जौलाई सम्पूर्ण नौ दिनसम्म उम्रन दिइन्छ ।
नवरात्रिमा जौ छरिन्छ किनभने यसलाई उर्वरता, समृद्धि र नयाँ जीवनको प्रतीक मानिन्छ । पौराणिक कथा अनुसार, यो पृथ्वीमा उम्रिएको पहिलो बाली थियो, जसले गर्दा यसलाई शुभ मानिएको हो । यसबाहेक जौको तीव्र वृद्धिलाई देवी दुर्गाको आशीर्वाद र घरका लागि समृद्धिको संकेत मानिन्छ ।
जौलाई ब्रह्माण्डको पहिलो अन्न बाली मानिएको छ । जब भगवान् ब्रह्माले ब्रह्माण्डको सृष्टि गर्नुभयो, जौ पृथ्वीमा उब्जाउने पहिलो बाली थियो । त्यसैले यसलाई देवता र देवीहरूसँग सम्बन्धित अन्नको पहिलो रूप मानिन्छ ।
एउटा मान्यता अनुसार जब देवी दुर्गाले असुरहरूलाई मारिन्, पृथ्वी अनिकालको सामना गरिरहेको थियो । त्यसपछि उब्जाएको पहिलो बाली जौ थियो, त्यसैले यसलाई देवी दुर्गाको आशीर्वाद र समृद्धिको प्रतीक मानिन्छ । जौलाई संसारको पहिलो अन्न र ब्रह्माको रूप मानिन्छ, जसबाट सबै अन्नको उत्पत्ति भएको थियो । त्यसैले नवरात्रिमा यसलाई रोप्नु शुभ मानिन्छ । जौको द्रूत अंकुरणले घरमा सकारात्मक ऊर्जा, खुसी र समृद्धिको संकेत गर्छ । जौ छिटो र राम्रोसँग उम्रने घरलाई देवी दुर्गाको आशीर्वादको प्रतीक मानिन्छ । जौ राम्रोसँग उम्रिएन भने यसलाई आर्थिक क्षतिको संकेत मानिन्छ । जौ छर्दा घरबाट अहंकार, दुःख र अन्य नकारात्मक प्रभाव हट्छन् र आनन्द र खुसी आउँछन् ।
नवरात्रिमा रोपिएको जौले धेरै विशेष संकेत प्रकट गर्छ । जौ सेतो वा हरियो भयो भने यसले शुभ संकेत ल्याउँछ । यो विश्वास गरिन्छ कि यसको अर्थ व्यक्तिको जीवनमा रहेका सबै समस्या चाँडै समाधान हुनेछन् । यसबाहेक जौ टुसाएर उम्रन्छ र विकसित हुन्छ भने यसलाई शुभ मानिन्छ । यसको अर्थ यसले घरमा समृद्धि र खुसी ल्याउनेछ । जीवनमा आर्थिक कठिनाइको सामना गर्दै हुनुहुन्छ भने विजयादशमीको दिन पर्वको औपचारिकता पूरा भएपछि केही जयन्तीलाई रातो कपडामा बाँधेर आफ्नो ढुकुटीमा राखिन्छ, जसले गर्दा धन लाभको योग बन्छ । आम्दानी र सौभाग्यमा अथाह वृद्धि हुन्छ । आदर, सम्मान, प्रेम, स्नेह, हर्षोल्लास, शृंगार सबैका लागि जमरा महत्त्वपूर्ण हुने र पहेँलो वा सुनौलो जमराको शोभा अवर्णनीय हुन्छ ।
नवरात्रिमा उमारिएको जयन्ती तिलकका साथ धारण गरेपछि बचेका जयन्तीलाई जलाशयमा विसर्जित गरी दिनुपर्छ किनभने यो माता दुर्गा भवानीको कृपाको प्रतीक हो ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दक्खल राख्छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण