काभ्रेको महाभारत बाढीले तहसनहस : सडक सञ्जाल बिच्छेद, पुनर्निर्माणमा सहयोग माग्दै अध्यक्ष जिम्बा
सारांश
- अविरल वर्षापछि काभ्रेको महाभारत गाउँपालिका सडक सञ्जालबाट विच्छेद भएको छ।
- महाभारतमा सडक अवरुद्ध हुँदा स्थानीयको जनजीवन कष्टकर बनेको छ, विद्युत र सञ्चार सेवा पनि बन्द छन्।
- गाउँपालिका अध्यक्षको पहलमा संघीय सरकारसँग समन्वय गरी तत्काल बेलीब्रिज राख्ने र पछि पक्की पुल बनाउने सहमति भएको छ।
मकवानपुर । अविरल वर्षा कारण काभ्रेको महाभारत गाउँपालिकाका सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको छ । गत साताको अविरल वर्षा र त्यसपछिको बाढी तथा पहिरोले महाभारत तहसनहस भएको हो ।
महाभारतमा करिब एक सातादेखि सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको छ भने स्थानीयको जनजीवन कष्टकर बनेको छ । बिपी राजमार्गको मंगलटार र चौकीडाँडाबाट दक्षिणतर्फ अवस्थित महाभारत १८६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
महाभारत लेकले घेरिएको सो गाउँपालिकाको पूर्वमा सिन्धुलीको घ्याङलेक गाउँपालिका, दक्षिणमा सिन्धुलीको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकासँगै कोखाजोर खोला रहेको छ । पश्चिममा खानीखोला गाउँपालिका र चाउखोलाले घेरिएको छ भने उत्तरी सिमानामा रोशी गाउँपालिकासँगै म्हाबर लेक रहेको छ ।
असोज १७ र १८ गतेको वर्षाका कारण बिपी राजमार्ग भएर महाभारत जाने सबै सडकहरू बाढी र पहिरोले बन्द रहेको छ ।
रोशी खोलाको बाढी र बिपी राजमार्गको सडक कटान पछि नाका नै ठप्प बनेको महाभारतमा विद्युत र सञ्चार समेत बन्द थियो । बिपी राजमार्ग हुँदै जानुपर्ने भएकोले महाभारत जाने कुनै विकल्प नभएको सडक सञ्चलनको लागि इन्धन समेत ढुवानी गर्न सकिएको छैन ।
बिपी राजमार्गको चौकीडाँडा–सिपाली, पिन्थली–रजवास, मंगलटार–डाडाँखर्क र पिप्ले–भीमखोरी हुँदै महाभारत जाने सडक सबै अवरुद्ध छन् । सो अवस्थामा समस्या समाधानका लागि गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले सङ्घीय सरकारसम्म पहल समेत गरे ।
यसअघि अध्यक्ष जिम्बाले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टसँग पनि भेट गरी विपद्बाट क्षतिग्रस्त निजी घर तथा अन्य संरचना पुनर्निर्माणका लागि स्थानीय तहबाट विवरण सङ्कलन गरी तत्काल राहत र सहयोग उपलब्ध गराउने विषयमा छलफल गरेका थिए ।
उनले केही दिन अघि ऊर्जा, सहरी विकास तथा भौतिक योजना मन्त्री कुलमान घिसिङसँगको भेटवार्तापछि बाढीले बगाएको पुल तत्काल पुनर्निर्माण गर्ने र अवरुद्ध राजमार्ग खुलाउने विषयमा ध्यानाकर्षण समेत गराएका थिए । उनका अनुसार रोशी खोलाको थान्सिङबेँसीमा रहेको पुल बाढीले बगाएपछि गाउँपालिकाको सम्पर्क टुटेकाले मर्मतको काम तत्काल गर्न सङ्घीय सरकारसँग समन्वय गरिएको उनले बताए ।
अध्यक्ष जिम्बाका अनुसार मन्त्री घिसिङसँगको छलफलमा तत्काल यातायात सुचारु गर्न अवरुद्ध बिपी राजमार्ग तत्काल खुलाउने, रोशी खोलाको थान्सिङबेँसीमा तत्कालका लागि बेलीब्रिज राखेर आवागमन सहज बनाउने र सोही स्थानमा दीर्घकालका लागि पक्की पुल निर्माणको प्रक्रिया अघि बढाउने सहमति भएको छ ।
‘बाढीले बगाएको पुलको पुनर्निर्माणका लागि सङ्घीय सरकारसँगको समन्वयमा तत्काल बेलीब्रिज र पछि पक्की पुल बनाउने निर्णय भएको छ । तत्कालका लागि ह्युमपाइप राखेर भए पनि बाटो सञ्चालन गर्ने प्रयास भइरहेको छ । यद्यपि, सरकारी प्रतिबद्धताका बाबजुद स्थलगत रूपमा काम अघि बढाउन इन्धन अभाव प्रमुख चुनौती बनेको छ,’ उनले भने ।
बिपी राजमार्ग अवरुद्ध भएकाले गाउँपालिकाभित्रका अन्य सडक मर्मत गर्न आवश्यक डिजेल ढुवानी गर्न नसकिएको उनले बताए । महाभारत क्षेत्रमा यातायात सहज बनाउन तारखसे, सिपाली र जनमुक्ति मार्ग खोल्ने प्रयास भए पनि इन्धन नहुँदा मेसिनहरू थन्किएको उनको भनाई छ ।
‘पहिरो पन्छाउन गाउँपालिकाको मेसिनहरू तयारी अवस्थामा छन् । तर इन्धन नभएकाले काम गर्न निकै गाह्रो भएको छ ।’ अध्यक्ष जिम्बाले भने, ‘एक पटक हेलिकप्टरबाट तेल ल्याउन सात–आठ लाख रुपैयाँ लाग्ने रहेछ । यति महँगो खर्च व्यहोर्न सम्भव भएन । गत वर्ष पनि हेलिकप्टरबाटै इन्धन ढुवानी गरेर बाटो खुलाइएको थियो । यस पटक त्यो सम्भव भएन ।’
अध्यक्ष जिम्बाले यातायात अवरुद्ध हुँदा बिरामीको उद्धारदेखि दैनिक जीवनयापनमा समेत कठिनाइ भएको बताए । छिटोभन्दा छिटो यातायात सहज बनाउन गाउँपालिका प्रयत्नरत रहेका उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताको विषयमा छेडखानी भए सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा विद्रोह हुन्छ : सांसद राई
-
भग्नावशेषमा च्यापिएका बाबु र भाइहरूको जीवन बचाउने ती ‘हिरो’ छोरा
-
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
-
‘चंगुल’ भदौ १९ गते रिलिज हुने
-
‘हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै
-
असार लागेपछि पक्की सडक भत्काएर ढल निर्माण सुरु, स्थानीयबासीलाई सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण