बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मेची राजमार्गको दु:ख

नेताको कम्पनीले समयमै काम नगर्दा जनताले भोग्दैछन् सास्ती

बुधबार, २९ असोज २०८२, २१ : ००
बुधबार, २९ असोज २०८२

सारांश

  • अविरल वर्षा र पहिरोले मेची राजमार्गको विभिन्न खण्ड बगाउँदा इलाम सडक सञ्जालबाट विच्छेद भएको छ।
  • मेची राजमार्ग अवरुद्ध भएपछि साना गाडीलाई जेनतेन सञ्चालनमा ल्याइएको छ, तर ठुला सवारी साधन र अत्यावश्यक सामग्री बोकेका ट्रकहरू पूर्ण रूपमा ठप्प छन्।
  • सडक डिभिजन कार्यालय इलामका अनुसार बाटो खुलाउने प्रयास जारी छ, तर कहिलेसम्म बाटो खुल्छ भन्ने निश्चित छैन र भौतिक क्षतिको प्रारम्भिक अनुमान ३ अर्ब जति छ।
00:00 / NaN:NaN
Audio By AI
  • कल्पना घिमिरे/अर्जुन आचार्य

विराटनगर । गत असोज १८ र १९ गते आएको अविरल वर्षा र पहिरोले मेची राजमार्गको विभिन्न खण्ड बगाउँदा इलाम सडक सञ्जालबाट लगभग विच्छेद भएको छ । मेची राजमार्गको वैकल्पिक सडक नहुँदा अहिले इलाममात्र नभएर उक्त सडक प्रयोग गर्नुपर्ने पाँचथर र ताप्लेजुङवासीले समेत निकै सास्ती भोग्नुपरेको छ ।

मेची राजमार्ग अवरुद्ध भएपछि अहिले नामसालिङ हुँदै साना गाडीलाई जेनतेन सञ्चालनमा ल्याइएको छ, तर ठुला सवारी साधन र अत्यावश्यक सामग्री बोकेका ट्रकहरू पूर्ण रूपमा ठप्प छन् ।

सडक डिभिजन कार्यालय इलामका सूचना अधिकारी इन्जिनियर अर्जुन घिमिरेका अनुसार बाटो खुलाउने प्रयास अझै जारी छ । ‘काम भइरहेको छ, चार वटा मेसिन लागिरहेका छन्,’ उनले भने, ‘तिहार अगाडि सुचारु गरी घर गएर तिहार मनाउन पाए हुन्थ्यो भन्ने लागेको हो हामीलाई पनि ।’

namasaling to Ilam

तर कहिलेसम्म बाटो खुल्छ भन्ने निश्चित छैन । मेची राजमार्गको राजदुवालीस्थित माइखोलामाथिको उक्त सडकमा अझै माटो झरिरहेको छ ।

वैकल्पिक सडकको रूपमा हेरिएको बेलासे–राकसे सडक आयोजना वर्षौंदेखि अलपत्र छ । यो सडक बेलैमा बनेको हुन्थ्यो भने मेची राजमार्ग पहिरोले अवरुद्ध हुँदा जनताले पनि विकल्प पाउने थिए । सडक डिभिजन इलामका प्रमुख सिनियर डिभिजन इन्जिनियर पवन भट्टराईका अनुसार उक्त सडकको ठेक्काको म्याद दुई पटक थप भइसकेको छ । सो सडक आर्थिक वर्ष २०७७/०७८ मा तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्कामा लागेको थियो ।

करिब २९ करोड लागतमा उक्त सडक निर्माणका लागि खड्का कृष्ण सक्षम जेभीले ठेक्का पाएको थियो । दुई पटक थप गरिएको समयावधि सकिन लाग्दा हालसम्म ४५ प्रतिशतमात्रै प्रगति भएको कार्यालय प्रमुख भट्टराई बताउँछन् ।

निर्माण कम्पनी नेपाली कांग्रेस इलामका सभापति डम्बरबहादुर खड्काको हो । यो सडकलाई मेची करिडोरको फास्ट ट्रयाक सडकको रूपमा लिइएको छ । तर, सडक समयमै सम्पन्न हुन सकेको छैन ।

Rajduwali sadak 1

‘यो सडकको ठेक्का तीन वर्षको थियो । एक वर्ष म्याद थप भएर त्यो पनि सकियो, अनि अहिले ६ महिना म्याद थप भएको छ,’ भट्टराईले भने । यति लामो समय र पटक–पटक म्याद थपिँदा कामको प्रगति भने निराशाजनक रहेको उनले स्वीकार गरे ।

‘अहिले लगभग ४५–४६ प्रतिशतमात्र निर्माण भएको छ,’ भट्टराईले भने, ‘निर्माण कम्पनीले बिचमा चुनाव भएको लगायतका कुरा राखेको छ, तर अलिअलि निर्माण व्यवसायीको ढिलासुस्ती नै हो । पुवा खोलाबाट बाढी आएपछि तीन महिना यातायात विच्छेद हुन्थ्यो । त्यसले पनि काममा अवरोध भयो । यो वर्ष बनाएको बेलिब्रिज पनि बाढीले बगाइहाल्यो ।’

हालैको बाढीपहिरोले इलाममा ठुलो भौतिक क्षति पुर्‍याएको छ । डिभिजन प्रमुख भट्टराईका अनुसार क्षतिको प्रारम्भिक अनुमान निकै ठुलो छ । ‘अन्दाजी ३ अर्ब जति क्षति भएको भन्ने हामीले अनुमान गरेका छौँ । यो टेन्टेटिभ अनुमान हो,’ उनले भने ।

तीन वटा पक्की पुल भत्किएका छन् भने नेपालटार–बिब्ल्याँटे खण्डको १५–१६ किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त भएको छ । सो कार्यालयका सूचना अधिकारी अर्जुन घिमिरेले भने, ‘कल्भर्टहरू सबै थुनिएको छ । छेउपट्टीको वाल अधिकांश ढलेको अवस्था छ ।’

rajduwali sadak 2

अहिलेका लागि साना गाडीहरू नामसालिङको कच्ची बाटो वा जोगमाई खोलामा बनाइँदै गरेको डाइभर्सन प्रयोग गर्न बाध्य छन् । ‘जोगमाई खोलामा डाइभर्सनको काम अन्तिम चरणमा पुगेको छ । त्यो भयो भने सानो गाडीलाई जान सहज हुन्छ, तर यो दीर्घकालीन र सुरक्षित समाधान होइन,’ घिमिरेले भने ।

यस्तै, मेची राजमार्गको माईखोलाबाट करिब तीन किलोमिटर माथि पर्ने जमलखोलारलाखनपुर भन्ने ठाउँबाट तिल्केनी जोड्ने बेलासे पिक मार्ग पनि साना गाडीहरूका लागि वैकल्पिक रूपमा हेरिएको छ । यस मार्गमा पर्ने जोगमाई खोलामा ह्युमपाइप राखेर डाइभर्सन निर्माण गर्ने काम सुरु भएको छ । उक्त कार्य सकिएपछि त्यताबाट सडक खुल्ने इन्जिनियर घिमिरेले बताए । यद्यपि, ठुला गाडीहरूका लागि भने हाल कुनै वैकल्पिक मार्ग नरहेको उनले स्पष्ट पारे ।

सूचना अधिकारी घिमिरेले मेची राजमार्गको अवरुद्ध बाटो खुलाउने प्रयास जारी रहे पनि नयाँ–नयाँ समस्या आइरहेको बताए । ‘काम भइरहेको छ, चार वटा मेसिन लागिरहेका छन् । फेरि अहिले एउटा ढुङ्गाले अवरोध गरेको छ । त्यसलाई फुटाइसकेपछि अब दुई वटा ट्रयाकमध्ये तलको चाहिँ ट्रयाक रेडी हुन्छ,’ उनले भने ।

simal golai 1

घिमिरेले तिहार अगाडि सडक खुल्ने सम्भावना रहे पनि यसै भन्न नसकिने बताए । उनले सडकमा फिलिङ गर्नलाई सफिसियन्ट मेटेरियल पनि नभएको बताए ।

मेची राजमार्र्गको नेपालटार–बिब्ल्याँटे खण्डको १५–१६ किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त भएको छ । जोरकलशमा १ हजार मिटर सडक क्षति पुगेको छ । यस्तै फिक्कल–गोदाकमा ८ सय, गोदाक–माइखोलामा २ हजार मिटर, माइखोला–राजदुवालीमा १ हजार ७ सय मिटर, इलाम–धोवीधारामा १५ मिटर, धोवीधारा–नेपालटार ५ हजार ९ सय  मिटर, नेपालटार–राँकेमा ६ हजार मिटर, राँके–फिदिममा ४ हजार ५ सय मिटर सडकमा क्षति पुगेको विभागले जनाएको छ ।

सरकारले मेची राजमार्गको पुनर्निर्माणका लागि करिब डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ । यस्तै सानाठुला गरी १९ पक्की पुल, दुई बेलीब्रिज, ११ कल्भर्ट र तीन झोलुङ्गे पुलमा क्षति पुगेको छ ।

यसमध्ये माईखोला पुलको फाउन्डेसन बगाउँदा ८ करोड बराबर क्षति भएको अनुमान छ । साथै उक्त स्थानमा सिङ्गल स्पानको ८० मिटर लामो स्थायी पुल निर्माणका लागि पनि ४० करोड आवश्यक पर्ने अनुमान छ । हेवा खोलामा सिङ्गल स्पानको ८० मिटर लामो पक्की पुल निर्माणका लागि ४२ करोड आवश्यक रहेको सडक विभागले जनाएको छ । हेवा खोलामा गत वर्ष क्षति पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप