सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सबै दलहरूबिच समान धारणा बनाउन कांग्रेसले पहल गर्ने

बिहीबार, २३ असोज २०८२, १८ : ५९
बिहीबार, २३ असोज २०८२

काठमाडौँ । नेपाली कांग्रेसका अधिकांश नेताहरूले आगामी मंसिरभित्रै विधि प्रक्रिया पूरा गरेर महाधिवेशन गर्नतर्फ अग्रसर हुनुपर्ने बताएका छन् । 

बिहीबारबाट पार्टी कार्यालय सानेमा सुरु कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा धारणा राख्ने नेताहरूले नियमित महाधिवेशनमा जोड दिँदै त्यसका लागि विधि प्रक्रिया पूरा गरेर मंसिरभित्रै महाधिवेशन गर्नतर्फ अग्रसर हुनुपर्ने धारणा राखेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

त्यस्तै जेनजी आन्दोलनका क्रममा दलका नेताहरूमाथि आक्रमण, व्यवसाय, राष्ट्रिय संरचनामा तोडफोड र आगजनी गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा सबै नेताहरूको समान धारणा रहेको उनले बताए ।

उनले अहिलेको अवस्थामा सबै दलहरूबिच समान धारणा बनाउन आवश्यक रहेकाले कांग्रेसले त्यसको पहल गर्ने जिकिर गरे ।

प्रवक्ता महतले गृह मन्त्रालयले नै घटनामा संलग्नलाई कारबाही नगर्न दबाब दिएको कुरा आएकाले त्यसमा पार्टीको गम्भीर असहमति रहेको उल्लेख गरे । 

उनले विश्वसनीय निर्वाचनको आधार नदेखिएपनि मुलुकलाई निकास दिनका लागि निर्वाचनका लागि कांग्रेस तत्पर रहेको बताए । 

नेताहरूले धारणा राख्न बाँकी रहेकाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक शुक्रबार पनि बस्ने प्रवक्ता महतले बताए । बैठकले असोज २६ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्ने उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप