शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी आन्दोलनको प्रभाव

नेपाल सुरक्षित छ भन्ने सन्देश दिने प्रयास, विश्वास गर्दैनन् विदेशी पर्यटक

बुधबार, २२ असोज २०८२, १८ : ५५
बुधबार, २२ असोज २०८२

सारांश

  • सेप्टेम्बरमा नेपाल भित्रिने पर्यटकको संख्यामा १८.३ प्रतिशतले कमी आएको तथ्यांक सार्वजनिक भयो।
  • जेनजी आन्दोलनका कारण पर्यटकको संख्यामा गिरावट आएको र यसले 'नेपाल सुरक्षित छैन' भन्ने सन्देश गएको बताइएको छ।
  • दक्षिण एसिया, पूर्वी एसिया र युरोपबाट आउने पर्यटकको संख्यामा गिरावट आएको छ, तर सरकारले सुरक्षित रहेको सन्देश दिन प्रयास गरेको छ।

काठमाडौँ । शुक्रबार नेपाल पर्यटन बोर्डले तथ्यांक सार्वजनिक गर्दै सेप्टेम्बरमा नेपाल भित्रिने पर्यटकको संख्यामा उल्लेख्य कमी आएको उल्लेख गर्‍यो । यो वर्षको सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भित्रिएका बोर्डको तथ्यांक छ ।  

गत वर्षको यही महिनामा ९६ हजार ३०२ पर्यटक नेपाल आएका थिए, अर्थात् अघिल्लो वर्षको यही महिनामा भित्रिएका पर्यटकको तथ्यांकमा यो १८ दशमलव ३ प्रतिशतले कम हो । 

सेप्टेम्बरलाई नेपालमा विदेशी पर्यटक भित्रिने प्रमुख महिना मानिन्छ । तर पिक सिजनमै पर्यटकको संख्यामा उल्लेख्य कमी आएको देखियो । जसको मुख्य कारण भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई नै लिइएको छ । उक्त आन्दोलन देशभर चल्यो, निजी, व्यावसायिक तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भए । यो विध्वंसले ‘नेपाल सुरक्षित छैन’ भन्ने सन्देश जबरजस्त गएको र पर्यटक संख्या घटेको नेपाल पर्यटन बोर्डका सदस्यसमेत रहेका नेपाल एसोसिएसन फर ट्राभल एन्ड टुर्स एजेन्टस् (नाट्टा) का अध्यक्ष कुमार थपलिया बताउँछन् । 

‘नेपालको जेनजी मुभमेन्टलाई भारतीय मिडियाले धेरै नै नकारात्मक ढंगले प्रचार गरेको देखियो, त्यसैले भारतबाट आउने पर्यटक ह्वात्तै घट्यो,’ थपलिया भन्छन्, ‘युरोप अमेरिकाकी मुलुकमा पनि सुरुमा नकारात्मक सन्देश गयो, त्यसपछि मिडियाले कभरेज गर्नै छोडे, अहिले पनि नेगेटिभ म्यासेज कायमै रहन गयो, यसले गर्दा संख्या घटेको देखिन्छ ।’ 

कहाँ कहाँ पर्‍यो धेरै असर ? 

सेप्टेम्बरको तथ्यांक हेर्ने हो भने सबैभन्दा धेरै पर्यटकको गिरावट दक्षिण एसिया, पूर्वी एसिया र अफ्रिकाबाट भएको देखिन्छ । ती क्षेत्रबाट औसतभन्दा धेरै प्रतिशतले पर्यटक संख्यामा गिरावट आएको देखिन्छ । 
सेप्टेम्बरमा आएका ७८ हजारभन्दा बढीमध्ये दक्षिण एसिया क्षेत्रबाट २४ हजार २८५ पर्यटक आएका छन्, जबकि सन् २०२४ को यही महिनामा ३३ हजार ६११ जना नेपाल आएका थिए । यो भनेकाे २७ दशमलव ७ प्रतिशतले गिरावट हो । 

एसियाका अन्य क्षेत्रबाट सन् २०२५ मा १२ हजार ५९० पर्यटक भित्रिए, जुन सन् २०२४ को सेप्टेम्बरको तुलनामा ३३ दशमलव ७ प्रतिशत कम हो । 

उता अमेरिका, युरोप र मध्यपूर्वबाट आउने पर्यटकको संख्या घटे पनि यो दर औसतभन्दा कम छ । सेप्टेम्बरमा यो वर्ष अमेरिकाबाट ११ हजार ५२३ पर्यटक आए । जबकि सन् २०२४ मा १२ हजार १४९ पर्यटक आएका थिए । जुन ५ दशमलव २ प्रतिशतले कम हो । 

यस्तै युरोपबाट पनि सेप्टेम्बरमा आउने पर्यटकमा ८ प्रतिशत गिरावट आएको छ । सन् २०२५ को सेप्टेम्बरमा १६ हजार ५९७ पर्यटक युरोपबाट भित्रिँदा २०२४ को यही महिनामा १८ हजार ५० जना आएका थिए । 

थपलियाका अनुसार जेनजी आन्दोलनले माइस टुरिजम (कुनै कार्यक्रमका लागि ठुलो समूहमा आउने पर्यटक) र कल्चरल टुरिजममा सबैभन्दा धेरै असर गरेको छ । एड्भेन्चर टुरिजममा खासै धेरै प्रभाव नरहेको उनको भनाइ छ । प्रयोजन अनुसार पर्यटकको संख्यासमेत घटबढ भएको उनको भनाइ छ । 

सुरक्षित रहेको सन्देश दिने प्रयास, विश्वास गर्दैनन् पर्यटक

जेनजी आन्दोलनसँगै सरकार परिवर्तन भएर अवस्था सहज भएसँगै नेपालप्रति विश्वमा गएको गलत सन्देशलाई कम गर्न र 'नेपाल घुमघामको लागि सुरक्षित छ' भन्ने देखाउन विभिन्न प्रयास गरेको थियो । यसका लागि विभिन्न देशका नेपाली दूतावासहरूसँग सहकार्य गर्ने तथा विभिन्न सामाजिक सञ्जालमा लाइभ गरेको थियो । हालसम्म यस्ता २३ वटा भर्चुअल कार्यक्रम गरिएको बोर्डले जनाएको छ । 

तर, यी सन्देशलाई विदेशीहरूले विश्वास गर्न नसकेका थपलिया बताउँछन् । ‘हामीले नेपाल सुरक्षित छौं त भन्यौं, तर उहाँहरू कन्भिन्स हुन नसकेको अवस्था देखियो,’ थपलिया भन्छन्, ‘सबैभन्दा पहिले देशभित्रै स्थायित्वको अवस्था हुनुपर्छ । तर, त्यो अवस्था नबनेर पनि हुन सक्छ, हामीले सन्देश दिए पनि यसको प्रभाव धेरै परेजस्तो देखिँदैन ।’ 

अहिले पनि नेपालमा राजनीतिक रूपमा तरल अवस्थामै देखिन्छ । खासगरी जेनजी भनेर चिनिएका समूहहरूले राखेका माग तथा पुराना दलका नेता कार्यकर्ताले गरिरहेको प्रतिरक्षासँगै नेपालको राजनीतिक भविष्य के हुन्छ भन्न सक्ने अवस्था देखिँदैन । अहिले पनि अर्को सडक आन्दोलनको चेतावनी दिइरहेका छन् । यसले मुडभेड निम्तिनसक्ने सम्भावना समेत देखिएको छ । नेपालमै यस्तो अवस्था हुँदा विदेशी पर्यटक आउने सम्भावना कमजोर बनेको सरोकारवालाको भनाइ छ ।  

विभागीय मन्त्री कुर्दै पर्यटन क्षेत्र

सरकार बनेको एक महिना हुन लाग्यो । आठ सदस्य रहेको मन्त्रीमण्डलमा अहिले प्रधानमन्त्रीबाहेक सात जना मन्त्रीले १० वटा मन्त्रालयको मात्रै जिम्मेवारी पाएका छन् । बाँकी मन्त्रालय प्रधानमन्त्रीको मातहत छ, त्यसमध्ये एउटा हो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय । 

अहिले मन्त्रालय नेतृत्वविहीन भएकोले पनि सकारात्मक सन्देश दिने सन्दर्भमा कतिपय कामहरू हुन नसकेको थपिलया बताउँछन् । नीतिगत निर्णय मात्रै नभएर सकारात्मक सन्देश दिने काम समेत सरकारबाट हुनुपर्ने भएकोले आफूहरु नेतृत्वको प्रतीक्षामा रहेको उनको भनाइ छ । नेतृत्वको अभावमा अहिले पर्यटन बोर्ड आफैँले यसको पहल लिनु परिरहेको उनी बताउँछन् । 

tourism_QrWeaEYQPS_tz3IyuoN0T (1)

मन्त्रालयकी पर्यटन महाशाखा प्रमुख इन्दु घिमिरे पनि मन्त्रालयको तर्फबाट पर्यटन खासै पहल नभएको स्वीकार गर्छिन् । ‘हामीले गर्ने भनेको नीतिगत काम हो । पर्यटन प्रवर्द्धनको काम गर्ने भनेको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा दुतावासहरुसँग मिलेर पर्यटन बोर्ड र सरोकारवाला नै हो, उहाँहरूले काम गरिरहनुभएको छ । हामीले यसमा सहजीकरण गरिरहेका छौं,’ उनी भन्छिन् । 

पर्यटन मन्त्रालयले खासै पहल नगरे पनि परराष्ट्र मन्त्रीसमेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले बुधबार विभिन्न देशका राजदूतहरूसँग भर्चुअल छलफल गर्दै नेपालबारे ती सम्बन्धित देशहरूमा नेपालप्रतिको बुझाइबारे रिपोर्ट पेस गर्न निर्देशन दिएकी थिइन् । 

गलत सन्देशले ‘रिभाइभमा’ समस्या हुने डर

विगत ३० वर्षमा नेपालले विभिन्न प्रकारका अप्ठ्यारा सामाना गर्‍यो । खासगरी २०५२ देखि २०६२ सालसम्मको सशस्त्र द्वन्द्व, २०६२–६३ को आन्दोलन, मधेश आन्दोलन, संविधान जारी हुँदाताकासम्मको आन्दोलन तथा बन्द, भुकम्प, नाकाबन्दी, कोरोना महामारी जस्ता प्राकृतिक तथा मानवीय समस्या नेपालले भोग्दै आएको छ । यी कारणले पर्यटकको संख्या घटेको अवस्था रह्यो ।  

तर, यी सबै समस्याबाट माथि उठेर नेपाल छिटै रिभाइभ गर्ने अवस्थामा पुग्दै आएको छ । तर यसपटक भने यसमा समस्या हुनसक्ने चिन्ता सरोकारवालाहरूको छ । यसपटक नेपालप्रतिको सन्देश नै नकारात्मक गएकोले अहिलेको क्षति दीर्घकालसम्म जाने हो कि भन्ने उनीहरूको चिन्ता छ । 

नाट्टाका अध्यक्ष थपलिया यसअघिका समस्या प्राकृतिक नभएकोले पर्यटकमा डर नभएकोले रिभाइभ छिटो भए पनि यसपटक त्यही अवस्था नरहेको उनको भनाइ छ । 

‘यसअघि भूकम्प आएको थियो, भूकम्पपछि नेपाललाई माया गर्नेले सहयोगको हिसाबले पनि भ्रमण गरे, भूकम्प सधैँ आउँछ भन्ने नभएकोले डरको अवस्था पनि भएन । कोरोना महामारी लामो समय चलेकोले यसमा रिभाइभ अलि ढिला भयो,’ उनले भने, ‘२०१९ को संख्या २०२४ मा मात्रै रिभाइभ भयो उनी भन्छन् यसपालि चाहिँ अलिक फरक अवस्था छ । पर्यटक आउन डराउनुपर्ने अवस्था सिर्जना भयो । हामीले सकारात्मक सन्देश दिनुपर्ने अवस्था त छँदैछ त्यो भन्दा पहिले हाम्रो आन्तरिक वातावरणलाई पनि ठीक बनाउनुपर्छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप