ओली, लेखकसहितका नेता पक्राउ गर्न दबाब बढाउँदै जेनजी, प्रक्रियामा मतभिन्नता
सारांश
- जेनजी अभियन्ताहरूले केपी ओली र रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै अभियान चलाएका छन्।
- प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि गृहमन्त्री र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल भएको छ।
- जेनजी अभियन्ताहरूमा ओली र लेखकलाई पक्राउ गर्ने विषयमा मतभिन्नता छ, कोही छानबिन आयोगको प्रतिवेदनको पर्खाइमा छन् भने कोही तत्काल कारबाहीको पक्षमा।
काठमाडौँ । सोमबार जेनजी अभियन्ताहरूले ‘#एरेष्टकेपीओली’ अभियान चलाए । जेनजी आन्दोलनका क्रममा भदौ २३ गते प्रहरीले चलाएको गोलीका कारण ठुलो संख्यामा प्रदर्शनकारी मारिएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितलाई पक्राउ गर्न सरकार समक्ष जेनजीहरूले दबाब दिइरहेका छन् ।
सोमबार साँझ ‘हामी नेपाल’का संयोजक सुदन गुरुङसहितको टोली काठमाडौँ जिल्ला प्रहरी परिसरमा जाहेरी नै लिएर पुगे । यद्यपि प्रहरीले जाहेरी दर्ता भने गरेन । जेनजीकै दबाबमा गृहमन्त्री ओम प्रकाश अर्यालले सोमबार राति नै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरे, तर प्रहरीले जाहेरीका लागि केन्द्रीय सुरक्षा समितिको निर्देशन र लिखित आदेश आवश्यक पर्न सक्ने ब्रिफिङ गर्यो ।
स्रोतका अनुसार अहिले ओलीविरुद्धको जाहेरी लिने बित्तिकै धेरै नेता तथा अन्य जनप्रतिनिधिविरुद्ध जाहेरी पर्ने र लिनुपर्ने नजिर बस्ने प्रहरीको ब्रिफिङ थियो । गृहमन्त्री अर्यालले यसबारे प्रहरीसँग प्रक्रियागत विषयमा जिज्ञासा राखे पनि प्रहरीबाट ठोस जबाफ आएजस्तो नलागेको गृह मन्त्रालय स्रोतले रातोपाटीलाई बतायो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले पनि प्रधानमन्त्री सुशीला कार्कीसँग यसबारे कुरा गरेको स्रोतको दाबी छ । यद्यपि ४ वटा प्रमुख सुरक्षा निकायले देशको अवस्था र शान्ति कायम गर्ने कुरामा संयम हुनुपर्ने बिफ्रिङ गरेका थिए । गृह मन्त्रालय स्रोतका अनुसार आन्दोलनमा भएका घटना छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा बनेको आयोगको प्रतिवेदन कुर्ने कि तत्काल ‘एक्सन’ लिने भन्नेमा सरकार निर्णयमा पुगिसकेको छैन ।

प्रक्रियामा जेनजीको छैन एकमत
ओली, लेखकसहितका नेतालाई पक्राउ गर्ने कुरामा जेनजी अभियन्ताको समेत एकमत छैन । आन्दोलनपछि प्रधानसेनापतिसँग जेनजी प्रतिनिधि बनेर वार्ता गर्न गएका रक्षा बम लगायतको समूह कार्की नेतृत्वको आयोगकै प्रतिवेदन कुर्ने र २३ गतेको आन्दोलन दमन गर्ने तथा २४ गते अराजकता मच्चाउने दुवै पक्षलाई कारबाही गर्नुपर्ने पक्षमा छ । उनीहरूले प्रहरीलाई जाहेरी दिने भन्दा पनि आयोगले नै खुट्टा नकमाई निर्णय गर्नुपर्ने र आयोगकै प्रतिवेदनका आधारमा दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग राखेका छन् ।
‘हामीले यो सरकारलाई अहिले दबाब दिएको होइन । आफ्ना माग राख्न आएका युवालाई ताकी–ताकी हानिएको हरेक गोलीको हिसाब हुनुपर्छ भनेर छानबिन आयोग र सरकारलाई ऊर्जा दिन अभियान चलाएका हौँ,’ बमले रातोपाटीसँग भनिन् । उनले कानुनी प्रक्रियाबाट तत्कालीन शासकहरूलाई पक्राउ गर्नुपर्ने बताइन् । ‘हुलहुज्जत गरेर होइन, गल्ती गर्नेहरूलाई कानुनी परिधिमा रहेर कानुनको दायरामा ल्याउनुपर्छ । नत्र फेरि अर्को अराजकता मच्चिन्छ,’ उनले भनिन् ।
बमले तत्कालीन प्रधानमन्त्री केपी ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतका नेतालाई पक्राउ गर्न सरकारलाई जेनजी प्रतिनिधिहरूले अभियान चलाएको प्रस्ट पार्दै सरकारलाई प्रश्न गरेको भन्ने बुझाइ चिर्न आवश्यक रहेको बताइन् । उनले सामाजिक सञ्जालमा समेत लेखेकी छन्, ‘यो हुल्लडबाज गरेर देशलाई थप अनिश्चिततातर्फ धकेल्नेहरू खबरदार ! लोकतन्त्र बुझ । संविधान नै हाम्रो मार्गदर्शक हो । यो कानुनी राज्य हो । अवैध खेलबाड सह्य हुनेछैन ।’
बमले न्यायिक जाँचबुझ आयोगलाई खुट्टा नकमाउन, भदौ २३ को नरसंहारबाट कारबाही प्रारम्भ गर्न माग गर्दै हत्यारालाई तुरुन्त पक्राउ गर्न आयोगलाई अनुरोध गरेकी छन् ।
यो विषयमा जेनजी मुभमेन्ट अलायन्सले पनि आयोगको कामप्रति विश्वास देखाएको छ । अलायन्सकी प्रतिनिधि मोनिकाले रातोपाटीसँग भनिन्, ‘यस विषयमा आयोगका कदमहरू सराहनीय छन् । आयोगले द्रुतगतिमा छानबिन सकेर प्रतिवेदन सार्वजनिक गरी अन्तरिम सरकारले आयोगको सिफारिस अनुसार समयमै कारबाही अगाडि बढाउनु पर्छ ।’
उनले भदौ २३ देखि २५ सम्मका घटनाको अनुसन्धान, अभियोजन, न्याय, परिपूरण, अर्थपूर्ण स्मृतिकरण र पुनः नदोहोरिनका लागि संस्थागत सुधार आवश्यक रहेको बताउँदै यी काम चाँडै हुुनुपर्ने बताइन् ।
यस्तै जेनजी अभियन्ता तनुजा पाण्डेले पनि सामाजिक सञ्जालमार्फत वर्तमान सरकारको निष्ठा र प्रतिबद्धताप्रति आफ्नो पूर्ण समर्थन एवं विश्वास रहेको भन्दै आन्दोलन दमनको बर्बरतापूर्ण घटनाको निष्पक्ष र पारदर्शी छानबिन भई दोषीमाथि हदैसम्मको कानुनी कारबाही हुने विश्वास व्यक्त गरेकी छन् । उनले भदौ २४ गते सार्वजनिक र निजी सम्पत्तिमा आगजनी गरी राष्ट्रिय सम्पत्ति र जनधनको क्षति पुर्याउने अराजक तत्वहरूलाई पनि छानबिनको दायरामा ल्याई सरकारले कानुनी दण्ड दिनेमा विश्वास व्यक्त गरेकी छन् ।
तत्काल ‘एक्सन’को पक्षमा गुरुङ
तर जेनजी प्रतिनिधिको रूपमा उभिएको ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङ र उनको टीममा रहेका सदस्य आन्दोलन दमनमा संलग्नलाई तत्काल पक्राउ गरेर कारबाही गर्नुपर्ने पक्षमा छन् । ‘अब इफ, बट लगाएर हुँदैन । हत्याराहरू समाएर कारबाही गरिहाल्नुपर्छ । यो सरकार आन्दोलनको जगमा बनेको हो । त्यही स्प्रिट अनुसार काम गर्नुपर्छ,’ समूहका एक सदस्यले रातोपाटीसँग भने ।

कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन नआए पनि उनीहरूलाई पक्राउ गर्न ढिला गर्न नहुने गुरुङ पक्षको तर्क छ । गुरुङले नै ‘एरेस्ट केपी ओली’ भन्ने ह्यासट्याग अभियान सामाजिक सञ्जालमार्फत थालेका थिए । गुरुङको टीमले ओली र रमेश लेखकलाई मात्रै भए पनि तत्काल नै पक्राउ गर्न सरकारलाई दबाब दिइरहेको छ ।
गुरुङकै टीममा रहेकी अभियन्ता भावना राउतले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हत्याराहरू जेल जानु हुँदैन भन्नुहुन्छ भने तपाईंमा आत्मा छैन ।’ निहत्था विद्यार्थीमाथि ओली र लेखककै निर्देशनमा ४–५ घण्टासम्म गोली वर्षाउन बन्द नगरिएको तर्क गर्दै उनले भनेकी छन्, ‘अनि त्यो अपराधीलाई बचाउन कुन आत्माले मान्छ हौ ? मानव बनौँ, मानवता राखौँ ।’
केही जेनजी अभियन्ताहरूले भने यसअघिका सबै शासकलाई पक्राउ गरेर उनीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने माग राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण