भरपर्दो ओत खोजिरहेका कलाकार
सारांश
- काठमाडौंको ग्यालरीमा 'टु बिल्ड अ सेल्टर' शीर्षकमा सामूहिक कला प्रदर्शनी भयो, जसमा नयाँ कलाकारहरूको सहभागिता थियो।
- प्रदर्शनीले आश्रयको विविध अर्थलाई कलामार्फत प्रस्तुत गर्यो, जसमा घर, सम्झना र सुरक्षाको अनुभूति झल्किन्छ।
- कलाकारहरूले विभिन्न माध्यम र शैली प्रयोग गर्दै समसामयिक कलाको नयाँ मोडलाई उजागर गरे, जसले दर्शकको जिज्ञासा जगायो।
काठमाडौँको लाजिम्पाटस्थित तक्पा कला ग्यालरीमा भर्खरै (६ सेप्टेम्बरदेखि ३० सेप्टेम्बरसम्म) ‘टु बिल्ड अ सेल्टर’ नामक सामूहिक कला प्रदर्शनी भयो । प्रदर्शनीमा नौ नवयुवा कलाकार सहभागी थिए— जोत्स्ना उदास, मनु चौधरी, मौलिक लिम्बु, प्रीति दुवाल, पुरुषोत्तम चौधरी, समना राई, सरु प्रजापति, श्रयम शाक्य र सुजित महर्जन ।
आश्रय वा ओत लाग्ने ठाउँ बनाउने अर्थ वा सन्दर्भमा कलाकारले गरेको देखिन्छ । प्रदर्शित कलाहरु हेरेर अंग्रेजी शब्द ‘सेल्टर’को अर्थ खोज्नुपर्दा अलि ठुलो र फराकिलो ओतलाई नै बुझ्नुपर्छ । जस्तो ः सामान्यभन्दा अलि फरक कुनै घरभित्र मन प्रफुल्लित छ वा त्यहाँ कोही खुसीका साथ रहेको छ । यसरी आश्रयको अर्थलाई अलि व्यापक रुपमा बुझ्न–बुझाउन यो कला प्रदर्शनी उद्यत देखिन्छ ।
सुरक्षाको अनुभूति गराउन ‘हाउस’को होइन, ‘होम’को परिकल्पना गराउनु यी कलाकारको मूल ध्येय देखिन्छ । मूलतः कला प्रदर्शनीको उठान घरकै कथाबाट सुरु भएको छ । अनि घरबाट अलि पर आफ्ना सम्झना र आफू बसेको ठाउँ विशेषका प्रतिविम्ब झुल्कँदै कलाहरू निर्माण भएका छन् ।
यस कला प्रदर्शनीकी क्युरेटर पूजा दुवाल आफैँमा अब्बल भिजुअल कलाकार हुन् । उनी भन्छिन्, ‘यी कलामा आफ्नै घरका कथा छन् । आफू हुर्केको ठाउँ अनि आफ्नै पुराना सम्झना समेटी कला बनेका छन् । इँटाहरू एकमाथि अर्को हुँदै थपिँदै गर्दा अन्ततः आफ्ना लागि सुरक्षित हुन सक्ने गन्तव्य बन्छ । अनि राष्ट्र र विश्वका लागि सुरक्षित हुन सक्ने ठाउँमा रूपान्तरण हुन्छ । यही पवित्र ठाउँका लागि यी कलाकृति प्रतिविम्बका रूपमा देखापरेका छन् ।’
यस प्रदर्शनीमा विशेष गरेर हरेकजसो कलाकारका अलग–अलग कलागत माध्यम छन् । यी कलाकारको बुझाइमा ‘टुल्स’ र ‘मेटेरियल’ आफैँ पनि परिवर्तनका लागि महत्त्वपूर्ण संवाहक हुन् । विभिन्न माध्यमबाट एउटै गन्तव्यको खोजी गर्नु पनि नौलो अवधारणा हो । यो विविधतालाई समेट्न खोज्नु नै अर्को एउटा थप प्रयोग हो, थप सोच हो ।
एउटै शैली र प्रवृत्तिमा खेलिरहेका कलाकार पनि कलाको माध्यम परिवर्तन हुनेबित्तिकै नितान्त अर्कै स्वरूपमा देखिन्छन् । जसले गर्दा कलाकारको एक अलग्ग पहिचान बन्न जान्छ । विभिन्न कलागत माध्यमका आ–आफ्नै प्रक्रिया र विशेषता हुने गर्छन् ।
विविध माध्यमका सन्दर्भमा टेराकोटा, पोर्सिलिन, पेन एन्ड इङ्क, एक्वाटिन, उडकट (प्रिन्ट मेकिङ कला), पारदर्शी जलरङ, ग्वास, (ओपेक जलरङ) तेलरङ, इम्ब्रोइडरी (इम्ब्रोइडरी अन फ्याब्रिक), कलर पेन्सिल आदिले कलाको निर्माण भएको देखिन्छ । परम्परागत पौभा कला समेत मिक्स–मिडियामा देखापरेको छ । यसो हुँदा पनि यी कला अलिकति हस्तकलाजस्ता, अलिकति परम्परागत कलाजस्ता देखिन्छन् । यसरी यी कलाले समसामयिकताको नितान्त नौलो मोड समातेको देखिन्छ । यी सबैजसो कलाहरू अब्बल रूपमा देखापरेका छन् ।
सबैजसो कलाकारका कामहरूमा परम्परागत आइकनहरू, मोटिफहरू अनि आफू जन्मे–हुर्केको परिवेश वा परम्परा, दिनचर्या आदि सम्झनाका रूपमा आइरहेको दृश्यावलोकन हुन्छ । हिजोआजका नवयुवा कलाकारका यस्तायस्तै विषयवस्तु हुनु पनि नेपाली समसामयिक कलाकारको एक अलग्ग कलागत शैली प्रवृत्ति पनि हुन गएको देखिन्छ ।
कलागत माध्यमले आफ्नै किसिमको प्रतीकात्मक विम्ब बोकेको हुन्छ । परम्परागत विम्बलाई आजको सन्दर्भमा ल्याउन पनि एक अलग्ग सोच आवश्यक हुन्छ । यसमाथि यसलाई चाहिने शिल्प दक्षता अलग्ग हुनुपर्ने हुन्छ । आदि–इत्यादि कलाका विषयलाई एउटा गतिलो ‘टुल’का रूपमा प्रयोग गर्दै यी कलाकारले आफ्ना निजी भावना; विचार; आफ्नो सामाजिक परम्परा; संस्कृतिमाथिको आस्था, आशा र संरक्षणलाई पनि कलामा समावेश गर्न चाहेको देखिन्छ । यसो हुँदा झट्ट हेर्दा यी कला स्वयंमा पनि अनौठो देखिन्छ । पहिले देखिरहेका आधुनिक चित्रकला वा मूर्तिकलाभन्दा यी कला अलग्ग देखिन्छन् । प्रदर्शनी कक्षमा रनभुल्लमा परेजस्तो पारामा ‘यस्तो पनि कला हुन्छ र ?’ भन्ने आम–भावकको कुतूहल पनि देख्न सकिन्थ्यो । यी कलालाई भावकले कति बुझे वा कति बुझेनन् थाहा छैन । तथापि यी पृथक् कलामा अन्तर्निहित संरचना, बनावट र प्रस्तुतिको ढाँचा आफैँ पनि नितान्त सौन्दर्यले वशीभूत छ, जसलाई भावकले रमाइलो मानी अवलोकन गरिरहेका थिए ।
कलामाथिको पुरानो सोच र कलागत परिभाषाको सीमाभन्दा निकै माथि उक्लेर यी कलाकारले समसामयिक कलाको परिधिलाई फराकिलो बनाएको देखिन्छ । उनीहरुले मूर्तिकला र चित्रकलाको सीमाभन्दा अलि पर भएर कलाको निर्माण गर्ने कोसिस गरेका छन्, जुन हिजोआज देखापर्नेे समसामयिक कलाको नवीनतम प्रवृत्ति पनि हो ।

- कलाभित्रका कुरा
सबैभन्दा पहिला प्रीति दुवालकै सन्दर्भ उठाउँ । उनको ‘प्लेसेस ह्वेर डस्ट सेटल्स’ नामक सिरिजमा अनौठो प्रकारका चारवटा कला देखिन्छन् । कलामा रेडियस–ग्रे कलरहरू मुलायम रूपमा देखापर्दा भावकले पनि कोमलताको अनुभव गर्छन् । अर्कोतर्फ मोनोक्रम रङको बाहुल्य रहेका यी कला मान्छेको जीवनसँग नजिकबाट जोडिएको छ, जसले गर्दा पप–आर्टको सुगन्धलाई समेत अनुभूत गर्न सकिन्छ । उपयोगी कलाजस्तो उनका कला डेकोरेटिभ फर्ममा देखिन्छन्, भावविहीन देखिन्छन् ।
उनका चारवटै कलामा कहीँ न कहीँ घरको सन्दर्भ जोडिएका छन् । विशेष गरेर घरको रहलपहल ठाउँहरूलाई कार्यात्मक स्पेसका रूपमा देखाउनु वा देखिँदा यी कला साधारण तर रहस्यमयी दृश्यावलोकन हुन्छन् । खाली भई प्रयोग नभइरहेका घरका ठाउँहरुको पुनर्व्यवस्था भएर वा गरेर मान्छेको जीवन अगाडि बढ्छ, यस किसिमको ओत वा आश्रयको महत्त्वलाई कलाकारले उजागर गर्न खोजेको देखिन्छ ।
पोर्सिलिन (चिनियाँ माटो) माध्यमबाट बनेका यी कला अर्थसँग जोडिएर देखापरेका छन् । एउटा कला छ, जसमा चुकुलसहितको ढोकालाई बन्द गरेर प्रस्तुत गरिएको । बन्द हुनुको प्रतीकात्मक विम्बले धेरै कुरा बन्द हुनुको अर्थ दिन्छ— खुला छैन, स्वतन्त्रता छैन, सुविधाहरू बन्द छन्, स्कुल–कलेज बन्द छन्, घर स्वयं पनि बन्द छन् आदि । माटोलाई हातैले खेलाउँदै बन्न गएको यो कला शक्ति र उन्नतिको प्रतिविम्ब पनि हो । एउटैजस्तो देखिने कोमल सादा रङको लेपनका साथ प्रस्तुत गरिएको यो उनको काममा झट्ट हेर्दा अन्य केही देखिन्न, बन्द ढोकाबाहेक । यद्यपि मान्छेको जीवनसँग जोडिएको ‘ढोका’ले अनेकौँ सवाललाई उठाइरहेको स्पष्ट अनुभव हुन्छ । ढोकामै कागजमा लेखेको कसैको सन्देश पनि राखिएको छ ।

यही सिरिजको अर्को काममा झ्यालमा प्रयोग हुने ग्रिलमा इँटा र ढुङ्गाहरू मिलाएर इन्स्टलेसनको रूपमा प्रस्तुत गरिएको छ, यो काम पनि माटोबाटै बनेको हो । अर्को काममा घरमाथिको छत वरिपरिको बुट्टाधारी पर्खाल र ग्रिललाई प्रस्तुत गरिएको छ । स–साना यी काम मूलतः कच्चा माटोबाट बनाइएको हो । यिनमा वास्तुकलाको लोकविम्ब अवलोकन गर्न सकिन्छ, जसले गर्दा यी कलामा मौलिकताको समेत बोध हुन्छ ।

श्रयम शाक्यले ‘फ्रम द ग्राउन्ड’ सिरिजमा घतलाग्दा काम प्रस्तुत गरेका छन् । ‘फक्सेस अफ नारिचा’ नामक श्रयमको एउटा काम अलि अनौठो माध्यम, संरचना अनि प्रस्तुतिका साथ देखापरेको छ । उनको अर्को काम छ, ‘हिरोन्स अफ नारिता’ शीर्षकको । यी दुवै काम एउटा–एउटा कथा बोकेर देखापर्दा थोरै नौलोपनको महसुस हुन्छ । एउटै काम तर दुईवटामा विभाजित भएर देखिनु पनि आफैँमा नौलोपन हो ।
एउटा काममा परम्परागत आइकन चित्रण भएको देखिन्छ भने अर्कोमा अक्षरहरू प्रकट भएर कथालाई पूरा गर्न खोजेको देखिन्छ । उनले टेराकोटाका पातलो प्लेटमाथि अक्षरहरू बनाएर आफ्नो अभिव्यक्त गरेका छन् । पुरानो नेवा–लिपि अनि अंग्रेजीमा लेखिएको वाक्य छ, ‘हामी कामबाट अलिक ढिलो घर फर्क्यौं भने बाटामा ब्वाँसोहरू एकपछि अर्को हुँदै देखापर्छ ।’

असुरक्षित समाजको परिकल्पना, जताततै भय अनि डर सलबलाइरहेको अवस्थाको चित्रण उनको कलामा आएको छ । एउटा प्लेटमा परम्परागत इमेज अनि कलात्मक बुट्टाहरूलाई देखिन्छन्, जसले उहिलेको समाज कति शान्त र स्वच्छ थियो होला भन्ने कल्पना गराउँछ । जब अर्को प्लेटमा अक्षरहरू सलबलाउँछन्, ती अक्षरले आजको समयको मुद्दा बोकेको छ । यही दुईवटै अवस्थालाई सँगसँगै पढ्नु र महसुस गर्नु नै उनको कलाको मर्म हो । इँट वा टाइलका पाताजस्तोमा क्यालिग्राफी कलाको सानो रूप समेत देखिन्छ । तथापि नेपाली परम्परागत मान्यतालाई पुनर्व्याख्या गर्दै नितान्त नौलो ढङ्गबाट यो कला प्रस्तुत भएको छ । यो आफैँमा नौलो ढङ्गको प्रस्तुति हो । कलामा प्रस्तुतिले मात्र पनि एक अलग्ग अर्थ राख्छ ।

जोत्स्नाका काम अलग्गै ढाँचामा बनेका छन् । उनका चारवटा चित्रमा खुला आकाशमा रातो दोपट्टा उडेजस्तो भएर स्वैरकाल्पनिकता समाहित भएको देखिन्छ । हेर्दाखेरि एउटा दृश्यचित्र मात्र देखिन्छ तर उनी भावनामा बढी खेलेको आभास गराउँछ । उनी भन्छिन्, ‘साँचो अर्थमा घर मात्रै सधैँ आश्रय बन्दैन । स्वतन्त्र हुनु, फुर्सदको समयमा मनग्गे सास फेर्न पाउनु, थकान मेट्न पाउनु, धक लगाएर सपना देख्न पाउनु, खुला आकाशमा खुला बादलजस्तै मनलागी भौँतारिन पाउनु पनि आश्रयभित्र पर्छन् ।’
यी कुरालाई उनले आफ्नो ‘एन्ड देन दे अल ड्रिम्ड अन्डर द सेम स्काई’ नामक सिरिजका चित्रहरूमा समेटेकी छन् । इम्ब्रोइडरी, कलर पेन्सिल, कोलाज, जलरङ आदि माध्यमबाट बनाइएका यी चित्रमार्फत उनले आफ्ना भावना र विचार व्यक्त गरेकी छन् ।

मनु चौधरीले माछा, चरा, भ्यागुता, बिरालो, मुसा आदिलाई अनौठो प्रकारले खेलाउँदै चित्रको निर्माण गर्न पुगेका छन् । ‘नट ट्रस्ट’ सिरिजमा बनेका उनका चारवटा काम सबैमा स्वैरकाल्पनिक संयोजन छ । मुसामाथि बिरालो बसिदिँदा भ्यागुता, माछा र कछुवाले अनौठो मानेको परिदृश्य देखिन्छ । माछामाथि बसेर भ्यागुतो रमाएको पनि देखिन्छ । थुप्रै घतलाग्दा कथा भनेजस्तो पारामा उनले जीवजन्तुको आपसी सम्बन्ध देखाएका छन्, जुन ‘आश्रय’ वा सेल्टरकै थिममा छन् । मान्छेले जसरी एकअर्का मिली समाज बनाउँछन् त्यस्तै रूपमा जीवजन्तुले पनि आफ्नो समाज बनाउने परिकल्पना उनको कलामा देखिन्छ ।

‘फेरि भेटौँला’को शीर्षक लिएर समना राई देखापरेकी छन् । बाँसको कोक्रो, थाल, बटुका आदिको संयोजन उनको काममा अति उत्कृष्ट रूपमा देखापरेको छ । यो उनको एक्वाटिन माध्यमबाट बनेको काम हो । इलाममा रहेको उनको बाबु–बाजेको घर, घर वरिपरिका सुन्दर वातावरण आदिले उनलाई गहिरो गरी छोएको देखिन्छ । हिजोआज उनी काठमाडौँ बस्दै गर्दा पनि इलामलाई घरीघरी सम्झने गर्छिन् । यी काममा उनको मनले खोजेको ‘आश्रय’लाई अनुभूत गर्न सकिन्छ । उनका अनुसार आश्रयले घरको भौतिक स्पेसलाई मात्र जनाउँदैन, त्यसमा अपनत्व पनि जोडिनुपर्छ । बाह्य आँखाले हेर्दा उनको काम सामान्य दृश्यचित्रझैँ देखिन्छ, वा दैनिक प्रयोग हुने वस्तुहरू यथार्थ रूपमा चित्रपटमा अङ्कन भएको देखिन्छ तर पुर्ख्यौली थलो इलामको सम्झना गहिरो गरी गासिँदा उनका चित्र थप मनमोहक बन्न पुगेका छन् ।
समनाका लागि प्रिन्ट मेकिङमा विशेष गरेर उडकट मनपर्ने माध्यम हो । कहिलेकाहीँ उनले एक्वाटिनमा पनि काम गर्छिन् । सामान्य दृश्यचित्रमा पनि भावनासँग बढी मात्रामा खेल्ने सुमनाको कला सिरिजको नाम छ, ‘द फिल्ड उड नट बी ब्यारेन एनिमोर’ ।

मौलिक लिम्बुले पश्चिमबाट उड्दै कतै गइरहेका सेता चरालाई क्यानभासमा उतारेका छन् । स्वच्छ र निलो आकाशमा स्वतन्त्रतापूर्वक उडिरहेका सेता चरा साँच्चिकै मनमोहक लाग्छन् । यी चित्रले भावकलाई भावनामा उडाउँछ । निलो रङको प्रभुत्वमा चराहरु उडिरहेको देखिनुले कुनै सुनौलो गन्तव्य वा आश्रयतिर सङ्केत गरेका छन् । साँच्चिकै यी चराहरू कतै जाँदै होलान् । मिर्मिरे यादहरू, आँखाको न्यानोपन स्थिर हुन खोजेका यादहरू, बादलमाथिको जुनकिरी आदि— उनका सबैजसो चित्रले यस्तायस्तै भाव व्यक्त गरेको भान हुन्छ । झट्ट हेर्दा यथार्थ रूपमा चरा उडिरहेको देखिन्छ । उड्दाउड्दै थोरैमा चरामा अचानक आकारमूलक अमूर्तताले छ्वास्स छोएको जस्तो पनि अनुभव हुन्छ ।

मन्दिरको बिचोबिच सप्तलोचनी तारा (बुद्धकी आमा) लाई चित्रण गर्दै सरु प्रजापतिले स्तुपा, मन्दिर आदिलाई आश्रयको विम्बका रूपमा ल्याएकी छन् । मन्दिर आम मान्छेको आस्थाको केन्द्र हो । आफ्नी हजुरआमा भक्तिभावमा लीन भएको पनि उनी सम्झन पुग्छिन् । सप्तलोचनीलाई दीर्घ जीवन, राम्रो स्वास्थ्य अनि संरक्षकका रूपमा मान्ने गरिन्छ । आफ्नै धार्मिक अनि आध्यात्मिक यो स्पेस मूलतः मानवबिचको नाता कायम गरिरहने एउटा भरपर्दो आश्रय पनि हो ।

पुरुषोत्तम चौधरीले पर्खाइलाई ‘आश्रय’सँग जोड्न पुगेका छन् । काम सकेर फर्कने आमालाई उनले सानोमा पर्खेर बस्थे, केही पाउने आशाले । ‘साँझ’ नामक सिरिजमा देखिएका उनका सातवटा स–साना चित्रमा वात्सल्य आश्रयको प्रसंग आएको छ ।

यस्तै सुजित महर्जन ‘पाथ’ नामक परम्परागत पौभा चित्र लिएर देखापरेका छन् । उनका लागि चित्र बनाउनु र चित्रको अभ्यास गर्नु नै मूलतः आध्यात्मिक घर बनाउने प्रक्रिया हो । पौभाचित्रको मोटिभ, जेस्चर र प्रतीकहरूले करुणा र सुरक्षाको अनुभूत गराउँछन् । आर्यताराको रूपमा बनेको उनको यो चित्रले जुन वातावरण ल्याएको छ, त्यसैलाई उनले आफ्नो ‘आश्रय’ मानेका छन् ।
(मल्ल कलाकार/कला समीक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण