बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अन्तरवार्ता

रास्वपाका महामन्त्रीलाई प्रश्न : तपाईंहरूलाई जेनजीले किन वार्तामा बस्न दिएन ?

शुक्रबार, २४ असोज २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला शिखर चढ्दै गरेको थकित आरोहीजस्तै छ, जो आधार शिविर फर्किएको जस्तो चर्चा गरिँदै छ । 

पार्टी सभापति रवि लामिछाने कारागारमा रहँदा रास्वपा नेतृत्वविहीन अवस्थामा पुगेको चर्चा पनि त्यत्तिकै छ । पार्टीका गतिविधिहरू सुस्त भएको, नेता कार्यकर्ताहरूले पार्टी परित्याग गर्न थालेको, पार्टीमा नीतिगत स्पष्टता नभएको नेता कार्यकर्ताहरूकै गुनासो सुनिन थालेको छ । 

यसको मतलब पार्टीमाथि आएका चुनौतीको सामना गर्न अहिलेको नेतृत्व असफल भएकै हो त ? के रविको नाम बेचेर मात्र पार्टी चल्ला त ? पार्टीभित्र विशेष महाधिवेशनको माग उठाउनेलाई किनारा किन लगाउन खोजिएको हो ? संसद् पुनर्स्थापना भए राजीनामा गरिसकेका रास्वपाका सांसद के गर्छन् ? प्रधानमन्त्री बनाउन रविलाई जेलबाट निकालिएको हो ? लगायतका विषयमा रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीसँग रातोपाटीका लागि रोहित दाहालले कुराकानी गरेका छन् । बुर्लाकोटीसँग गरिएको कुराकानीको सम्पादित अंशः 

  • राष्ट्रिय स्वतन्त्र पार्टी शिखर चढ्दै गरेको आरोही थकित भएर आधार शिविर फर्किएको जस्तो किन भएको ?

राजनीतिक शून्यता भएको अवस्थामा कम्तीमा हामी बेस क्याम्पको वरिपरि नै रहेछौँ भनेर भनिदिनुभयो, यहाँलाई धन्यवाद छ । मौसम ठिक नहुँदाखेरि झरेर बेस क्याम्प बस्ने हो र त्यसपछि सगरमाथा चढ्ने हो ।  अलि चर्कोसँग नबोलेको, राजनीतिक एजेन्डाहरू अगाडि नसारेको चाहिँ अहिलेको जुन आन्दोलन भयो, यो गैरराजनीतिक दलका पात्रहरूको हो । हामी आन्दोलनमा सहभागी भए पनि गैरराजनीतिक पात्रकै रूपमा सहभागी भयौँ । 

  • कुरो त्यस्तो हो कि तपाईंको पार्टी सभापतिको जेल यात्रा सुरु भएपछि नेतृत्वको शून्यता भयो । तपाईंहरूमा चुनौती सामना गर्न सक्ने क्षमता, ल्याकत रहेनछ नि त ?  

राजनीतिक दलहरू त धेरै जन्मिन्छन् । तर उचाइ लिने गरेर जन्मिने कुरा र त्यसको नेतृत्व गर्ने कुरा विरलै हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गर्दै गर्दा, त्यसको नेतृत्व, त्यसको सबै डिजाइन, त्यसको भूमिका रवि लामिछानेकै कारणले भएको हो । रवि लामिछानेले गर्दा नै पार्टीको उचाइ बढेको हो, अहिले कस्टडीमा रहँदै गर्दा यसको प्रभाव अलिकति रहनु स्वाभाविकै हो । तथापि, पार्टी समूहले चलाउने, टिमले चलाउने, यो समूह कार्य नै हो । त्यो कारणले गर्दा समूहमा हाम्रो आ–आफ्नो कामहरू गरेर यसलाई अगाडि बढाउने कुरामा अगाडि नै छौँ ।

डीपी अर्याल, कविन्द्र बुर्लाकोटी लगायतको नेतृत्व रवि लामिछानेको नाम बेचेर मात्रै टिकेको रहेछ भन्ने आरोप पनि छ । 

हामी सभापतिको पछाडि लागेका रहेछन् भनेर लगाएको आरोप त हामी स्वीकार गर्छौं नि त । सभापतिको पछाडि नै बसेर काम गर्नकै लागि टिम त्यसरी नै फर्मेसन गरेको हो । र हामी त्यसरी नै काम गरिराख्या छौँ । 

  • तपाईंहरूको नेतृत्वले काम गर्न नसकेको भन्ने कुराको पछाडि तर्क पनि छ नि । जस्तै: रवि लामिछानेजीलाई छुटाउन गरेको आन्दोलन असफल । जेनजी आन्दोलनपछि सांसदपिच्छे फरक–फरक मत । आन्दोलनपछि पार्टीकोे पोलिटिकल स्ट्यान्ड के हो ? यस्ता अनगिन्ती प्रश्न छैनन् र तपाईंहरूमाथि ? 

हामीले भदौको २० गतेदेखि २२ गतेसम्म १० दिनको अवधिमा हामीले आठवटा विज्ञप्ति निकालेका छौँ । रास्वपा नै पहिलो पार्टी हो, जसले यो म्यान्डेटले हुँदैन, अब नयाँ जनादेशमा जानुपर्छ भन्ने । हामीले यो कुरा भदौको २३ गते नै विज्ञप्ति निकाल्यौँ । 

  • जेनजीको आन्दोलनबाट प्राप्त उपलब्धिको जस रास्वपाले लिन खाज्यो भन्ने आरोप छ नि ? 

होइन । जेनजी आन्दोलनमा अहिले जे–जे मुद्दाहरू उठिराख्या छन् त्यो मुद्दा हामीले ७९ सालदेखि नै उठाउँदै आएका हौँ । त्यसमा युवाहरूको पनि साथ रह्यो, हाम्रो पनि साथमा आन्दोलन भयो, सबैजना आन्दोलनमा भइसकेपछि अहिले परिणाम आयो ।

जेनजी आन्दोलनमा नैतिक समर्थन पनि थियो, सहभागी हुन पार्टीको निर्देशन पनि थियो । कार्यकर्ता सहभागी पनि भए । तर आन्दोलनपछिका वार्ताहरूमा तपाईंहरूलाई त्यही जेनजीले वार्तामा बस्न किन नदिएको ? 

  • यसमा अरू कसरी गए, हामी कसरी गएनौं ? अरू को–को कसरी गए ? हामी किन गएनौं ? तपाईंको विश्लेषण के होला ?

यसमा विश्लेषणको कुरै भएन नि । 

kabindra burlakoti

यो आन्दोलन कसको थियो ? जेनजीहरूको थियो । अनि संवाद गर्नुपर्ने मुख्य भूमिका कसको थियो ? जेनजीहरूकै थियो । उहाँहरू जानुभयो । संवाद गर्नुभयो । वार्ता गर्नुभयो । अगाडि बढेको छ अहिलेको कोर्स । 

  • आउँदो मंसिरमा विशेष महाधिवेशन गरौँ भनेर माग गर्नेलाई तपाईंको जवाफ के हुन्छ ? 

महाधिवेशनचाहिँ ल पर्सि गरौँ भनेर हुन्छ ? आफ्नो प्रक्रियामा हुन्छ नि । 

  • मंसिरमा चाहिँ हुँदैन हैन ?

कात्तिकको १४ र १५ गते बस्ने केन्द्रीय विस्तारित बैठकले निर्णय गर्छ ।

  • फागुन २१ गते निर्वाचन हुन्छ ? 

निर्वाचन गर्नुपर्छ । अन्यथा आन्दोलनपश्चात् जुन वातावरण छ, यो धमिलिन सक्छ । विश्वासहरू कमजोर हुन सक्छन् । 

  • यही संविधान अनुसार हुने चुनावबाट अहिलेको संसद् भन्दा परिदृश्य केही फरक हुन्छजस्तो लाग्छ ? 

संसद्भन्दा बाहिरको विकल्पहरूबाट पनि संविधान संशोधन गर्न सकिन्छ । देशले चाह्यो भने,  देश एकढिक्का भयो भने देशले यी चिजहरू गर्न सक्छ । तर सबै पक्षहरू एक ठाउँमा बसेर यो गर्ने भन्नुपर्‍यो नि त । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया