रास्वपाले गर्यो ठुला दलहरूको नियतमाथि प्रश्न, भन्यो - ‘हामी सेतु बन्न तयार’
सारांश
- रास्वपाका सहमहामन्त्री विपिन कुमार आचार्यले निर्वाचन सफल बनाउन सबैलाई मिलेर काम गर्न आग्रह गरे।
- उनले सरकार र ठूला दलहरूको नियतमाथि प्रश्न उठाउँदै फ्रेस म्यान्डेट लिनुपर्नेमा जोड दिए।
- आचार्यले पुराना दलहरूले संविधानको दुरुपयोग गरेको र जेनजी आन्दोलनलाई बुझ्न नसकेको आरोप लगाए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन कुमार आचार्यले फागुन २१ गतेको निर्वाचन सफल बनाउन सबै पक्षलाई मिलेर काम गर्न आग्रह गर्दै प्रमुख दलहरूको नियतमाथि प्रश्न उठाएका छन्।
राष्ट्रपतिले आह्वान गरेको दलहरूको बैठकमा शुक्रबार धारणा राख्दै उनले निर्वाचन घोषणा भइसकेको अवस्थामा अब विकल्प नभएको र यसलाई सफल बनाउने जिम्मेवारी सरकारका साथै निर्वाचनमा सहभागी हुने दलहरूको पनि रहेको बताएका हुन्। रास्वपा निर्वाचनका लागि तयार रहेको र सरकारलाई हर सम्भव सहयोग गर्न तत्पर रहेको उनले स्पष्ट पारे।
आचार्यले निर्वाचन गर्ने म्यान्डेट पाएको सरकारले एक महिनापछि मात्र दलहरूसँग बैठक बस्ने साइत जुराउनु सही नभएको टिप्पणी गरे। उनले ‘सरकारले यो गर्यो, त्यो गरेन’ भनेर गुनासो गर्ने प्रमुख दुई ठुला दलहरू नै एक महिनासम्म निर्वाचनमा भाग लिने आधिकारिक घोषणा नगरी ढुलमुले चरित्र देखाउनुले उनीहरूको नियतमा प्रश्नचिन्ह खडा गरेको बताए। उनले मुठभेडको माग गर्ने ‘प्रोभोकेटिभ स्टेटमेन्ट’ हरू आउनु सही नभएको भन्दै फ्रेस म्यान्डेट लिनुको विकल्प नभएकोमा जोड दिए।
पुराना प्रमुख दलहरूले नै संविधानको मर्ममाथि पालैपालो दुरुपयोग (अब्युज) गर्दै संविधानको मुहान बिटुल्याउने काम सबैभन्दा बढी गरेको उनको आरोप छ। उनले निर्लज्ज भएर संविधानको स्पिरिटमा अब्युज गर्ने अनि केही धाराहरूको दुहाइ दिएर 'संविधान मिचियो' भन्ने रोइलो रुनु नाटक मात्र भएको बताए। देश र नागरिकलाई दिएको दुःखप्रति आत्मालोचना गर्दै फ्रेस म्यान्डेट लिनुको विकल्प नभएको उनले बताए।
त्यस्तै, ठुला दलहरूले जेनजी आन्दोलन प्रतिको बुझाइ सच्याउनुपर्ने भन्दै 'आन्दोलन हावाहुरी जसरी आयो', 'घुसपैठ भयो', 'ग्रान्ड डिजाइन थियो' जस्ता व्याख्याहरू गरेर समाजको असन्तुष्टिलाई नजरअन्दाज गर्न नहुने बताए। उनले आन्दोलनको स्वरूप र इम्प्याक्ट पार्ने मेकानिजमहरू समयक्रममा बदलिने कुरा राजनीतिक नेतृत्वले बुझ्नुपर्नेमा जोड दिए।
उनले अहिलेको सरकार आन्दोलनका नेतृत्वकर्ता नभए पनि राष्ट्राध्यक्षले विषम परिस्थितिमा निर्वाचन गराउने म्यान्डेटसहित निर्माण गरेको भन्दै 'यो सरकार असफल भयो भने चाहिँ संविधान सफल हुन्छ' भन्ने सोच नराख्न आग्रह गरे। उनले अब आफू जित्ने नाममा राष्ट्रलाई हराइरहने कि निर्वाचन बनाउने माहौल निर्माण गरेर देशलाई नयाँ दिशा दिने भन्दै प्रश्न गरे।
आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टी नै सुधारिएर आउन खोज्ने पुराना पार्टीहरू र नयाँहरूको बिचमा सेतु बन्ने ल्याकत राख्ने दाबी गर्दै नेतृत्वदायी भूमिका लिन सदैव तयार रहेको स्पष्ट पारे। उनले एकअर्कालाई आलोचना मात्र गर्नेभन्दा पनि रचनात्मक भएर निर्वाचन गर्ने माहौल बनाउन लाग्नुको विकल्प नभएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
-
रास्वपा रुकुम पश्चिमकाे सभापतिमा खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण