सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

प्रेस काउन्सिल नेपालद्वारा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने निर्णय

शुक्रबार, २४ असोज २०८२, १९ : ३२
शुक्रबार, २४ असोज २०८२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

शुक्रबार बसेको बैठकमा आचारसंहिता अनुगमन, पछिल्ला प्रवृत्ति, उजुरी र स्वअनुगमनलगायतका विषयमा छलफल भएको थियो।

काउन्सिलले पछिल्लो समय कतिपय मिडियाबाट भ्रामक सूचनाहरू सम्प्रेषण भइरहेको गुनासो आएको र आफ्नो अनुगमनबाट समेत त्यस्तो देखिएको सन्दर्भमा सम्पूर्ण पत्रकार र सञ्चार माध्यमलाई थप जिम्मेवार भई आचारसंहिता पालनामा ध्यान दिन आह्वान गरेको छ।

मुलुकको बदलिँदो परिस्थिति र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा यो आह्वान गरिएको हो। आचारसंहिताको अनुगमनलाई चुस्त दुरुस्त बनाउन काउन्सिलले विभिन्न माध्यमका लागि 'फोकल पर्सन' समेत तोकेको छ।

आचारसंहिता प्रतिकूल घटनाका सम्बन्धमा उजुरी वा गुनासाका लागि आमजनतालाई यी व्यक्तिहरूलाई जुनसुकै बेला सम्पर्क गर्न आग्रह गरिएको छ ।

टेलिभिजन/एफएम रेडियोतर्फ: श्री नकुल अर्याल, सदस्य (मोबाइल: ९८५११६५९०१, इमेल: [email protected])

छापा माध्यमतर्फ: श्री पदम राज जोशी, सदस्य (मोबाइल: ९८४१४४९३१५, इमेल: [email protected])

अनलाइन सञ्चार माध्यमतर्फ: श्री शन्तराम बिडारी, सदस्य (मोबाइल: ९८५११४५१८६, इमेल: [email protected] )

यसैगरी काउन्सिलले सातै प्रदेशमा पत्रकार आचारसंहिता, मिडिया अनुगमन तथा श्रमजीवी पत्रकार र मिडियाको अवस्था सम्बन्धमा अन्तरक्रिया गर्ने निर्णय पनि गरेको छ।

पछिल्लो एक महिना अर्थात् २०८२ भदौ ५ देखि असोज ५ सम्म आमसञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरी प्रतिवेदन तयार गर्न काउन्सिलका सदस्य श्री बालकृष्ण अधिकारीको संयोजकत्वमा विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय भएको छ।

यसअघि काठमाडौँ उपत्यकाका ६ वटा टेलिभिजनमा गरिएको स्थलगत नमुना अनुगमन प्रतिवेदनका आधारमा विभिन्न छापा माध्यम, एफएम रेडियो र अनलाइन माध्यमको पनि स्थलगत अनुगमन गरिनेछ।

बैठकले आर्थिक वर्ष २०८१/८२ सम्म आचारसंहिताको कारबाही हुँदा अवज्ञाकारी/कालोसूचीमा रहेको वा सूचीकरणबाट अलग भएका मिडियालाई आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिबद्धताका साथ काउन्सिलमा आउन आह्वान गर्ने निर्णय पनि गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप