काठमाडौँ । ७४औँ ‘मिस युनिभर्स’ आगामी २१ नोभेम्बरमा थाइल्यान्डको बैंककमा आयोजना हुँदैछ । प्रतियोगीमा नेपालको प्रतिनिधित्व गर्दै सान्या अधिकारी सहभागी हुँदै छिन् । सान्या ‘मिस युनिभर्स नेपाल २०२५’ की विजेता हुन् । यो उपाधिले उनलाई ‘मिस युनिभर्स’ मा सहभागी हुने अवसर दिलाएको हो । यो अवसरलाई सदुपयोग गर्ने सोच उनमा छ । ‘मिस युनिभर्स नेपाल’ आफ्ना लागि अन्तर्राष्ट्रिय मञ्चमा नेपाल चिनाउने सुनौलो अवसर भएको उनी बताउँछिन् ।
‘मिस युनिभर्समा सहभागी हुने मेरो सपना सानैदेखि थियो,’ उनले भनिन्, ‘टेलिभिजनमा मिस युनिभर्सका प्रतियोगिताहरू हेर्दा एकदिन त्यो ताज आफ्नो टाउकोमा लगाउने कल्पना गर्थेँ ।’ यो यात्रा सजिलो नभएको उनले राम्ररी बुझेकी छन् । त्यसैले पनि उनले हतार नगरी यसमा सहभागी भएकी हुन् । त्यसका लागि स्नातक तहसम्मको पढाइ पूरा गरिन्, आफूलाई मानसिक र शारीरिक रूपमा तयार पारिन् ।

‘मिस युनिभर्समा चाहिँ अन्य भन्दा अलिकति असाधारण, अझ बोल्ड, अझ समावेशीताहरू पनि छ । कसैलाई पनि भेदभाव छैन,’ उनले थपिन्, ‘यो प्रतियोगिताले सुन्दरता मात्रै होइन, नेतृत्व, वकालत र सामाजिक परिवर्तनको अवसर प्रदान गर्छ ।’
मिस युनिभर्स नेपालमा सहभागी हुनुको उनको अर्को लक्ष्य अन्तर्राष्ट्रिय प्रतियोगिता मिस युनिभर्सको उपाधि नेपाल भित्र्याउनेछ । त्यसका साथै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा अझ राम्रोसँग चिनाउने सोच उनले राखेकी छन् ।

‘नेपाललाई हिमाल, पहाड र सगरमाथाले मात्रै होइन, नेपालीहरूको एकता, संस्कृति, सङ्घर्ष र सकारात्मक ऊर्जाले चिनाउँछु,’ उनले थपिन्, ‘नेपाल एक सकारात्मक र युवा सञ्चालित देश हो भन्ने चर्चासमेत गर्छु ।’
मिस युनिभर्स नेपालको उपाधिले आफ्नो परिचय समेत फेरिएको उनले महसुस गरेकी छन् । ‘पहिला म सान्या भनेर चिनिन्थेँ होला, तर अबचाहिँ म मिस युनिभर्स नेपाल भनेर चिनिन्छु,’ उनी अगाडि भन्छिन्, ‘मिस युनिभर्समा पनि मलाई त्यसरी चिन्छन् । त्यो पाउनु नै मेरो लागि एकदमै ठुलो उपलब्धि हो ।’ त्यो प्लेटफर्ममा आफूलाई अझ सचेतका रूपमा प्रस्तुत गर्ने आफ्नो सोच रहेको उनको धारणा छ ।
मिस युनिभर्स नेपालको उपाधिले उनलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा अवसरका साथै उनको जीवनमा पनि धेरै परिवर्तनहरू आएका छन् । जसमध्ये सबैभन्दा महत्त्वपूर्ण पक्ष उनको आत्मविश्वासको वृद्धि हो । ‘पहिला म कसैसँग बसेर गफ गर्न पनि राम्ररी सक्दिनथेँ होला । अहिले त मेरो आत्मविश्वास ५ बाट ८५ प्रतिशत पुगेको छ,’ उनले भनिन् । यो आत्मविश्वासले उनलाई आफूलाई अझ राम्रोसँग प्रस्तुत गर्न, बोल्न र ग्रुमिङमा ध्यान दिन मद्दत गरेको छ ।

मिस युनिभर्स यात्रा उनका लागि त्यति सहज भने छैन । किनभने उनीसँग एक प्रतियोगिता बाहेकको अनुभव छैन । त्यसैले उनले आफूलाई अझै धेरै मेहनत गर्नुपर्ने महसुस गरेकी छन् । विदेशी प्रतिस्पर्धीहरू सानैदेखि तालिम लिएर आउने भएकाले उनले आफ्नो कमजोरीहरूमा बढी ध्यान केन्द्रित गरिरहेकी छन् । विभिन्न मेन्टर्स र प्रतिस्पर्धीहरूबाट सुझाव लिएर आफूलाई अझ निखार्ने प्रयास गरिरहेको उनी बताउँछिन् ।
सान्याले मिस युनिभर्स नेपालको प्लेटफर्मलाई आफ्नो वकालतको विषय, बालश्रम अन्त्य बनाएकी थिइन् । उनी आगामी दिनमा पनि अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) सँगको सहकार्यमा नेपालबाट बालश्रम अन्त्य गर्ने अभियान कायम राख्ने बताउँछिन् । नेपालमा यो समस्या समाधान भएपछि अन्तर्राष्ट्रियस्तरमा पनि यसको प्रभाव फैलाउने उनको लक्ष्य छ । बालश्रम संसारभर व्याप्त समस्या भएकाले यसलाई विश्वव्यापी रूपमा सम्बोधन गर्नु आवश्यक आफूले देखेको बताउँछिन् ।

बेलाबेलामा सौन्दर्य प्रतियोगितामाथि महिलालाई नङ्ग्याउने आरोप पनि लाग्दै आएको छ । पहिले के थियो कस्तो थियो आफूलाई थाहा नभएको बताउने उनी अहिलेचाहिँ सौन्दर्य प्रतियोगिता एउटा नेतृत्व हो भन्ने बताउँछिन् ।
‘यो एउटा प्लेटफर्म हो, जहाँ हामीले हाम्रो आवाज उठाउन सक्छौँ,’ उनी थप्छिन्, ‘प्रतियोगिताले हरेक प्रतिस्पर्धीलाई आफ्नो वकालत बोकेर अगाडि बढ्ने अवसर दिन्छ ।’ यसलाई हेर्ने व्यक्तिको दृष्टिकोणमा भर पर्ने बताउने उनी आफूले यसलाई आत्मविश्वास बढाउने र देशका लागि योगदान पुर्याउने माध्यम रहेको स्पष्ट पारिन् ।

अहिलेसम्म प्रेममा नपरेको र तत्काल विवाहको कुनै योजनासमेत नभएको बताउँछिन् । आफ्नो पहिलो प्राथमिकता आफूलाई आत्मनिर्भर बनाउनु र समाजमा स्थापित गर्नु रहेकाले राजनीतिमा पनि रुचि राख्दिनन् । जेनजी आन्दोलनलाई देशको परिवर्तन र विकासका लागि सकारात्मक सुरुवातका रूपमा हेरेकी उनले विशेषगरी भ्रष्टाचार विरुद्धको आन्दोलनलाई राम्रो मानेकी छन् । तर आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधिहरूलाई भने उनले मन पराउँदिनन् ।
अन्तर्राष्ट्रिय व्यवसायमा अध्ययन गरेकी उनी जीवनलाई एक सङ्घर्षपूर्ण यात्राको रूपमा हेर्छिन् । जीवन सहज नरहेको राम्ररी बुझेकी उनी कहिल्यै हार नमान्ने र सधैँ सङ्घर्ष गर्ने, प्रयत्न गर्ने मानिसले सफलता हात पार्ने बताउँछिन् । जीवनमा आइपर्ने सुख, दुःख जीवनको एक हिस्सा हो भन्ने उनको बुझाइ छ ।
प्रतिक्रिया