शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
नेकपा एमाले

ओली चेतावनीप्रति बेपर्वाहः  नेतृत्व छाड्न, गल्ती स्विकार्न र विद्याको सदस्यता खुलाउन माग

बिहीबार, ३० असोज २०८२, १९ : २८
बिहीबार, ३० असोज २०८२

सारांश

  • एमाले केन्द्रीय समिति बैठकमा ओलीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै राजीनामाको दबाब बढेको छ।
  • केन्द्रीय सदस्यहरूले जेनजी आन्दोलन र सरकारको कमजोरीबारे प्रश्न उठाएका छन्।
  • पार्टीभित्र बृहत् एकता र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता कायम राख्न जोड दिइएको छ।

काठमाडौँ । पार्टी निर्देशन र अनुशासनविपरीत कसैले बोले या कुनै गतिविधि गरे नेकपा एमालेले कडा कारबाही गर्छ । तर जेनजी आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओलीको बोली पार्टीभित्रै कमजोर सुनिन थालेको छ । कमजोर यसअर्थमा कि, उनको चेतावनी बाबजुद  केन्द्रीय सदस्यहरूले उनैलाई गल्ती स्विकारेर नेतृत्व छाड्न र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता खुलाउन दबाब दिन थालेका छन् । 

जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम समीक्षा गर्न र पार्टीको धारणा बसाल्न राखिएको एमाले केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा कतिपय केन्द्रीय सदस्यहरूले जेनजीका मागमा गम्भीर हुन मात्र भनेनन्, नेतृत्व नै छाड्न भने । 

सचिवालय बैठकमै ओलीमाथि दबाब परेपछि उनले आगामी मंसिर अन्तिम साता महाधिवेशन गर्ने विशेष प्रस्ताव अघि सारे, तर ओलीको त्यो प्रस्ताव लुरुक्क परेर पद नत्याग्ने, फेरि अध्यक्ष बन्ने दाउको थियो ।

कतिपय केन्द्रीय सदस्यहरूले भदौ २३ र २४ को घटनालाई पार्टी नेतृत्व र सरकारको कमजोरी पनि ठानेका छन् । ‘सामाजिक न्याय सम्पादनमा हाम्रो पर्याप्त ध्यान नपुग्दा यो अवस्था सिर्जना भयो र सिंगो समाजले साथ दियो,’ केन्द्रीय सदस्य विद्या भट्टराईले बिहीबारको बैठकमा जेनजी विद्रोहबारे धारणा राखिन्, ‘त्यसबेलाको सरकार र पार्टी नेतृत्व सूचनामा कहाँ चुक्यो ?’

uml-2

केन्द्रीय सदस्य युवराज बास्कोटाले पार्टीमा पटक–पटक अवसर लिने नेताबाटै समस्या सिर्जना भएको बताए । कुनै राजनीतिक दल र संगठित संघसंस्था नभए पनि जेनजी पुस्तालाई गाली होइन, उनका मुद्दालाई सम्बोधन गर्न उनले नेतृत्वको ध्यानाकर्षण गराए ।

‘यसलाई भड्काउनु हुँदैन र भड्किन दिनु पनि हुँदैन, यो हाम्रो निर्णायक भोट बैंक पनि हो,’ बास्कोटाको भनाइ थियो ।

उनले सुशासन प्रत्याभूतिको अभाव, नियमनमा कमजोरी, नियन्त्रणबाहिर देखिएको भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रताको विषय एमाले नेतृत्वको सरकारकै पालामा किन उठ्यो भन्ने प्रश्न गरे । यसको राजनीतिक उपचार गर्नुपर्ने र साझा संकल्प अघि सार्नुपर्नेमा पनि जोड दिए ।

पार्टीमा बृहत् एकताको खाँचो औंल्याउँदै उनले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम राख्न र सम्मानजनक ढंगले पार्टी काममा फर्काउन ढिला गर्न नहुने बताए । 

केन्द्रीय सदस्य पेम्बा लामाले अन्तरपार्टी लोकतन्त्र र लोकतान्त्रिक अभ्यास कमजोर हुँदा पार्टी सम्बद्ध जनसंगठनको भूमिका कमजोर हुँदै गएको र समस्यामाथि थप समस्या सिर्जना हुन थालेकोमा चिन्ता प्रकट गरे ।उनले नेतृत्वविरुद्ध प्रहार गर्ने सचिवालय सदस्यहरूलाई कारबाही हुनुपर्ने धारणा समेत राखे ।

एमाले सचिवालय बैठकमा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्टले ओलीले राजीनामा गर्नुपर्ने धारणा राखेका थिए । 

संगठन विभागका सचिव समेत रहेका केन्द्रीय सदस्य माधव ढुंगेलले पार्टीलाई फराकिलो बनाउन नेतृत्वले पनि फराकिलो चित्त बनाउनुपर्ने भन्दै नेतृत्व विकासको नयाँ अवधारणा दिन सक्नुपर्ने धारणा राखे । ‘त्यसका लागि अब बन्ने कमिटीहरूमा बहालवाला केन्द्रीय नेतृत्वबाट ६० र नयाँ तथा युवा पुस्ताबाट ४० प्रतिशतको अवधारणा सार्वजनिक गर्नुपर्छ, यो केन्द्रदेखि वडासम्म लागु हुनुपर्छ,’ ढुंगेलको भनाइ छ ।

केन्द्रीय सदस्य रामलाल साहले मंसिर अन्तिम साता प्रस्तावित पार्टीको ११औँ महाधिवेशनलाई अलिक पर सार्नुपर्ने धारणा राख्दै अध्यक्ष ओली अब अभिभावक बनेर बस्नुपर्ने सुझाव दिए । ‘नेतृत्वको कौशलता भनेको उत्तराधिकारी निर्माण गर्नु पनि हो, महाधिवेशनको मञ्चमा पुग्दा स्वीकार्य नेतृत्वलाई अघि सारेर अध्यक्ष अब अभिभावक भएर बस्नु वाञ्छनीय हुन्छ,’ साहको भनाइ छ । ‘नेतृत्वले निश्चित घेराबन्दी तोड्नुपर्छ, गल्ती हुन्छ । काम गर्नेबाट नै गल्ती हुने हो’, उनले भने, ‘गल्ती औंल्याएपछि पनि आफ्नो गल्ती महसुस गर्न नसक्नेले नेतृत्व गर्न सक्दैनन् । अघिल्लो दिनको घटना घट्नुमा नेतृत्व चुकेको छ, हामी चुकेका छौँ, प्रस्तावमार्फत सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्छ ।’

केन्द्रीय सदस्य रचना खड्काले अहिले मुलुकमा जे भइरहेको छ र जो विकल्प हुँ भन्दै आएका छन् ती कुनै विकल्प नभएको बताइन् । ‘उनीहरू षड्यन्त्रका पात्रमात्र हुन्,’ उनले अध्यक्ष ओली अब पार्टीको अभिभावक बनेर बस्नु नै उपयुक्त हुने धारणा राखिन् । ‘यसो गर्दा अध्यक्षले पार्टी र देश निर्माणमा गर्नुभएको योगदानलाई जीवित राख्न र पार्टीलाई पुनर्जीवन दिन महत्त्वपूर्ण अर्थ राख्नेछ,’ खड्काको भनाइ छ । 

केन्द्रीय सदस्य परशुराम अधिकारीले गत २४ भदौमा भएको जेनजी आन्दोलनमा पार्टी कार्यकर्ताकै संलग्नता भएको विषयमा अनुसन्धान गर्न नेतृत्वसँग माग गरे । ‘भदौ २४ गतेको आगजनी, तोडफोड लगायतका घटनामा हाम्रो कार्यकर्ता पनि नगण्य रूपमा उपस्थिति देखिन्छ,’ अधिकारीले बैठकमा भने, ‘यसमा सूक्ष्म अनुसन्धान हुनुपर्छ ।’ 

उनले पार्टीमा निषेधको भावना नभई उपयुक्त जिम्मेवारी दिँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गरेर उपयुक्त जिम्मेवारी दिनुपर्ने धारणा राखे । अर्का केन्द्रीय सदस्य रमेश बडालले संसद् पुनर्स्थापना हुने विश्वास व्यक्त गरे ।

uml

पूर्वमहान्यायाधिवक्ता समेत रहेका बडालले यसअघिको नजिरका आधारमा पनि प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने दलिल पेस गरे । ‘यसअघिका नजिरहरूको आधारमा प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ,’ उनले बैठकमा भने, ‘पछिल्लो विघटन र त्यसमा भएका नजिरको आधारमा पुनर्स्थापना हुन्छ ।’ 

केन्द्रीय सदस्य सूर्य ढकालले विषम परिस्थितिमा मूल नेतृत्वलाई कमजोर बनाउनेगरी मूल नेतृत्वको टीका टिप्पणी गर्न नहुने भन्दै अध्यक्ष ओलीको बचाउ गरे । 

‘अहिले राष्ट्रवादी शक्तिहरू एक हुनुपर्छ । राष्ट्रवादी शक्तिहरूको नेतृत्व केपी ओलीले गर्नुपर्छ । त्यो गर्नका लागि नेकपा एमालेलाई एकताबद्ध गरेर जानु पर्छ,’ ढकालले बैठकमा आफ्नो भनाइ राख्दै भने, ‘यदि केपी ओलीले गल्ती हो भने सिंगो यो कमिटीले लिनुपर्छ ।’ 

‘कुनै पनि गल्ती केपी ओलीले मात्रै लिनु पर्ने भन्ने कुरा म मान्न सक्दिनँ । यसमा एउटा निष्कर्ष निकालेर जानुपर्छ,’ ढकालको भनाइ छ । 

केन्द्रीय सदस्य हरदेव जोशीले अध्यक्ष ओलीको विशेष प्रस्तावको समर्थन गर्दै राष्ट्रहितका पक्षमा, स्वाभिमानको पक्षमा दृढ अडान लिएबापत एमाले र मूल नेतृत्वमाथि देशीविदेशी प्रतिक्रियावादीहरूको आक्रमण भएको बताए । 

‘प्रधानमन्त्री पद उहाँका लागि केही पनि होइन, मृत्युसँग लडेर भारतले मिचेको भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा चुच्चे नक्सा सार्वभौम संसद्बाट पास गरेपछि एमाले र मूल नेतृत्वमाथि प्रहार भएको छ,’ उनले बैठकमा भने, ‘यस्ता षड्यन्त्रविरुद्ध अहिलेको संकटपूर्ण घडीमा एकताबद्ध भएर भण्डाफोर गर्नु हामी सबैको दायित्व हो ।’ 

केन्द्रीय सदस्य गोविन्द थापाले एमालेभित्रकै मानिसहरूलाई म्याग्नेसियम र सोडियमका रूपमा प्रयोग गरिएको छ कि ? भन्दै प्रश्न गरे । उनले भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत, संसद्सहित ठुला भवनहरू जलाउन संगठित गिरोहले महिनौँको तयारीपछि म्याग्नेसियम र सोडियम जस्ता घातक रासायनिक पदार्थ प्रयोग गरेको न्यूयोर्क टाइम्सले खुलासा गरेको भन्दै एमालेलाई जलाउन पनि म्याग्नेसियम र सोडियम प्रयोग गरिने खतरा रहेको औंल्याए । 

‘षडयन्त्रकारीहरूले जेनजीलाई अगाडि सारेर म्याग्नेसियम र सोडियम प्रयोग गरेर देश जलाए, उनीहरू नेकपा एमालेलाई पनि जलाउन चाहन्छन् भन्ने हामीले बुझेका छौँ कि छैनौँ ?,’ थापाले प्रश्न गर्दै भने, ‘एमाले र ओलीलाई म्याग्नेसियम र सोडियमले सिध्याउन सकिँदैन, त्यसका लागि एमालेभित्रकै व्यक्तिहरूलाई म्याग्नेसियम र सोडियमका रूपमा प्रयोग गर्नुपर्ने हुन्छ ।’ 

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पहिलो दिन बुधबार ५० जना र दोस्रो दिनको बैठकको पाँच बजेसम्म १३४ जनाले अध्यक्ष ओलीको विशेष प्रस्तावमाथि राय राखेको बताए । उनीहरूले संविधान र जनअधिकारको रक्षाका निम्ति प्रतिनिधि सभाको पुनर्स्थापना गर्नुपर्ने र त्यसका लागि लोकतान्त्रिक शक्तिको समेत सहभागितामा निर्णायक तहमा पुर्‍याउनुपर्ने धारणा राखेको बताए । 

‘एकमात्र बाटो संसद् पुनर्स्थापना हो भन्ने निष्कर्षतिर केन्द्रीय समिति बैठक गएको छ,’ गौतमले भने, ‘सरकारलाई निर्वाचनमा भाग नै नलिने नै भनेका होइन, सरकारलाई अविलम्ब निर्वाचनको वातावरण बनाउनुस् भनेको हो ।’
सरकारले निर्वाचनको वातावरण बनाएपछि एमालेको धारणा के हुन्छ भन्ने निक्र्योल हुने, पूर्वराष्ट्रपतिको सदस्यताबारे छिटपुट धारणा आएको तथा जेनजी आन्दोलनका क्रममा भएको घटनाको वस्तुनिष्ठ छानबिन हुनुपर्ने धारणामा एमालेको अडान कायमै रहेको बताए । 

उनले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले काम गर्न नसक्ने भएकाले नयाँ आयोग गठनको माग उठेको समेत बताए । गौतमले एमालेको नेतृत्वबारे महाधिवेशनले नै फैसला गर्ने भएकाले त्यसबारे अहिले चर्चा गर्नुको अर्थ नरहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप