सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँ जाने सवारी आइतबार पनि हेटौँडामा रोकिए

आइतबार, १९ असोज २०८२, १८ : ५५
आइतबार, १९ असोज २०८२

सारांश

  • अविरल वर्षापछि खुलेको मकवानपुरको सडक आइतबार साँझबाट सुरक्षाका कारण पुनः बन्द गरिएको छ।
  • हेटौँडाबाट काठमाडौँ जाने मार्गमा पहिरो र जोखिम बढेकाले सवारीसाधनलाई रोक लगाइएको छ।
  • सोमबार बिहान सडकको अवस्था हेरेर यातायात पुनः सञ्चालन गर्ने प्रहरीले जनाएको छ।

हेटौँडा । शुक्रबारदेखिको अविरल वर्षा रोकिएपछि आइतबार बिहानबाट मकवानपुरको भीमफेदी-कुलेखानी- फाखेल -फर्पिङ मार्ग हुँदै काठमाडौँका लागि सवारीसाधन आवतजावत खुलेको भएपनि आइतबार साँझबाट पुनः रोकिएको छ ।

सुरक्षाको कारण देखाउँदै हेटौँडाबाट मकवानपुरका विभिन्न सडक भएर काठमाडौँ उपत्यका प्रवेशमा अस्थायी रोक लगाइएको हो । यससँगै मकवानपुर हुँदै संघीय राजधानी काठमाडौँ जाँदै गरेका केही सवारीसाधन हेटौँडामा रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–काठमाडौँ जोड्ने मार्गमा सुरक्षाको खतरा बढेकाले उपमहानगरपालिकाको वडा नम्बर १, चौकी टोलबाट सवारीसाधनलाई अगाडि जान रोक लगाइएको हो । यात्रु र सवारी चालकहरुलाई प्रहरीले सम्झाई बुझाई फर्काएको छ ।

यसअघि आइतबार बिहान भीमफेदी -कुलेखानी- फाखेल फर्पिङ मार्ग हुँदै सवारीसाधनहरूलाई काठमाडौँ प्रवेश गर्न दिइएको थियो । तर यसै मार्ग अन्तर्गत इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ स्थित महालक्ष्मीखोला नजिकै निरन्तर बारम्बार पहिरो गइरहेको र उक्त खण्डका अन्य विभिन्न स्थानमा पनि सडकमाथिबाट ढुङ्गा माटो खस्ने समस्या भएकाले रातको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आइतबार बिहानबाट शुक्रबारदेखिको अविरल वर्षा रोकिएको भएपनि पानी पर्ने सम्भावना यथावत् रहेको र रातको समयमा सुरक्षा चुनौती बढी हुने भएकाले सवारीसाधनको आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए ।

उनका अनुसार सोमबार बिहानबाट सडकको अवस्थालाई हेरेर पुनः यातायात सञ्चालन खुला गरिने छ । ‘अहिले पनि महालक्ष्मीखोला नजिकै पहिरो झरिरहेको छ । विभिन्न स्थानमा सडक माथिबाट ढुङ्गा माटो खस्न रोकिएको छैन,’ उनले भने, ‘सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै आइतबार साँझदेखि भोलि बिहानसम्मका लागि यातायात सञ्चालनमा रोक लगाएका हौँ ।’

प्रहरी निरीक्षक सापकोटाले हेटौँडालाई काठमाडौँसँग जोड्न अन्य मार्गहरू पहिरोका कारण अझै पनि अवरुद्ध रहेको जानकारी दिए । उनका अनुसार त्रिभुवन राजपथका विभिन्न स्थानमा रुख ढलेका छन् भने केही स्थानमा पहिरोको समस्या छ । त्रिभुवन राजपथ अन्तर्गत बाघमारा र महाभीर क्षेत्रमा पहिरो खसेको छ । पहिरो पन्छाउने प्रयास भइरहे पनि लगातारको वर्षाले कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै भीमफेदी -कुलेखानी- सिस्नेरी- फर्पिङ सडकको सिस्नेरी खण्डमा डोढारे खोलाले राजमार्ग नै बगाएकोले त्यसलाई पुरानै अवस्थामा ल्याउने काम भइरहेको छ । यसै सडक खण्डको दक्षिणकाली मन्दिर नजिक पनि पहिरो गएकाले सिस्नेरी–दक्षिणकाली खण्डमा यातायात सञ्चालन असम्भव भएको प्रहरीले जनाएको छ ।

यता कान्तिलोकपथ अन्तर्गत ठिंगनदेखि बगुवा खोलासम्म तीन वटा ठुला पहिरो खसेका छन्, जसले सडकका केही भाग समेत बगाएको इलाका प्रहरी कार्यालय ठिंगनले जनाएको छ । यस्तै कान्तिलोकपथमा हेटौँडादेखि बगुवा खोलासम्म नै साना–ठुला गरी आधा दर्जनभन्दा बढी पहिरो गएको प्रहरी निरीक्षक सापकोटाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप