शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एकैठाउँमा ५० थरिका गोदावरी फूल: पाइन्छन् ५० हजारसम्मका बिरुवा

बिहीबार, ३० असोज २०८२, १५ : ००
बिहीबार, ३० असोज २०८२

सारांश

  • जावलाखेल फुटबल मैदानमा जारी गोदावरी फूल प्रदर्शनीमा ५० प्रकारका फूलहरू प्रदर्शनीमा राखिएका छन्।
  • प्रदर्शनीमा ४ सय ५० वटा फूलका प्रजातिहरू राखिएको छ, जसले तिहार र छठ पर्वलाई लक्षित गरेको छ।
  • प्रदर्शनी असोज २९ गतेदेखि सुरु भई कार्तिक २ गतेसम्म चल्नेछ, जसमा ४० हजारभन्दा बढी मानिसको सहभागिता हुने अनुमान छ।

काठमाडौँ । जावलाखेल फुटबल मैदानमा जारी फ्लोरिकल्चर एसोसिएसन नेपालको गोदावरी फूल प्रदर्शनीमा ५० प्रकारका गोदावरी फूलहरू रहेको व्यवसायीहरूले बताएका छन् ।

१८ औँ संस्करणको उक्त मेलामा गोदावरी र अन्य प्रजातिका गरी ४ सय ५० फूलहरू उपलब्ध रहेको आयोजकले जनाएको हो । गोदावरी फूलको विशेष प्रदर्शनी रहे पनि अन्य प्रजातिका फूलहरू पनि तिहार र छठ विशेषका लागि राखिएको व्यवसायीहरूको भनाइ छ ।

 फूल व्यवसायी कुमार बस्नेतले आफूसँग चालिसदेखि पचास प्रजातिका गोदावरी फूलहरू उपलब्ध रहेको बताए ।  गत वर्ष प्रदर्शनीबाट पाँच लाख भन्दा बढी कारोबार गरेको जानकारी दिए । यस वर्ष पनि कारोबार राम्रो हुनेमा आफू आशावादी रहेको उनको भनाइ छ ।  

उनले भने, ‘अब हामीसँग अहिले यो विशेष त गोदावरी फूलको मेला भएका कारणले अहिले चालिस देखि पचास वटा भेराइटिका गोदावरी उपलब्ध छन् । पोहोर साल अलिकति ढिला थियो र फूलहरू अलि फुलेको थियो । अगभग पाँच, ६ लाखको कारोवार थियो भने यसपालि अलि फूल कम फूलेको छ । अब हेरौँ राम्रो अपेक्षा चाहिँ छ ।’

दुई सयदेखि पन्ध्र हजारसम्मका फूलहरू आफूसँग उपलब्ध रहेको अर्का फूल व्यवसायी ढकबहादुर कार्कीले बताए । चाड पर्वहरुमा आवश्यक पर्ने फूलको माग पूर्ति गर्ने उद्देश्य रहेको बताउँदै व्यवसायी कार्कीले आफ्नो स्टलमा विभिन्न प्रजातिका गोदावरी, सयपत्री लगायतका फूलहरू रहेको जानकारी दिए । 

घर सजाउन प्रयोग गरिनेदेखि विभिन्न प्रजातिका फूलहरू यस मेलामा उपलब्ध रहेको अर्का फूल व्यवसायी कृष्णराम थापाले बताए । यो मेला पुष्पमा रमाउने मानिसहरूले छुटाउन नहुने उनको सुझाव छ । प्रदर्शनीमा बजारको भन्दा सुलभ मूल्यमा फूलहरू पाइने उनको भनाइ छ । 

फूल फुल्ने, फूल नफुल्ने र फलहरु गरी तीन प्रजातिका बिरुवाहरू आफूसँग उपलब्ध रहेको अर्का फूल व्यवसायी सुशील खड्काले बताए ।  उनले भने, ‘हामीसँग स्टलमा फ्लावरिङ्ग, नन—फ्लावरीङ्ग र फ्रुट्सहरु सबै नै हामीले समेटेर राखेका छौ, किनभने यो प्रतिष्पर्धात्मक भन्दा पनि व्यापारिक प्रयोजनका लागि गरिएको मेला भएका कारणले हामीले व्यापारीक प्रयोजनकै लागि भनेर हामीले हामीसँग फलफूलका पच्चिस, तीस भेराइटि भन्दा बढी छन् । फूल फुल्ले बिरुवाहरू जसमा इनडोर, आउटडोर दुईवटा गरेर हामीसँग त्यही अठार बीस थरी ल्याउन सकेका हुनसक्छौँ हामीले यहाँ । हामीसँग भएकामध्ये केही बिरुवाहरू हामीसँग चालिस—पचास हजारसम्मका पनि ल्याएका छौँ यहाँ र सय रुपैयाँ मिनिमममा चाहिँ थेरैमा हामीले सयदेखिको बेच्ने बिरुवाहरू लिएर आएका छौँ ।’

असोज २९ देखि शुरु भएको मेला कार्तिक २ गतेसम्म चल्नेछ । पाँच दिनसम्म सञ्चालन हुने यस गोदावरी फूलको प्रदर्शनीमा चालिस हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने आँकलन आयोजकको छ । साथै एक करोड तीस लाख भन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको अपेक्षा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप