शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एमाले नेता अधिकारीको गम्भीर आरोप– हाम्रा चारै सुरक्षा निकायका मान्छेहरू बिके

अहिलेको घटना चामत्कारिक नभई श्रृंखलाबद्ध रूपमा रचिएको चाल भएको तर्क
बुधबार, २२ असोज २०८२, १८ : ४५
बुधबार, २२ असोज २०८२

सारांश

  • एमाले नेता खगराज अधिकारीले सुरक्षा निकायका मान्छेहरू बिकेका कारण देशमा आन्दोलन भएको आरोप लगाए।
  • अधिकारीले 'डिप स्टेट' का स्टेकहोल्डरले राज्य कब्जा गरेको र गुम्बाहरूबाट पनि सत्ता उलटफेरमा काम गरेको आरोप लगाए।
  • उनले केपी ओलीलाई गिरफ्तार गरे कास्कीले कडा प्रतिवाद गर्ने चेतावनी दिए।

पोखरा । नेकपा एमालेका नेता खगराज अधिकारीले नेपालका चारवटै सुरक्षा निकायका मान्छेहरू बिकेका कारण देशमा जेनजी आन्दोलन भएको गम्भीर आरोप लगाएका छन् ।

एमाले पोखरा महानगर कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुरक्षा निकाय विकेका कारण ‘डिप स्टेट’का स्टेकहोल्डरले अनौपचारिक क्षेत्रबाट राज्य कब्जा गरेको आरोप लगाएका हुन् ।

‘गृहमन्त्रालयमा गएको हुनाले मलाई थाहा छ, हाम्रा सुरक्षाका चारै निकायहरू बेखबर होइनन् । प्रधानमन्त्रीलाई थाहा थियो, उहाँले १२ बजेसम्म काठमाडौँ एमालेको कब्जामा हुन्छ भन्दा हामी कोही बोलेनौं । हामी त ज्यूँदा लास भैसक्यौं,’ उनले भने, ‘हाम्रा चारै सुरक्षा निकायका मान्छेहरू विकेका हुन् । त्यसकारण यो घटना भयो ।’ 

अधिकारीले अहिलेको घटना चामत्कारिक नभई श्रृंखलाबद्ध रूपमा रचिएको चाल भएको तर्क गरे । ‘चामत्कारिक रुपमा यो घटना कसरी घट्यो भन्ने लाग्यो होला, श्रृंखलाबद्ध छ । अहिले दक्षिण र उत्तरबीचको लडाईं छ । अहिले डिप स्टेट भन्ने परिभाषित छ । औपचारिक रुपमा राज्यमा हुँदैन यो, तर राज्य चलाउने काम तिनैले गर्दछन्,’ अघि भने, ‘डे वानदेखि शेखर कोइराला र गगन थापाहरूले यो सरकार ढाल्ने प्रतिज्ञा गर्नुभयो । कहिले रविलाई माओवादीले साथ दियो, कहिले माओवादीलाई रविले साथ दिए । सुन्दा आश्चर्यजनक लाग्ला, माओवादीका अध्यक्षलाई फेरि पनि राष्ट्राध्यक्ष ज्ञानेन्द्र, म प्रधानमन्त्री हुन्छु भन्ने लागेको छ । प्रधानमन्त्रीको भोक यतिधेरै छ कि त्यो बाहेक अरु सोच्नुभएको छैन ।’ 

अधिकारीले गुम्बाहरूबाट पनि नेपालको सत्ता उलटफेरमा काम गरेको अर्को गम्भीर आरोप लगाए । ‘मैले डेढ-दुई वर्षदेखि गुम्बाहरू रिसर्च गर्न थालेको छु । जेनजीका जायज मागजस्तै गुम्बाका पवित्र धर्ममाथि सम्मान छ । तर, केपी ओलीको सरकारसँग के माग गरियो भने दलाई लामाको घोषणा कार्यक्रम नेपालमा गर्न दिनुपर्‍यो भनियो । प्रधानमन्त्रीले हुँदैन भन्नुभयो,’ उनी भन्छन्, ‘प्रधानमन्त्रीले एनजीओ, आईएनजीओको समानान्तर अर्थतन्त्र चलाउने कुरालाई नियमन गर्नुभयो । त्यसपछि एलन मस्कले सेटलाइट फिट गर्न माग गरे । नेपालमा सम्भव छैन भन्नुभयो । एकपछि अर्का घटनाहरू भए ।’

संविधान जारी गर्ने बेलामा केपी ओलीलाई एक साता पर्खिन गरेको भारतीय सत्तापक्षको अतिगोप्य आग्रह आफूसँग सुरक्षित रहेको दाबी अधिकारीको छ । 

उनले एमाले अध्यक्ष केपी ओलीलाई गिरफ्तार गर्ने प्रयास भए कास्कीले कडा प्रतिवाद गर्ने पनि चेतावनी दिए । ‘शत्रुले आक्रमण गरेको छ । देश धुजाधुजा पारेको छ । नेपाल रहने हो कि होइन थाहा छैन,’ उनले थपे, ‘यो बेलामा केपी ओलीलाई छोयो भने, गिरफ्तार गर्‍यो भने कास्कीले सबैभन्दा ठुलो जुलुस निकाल्ने छ । नेकपा एमाले जिन्दावादको नारा लगाउने छ ।’

कास्कीमा धेरै सहिदहरूले रगत बगाएर पार्टी सुरक्षित गरेको भन्दै अधिकारीले त्यसको आस्था टिकाइराख्न प्रयास गर्ने बताए । ‘भीमसेन दाहालले रगत बगाएको ठाउँ हो, धेरै सहिदहरूले रगत बगाएका छन् । हिंसात्मक गतिविधि गरेर एमाले सक्छौं भन्दा पनि जबरजस्त उठेको ठाउँ हो । हाम्रा कारणले यति राम्रो पार्टीमा घुनपुत्लो लाग्न दिँदैनौँ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप