बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जेन–जी आन्दोलनपछि इतिहासको निर्णायक मोडमा कांग्रेस

बुधबार, २२ असोज २०८२, १७ : ५५
बुधबार, २२ असोज २०८२

नेपालको राजनीतिक इतिहासमा जेन–जी आन्दोलन एक युगान्तकारी मोडका रूपमा स्थापित भएको छ । यो आन्दोलन केवल सडकमा नाराबाजी गर्ने युवाहरूको जमात मात्र थिएन, बरु यो यथास्थितिवादी सत्ताको गहिरो आलोचना र जनआकाङ्क्षाको विस्फोट थियो । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार, नातावाद र जनताको आवाज दबाउने प्रवृत्तिविरुद्ध उठेको यो आन्दोलनले देशको राजनीतिक संरचना हल्लाइदियो । 

अन्तरिम प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीको उदयले जन दबाबको शक्ति कति निर्णायक हुन सक्छ भन्ने प्रमाणित गर्‍यो । नेपाली कांग्रेसले देशका हरेक ठुला राजनीतिक आन्दोलनको अगुवाइ गरेको इतिहास छ— राणाशासन अन्त्यदेखि पञ्चायती व्यवस्थाको विरोध, बहुदलीय प्रजातन्त्रको पुनःस्थापना र लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म । जनताको अधिकारका निम्ति लड्ने र बलिदान गर्ने पार्टीका रूपमा कांग्रेसको गहिरो विरासत छ । यही पार्टी आज आफ्नै सङ्गठनात्मक कमजोरी, नेतृत्वको जडता र जनअपेक्षाप्रति बेवास्ताका कारण सामान्यजस्तो देखिने आन्दोलनबाट पनि विचलित हुन पुगेको छ । 

जेन–जी (सन् १९९७ देखि २०१२ को बिचमा जन्मेको पुस्ता)को मात्र दुईदिने आन्दोलनले कांग्रेस सहभागी सरकारलाई कोल्टो फेर्नुपर्ने स्थिति सिर्जना गर्‍यो, यसले विशेषतः कांग्रेसजस्तो पुरानो दलको नेतृत्वमाथि प्रश्न उब्जाएको छ । यो केवल जेन–जीको आन्दोलनको प्रभाव होइन, यो कांग्रेस नेतृत्वको कमजोर धरातलको खुला पर्दाफास हो । जनतासँग संवाद गर्न नसक्ने, नीति स्पष्ट गर्न नसक्ने र सरकारको कार्यशैलीप्रति आफ्नै समर्थक जनमतलाई समेत विश्वस्त पार्न नसक्ने अवस्थाले अहिले कांग्रेसलाई छटपटाउन बाध्य बनाएको छ । यो सङ्कट बाह्य दबाब होइन, आन्तरिक नेतृत्व सङ्कटको परिणाम हो ।

जेन–जी आन्दोलनले युवाहरूको राजनीतिक चेतना र सक्रियताको नयाँ अध्याय खोल्यो । यसले देखायो कि जब जनता आफ्नो अधिकार र स्वतन्त्रताका लागि एकजुट हुन्छन्, तब सत्ताको गढ पनि दुई दिनमै ढल्न सक्छ । परिवर्तनको यो हुँकारसँगै अराजकताको छाया पनि फैलियो । यस आन्दोलनमा जुन मानवीय क्षति भयो, त्यो अपूरणीय छ । अर्कोतिर आन्दोलनको आवरणमा घुसेका अराजक समूहले सरकारी भवनहरू, ऐतिहासिक सम्पदा र सार्वजनिक संरचनामा अकल्पनीय क्षति पुर्‍याए । सिंहदरबार, राष्ट्रपति भवन र अन्य सरकारी कार्यालयहरूमा आगजनी हुँदा खर्बौंको भौतिक सम्पत्ति नष्ट मात्र नभई सांस्कृतिक र प्रशासनिक दृष्टिले पनि गहिरो चोट पुग्यो । अमूल्य दस्ताबेजहरू खरानी बने, जसले नेपालको ऐतिहासिक निरन्तरता र कानुनी स्मृतिमा अपूरणीय क्षति पुर्‍यायो ।

यति गहिरो आन्दोलनपछि पनि मुख्यधारका राजनीतिक दलहरू (कांग्रेस, एमाले र माओवादी केन्द्र) ले आत्मसमीक्षा गर्ने सङ्केत समेत देखाएनन् । जनताको आक्रोश र परिवर्तनको चाहनालाई सम्बोधन गर्ने कुनै ठोस कदम उठाइएको छैन । शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डजस्ता शीर्ष नेताहरूले सत्तापलटपछि विशेष महाधिवेशनको घोषणा गरेर कार्यवाहक नेतृत्वलाई जिम्मेवारी दिने नैतिकता देखाएका भए जनताले उनीहरूलाई पुनः विश्वास गर्ने आधार तय हुने आशा गर्न सकिन्थ्यो, तर उनीहरू पुरानै सत्ताको मोहमा बाँधिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव अघि सारिसकेका छन् भने एमालेमा अध्यक्ष ओलीको एकाधिकारवादी शैलीले यस्तो प्रस्तावको कल्पनालाई नै दबाइरहेको छ । कांग्रेसमा अवस्था अझ जटिल छ— नेतृत्व परिवर्तनको बहस नै दबाइएको छ ।

देशमा करिब ५२ प्रतिशत युवा मतदाता छन्, जसको राजनीतिक चेतना, आकाङ्क्षा र दृष्टिकोण अघिल्लो पुस्ताभन्दा धेरै फरक र परिष्कृत छ । उनीहरू केवल इतिहासको आधारमा होइन, नतिजामुखी नेतृत्व, उत्तरदायी नीति र समावेशी दृष्टिकोणका आधारमा राजनीतिक पार्टीको मूल्याङ्कन गर्छन् । नेपाली कांग्रेस भने अझै पुरानै अनुहार र संरचनाभित्र घुमिरहेछ । देउवा नेतृत्वको निरन्तरता कुनै दूरदृष्टियुक्त रणनीति नभएर गुटगत सन्तुलन र स्वार्थको संरचना जोगाउने असफल प्रयासझैँ देखिन थालेको छ । पाँचौँपटक प्रधानमन्त्री बनिसकेका देउवा अहिले पनि नेतृत्वमा रहनुपर्ने कुनै सशक्त तर्क जनतासामु छैन । पार्टीभित्र एउटा यस्तो संरचना निर्माण गरिएको छ, जसले विकल्पको बाटो बन्द गर्ने प्रयास गरिरहेको छ ।

जेन–जी आन्दोलनले युवाहरूको राजनीतिक चेतना र सक्रियताको नयाँ अध्याय खोल्यो । यसले देखायो कि जब जनता आफ्नो अधिकार र स्वतन्त्रताका लागि एकजुट हुन्छन्, तब सत्ताको गढ पनि दुई दिनमै ढल्न सक्छ ।

नेतृत्व नफेरिने, पुरानै अनुहार दोहोरिने र नयाँ सोचलाई अवरोध गर्ने हठ अब सह्य छैन । यसले कांग्रेसलाई केवल जनसमर्थनबाट टाढा बनाइरहेको छैन, संस्थागत रूपमा पनि कमजोर बनाइरहेको छ । युवा मतदातामा पार्टीप्रति वितृष्णा बढ्दो छ, कार्यकर्ता तहमा उत्साह घट्दो छ र पार्टी स्वयं दिशाहीन हुँदै गएको छ । नेतृत्व परिवर्तनको माग अब केवल असन्तुष्ट केही व्यक्तिको गुनासो होइन, यो व्यापक कार्यकर्ता तह र युवा पुस्ताको सामूहिक आवाज बन्दै गएको छ । कांग्रेसले यो आवाज सुन्न सकेन भने पार्टीको अस्तित्व नै सङ्कटमा पर्न सक्छ । केवल देउवा नेतृत्वको निरन्तरताले पार्टीलाई स्थायित्व होइन, विघटनको दिशामा धकेल्ने सम्भावना बढ्दो छ ।

गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेसभित्र सुधारको आवाज उठाउने प्रमुख युवा नेताका रूपमा स्थापित छन् । उनीहरूले विगत केही वर्षदेखि पार्टीभित्रको जडता, नेतृत्वको अकर्मण्यता र भ्रष्टाचारविरुद्ध स्पष्ट एजेन्डा अघि सारेका छन् । विशेषतः गगनले स्वास्थ्य, शिक्षा र सुशासनका सवालमा संसद्मा प्रभावशाली भूमिका खेलेका छन् भने विश्वप्रकाशले सङ्गठनात्मक सुधार र युवाको प्रतिनिधित्वको पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन् । यति सबल र स्पष्ट एजेन्डा हुँदाहुँदै पनि उनीहरू पूर्णतः प्रश्नमुक्त छैनन्; तिनका कारण गम्भीर छन् । 

गगन–विश्वले पार्टीभित्र सुधार, जवाफदेहिता र पारदर्शिताको पक्षमा ठुला कुरा गरे पनि ती एजेन्डाहरू प्रायः नारामा सीमित देखिन्छन् । महाधिवेशनका बेला जनतामा सुधारको आशा जगाउने र युवालाई प्रेरित गर्ने भाषणहरू सुन्न पाइन्छ । समय बित्दै जाँदा ती प्रतिबद्धता ओझेलमा पर्दै जान्छन् । विशेषतः जब पार्टीभित्रको शक्ति सन्तुलन, गुटगत चासो र चुनावी रणनीतिले प्राथमिकता पाउँछ, तब सुधारको एजेन्डा स्वतः दोस्रो तहमा धकेलिन्छ । यही प्रवृत्तिले जनस्तरमा गम्भीर प्रश्न जन्माएका छन्— के सुधारको कुरा केवल महाधिवेशन वा चुनावी आवरणमा प्रयोग हुने नारा हो ? होइन भने सुधारका ठुला प्रतिबद्धता किन संस्थागत तहमा लागु हुँदैनन् ? पार्टीको आन्तरिक लोकतन्त्र, सङ्गठनभित्रको अनुशासन र जवाफदेहिता सुनिश्चित गर्ने प्रयास किन अलमलमा पर्छ ?

यही सन्दर्भमा नेविसंघ र तरुण दलजस्ता सङ्गठनको अवस्था झनै चिन्ताजनक छ । यी संस्था कांग्रेसको भविष्य निर्माण गर्ने थलो हुन्, जहाँबाट नयाँ नेतृत्व, विचार र दिशा आउनुपर्थ्यो । यतिखेर यिनै सङ्गठनहरू पार्टीको गुटगत प्रतिस्पर्धाको अखडा बनेका छन् । सङ्गठनभित्र अनुशासनको अभाव, स्वार्थले निर्देशित निर्णयहरू र व्यक्तिगत समूहगत लाभमा सीमित गतिविधिले युवाको राजनीतिलाई दिशाहीन बनाएको छ । अझ गम्भीर कुरा के छ भने, यी विकृति राम्ररी बुझेका गगन–विश्वजस्ता नेताले हस्तक्षेप गर्ने आँट देखाएका छैनन् । उनीहरू सुधारका वकालतकर्ता भए पनि नेविसंघ र तरुण दलमा देखिएको अधोगतिको प्रतिरोध गर्न सकेका छैनन् । 

प्रश्न उठ्छ— के उनीहरू सङ्गठनभित्रको असन्तुलनलाई जानाजान नजरअन्दाज गरिरहेका छन् ? वा उनीहरू पनि गुटगत सन्तुलन र सत्ताको समीकरणभित्र सीमित रहन बाध्य छन् ? साँच्चिकै पार्टीभित्र दीर्घकालीन सुधार चाहन्छन् भने गगन–विश्वजस्ता नेताहरूले सङ्गठनको जरा–जरा तहदेखि त्यसको पहल गर्नुपर्छ । सशक्त युवा सङ्गठन, नीतिगत स्पष्टता र गुटभन्दा माथि उठ्ने संस्कृति विकास नगरी पार्टीभित्र सुधारको कुरा केवल भाषणमै सीमित हुनेछ ।

यो समय गगन थापा र विश्वप्रकाश शर्माका लागि मात्र होइन, समग्र नेपाली राजनीतिका लागि निर्णायक मोड हो । सुधारको नायक बन्ने अवसर उनीहरूको सामु छ तर त्यसका लागि भाषणभन्दा परको प्रतिबद्धता आवश्यक छ । जनताले उनीहरूमा देखेको आशा केवल प्रतीक्षा र निराशामा सीमित नहोस् भन्नका लागि अब ठोस कदम चाल्नुपर्ने बेला आएको छ । तसर्थ सुधारको एजेन्डा कार्यान्वयनमा देखिनुपर्छ— नीति निर्माण, सङ्गठनभित्रको अनुशासन र भ्रष्टाचारविरुद्धको स्पष्ट र निर्भीक लडाइँमार्फत । 

नेविसंघ र तरुण दलजस्ता युवा सङ्गठनहरूमा देखिएको विचलनलाई केवल आलोचना गरेर होइन, संरचनागत हस्तक्षेप र नेतृत्व परिवर्तनमार्फत समाधान गर्नुपर्छ । निरन्तरता, पारदर्शिता र जनउत्तरदायित्वलाई प्राथमिकता दिए भने कांग्रेसलाई गगन–विश्वले पुनः जनतासँग जोड्न सक्छन् । अबको समय भाषणको होइन, कार्यको हो । गगन–विश्वले सुधारको नायक बन्ने हो भने उनीहरूले सङ्गठनभित्रैबाट परिवर्तनको लहर ल्याउनुपर्छ । जनताले दिएको आशा र समर्थनलाई निराशामा नफेरियोस् भन्नका लागि उनीहरूले नेतृत्वको साहस देखाउनैपर्छ । किनभने यही मोडले कांग्रेसको मात्र होइन, देशको राजनीतिक भविष्यको दिशा तय गर्नेछ ।

अतः इतिहासको यस निर्णायक मोडमा कांग्रेसले नियमित वा विशेष महाधिवेशनमार्फत सङ्गठनभित्रको आत्ममूल्याङ्कन गर्दै नेतृत्वको पुनर्संरचना र सुधारको स्पष्ट एजेन्डा तय गर्न सके मात्र पार्टीको पुनर्जागरण सम्भव छ । महाधिवेशन केवल औपचारिकता नभई विचार, दृष्टिकोण र कार्यदिशा पुनर्निर्धारणको अवसर हो । नेतृत्वले साहसिक निर्णय गरेर जनअपेक्षासँग मेल खाने सुधारको बाटो रोज्छ भने कांग्रेसले जनतामा पुनः विश्वास जगाउन सक्छ । गगन–विश्वजस्ता युवा नेताको सक्रियता र प्रतिबद्धता महाधिवेशनमा संस्थागत रूपमा स्थापित गर्न सकियो भने पार्टीको भविष्य उज्ज्वल बन्न सक्छ ।

अन्त्यमा यस ऐतिहासिक मोडमा सही निर्णय, स्पष्ट एजेन्डा र साहसी नेतृत्वको खाँचो छ । महाधिवेशनले केवल नेतृत्व चयन होइन, सङ्गठनको आत्मा पुनः परिभाषित गर्ने अवसर दिनुपर्छ । यही आशासहित कांग्रेसले समयको माग अनुसार सुधारको बाटो रोजोस् र देशको राजनीतिक भविष्यमा सकारात्मक भूमिका खेलोस् भन्ने शुभकामना व्यक्त गर्छु ।

(डा. नेपाल बागमती प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाली कांग्रेस सम्बद्ध बुद्धिजीवी हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. गंगादत्त नेपाल
डा. गंगादत्त नेपाल
लेखकबाट थप