सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जेनजी पुस्ताको आन्दोलनबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो : प्रहरी महानिरीक्षक खापुङ

शुक्रबार, ३१ असोज २०८२, ११ : १७
शुक्रबार, ३१ असोज २०८२

सारांश

  • प्रहरी महानिरीक्षक खापुङले भदौ २३ र २४ गतेको प्रदर्शनबाट देशलाई ठूलो क्षति पुगेको बताए।
  • प्रहरी दिवसमा बोल्दै खापुङले प्रहरी नागरिकको भरोसाको केन्द्र रहेको र व्यावसायिक रूपमा सक्षम रहेको बताए।
  • उनले प्रहरीको व्यवहार सुधार गर्नुपर्ने र थप जनशक्ति तथा प्रहरी इकाईको आवश्यकता रहेको कुरामा जोड दिए।

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको प्रदर्शन र त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको बताएका छन् ।

शुक्रबार ७० औँ प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले  राज्यको सबैभन्दा अग्रपङ्क्तिमा सेवारत विशाल संयन्त्रयुक्त सङ्गठनको रूपमा विकसित भएको नेपाल प्रहरी आजका दिनसम्म नागरिकको स्नेह, आक्रोश समानान्तर रूपमा प्राप्त र सामना गर्ने राज्यको सशक्त प्रतिनिधिको रूपमा स्थापित हुन सफल भएको बताए । 

उनले राजनीतिक परिवर्तनको हालको परिस्थितिमा र आगामी दिनहरूमा समेत उत्पन्न हुनसक्ने सुरक्षा चुनौती र असहज परिस्थितिको सामना गर्दै आम नागरिकलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभूति दिलाइ नागरिक भरोसाको केन्द्रको रूपमा रहेको नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिबद्ध रहेको बताए । 

उनले नेपाल प्रहरी बिनाको समाज परिकल्पना गर्न नसकिने समेत स्पष्ट पारे । विभिन्न ९ सय ३९ स्थानमा नयाँ प्रहरी इकाइको माग र चार सयभन्दा बढी इकाइमा प्रहरी कार्यालयको स्तरोन्नतिको माग रहेको बताए । यसको पूर्तिका लागि २५ हजार भन्दा बढी प्रहरी जनशक्ति आवश्यक रहेको बताए ।

उनले भने-  ‘राज्यको सबैभन्दा अग्र पङ्क्तिमा सेवारत विशाल संयन्त्रयुक्त सङ्गठनको रूपमा विकसित भएको नेपाल प्रहरी आजका दिनसम्म नागरिकको स्नेह, आक्रोश समानान्तर रूपमा प्राप्त र सामना गर्ने राज्यको सशक्त प्रतिनिधिको रूपमा स्थापित हुन सफल भएको छ । राजनीतिक परिवर्तनको हालको परिस्थितिमा र आगामी दिनहरूमा समेत उत्पन्न हुनसक्ने सुरक्षा चुनौती र असहज परिस्थितिको सामना गर्दै आम नागरिकलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभूति दिलाइ नागरिक भरोसाको केन्द्रको रूपमा रहेको नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिबद्ध रहेको छ ।’  

महानिरीक्षक खापुङले थप भने- ‘गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको युवा तथा विद्यार्थीको प्रदर्शन त्यसपश्चातका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको छ । उक्त प्रदर्शनको क्रममा नेपाल प्रहरीका सदस्य र ज्यान गुमाउनुभएका अन्य दिवङ्गत आत्माहरूको चीर शान्तिको कामना गर्दछु ।’

उनले प्रहरीको बोली, वचन र व्यवहार सुधार गर्न पनि जरुरी रहेको बताए । प्रहरीभित्र पनि शुद्धीकरण र सुधारका प्रशस्त आवश्यकताहरू रहेको बताए । नागरिकले तिरेको  करबाट खरिद गरिएको पोसाक लगाएर नागरिकमाथि हुने अपशब्द र रवाफ कहिल्यै स्वीकार्य नहुने बताए । -न्युज एजेन्सी नेपाल 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप