शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा किन सहभागी भएनन् मिश्र ?

बुधबार, २९ असोज २०८२, १६ : ५४
बुधबार, २९ असोज २०८२

सारांश

  • राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पार्टी कार्यसम्पादन समिति बैठकमा अनुपस्थित रहे।
  • मिश्रले पार्टीको विश्वसनीयतामा ह्रास आएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि जनाए।
  • महामन्त्रीद्वयले विधान विपरीतका निर्णय सच्याउन माग गर्दै बैठक बहिष्कार गरे।

काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र बुधबार बसेको पार्टी कार्यसम्पादन समिति बैठकमा अनुपस्थित भएका छन् । पार्टीभित्र अध्यक्षका कार्यशैलीलाई लिएर विवाद बढिरहेका बेला मिश्र समेत अनुपस्थित भएका हुन् । 

उनी निकट एक नेताले अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मिश्र बैठकमा सहभागी नभएको बताए । ‘पार्टीमा स्पष्ट दुई धार भएपनि अहिलेसम्म उहाँ कतैतिर खुल्नु भएको त छैन । तर, पार्टीलाई विधिसम्मत सञ्चालन गर्नुपर्छ भन्ने उहाँको धारणा छ,’ ती केन्द्रीय सदस्यले भने । 

बैठकमा सहभागी नभएका मिश्रले सामाजिक सञ्जाल एक्समार्फत पार्टीको विश्वसनीयतामा अत्यधिक ह्रास आएको उल्लेख गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘प्रजातन्त्र/लोकतन्त्रमा पार्टी नबनी देश बन्दैन। पार्टी बनिदेओस् भन्ने एकमात्र कामना छ !’

उनले सबै पार्टीले विश्वसनीयता गुमाएको दाबी गर्दै अप्रत्यक्ष ढंगले आफ्नै पार्टीलाई पनि यसमै घान हालेका छन् । उनले भनेका छन्, ‘पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टता गुमाउँदै गएर सबै पार्टीको विश्वसनीयतामा अत्यधिक ह्रास आउनु ठुलो चिन्ताको विषय हो ।’

आजै महामन्त्रीद्वय धवलशमशेर राणा र कुन्ती कुमारी शाहीले समेत कार्यसम्पादन समितिको बैठक बहिस्कार गरेका थिए । 

विधानबमोजिम महाधिवेशनको मिति तोकिनुपर्ने, विधान विपरीत भएका निष्कासन र कारबाहीसम्बन्धी निर्णयहरू फिर्ता गरिनुपर्ने,  निर्वाचन समिति र पर्यवेक्षकको टोलीमा सन्तुलन कायम गर्नुपर्ने, प्रभावकारी पार्टी सञ्चालनका लागि दुई पूर्वअध्यक्षहरुसहितको समाधान समिति गठन गरिनुपर्ने माग गर्दै उनीहरूले बैठक बहिस्कार गरेका हुन् । 

उनीहरूको सहभागिता बिना बसेको बैठकले महाधिवेशनको मिति टुङ्गो लगाउन केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ ।  बैठकले कात्तिक २७ र २८ गते काठमाडौँमा केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप