हारेको प्रेम
सारांश
- लेखकले आफ्नो प्रेम यामिनीसँगको कथालाई व्यक्त गरेका छन्, जसलाई उनीहरूले विवाह गर्न सकेनन्।
- लेखकले यामिनीलाई गुमाउनुको पीडा, समाजको दबाब, र प्रेमको अभावलाई महसुस गरेका छन्।
- यामिनीले लेखकको लागि अविवाहित जीवन बिताइन्, तर उनीहरूको प्रेम असफल भयो।
जब सम्झनारूपी काँडाले मुटुमा घोच्छ,
तब रगत होइन प्रिय, आँसु झर्छ ।
जब किस्ता–किस्तामा तिम्रो याद आउँछ,
तब खुसी होइन प्रिय, वेदनाले घेर्छ ।
रोकिएन समय कतै टक्क । मुटु फुट्यो मेरो तर रगत बगेको कसैले देखेन । मनमा घाउ लाग्यो तर मलमपट्टी कसैले गरिदिएन । भावनामा ठेस लाग्यो तर बिसाउने ठाउँ कतै पाइनँ । मेरो मन यति गह्रौँ भएको छ कि संसारको कुनै पनि तराजुले मेरो मनको पीडा तौलन सक्दैन ।
सबै थोक गुमाएपछि बाँकी केही रहन्न । हो, म रित्तो भएको छु । यति रित्तो कि अब उसलाई दिनका लागि मसित सान्त्वना पनि छैन । पानी सकिएको गाग्रीजस्तै रित्तो । सुकिसकेको खोलाजस्तो खडेरीले उजाड भएको छु । प्रकृति उजाड भएको सबैले देख्छ तर म उजाडिएको कसैले देखेन । म बारम्बार उजाडिएँ । कहिले उसलाई पाउँछु कि पाउँदिनँ भन्ने सोचेर भयले उजाडिएँ । कहिले उसलाई नपाएर पनि बाँच्नुपर्छ भन्ने चोटले पटकपटक उजाडिएँ । आफूलाई सम्हाल्ने प्रयासमा असफल भएपछि मेरो होस उड्यो । आफूलाई छाम्न सक्ने तागत समेत ममा बचेको थिएन । आत्मा रोयो । मन हरायो तर किमार्थ हड्डी र मासु भएको जिउ उभिइरह्यो । म बाँच्नुको प्रमाणमा सास चलिरहेको छ तर मेरा लागि होइन परिवारका लागि ।
जिउ मेरो हो तर मेरो जिउ यति गहिरो खाल्डोमा धसिएको छ कि त्यो गहिरो खाल्डोबाट मलाई कसैले निकाल्न सक्दैन । म स्वयं आफूलाई निकाल्न असक्षम छु । मेरो मन उसैकहाँ छाडिसकेको छु । मैले आफ्नो मन र मुटु ऊबाट फिर्ता माग्न चाहन्नँ । आफैँबाट टाढिन तयार छु तर मेरो मन ऊसित खोस्न तयार छैन । उसले फेर्ने सासले म जीवित छु सायद । उसको सास कतै कुनै दिन रोकिएको कल्पना गर्दा पनि मेरो मुटुमा घनले हानेझैँ दुख्छ । ऊ मेरो साथमा नभए पनि लाग्छ, ऊ मभित्र छे ।
ऊसितको बिछोडको दूरी असह्य भएको म कसरी बताउँ ? एकतमासले म मरेको कसलाई सुनाउँ ? घन्टौँसम्म उसका लागि रोएर आँसुको खोला बगेको कसरी कसलाई देखाउँ ? उसलाई आफ्नो बनाउन नपाएको अभावलाई म कसरी पूरा गरुँ ? त्यो अभाव खत बनेर बसेको मेरो मुटु झिकेर कसलाई देखाउँ ? ऊ मेरो को थिई, कसरी बयान गरुँ ? ऊ मेरो जीवनमा हुँदा म कस्तो थिएँ र ऊ नहुँदा म कस्तो अवस्थामा छु ? कसले मेरो बेहोसी अवस्था पढिदिने ? म मुटु, ऊ सास । ऊ धर्ती, म आकाश । ऊ जून, म उसको उज्यालो । ऊ झरी, म बादल । ऊ नदी, म बगर । म मन्दिर, ऊ मूर्ति । खै कसरी बयान गरुँ !
मेरो मुटुमा चिरा परिरहेको छ, २५ वर्षदेखि । एकैपल्ट कुनै बारुदझैँ किन मेरो मुटु पड्केर छताछुल्ल हुँदैन ? म कस्तो सजाय पाइरहेको छु ! मैले मेरो मनलाई फुट्न दिएको छैन । मेरो मन ऊ बस्ने घर हो । उसको घर म कसरी भत्काउन सक्छु र ? उसलाई मैले मुटुभित्र यसरी सजाएर राखेको छु कि मबाहेक उसलाई कसैले स्पर्श गर्न सक्दैन । उसलाई छातीमा साँचेरै अन्तिम सास रोक्नेछु सायद । मेरी ऊ, जसले मेरो नामको सिन्दूर लगाइनँ तर मेरो यादलाई मुटुमा साँचेर जीवन बिताइरहेकी छे । मलाई आफैँदेखि बेला–बेला क्रोध उत्पन्न हुन्छ । मैले किन बिहे गरेँ अरुसित ? किन उसका लागि अविवाहित बस्न सकिनँ ? किन परिवार र आफन्तको करचापमा परेँ म ? धोकेबाज होइन तर पनि बेलाबेला दोष मेरो पनि छ भनेर आँखा रसाउँछ । मेरो बिहे भएको दिन उसले आफूलाई कसरी सम्हाली होला ? सम्झिँदा पनि मुटु काँप्छ मेरो । जीवन बिताउने सपना ऊसित देखेको थिएँ तर ऊ मेरो जीवनमा आइन ।
हाम्रो बिहे असम्भव छ भन्ने सोचेर मैले उसलाई मनबाट निकाल्ने धेरै प्रयत्न गरेँ । जुन जुन बेला मैले उसको बारेमा नसोच्ने प्रण गर्थें, त्यति बेला म आफैँलाई बिर्सिन्थेँ । मनमा एक प्रकारको उदासी छाउँथ्यो । ऊप्रति झन्झन् आशक्ति बढ्थ्यो । उसलाई नसोचेको कुनै पल थिएन ।
थाहा छ, अपरिचितसित बिहे गर्नु कति कठिन काम हो ? अपरिचितसित बिहे गर्नु भनेको कतै न कतै आफूलाई पनि अपरिचित बनाउनु हो । अपरिचितसित परिचित बन्न सायद म कहिले सक्दिनँ । मुटुमा प्रियसीलाई बोकेर अपरिचितको सिउँदो रङ्ग्याउनु कति क्रूर र दण्डनीय काम हो ! कायर बन्न कति गाह्रो छ । म कायर होइन, जे गरेँ, त्यो मेरो बाँध्यता थियो । परिस्थितिले मलाई गुलाम बनायो । समयले मेरो पिठ्युँमा धाप मारिरहेको थियो तर बाध्यताले मेरो हात समाएर मलाई घचेटिरहेको थियो । मेरो वशमा स्वयं म थिइनँ । म समयद्वारा सिर्जित एक चक्रव्यूहमा फस्दै गइरहेको थिएँ ।
परिवारको बाध्यताले फसायो, गलायो, कमजोर बनायो, क्रूर बनायो । प्रियसीको प्रेमको हत्या गर्न सकिनँ । मनमा आज पनि उसलाई बोकेर हिँडिरहेको छु । आज पनि उसकै लागि बाँचिरहेको छु । ऊ एक दिन आउनेछे भन्ने सोचेर म दिन बिताइरहेको छु । ऊ आउँदिनँ भनेर थाहा हुँदाहुँदै उसलाई पर्खेर बस्नु यही त होला नि प्रेम, होइन र ? ऊ आउँदिन भनेर थाहा हुँदाहुँदै बाटो हेर्दै पर्खिरहनु यही त होला नि माया, होइन र ? जीवन पथको प्रत्येक खुसी र कठिन समयमा ऊ आफूसँगै रहेको अनुभव गर्नु यही त होला नि स्नेह, होइन र ? लिलाम भइसकेको जीवनमा ऊ किस्ता तिर्दै अरूबाट मलाई खोस्न कहिल्यै आउँदिनँ भनेर थाहा हुँदाहुँदै उसको एक भेटका लागि तड्पिनु यही त होला नि, निस्वार्थ प्रेम होइन र ? जतिसुकै केटीहरूको अनुहार मेरो आँखामा ठोकिए पनि उसको अनुहार एकपटक हेर्नका लागि तड्पिरहनु यही त होला नि प्रेमको सुवास, होइन र ? अँ, समय घर्किसक्यो, अब ऊ आउँदिनँ । मन फुट्लाझैँ हुन्छ मेरो । बेलाबेला रगत छाद्छु भन्ने अनुभव हुन्छ मलाई तर म मेरो मुटु फुट्न दिन्नँ । किनकि मैले उसलाई मुटुभित्र सजाएर राखेको छु ।
०००
हामीले एउटै स्कुलमा पढ्थ्यौँ । म १० कक्षामा हुँदा ऊ कक्षा ८ मा थिई । त्यतिबेला मलाई ऊ अचानक औधी राम्री लाग्न थाली, मन पर्न थाली । उसलाई हेर्ने बहानाले कक्षाबाट म घन्टीपिच्छे पानी पिउन निस्किन्थेँ । उसलाई एक झलक हेर्न शौचालय जाने बहाना बनाउँथेँ । उसलाई एक दिन नदेखे म ऊर्जाहीन हुन्थेँ । ऊ मेरो ऊर्जाको स्रोत थिई । मैले मन पराउँछु भन्ने उसलाई थाहा थिएन । समयसँगै म उसलाई प्रेम गर्न थालेँछु । सायद यो एकतर्फी प्रेम थियो । स्कुलमा ऊ खेलेको, हिँडेको, हाँसेको, अरुसँग बोलेको— उसका सबै क्रियाकलाप मलाई मनपर्थ्यो । मैले उसलाई निगरानी गर्न थालेँछु ।
हामी एउटै गाउँका । उसको र मेरो घर एउटै टोलमा थियो । गाउँमा म ऊसित खासै बोल्दिनँथेँ, किनभने मैले उसलाई मनपराएको गाउँलेले चाल पाउँछन् कि भन्नेमा म सजग थिएँ । उसलाई प्रेम गरे पनि हाम्रो बिहे असम्भव थियो ।
हाम्रो बिहे असम्भव छ भन्ने सोचेर मैले उसलाई मनबाट निकाल्ने धेरै प्रयत्न गरेँ । जुन जुन बेला मैले उसको बारेमा नसोच्ने प्रण गर्थें, त्यति बेला म आफैँलाई बिर्सिन्थेँ । मनमा एक प्रकारको उदासी छाउँथ्यो । ऊप्रति झन्झन् आशक्ति बढ्थ्यो । उसलाई नसोचेको कुनै पल थिएन । उसलाई मनबाट एक सेकेन्डका लागि पनि निकाल्न सक्दिनथेँ । उसलाई मेरो मनबाट निकाले मेरो सास रोकिनेछ । मेरो जिउ शवमा परिणत हुनेछ । अहँ, म उसलाई बिर्सिन सक्दिनँ । ऊ मेरो खुसी हो, बाँच्ने आधार हो । ऊ भइन भने मेरो जीवनको कुनै महत्त्व रहनेछैन, मलाई यस्तो अनुभव हुन थाल्यो, ऊविना म अस्तित्वहीन हुन्छु ।
दिन बितिरहेका थिए । मैले धेरै साहस गरेर उसलाई नयाँ वर्षमा शुभकामना लेखेर ग्रिटिङ कार्ड पठाएँ तर आई लभ यु लेख्न सकिनँ । उसले अर्काे दिन टिफिन समयमा मेरो कक्षा कोठामा प्रवेश गरेर मेरो हातमा एउटा कापी थमाई । कापी पल्टाएर हेरेँ, खाली थियो । कापीका पृष्ठ खाली भए पनि मेरो मनको हरेक पृष्ठमा उसको नाम लेखिएको थियो । ऊ केही नबोले पनि मैले धेरै थोक बुझिसकेको थिएँ । मेरो जीवनका अध्यायहरू अब उसको र मेरो कथाबाट सुरु गर्ने आँट बटुल्दै थिएँ । कापीका पृष्ठहरू रित्तो भए पनि मेरो मन एक प्रकारको खुसीले भरिएको थियो । जिज्ञासा बढ्दै थियो । कापीका पृष्ठ पल्टाउँदै गएँ । कापीका पृष्ठ पल्टाए पनि मेरो जीवनका पृष्ठ पल्टाउन बाँकी थियो । अन्तिम पृष्ठमा एउटा खाम देखेँ, मेरो मनमा खुसी मिश्रित भय पलायो । मैले हतारिँदै खाम खोलेर हेरेँ । चिठी थिएन तर खामभित्र ग्रिटिङ कार्ड थियो । मलाई उसले पनि नयाँ वर्षको शुभकामना पठाएकी रहिछे ।
ऊप्रति झन्झन् आशक्ति बढ्न थाल्यो । उसलाई नहेरी बस्न सक्दिनथेँ । ऊसित नबोले पनि एक झलक हेरेपछि दिनभरिलाई पुग्थ्यो । ऊसित मेरो कुनै सम्बन्ध थिएन, तैपनि लाग्थ्यो ऊ मेरी हो, अरू कसैको हुँदै होइन । म पनि अरू कसैको हुँदै होइन । ऊ मेरो जीवनमा आई भने म हाँसीहाँसी जीवन बिताइदिन्छु । ऊविना मेरो जीवन केही पनि होइन । ऊ नङ र म मासु, ऊविना म यो संसारको कल्पना गर्न सक्दिनँ । ऊविना मेरो अस्तित्व धराशायी हुनेछ, यस्तै विचार पलाउँथ्यो मनमा ।
समय बितिरहेको थियो तर मैले उसलाई मेरो मनको कुरा व्यक्त गर्न सकेको थिइनँ । उसलाई मैले एकतर्फी मन पराएको एक वर्ष भइसकेको थियो । मेरो एसएलसी दिने बेला आइसकेको थियो । म खासै राम्रो विद्यार्थी होइन । पढ्न पनि खासै रुचि राख्दिनथेँ तर परीक्षा उत्तीर्ण हुनैपर्छ भन्ने इच्छा थियो । मैले उसका लागि पढ्नुपर्छ भन्ने सोच मेरो मनमा आउँथ्यो । मैले सकेजति पढाइमा समय दिन थालेँ । मेरो एसएलसी सकियो । धन्न ! म उत्तीर्ण भएको रहेछु । म कलेजमा भर्ना भएँ तर ऊ स्कुलमै पढिरहेकी थिई । उसलाई कलेजमा हेर्न नपाउँदा म बेलाबेला ज्यादै उदास हुन्थेँ, मनमनै आफैँलाई सान्त्वना दिन्थेँ, यो पढ्ने बेला हो । पढाइ सकाएर सानोतिनो जागिर गर्छु । त्यसपछि उसको बुवासित उसको हात माग्न जान्छु ।
म ५० लागिसकेँ । मेरी एउटी छोरी छे । यामिनी अहिलेसम्म अविवाहित बसिरहेकी छे । बिहे नगरी उसले आफ्ना बा र भाइ–बहिनीहरूसित मौन विद्रोह गरेकी थिई । उसको त्याग सम्झिँदा म गल्छु । मेरो दिमागले काम गर्न छोड्छ । मेरी प्रिया मेरा लागि अविवाहित बसी, तैपनि उसको बाको मुटु पग्लेन ।
म एक सामान्य विद्यार्थीको सपना पनि सामान्य थियो— पढेर सानोतिनो जागिर गर्ने, ऊसित बिहे गर्ने, घर बसाउने । पढाइ पूरा भएपछि उसको हात माग्न जाने निधो गरेँ । मैले के सोच्दै छु भन्ने उसलाई थाहा थिएन । उसका लागि म पढाइमा मेहनत गर्न तयार हुँदै थिएँ । अब म निरन्तर अध्ययनमा समय बिताउन थालेँ । म भविष्यमा जागिर गर्ने सोचले मेहनत गरिरहेको थिएँ । जागिर गर्नु थियो । उसको हात माग्न जानु थियो । उसलाई जानकारी नदिई कसरी उसको बासँग हात माग्न जाने ? म तिमीलाई प्रेम गर्छु नभनी कसरी सिधैँ हात माग्न जाने ? म उसलाई मन पराउँछु भनेर बताउनैपर्छ, यस्तै कुरा मनमा खेलिरहन्थे ।
दुई वर्षपछि ऊ पनि कलेज भर्ना भई, ऊ कलेज पढ्न आउन थालेदेखि मेरो खुसीको सीमा थिएन । ऊ ११ कक्षामा पढ्दै थिई । त्यतिबेला मैले बडो साहस गरेर उसलाई कलेजमा एकान्तमा भेटेर भनेँ, म तिमीलाई मन पराउँछु ।
मेरो कुरा सुनेर ऊ मुसुक्क हाँसी तर केही बोलिनँ । उसको अनुहारतिर हेरेँ । उसको अनुहार दोधारले भरिएको थियो । यो कसरी सम्भव छ र ? उसले भय र दोधार मिश्रित भावले मतिर हेरी । जबर्जस्ती मुसुक्क हाँस्दै त्यहाँबाट हिँडी, कुनै प्रतिक्रिया दिइनँ । यसलाई म के सम्झुँ ? मलाई कताकता नराम्रो लाग्यो, भित्रभित्रै उदास भएँ । ऊ मुस्कुराएको देखेर कताकता आशा पनि जाग्यो ।
उता उसको घरमा उसको हात माग्न जागिरे केटाहरू आउन थालेका थिए । म भयभीत हुन्थेँ, कतै उसका बाआमाले अरूसित उसको बिहे गरिदिने त होइनन् ? मेरो भागबाट ऊ खोसिन्छे भन्ने भयले मेरो मुटु काम्थ्यो । ऊ मेरी भइन भने म कसरी बाँच्छु होला ? उसले मलाई मन पराउँछे कि पराउँदिनँ, त्यो कुरा पनि त थाहा थिएन ।
पटकपटक धनाढ्य र जागिरे केटाहरूको घरबाट बिहेको प्रस्ताव आउन थालेपछि उसका बाआमाले उसको बिहेको बारेमा गहिरिएर सोच्न थाले । पछि यस्ता केटा पाइएला वा नपाइएला भन्ने सोचेर उसको बिहे गरिदिन उसका बाआमा तयार भए तर उसको इच्छा सोधेनन्, स्वीकृति लिएनन् । जागिरे केटासँग उसको बिहे पक्कापक्की हुन लागेको खबर गाउँभरि फैलियो ।
मेरो मुटु टुक्रिन थाल्यो । म भयभीत भएँ । मेरी उनलाई अरूले खोसेर लग्ने भयले म गलेँ । मबाट ऊ टाढिन्छे । म ऊविना कसरी बाँच्न सक्छु भन्ने सोचेर म भयले पसिनै पसिना भएँ । उसलाई पीडा हुँदा म दुख्थेँ । अव्यक्त प्रेमको पीडाले खुस, शान्ति, भोक, निद्रा सबैथोक एकैपल्ट खोस्ने रहेछ । अब मसित केही बाँकी थिएन । मेरो आँखामा निद्रा थिएन, भोक थिएन । मबाट मेरी प्रिया टाढिँदै गरेको देखेँ ।
आफ्नो बिहेबारे उसले निर्णय लिन सक्छे भन्ने कुरामा म निश्चिन्त थिएँ । सधैँ बाआमाको इच्छा अनुसार हिँड्ने छोरी थिई ऊ, तर जब उसको बिहे पक्का हुने भयो, तब उसले बिहे नगर्ने निर्णय लिई । उसले आफ्नो बालाई भनी, ‘म अहिले बिहे गर्न सक्दिनँ ।’
किन ? बहुलाइस् ? यस्तो केटो बत्ती बालेर खोजे पनि भेटिँदैन । जागिर छ, धनी छ, तँलाई रानी बनाएर राख्छ । उसका बाले यस्तै भने ।
उसले लाज नमानीकन अव्यक्त प्रेमलाई बाको अगाडि व्यक्त गर्दै भनी— म अरू कसैलाई मन पराउँछु ।
को हो त्यो ? उसका बाले सोधे ।
देव हो उसको नाम ।
को देव ? त्यही मिस्त्रीको कान्छो छोरो ?
हजुर, हो । त्यही देव । उसले नढाँटी भनी ।
अभागिनी ! तेरो कर्म फुटेको छ ? त्यस्तो लफङ्गो, फटाहा केटोसित म बिहे हुन दिनेछैन । के देखिस् त्यो केटोमा ? न रूप छ न गुण ! त्यसमाथि हामीभन्दा तल्लो थरको हो ऊ । किन बुझ्दिनस् तैँले ? जागिर छैन । घरको अवस्था पनि त्यस्तै डामाडोल छ । बरु म विष सेवन गर्छु तर त्योसँग तेरो बिहे भएको हेर्न सक्दिनँ ।
बाको कुरा सुनेर ऊ धेरै उदास भई ।
हामी दुवैजना नेवार समुदायका थियौँ । एउटै समुदायभित्र पनि उसका बाले भेदभाव राखे । जुन मलाई पटक्कै मन परेन । सम्पूर्ण मानिसको थर मानव हो, तैपनि यो भेदभाव किन ? कथित जात व्यवस्थाले दुई प्रेमिल मुटुलाई एक हुनबाट रोकिरहेको थियो । उसको बुबाले मसित बिहे नगराउने हठ लिएछन् । उसले मसित बिहे नभए कसैसित बिहे नगर्ने निर्णय लिई । यो कुरा हावा बनेर गाउँभरि फैलियो । अव्यक्त प्रेमको नतिजा व्यक्त हुँदा गाउँ हल्लियो । टोलभरि कानेखुसी फैलियो । टोलका मान्छेको मप्रतिको नजर बदलियो । म गाउँलेहरूको हेराइमा आवारा केटोको रूपमा गनिन थालेँ । मलाई उसले मन पराएको सुनेर उसका बाआमा, भाइ, बहिनी सबै मसित बोल्न छाडे । मैले उसकी छोरीलाई वशमा पारेको ठाने उनीहरूले । परिवार बिगारेको ठुलै शत्रु ठान्न थाले मलाई उनीहरूले ।
यो २०५५ सालतिरको कुरा हो । यतिबेला हातहातमा मोबाइल थिएन, घरमा फोन थिएन । हामीलाई एकअर्कासित कुरा गर्न धेरै नै कठिन थियो । गाउँलेहरूको अगाडि उसलाई भेट्न सक्दिनथेँ । उसका बुबाले उसलाई एक्लै घरबाट बाहिर निस्किन निषेध गरे । मसित भेट्न र बोल्न त झनै निषेध गरेका थिए । पढेर बिग्रिस् भनेर गाली गर्थे उसलाई । ऊ कलेज आउन छोडी ।
मैले उसकी नजिककी साथी गीतालाई भनेँ— म यामिनीलाई मन पराउँछु ।
गीता मेरो साथीकी बहिनी थिई । साथीकी बहिनी भएकीले म गीतालाई बहिनी नै मान्थेँ । गीता यामिनीकी साथी थिई । गीताले मैले व्यक्त गरेको प्रेम उसको घर गएर ऊ एक्लै भएको बेला सुनाई । ऊ उत्पात खुसी भई । भोलि ऊ हटिया गर्ने बहानाले मलाई भेट्न गीतासित हटिया आई । हामी भिडको आँखा छल्दै भेट्यौँ ।
मलाई कति विश्वास गछ्र्याै ? उसलाई सोधेँ
आफूभन्दा बढी । उसले भनी ।
कलेज किन आउँदिनौ ?
बाले मलाई अब नपढाउने रे । कलेज जान दिनुहुन्न ।
तिमी चिन्ता नगर । म पढाउँछु तिमीलाई ।
कसरी मलाई पढाउनुहुन्छ ?
बिहेपछि मेरो घरबाट पढाउँछु ।
बाले बिहे गर्न मान्नुहुन्न ।
चिन्ता नलिउ । बाले एक दिन मान्नैपर्छ । मैले उसलाई सान्त्वना दिएँ ।
अब ऊ मेरी हुनबाट कसैले रोक्न सक्दैन । उसको बाको पनि त मन हो । एक दिन पग्लिन्छ भनेर म ढुक्क भएँ । छोरीको खुसीमा बाआमा खुसी हुन्छन् नै भन्ने कुरामा म ढुक्क भएँ ।
उसले मलाई बजारमा भेटेको उसका बाले थाहा पाएछन् । त्यसपछि उसलाई बजार जान निषेध गरे । ऊ बजार पनि आउन छोडी ।
उसलाई माग्न आउने क्रम रोकिएन तर उसले अरूसँग बिहे नगर्ने हठ त्यागिन । मसित मात्र बिहे गर्ने, अरू कसैसित बिहे नगर्ने निर्णय उसले सुनाई । उसका बाले पनि निर्णय सुनाए— म बाँचुन्जेल देवसँग तेरो बिहे हुनेछैन । त्यसपछि ऊसित भेट्न असम्भव नै भयो । ऊ रातदिन परिवारको निगरानीमा हुन्थी ।
गीताले मलाई भेटेर भनी— उसका बा छउन्जेल तिमीहरूको मिलन असम्भव छ ।
मैले भनेँ— त्यस्तो भन्नु वा सोच्नु पनि हुन्न । एक दिन मान्नुहुन्छ, मान्नैपर्छ उहाँले ।
उसका बा घरमा नभएको बेला गीताले अर्काे दिन यामिनीलाई लिएर बजार आई, त्यहीँ भेट्ने कुरा थियो । त्यतिबेला ऊ धेरै उदास थिई । उसको अनुहारमा कुनै चमक थिएन । चकचक गरिराख्ने ऊ धेरै शान्त थिई । एक प्रकारले ऊ मौन थिई । मलाई देखेर उसको आँखा रसायो । मैले उसको आँखामा आँसु देख्न सकिनँ । उसको उदास अनुहारले मेरो मुटु भतभती पोल्यो ।
मैले उसलाई भनेँ— हामी भागौँ ।
म भागेर जान्नँ । मेरा बाले हजुरसित बिहे गरिदिनैपर्छ । उसले आँसु पुछ्दै भनी ।
बिहे गरिदिएनन् भने ? मैले प्रश्न गरेँ र बाले हजुरसित बिहे गराइदिएनन् भने हजुरले अरूसित बिहे गर्नुस् तर म कसैसित बिहे गर्नेछैन ।
त्यसो नभन । म अरूको बारेमा सोच्न पनि सक्दिनँ । मैले भनेँ
म जेठी छोरी हुँ । मैले नै भाइ–बहिनीहरूलाई हेरचाह गर्नुपर्छ । भागेँ भने बाले मलाई माइती फर्किन दिनुहुन्नँ । म भाइबहिनीसित छुट्न चाहन्नँ । बहिनीहरूले मलाई धेरै हेरचाह गर्छन् । बाले पनि मलाई धेरै माया गर्नुहुन्छ । म घर–परिवारको विरुद्धमा जान्नँ तर घर–परिवारले मेरो इच्छा बुझ्नैपर्छ । मेरो इच्छा बुझेर बिहे गरिदिए भने म खुसी साथ हजुरलाई स्विकार्नेछु । नहुने नै भए’सि हजुर अर्कै केटी खोजेर बिहे गर्नुस् । उसले भनी ।
यसो भनिरहँदा उसले आँसु झारिरहेकी थिई । वर्षाको पानीले ढुङ्गा पनि पग्लिन्छ तर उसको आँसु देखेर उसको बाको मन, मुटु र मस्तिष्क किन पग्लेन ?
बाले जातप्रति राखेको घमण्डलाई उसले तोड्न चाहन्थी ।
बिहेको कुरा गर्न भोलिपल्ट उसको घर मैले मेरा बालाई पठाएँ । मेरा बाले बिहेको कुरा राखेको देखेर उसका बाले मेरा बालाई हप्काउँदै भने— जसको एक सुको कमाउने औकात छैन, उसका बाले मेरी छोरीको हात माग्न आउने ? अहिलेको अहिले मेरो घरबाट निस्केर जा । मेरी छोरीलाई तेरो घरको बुहारी बनाउने कुरा सपनामा पनि नसोच् । तँ कहाँ ? म कहाँ ?
मेरा सोझा बालाई उसका बाले अपमान गरेर पठाए ।
उसको बाको अहं टुटेन । उसले आमासित कुरा राखी— आमा ! बालाई रिझाउनुस् न । देवका बासित हाम्रो बिहेको कुरा गर्नलाई भन्नुस् न ।
आज राति म कुरा गर्छु । उसकी आमाले भनिन् ।
ऊ ढुक्क भई । त्यही दिन बेलुकी भ¥याङबाट उसकी आमा लडिन् र बेहोस भइन् । होस आउँदै आएन । अस्पताल भर्ना गराए । आमाको होस आज आउँछ, भोलि आउँछ भन्ने आशामा ऊ थिई । होस आएपछि बासित बिहेको कुरा गर्छिन् भन्ने सोचेर ऊ बसी । होस आएपछि उसकी आमाले स्मरण क्षमता गुमाइसकेकी थिइन् । आमाको त्यस्तो अवस्था देखेर उसको आशा म¥यो, विश्वास टुट्यो, सपना हरायो । उसको भविष्य आमाको हातमा कैद भयो । ऊ निराश भई । उसकी आमा ओछ्यानमै दिसा–पिसाब गर्थिन् । आमाको स्याहारमा ऊ दिनभरि व्यस्त हुन्थी । तर आमाको स्मरण शक्ति फर्केन, केही समयपछि आमाको निधन भयो ।
मलाई रातभरि निद्रा लाग्दैनथ्यो । एक दिन मैले गीतालाई भेटेर भनेँ— म यामिनीसित भेट्न चाहन्छु ।
गीताले यामिनीलाई बजार लिएर आई । ऊ पहिलाभन्दा धेरै दुब्लाएकी थिई । उदास देखिन्थी ।
मैले उसलाई फेरि भनेँ— प्रिय, हामी भागौँ । नभए हामीलाई समाजले एक हुन दिँदैन ।
म भागेर जान्नँ । मेरा बाले हजुरसित बिहे गरिदिनैपर्छ । उसले फेरि पहिलाकै कुरा दोहो¥याई ।
बिहे गरिदिएनन् भने ? मैले सोधेँ ।
बाले हजुरसित बिहे गरिदिएनन् भने हजुर अरूसित बिहे गर्नुस् ।
त्यसो नभन । म अरूको बारेमा सोच्न पनि सक्दिनँ । मैले भनेँ
हजुरलाई थाहा छ, मेरी आमा हुनुहुन्न । मैले नै भाइ–बहिनीहरूलाई हेरचाह गर्नुपर्छ । आमाले जस्तै माया म मेरा भाइ–बहिनीलाई गर्छु । भागेँ भने बाले मलाई माइती फर्किन दिन्नन् । म भाइबहिनीसित छुट्न चाहन्नँ । आमा बितेपछि म भित्रभित्रै डिप्रेसनमा गएकी थिएँ, त्यतिबेला बहिनीहरूले मलाई साथ दिएका थिए । म घर–परिवारका विरुद्धमा जान्नँ तर घर–परिवारले मेरो इच्छा बुझेर बिहे गरिदियो भने म खुसी साथ स्विकार्नेछु । यो सम्भावना कम छ, त्यसैले हजुरले अर्कैसँग बिहे गर्नुस् ।
उसले फेरि त्यही कुरा दोहो¥याई । यो कुरा बोल्दा उसको आँखा रसाएको थियो । आँसु पुछ्दै ऊ त्यहाँबाट गई ।
बाले एक दिन हाम्रो बिहे गरिदिनेछन् भन्नेमा ऊ ढुक्क थिई तर भेदभावको दायरालाई कानुन मान्ने उसका बालाई छोरीको खुसीभन्दा समाजको खुसी प्यारो थियो । छोरीको मौन विद्रोह बुझ्नुभन्दा उनी देखावटी समाज र परम्परा बुझ्न तयार थिए । उसका बा दुई प्रेमिल मुटुलाई जोड्नुभन्दा छुटाएर समाजमा देखावटी इज्जत बचाउन लागिपरेका थिए ।
तिमीसँग यामिनीको बिहे गराए उसका बाका मान, मर्यादा, प्रतिष्ठा र इज्जतमा ठुलै धक्का लाग्छ रे । गीताले मलाई एक दिन भनी । गीताको कुरा सुनेर मैले यति मात्र भनेँ— अरूलाई तल गिराएर कसैले पनि इज्जत र प्रतिष्ठा बचाउँदैन र कमाउँदैन पनि ।
कसैलाई तल गिराएर म प्रतिष्ठा कमाउँछु भन्नु उसको मूर्खता हो । एउटै रङको रगत भएको मान्छेलाई भेदभाव गरेर उचनिचको पगरी भिराइदिने सामाजिक परम्परा समाजलाई अराजक बनाउने सेतु हो । यो कुनै परम्परा होइन । मानिसद्वारा सिर्जित सामाजिक कुरीति हो, बेथिति हो । यसले मान्छे–मान्छेबिच खाडल बनाउँछ, शत्रुता निम्त्याउँछ, सामाजिक विकासमा बाधा उत्पन्न हुन्छ ।
म यो कुरीतिलाई खुलेर विरोध गर्न उत्रेको थिएँ । यामिनी जातपात र भेदभाव विरुद्धको कुरीतिमा मौन विद्रोह गरिरहेकी थिई । मलाई एक हिसाबले यामिनीको निर्णय सही लाग्थ्यो । हामी भागेर जातपातको अन्त्य हुँदैन । भेदभावको असामाजिक अराजक दायरा बनाउनेहरूद्वारा नै यो सीमा भत्काउनु जरुरी छ । बनाउनेले जबसम्म यो सीमा भत्काउँदैन, तबसम्म कहीँ न कहीँ यो सीमा कायम रहिरहन्छ । यामिनी आफ्नो बाको हातले समाजको अदृश्य जातीय सीमा सबैले देख्ने गरी भत्काउन चाहन्थी । बालाई उसले गलत ठानेकी होइन तर परम्परादेखि मान्दै आएका अदृश्य अछुत सीमालाई उसका बाको हातले भत्काउन लगाएर सबैले स्पर्श र अनुभव गर्ने खालको सीमाहीन स्वतन्त्र समाज ऊ बनाउन चाहन्थी । सुरुवात उसले आफ्नो घरबाट गर्न चाहन्थी ।
उसको मौन विद्रोहमा साथ दिन मैले धेरै साहस गरेर उसलाई भेट्न उसको घरमा गएँ तर उसका बा र बहिनीहरूले मलाई रोके, दैलोभित्र पस्नै दिएनन् । उनीहरू नातामा उसका बा र भाइबहिनीहरू नपरेका भए म सबैको छातीमा टेक्दै मेरी यामिनीलाई भेट्थेँ । उनीहरूको रगतको खोला बगाउँदै मेरी प्रियासित बिहे गर्थें तर धेरै विचार गरेर म रोकिएँ । म निराश भएर फर्कें ।
मैले पनि निर्णय गरेँ— यामिनीलाई नपाए अरु कसैसँग बिहे गर्दिनँ । मेरो निर्णयले मेरो घरमा निराशाको तरङ्ग भित्रियो । त्यो तरङ्गले मेरा बाआमा गहिरो चिन्तामा डुबे । छोराछोरीको घर आवाद भएको सबैका बाआमाले हेर्न चाहन्छन् । मेरा दिदी–भिनाजु पनि साह्रै चिन्तित थिए, मैले बिहे गर्न नमानेकामा ।
मैले बिहे नगरुन्जेल आमाले मुखमा अन्न नहाल्ने निर्णय लिइन् । आमा अनशन बसिन् । आमा र मेरो बिचमा मौन लडाइँ सुरु भयो । आमा र म हारजितको मैदानमा थियौँ । म आमासँग कसरी जित्न सक्थेँ र ? आमाको ज्यान लिएर म कसरी बाँच्न सक्थेँ र ? आमाले खाना खान छाडिन् । आमाको अवस्था देखेर म मौन भएँ । यसरी मौन भएँ कि त्यो दिनबाट मेरो मुखबाट आवाज निस्किन बन्द भयो । मेरो केही जोरजबर्जस्ती चलेन । म हातखुट्टा बाँधिएको र मुख थुनिएको गुलामजस्तै भएँ ।
दिदीले मेरा लागि केटी खोज्न थालिन् । त्यससपछि म डिप्रेसनमा गएँ । म के गर्दै छु, केही थाहा हुँदैनथ्यो । म अरूसित कसरी बिहे गर्न सक्थेँ र ? मेरो मनमा यामिनी थिई ।
धेरै दुःख गरेर दिदीले केटी खोजिन् । मैले केही सोच्न र सम्झन सकिरहेको थिइन । बिहेको कुरा पक्का भएको दिनदेखि आमा खाना खान थालिन् ।
केटी को थिई ? कस्ती थिई ? मैले केटीको रूप–रङ केही हेरिनँ, केही जान्न खोजिन । मलाई आमा र भाउजूहरूले बेहुलाको रूपमा सजाए तर मेरो मन शृंगारविहीन भएको कसैले देखेनन् । म रोइरहेको कसैले अनुभव गरेनन् । म यामिनीका लागि तड्पिरहेको बुझेनन्, सबैजना रमाइरहेका थिए तर म जलिरहेको थिएँ, बाजा बजिरहेको थियो । मान्छेहरूको भिड थियो, यो मेरो बिहे थियो कि अरू कसैको ? मलाई ठम्याउन बडो गाह्रो भयो । बेलुकी जन्ती निस्किने बेला बेहोसीमै मैले यामिनीको घरतिर चियाएँ, ऊ आउनेछे भनेर बडो आशाले उसको घरतिर हेरिरहेँ ।
जन्ती गाउँबाहिर पुग्यो तर गाउँतिर फर्कीफर्की हेर्न मैले छाडिनँ । गाउँ पर हुँदै गएपछि म भावविह्वल भएँ । फूलहरूले सजिएको र शुभविवाह लेखिएको कारभित्र एउटा जिउँदो लाससमान मेरो जिउ बसिरह्यो । कुन बाटो हुँदै कसरी, कहाँ र कुन गाउँ म पुगेँ चाल पाइनँ । कार दुलहीको घरमा पुगेपछि जे–जे अह्राइयो, ती सब विधि मैले बेहोसीमै गरेँ । जन्तीहरूले कठपुतलीझैँ मेरो हात समाएर बेहुलीको सिउँदोमा सिन्दुर भर्न लगाए । मेरो बिहे भयो बेहोसीमै तर सपना थियो कि विपना भनी ठम्याउन सकिनँ । बिहे गरेर नयाँ बेहुली लिएर फर्किरहेको थिएँ, मेरो मन भने बेहुलीसित थिएन । मैले आफ्नो मन यामिनीसित छाडेको थिएँ । मेरो जीवन, मेरा सपना, यादहरू सबै यामिनीसित जोडिएको थियो ।
मेरो घर यामिनी आई होला भनेर बेहोसीमै मेरो मनमा आशा जाग्यो । घरमा यामिनी आएकी छे भने म नयाँ बेहुलीसित माफी माग्दै मेरो दैलोबाट माइती फर्काइदिन्छु । बरु नयाँ बेहुलीको गाली खान तयार छु तर यामिनीलाई त्याग्न तयार छैन, बिल्कुल छैन । बेहुली बसिरहेको कार मेरो घरअगाडि रोकियो । म बेहोसीमै कारबाट ओर्लें ।
कारबाट ओर्लेर कसैलाई वास्ता गरिनँ, सिधैँ आँगनमा प्रवेश गरेँ । आँगनमा प्रवेश गरेर आमालाई बोलाएँ । नयाँ बेहुलीलाई भित्र्याउन स्वागतको तयारीमा लागेकी आमा मेरो आवाज सुनेर आत्तिँदै भनिन्— के भयो बाबु ?
यामिनी खोई ? आएकी छैन ? मैले बेहोसीमै सोधेँ ।
के भनेको बाबु ! किन आउँथी ऊ ? आएकी छैन । चुप लाग्, मुख बन्द गर् । पाहुनाहरूले सुने भने के सोच्छन् ! हिँड् बेहुलीलाई स्वागत नगरुन्जेल कारभित्र बेहुलीसित बस् ।
आमाले मेरो हात समाउँदै मलाई धकेल्दै कारभित्र हुलिदिइन् । त्यसरी हुलिदिइन्, जसरी खसीहरूलाई वधशालामा काट्नुभन्दा अगाडि एउटा खोरमा हुल्छन् । म वधशालामाझैँ थुनिएँ, भाग्ने ठाउँ थिएन । खुकुरीको सिकार हुनैपर्ने बाध्यता थियो । मलाई उद्धार गर्ने कोही थिएन । मानौँ म मनमनै प्राण बकसको भिख मागिरहेको थिएँ । यामिनीसित भेट्न तड्पिरहेको थिएँ तर मेरो तडपको कुनै सुनुवाइ भएन । मेरो मौन क्रन्दन कसैको कानसम्म गुन्जिएन । मेरो उदास अनुहार सबैको आँखासम्म ठोकिएन र कसैको हृदयसम्म पुगेन । पाहुनाहरू खुसीले रमाइरहेका थिए तर मेरो बेहोस दिलको अवस्था बुझ्ने फुर्सद कसैलाई थिएन । मेरो खुसी फर्काइदिने कसैले साहस जुटाएन । मेरो हालखबर सबैले सोधे तर दिलको हालखबर कसैले सोधेन । मेरो बिहेमा उपस्थित भिड कसका लागि खुसी हुँदै थियो, मेरो लागि वा आ–आफ्ना लागि ? के यो भिडले सधैँ मलाई यसरी नै दुःखी बनाइरहन्छ ? जुन भिड मेरो खुसीमा सामेल हुन आएको थियो, त्यही भिड संसारको सबैभन्दा दुःखी मान्छेको अगाडि रमाइरहेको थियो । प्रियालाई गुमाउनु पीडा मात्र पाउनु होइन रहेछ, असह्य पीडा झेल्नुरहेछ । त्यो भिडमा मेरो असह्य पीडा बुझ्ने तागत थिएन ।
नयाँ बेहुली मेरा लागि अपरिचित पात्र थिई । अपरिचित मान्छेको छेउमा म कारभित्र निस्साएको अनुभव गरेँ । मेरो सास रोकिनेछ, जुनसुकै बेला । मेरो सास रोकिने मलाई पूर्वाभास भइरहेको थियो । मेरो जिउ लल्याकलुलुक भयो, म भित्रबाटै गलेँ, ऊर्जाहीन भएँ । अब मेरो जीवनमा केही बाँकी छैन । सबै खुसी सकिएको अनुभव भयो । जीवनको नयाँ अध्याय सुरु गर्ने साहस ममा थिएन । परिवारका लागि बाँच्नु थियो । आमाका लागि बुहारी भित्र्याएको थिएँ ।
समय बितिरहेको थियो । म एक कठपुतला थिएँ, बाआमा र स्वास्नीको इसारामा चलिरहेको थिएँ । यामिनीलाई माग्न धेरै ठाउँबाट आए तर उसले कसैसित बिहे गरिन । आफू बिहे नगरी आफ्ना सबै बहिनीको धूमधामसाथ बिहे गराई । उसका सबै बहिनीहरूको बिहे भयो । उसको उकेर ढल्किन लागेको थियो । यामिनीले बिहेका सबै प्रस्ताव अस्विकारेको देखेर उसका बुबा भित्रभित्रै मानसिक तनावमा गए । छोराछोरीले घरजम गरेको हेर्ने सबै बाआमाको सपना हुन्छ । यामिनीले अब बिहे गर्दिन भन्नेमा उसका बा विश्वस्त भइसकेका थिए । उसको उमेरका सबै केटीहरूको घर बसिसकेको थियो । उसका बहिनीहरूका पनि छोराछोरी जन्मिसकेका थिए । यामिनीले आमाझैँ सबै बहिनीहरूको बिहे गराई । अब उसको कान्छो भाइको मात्र बिहे गर्न बाँकी थियो ।
यामिनीले आजीवन बिहे नगर्ने निर्णय लिई । उसको यस्तो कठोर निर्णयले उसका बा भित्रभित्रै गल्न थाले । उनी चुपचाप बसिरहेथे, छिमेकीहरूसँग बोल्न छाडे, घरमा पनि निकै कम बोल्थे, कोठाबाट बाहिर निस्कन कम गरे । उनले खानपानमा त्यति रुचि देखाएनन्, बाको यस्तो अवस्था देखेर ऊ चिन्तित भई । उसले बालाई अस्पताल लग्ने धेरै प्रयास गरी । उसका बाले उपचार गराउन जान मानेनन् तर एक दिन बालाई गाह्रो भएपछि जसोतसो जँचाउन लगिन् । अनि थाहा भयो, उसका बा मनोरोगको सिकार भइसकेका रहेछन् । डाक्टरको सल्लाह अनुसार नै मनोरोगको ओैषधीहरू सुरु गराइन् ।
ऊ आफैँ पनि डिप्रेसनबाट तङ्ग्रिएकी बिरामी, अझै पनि ओैषधी खाइरहेकी थिई । मैले गीतामार्फत सुनेको थिएँ, मेरो बिहे भएपछि मेरी प्रिया मनोरोगको सिकार भएकी थिई । आफूले जति समस्या र पीडा झेले पनि उसले बाको स्याहार र हेरचाह गर्न छाडिन । उसले बालाई राम्रोसँग स्याहारेर बसिरहेकी थिई । एक दिन उसका बाले बिरामी भएकै बेलामा भने— बिहे गर्न मान्दिनस् । जा, त्यही देवसँग पोइल जा । म अनुमति दिँदै छु । त्यही देवसँग जा । गइहाल् । अनि म शान्तले मर्नेछु ।
बाको कुरा सुनेर ऊ दुःखी हुने कि खुसी ? सबै खुसी लुटिसकेपछि देवसँग जा भन्दा ऊ खुसीभन्दा दुःखी भई तर बाको मन परिवर्तन भएको देखेर ऊ खुसी पनि भई । उसका बा परिवर्तन भए तर धेरै ढिलो भइसकेको थियो ।
बाको कुरा सुनेपछि उसले जवाफमा भनी— ऊ बेला माग्न आउँदा दिनुभएन । ऊ मलाई लिन आउँदा म हजुरहरूकै इज्जत र समाजका लागि भागिनँ । हजुरलाई इज्जत प्यारो थियो । जात र विभेदको जालो सुन्दर लाग्यो हजुरलाई । अब म के भनेर जानु ? उसले मेरै अनुरोधमा बिहे ग¥यो । छोरी पनि जन्मिसकी । अब के गर्न जानु ! सौता लाग्न जानु ? भो अब मेरो बिहेको सपना नदेख्नुस् बा ।
उसको कुरा सुनेर उसका बा मौन भए । यसरी मौन भए जसरी गहिरो कुँवाभित्रको पानी मौन हुन्छ । उसका बा एकटकले घरको भित्तातिर हेरिरहे । उता उसको भाइ कथित दलित जातको केटीसँग प्रेममा थियो । उसको भाइले त्यही केटीसँग बिहे गर्ने निर्णय बालाई सुनायो । छोराको निर्णय सुनेर उसको बाले भने— त्यो सानो जातकी केटीलाई मेरो घरमा भित्र्याउनुपर्दैन ।
बाको कुरा सुनेर उसको भाइले घर छाड्यो र डेरा लिएर बस्न थाल्यो । उसले आफूले मन पराएको केटीसँग मन्दिरमा बिहे गर्ने निर्णय लिएको थियो । भाइको बिहेमा भाइका साथीहरू मात्र सहभागी थिए । उसका बा र अरू कुनै दिदीबहिनी गएनन् तर यामिनी भाइको बिहेमा सामेल हुन गई । भाइ–बुहारीको खुसीमा सामेल भई । बुहारीका लागि गहना र फुगाफाटो उसैले किनी । भाइको बिहे उसले एक्लै मन्दिरमा धूमधामसँग गराई । छोराको बिहेकै दिन उसका बा ढले । त्यसै दिनदेखि उनी बोल्न छाडे, मुखबाट आवाज निस्किँदैनथ्यो, दुब्लाउँदै गएका थिए । उनी कसैसित बोल्दैनथे, घरभित्र बसिरहन्थे, घरबाहिर निस्किँदैनथे । सायद उनका बालाई छोरीको रुचि अनुसार बिहे नगरिदिएको ग्लानिले भतभती पोलेको हुनुपर्छ । ६ महिनापछि राति कुन बेला मौका छोपेर उनका बाले आत्महत्या गरेछन् । उसका बाको निधनपछि उनीहरूले गाउँ छाडे । गाउँको घर बेचेर भाइ–बुहारीलाई लिएर ऊ काठमाडौँ गई ।
म ५० लागिसकेँ । मेरी एउटी छोरी छे । यामिनी अहिलेसम्म अविवाहित बसिरहेकी छे । बिहे नगरी उसले आफ्ना बा र भाइ–बहिनीहरूसित मौन विद्रोह गरेकी थिई । उसको त्याग सम्झिँदा म गल्छु । मेरो दिमागले काम गर्न छोड्छ । मेरी प्रिया मेरा लागि अविवाहित बसी, तैपनि उसको बाको मुटु पग्लेन । ऊ मेरी पहिलो र अन्तिम प्रेम थिई । म उसलाई बिर्सन सक्दिनँ । भुलवश उसलाई बिर्सें भने त्यही बेला म संसार छाड्नेछु । दिमागको काम सम्झना ताजा बनाएर राख्नु हो । मुटुको काम मनपर्ने मान्छेलाई मुटुभित्र सजाएर राख्नु हो । मेरी प्रियालाई मैले हरहमेसा मस्तिष्कमा ताजा बनाएर राखिरहेको छु, मुटुभित्र सजाएर राखेको छु ।
एकपटक काम परेर म काठमाडौँ गएको थिएँ । बालकुमारी मन्दिरनिर यामिनीकी कान्छी बहिनीलाई भेटेँ । उसकी बहिनीलाई भेट्दा मैले भगवान् भेटेजस्तो भयो । मैले उसकी बहिनीलाई घरको ठेगाना सोधेँ । उसले मलाई घरको ठिगाना बताई ।
म भोलिपल्ट उसको घरै पुगेँ । धेरै वर्षपछि मेरी प्रियालाई देख्दा पुराना सबै यादहरू तरोताजा बन्यो । पहिला धेरै चञ्चल अहिले धेरै मौन थिई । उसको अनुहार सुक्खा थियो, गालाभित्र धसिएको थियो, निधारमा अलिअलि चाउरी परेको थियो । गालामा पनि मुजा देखिएका थिए । उसको रूपसित होइन, उसकसो मुटुसित मेरो प्रेम बसेको थियो, छ र रहनेछ । ऊसित भेटेर म खुसी भएँ तर ऊ एकाएक भावुक भई । उसले चिया र खाजा खुवाएर मलाई स्वागत गरी ।
खाजा खाँदै मैले उसलाई सोधेँ— तिमी खुसी छौ ?
मेरो कुरा सुनेर ऊ एकाएक भावुक भई । पछ्यौरीले आँखा छोप्दै रुन थाली र रुँदै भनी— मैले गलत निर्णय गरेँ त्यो बेला तर हजुरको घरबार आवाद भएकामा खुसी छु ।
उसले यो कुरा बोल्दा मेरो मुटुमा हजारौँ टनको ढुङ्गाा बज्रियो । म आफ्नो अवस्था कसरी देखाउँ उसलाई ? म उसका लागि कति तड्पिरहेको छु, उसलाई कसरी बताउँ ? उसलाई गुमाउनुको पीडा कसरी हृदयभित्र कैद गरेर राखेको छु, त्यो कसरी व्यक्त गरुँ ? आवाजविहीन क्रन्दनहरूले मलाई कति चिमोट्छ ? उसको यादहरूले मलाई पलपल कति तड्पाउँछ म कसरी बताउँ ? उसको बिछोडले म अहिलेसम्म बेहोसीमा छु भनेर कसरी सम्झाउँ ? उसको प्रेमले तहसनहस भएको म कसरी अथ्र्याउँ प्रेमको परिभाषा ? कसरी पोखुँ म ऊसँग बिछोडिँदाको मेरो कारुणिक अवस्था ? ऊ मेरो धेरै नजिक थिई तर उसको आँसु पुछ्न सकिनँ । ऊ मेरैअगाडि थिई तर उसलाई स्पर्श गर्न सकिनँ । उसको पाखुरामा एक धाप मार्न सकिनँ । म कति लाचार थिएँ । म कति कमजोर थिएँ । म कस्तो परिबन्धमा थिएँ ? किन म रोकिएँ ? उसको फोन नम्बर माग्नु शिवाय केही माग्न सकिनँ । म उसको फोन नम्बर मागेँ । उसको फोन नम्बर मागेर दुःखी हुँदै फर्किएँ ।
धेरै भो ऊसित कुराकानी भएको छैन । कुरा हुँदा रुन्छे, रुँदै यही कुरा भन्छे— मैले गलत निर्णय लिएँ त्यो बेला ।
म उसलाई रुवाउन चाहन्नँ । ऊ रोएको देख्न सक्दिनँ, ऊ रोएको सहन सक्दिनँ । ऊ रोई भने मेरो मुटु फुट्छ, मेरो धैर्यको बाण फुट्छ, म विचलित हुन्छु, संसारसित युद्ध लड्न मन लाग्छ ।
म खासै फोन गर्दिनँ । ऊ रोएको म कति पनि सहन सक्दिनँ । कहिलेकाहीँ उसले नै फोन गर्छे ।
धेरै दिन भइसकेको थियो, उसले फोन गरेकी थिइनँ । मसँग कुरा गरेको थाहा पाएर उसका बहिनीहरूले मेरो फोन नम्बर डिलिट हानिदिएका रहेछन् । मेरो फोन नम्बर नभएर उसले फोन गर्न सकेकी थिइन । केही दिनपछि काम परेर काठमाडौँबाट ऊ गाउँ आएकी थिई । त्यतिबेला उसले मेरो एकजना साथीसित मेरो फोन नम्बर मागेर मलाई फोन गरेकी थिई । त्यसपछि कहिलेकाहीँ हाम्रो कुरा हुन्थ्यो ।
अस्ति भर्खरै सामाजिक सञ्जालमा मैले उसलाई फ्रेन्ड रिक्वेस्ट पठाएको थिएँ, उसले एक्सेप्ट गरी । हामी कहिलेकाहीँ फेसबुकमार्फत कुरा गर्थ्यौँ । हामी कुरा गरेको देखेर उसकी बहिनीले मलाई ब्लक हानदिएकी छे । फेसबुकमा मेरो नाम नभेट्दा उसले मलाई मोबाइलमा फोन गर्दै भनी— म हजुरसँग बोलेको थाहा पाएर बहिनीले मेरो मोबाइल हेर्छु भनेर लिई । त्यसपछि के गरी गरी । हजुरलाई फेसबुकमा जति खोज्दा पनि भेटाउँदिनँ ।
अपराधीहरूले मेरी प्रियालाई मसित बोल्न दिएनन् । कहिलेकाहीँ मोबाइलमै कल गर्थी तर अहिले धेरै महिना भो फोन गरेकी छैन । कतै अपराधीले मेरो मोबाइल नम्बर पनि ब्लक गरिदिए कि !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण