कोशी प्रदेशमा मात्रै २ अर्ब ६ करोड बराबरको भौतिक संरचना क्षतिग्रस्त
सारांश
- कोशी प्रदेशमा अविरल वर्षाका कारण सडक, पूर्वाधार तथा खानेपानी आयोजनामा २ अर्ब ६ करोडभन्दा बढीको क्षति भएको छ।
- इलाम, झापा, पाँचथर लगायतका जिल्लाहरूमा सडक, पुल तथा खानेपानी आयोजनामा ठूलो क्षति पुगेको छ।
- कोशी प्रदेश सरकारले विपद् व्यवस्थापन समितिमार्फत पीडित नागरिकका लागि राहत, पुनर्निर्माण र आवश्यक सेवा सञ्चालनका लागि कार्यदल गठन गरेको छ।
विराटनगर । असोज १८ र १९ गतेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट कोशी प्रदेश सरकारले बनाएका सडक, पूर्वाधार तथा खानेपानी आयोजनाहरु गरेर २ अर्ब ६ करोड बढीको क्षति भएको सरकारले जनाएको छ ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालयले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । तथ्याङ्क अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका आयोजना मात्रै १ अर्ब ९८ करोड बराबरको क्षति भएको छ भने ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालय अन्तर्गतका ८ करोड रुपैयाँ बढीको आयोजनामा क्षति पुगेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईका अनुसार पूर्वाधार विकास कार्यालय इलाम अन्तर्गत मात्रै सडक बगाउँदा १९ करोड बराबर क्षति भएको अनुमान छ । यस्तै झापामा १ करोड ५० लाख बराबरको क्षति भएको छ । सबैभन्दा बढी इलामका सडक पुलमात्रै ३८ करोड ५० लाख बराबरको क्षति भएको छ ।
सङ्खुवासभामा सडक, सडक पुल र भवन गरेर २ करोड ६५ लाख, तेह्रथुममा २ करोड ४० लाख, उदयपुरमा १५ लाख, खोटाङमा ४५ लाख, ग्रामीण सडक सुधार परियोजना (आरसिआइपी) अन्तर्गत ८० लाख ५० हजार, ताप्लेजुङमा ४ करोड ७५ लाख, पाँचथरमा सडक मात्रै ३२ करोड र सडक पुल १० करोड बराबरको क्षति भएको छ । यस्तै ओखलढुंगामा सडक तथा सडक पुल गरेर ११ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयको आकलन छ ।
सोलुखुम्बुमा ८ करोड ५० लाख, मोरङमा ५ करोड २० लाख, भोजपुरमा ४४ लाख र धनकुटामा २ करोड ५ लाख गरी सडक तथा सडक पुल गरेर १ अर्ब ९८ करोड ७० लाख रुपैयाँ बराबरको क्षति भएको तथ्याङ्कमा उल्लेख छ ।
हालसम्म ७३ वटा सडकमध्ये ४४ वटा सडक अवरुद्ध भएको र २९ वटामा आंशिक क्षति भएको जनाइएको छ । यस्तै २३ वटा सडकपूलमध्ये १२ वटा पूर्ण क्षति भएको र ११ वटामा आंशिक क्षति भएको छ । २९ वटा झोलुङ्गे पुलमध्ये २० वटा पूर्ण रूपमा क्षतिग्रस्त बनेको मन्त्रालयले जनाएको छ । ९ वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ भने ३ वटा भवनमा आंशिक क्षति पुगेको जनाइएको छ ।
खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयका सचिव प्रदीप वान्तवाले दिएको प्रारम्भिक तथ्याङ्क अनुसार जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय इलाम अन्तर्गत ३ करोड ७६ लाख बराबरको खानेपानी र सिँचाइ आयोजनामा क्षति पुगेको छ । यस्तै कन्काई सिँचाइ व्यवस्थापन कार्यालय झापामा १ करोड ४५ लाख, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाँचथरमा २ करोड ८१ लाख १० हजार बराबरको भौतिक क्षति भएको जनाइएको छ । सो मन्त्रालयका अनुसार ९९ वटा विभिन्न खानेपानीका र सिंचाईका आयोजनाहरूमा क्षति भएको छ ।
यसैबिच कोशी प्रदेश सरकारको विपद् व्यवस्थापन समितिको बैठकले विपद्पीडित नागरिकको तत्कालको आवश्यकतादेखि दीर्घकालीन पुनर्स्थापनासम्मका लागि ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
उक्त बैठकले राहत, पुनर्निर्माण र अत्यावश्यक सेवा सञ्चालनलाई तत्काल प्रभावकारी बनाउन ३ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरिएको छ । कार्यदलमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारी रहेका छन् । कार्यदलले तत्कालै आफ्नो कार्ययोजना बनाएर काम थाल्ने जनाइएको छ ।
बैठकले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल खर्च गर्न सक्ने गरी विभिन्न जिल्लाहरूलाई रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ । जसमा इलामका लागि २५ लाख रुपैयाँ, झापाका लागि १० लाख रुपैयाँ र पाँचथर, मोरङ र सुनसरीका लागि प्रतिजिल्ला ५/५ लाख रुपैयाँ दिने उल्लेख छ । ‘यो रकम तत्काल आवश्यक पर्ने सानातिना मर्मत, अस्थायी बसोबास व्यवस्थापन तथा अन्य आकस्मिक कार्यमा खर्च गरिने मन्त्री भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण