बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
गोलार्द्ध

‘स्मार्टफोन’ को उदय र पश्चिमा लोकतन्त्रको पतन

प्रविधि क्षेत्रमा भएका नवीन आविष्कार र नवप्रवर्तनका नकारात्मक प्रभावबारेको बहस राजनीतिमा मात्रै सीमित छैन
आइतबार, ०२ कात्तिक २०८२, ११ : ००
आइतबार, ०२ कात्तिक २०८२

सारांश

  • उत्तरी आयरल्याण्डको शान्ति प्रक्रियाकी एक प्रभावशाली व्यक्तिले सामाजिक सञ्जालको प्रभावबारे चिन्ता व्यक्त गरिन्।
  • सामाजिक सञ्जाल र एआईको बढ्दो प्रयोगले राजनीतिक, सांस्कृतिक र शैक्षिक समस्याहरू निम्त्याइरहेको छ।
  • लेखमा प्रविधिको नकारात्मक प्रभाव र लोकतन्त्रमा यसको असरबारे विभिन्न विद्वानहरूको विचार प्रस्तुत गरिएको छ।

केही समय अघि स्पेनको एउटा सम्मेलनमा उत्तरी आयरल्याण्डको शान्ति प्रक्रियाकी एक जना प्रभावशाली व्यक्ति अभिला किलमुर्रे बोल्दै थिइन । उपस्थित सहभागीलाई उनले सन् १९९८मा भएको ‘गुड फ्राइडे अग्रिमेन्ट’ सम्झाइन, जसमा ७१ प्रतिशत मानिसहरूले समर्थन गरेका थिए । 

तर उनी भन्छिन्, ‘यदि त्यस्तो मतदान आजको जस्तो सामाजिक सञ्जालको उपस्थिति भएको दिनमा हुने हो भने सामान्य बहुमतले स्वीकृत हुन पनि गाह्रो छ ।’

किलमुर्रेको टिप्पणी झट्ट सुन्दा सामान्य जस्तो लागे पनि यसले आजको समाजको थिति बोलेको थियो । सामाजिक सञ्जाल मात्रै नभएर कृत्रिम बौद्धिकताजस्ता आजका नयाँ प्रविधिहरूको हालीमुहाली चल्दै गरेको समयमा देखिन थालेका राजनीतिक, सांस्कृतिक तथा शैक्षिक समस्याहरू बारे चर्चा गर्न खोजेको छ यो प्रसङ्गले ।

के सामाजिक सञ्जालका फाइदा र बेफाइदा आपसमा प्रस्टसँग तुलना गर्न सम्भव छ ?

सन् २०१६ र २०२४ मा डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित हुनु सामाजिक सञ्जालकै करामत थियो ? एकपछि अर्को गर्दै अमेरिका र युरोपमा देखिएको दक्षिणपन्थी लोकरिझ्याइँमा पनि सामाजिक सञ्जालकै दोष छ ? त्यसैगरी अर्को महत्त्वपूर्ण क्षेत्रका रूपमा रहेका युवाहरूमा अझ खासगरी उदार युवतीहरूमा बढ्दो अवसाद र मानसिक चिन्ताको कारक सामाजिक सञ्जाल नै हो ?

विद्यार्थीहरूमा गहन र विस्तृत चिन्तन गर्ने तथा तर्क गर्ने क्षमतामा देखिएको ह्रासमा कृत्रिम बौद्धिकताको भूमिका छ वा छैन ? अध्ययनमा देखिएको न्यूनीकरणमा यसैले कारकको भूमिका खेलेको हो ?

पहिलो प्रश्न अर्थात् सामाजिक सञ्जालको लागत र नाफाको हिसाब गर्न सम्भव छैन । र, एआई, टिकटक, फेसबुक, इन्स्टाग्राम, स्मार्टफोन तथा इन्टरनेट लगायत नवीन प्रविधिबाट पछाडि फर्कन नसकिने अहिलेको समयमा त्यस्तो लागत–नाफाको हिसाब किताबको कुनै सान्दर्भिकता नै बाँकी रहँदैन ।

‘हामी सामाजिक सञ्जालको प्रयोगबाट पछाडि फर्कन वा विद्यालयहरूमा स्मार्टफोन प्रतिबन्ध लगाउन बाहेक अन्य कुरालाई निषेध पनि गर्न सक्दैनौँ । त्यो सम्भव नै छैन ।’, स्टान्फोर्ड विश्वविद्यालयका राजनीतिशास्त्री फ्रान्सिस फुकुयाले इमेल कुराकानीमा भनेका छन् । 

उनी थप्छन्, ‘एआईलाई त्यस्ता सञ्जालीय प्लेटफर्महरूमा मिसाएर बनाइने नयाँ प्रयोगले संसारलाई नाटकीय रूपमा परिवर्तन गराइरहेको छ । मानिसको अन्तरक्रियाको स्वरूप नै फेरिँदै छ ।’  

पछिल्लो समय लोकरिझ्याइँको उदयका पछाडि आम रूपमा प्रविधि तथा विशेष रूपमा इन्टरनेटले महत्त्वपूर्ण भूमिका खेलेको छ । आजको लोकप्रियतावाद यस्तो बन्नुमा प्रविधि र इन्टरनेटकै महत्त्वपूर्ण भूमिका छ ।

यस्तो अवस्थामा हामी के गर्न सक्छौँ ? पक्कै पनि क्षतिको न्यूनीकरणका लागि लागतको लेखाजोखा गर्ने प्रयास गर्न सकिएला । यस्तै प्रश्नहरूबारे अध्ययन गरेका, न्युयोर्क विश्वविद्यालयका प्राध्यापक रिचर्ड पिल्डेसले इमेल कुराकानीमा भनेका छन्– 

‘प्राविधिक क्रान्तिले समग्रमा के–कस्तो क्षति पुर्‍यायो भनेर हेर्ने हो भने यसलाई हामीले धेरै अघिदेखि हेर्न सक्छौँ । छापाखानाले १६औँ शताब्दीमा धार्मिक युद्धहरू बल्झाउन मद्दत गर्‍यो । मार्टिन लुथरले तयार गरेको ‘९५ शोधपत्र’का प्रति केवल चर्चको ढोकामा मात्र टाँसिएका थिएनन् । भर्खरै आविष्कार भएको छापाखानाको सहायताले त्यसलाई पर्चा बनाएर जर्मनी तथा सिङ्गो युरोपभर तीव्र गतिमा व्यापक बनाइएको थियो । जोसेफ गोबेल्सले त रेडियोलाई ‘आठौँ महाशक्ति’ नै भनेका थिए । उनले रेडियो र हवाईजहाज बिना नाजीहरूले सफलता हासिल गर्नै नसक्ने भनेका थिए । हामी आज स्वतन्त्र प्रेस, रेडियो वा हवाईजहाज बिना रहनै तयार छैनौँ ।’

14edsall1-phwm-superJumbo

आफ्ना चेतावनीका बाबजुद पिल्डेस भन्छन्, ‘पश्चिमा लोकतन्त्रमा राजनीतिक कित्ताकाट गराउनमा नयाँ प्रविधिले भूमिका खेलेकोमा कुनै शङ्का छैन । यी प्रविधिले व्यापक राजनीतिक सहाभागिता पनि गराएका छन् । साथै सरकारी गतिविधि विरुद्ध जनपरिचालनलाई पनि असाध्यै सजिलो बनाइदिएका छन् । 

प्रविधिमा आएको क्रान्तिका कारण सरकारले प्रभावकारी सेवा प्रदान गर्न विभिन्न ढङ्गले असहज बन्दै गएको छ । सरकारहरू त्यसरी असमर्थ हुँदै जाने हो भने निराशा, क्रोध र अविश्वास अझ बढ्दै जानेछ । 

अन्य विद्वानहरू प्रविधिलाई झन् एक पाइला अघि बढेरै दोष लगाउँदैछन् ।

गत अक्टोबर २ मा ‘पर्सुएसन’ नामको अनलाइनमा फुकुयामाले एउटा निबन्ध प्रकाशित गरे । ‘इट्स द इन्टरनेट स्टुपेडः ह्वाट कज्ड द ग्लोबल पपुलिस्ट वेब ? ब्लेम द स्क्रिन’ शीर्षकको निबन्धमा उनले करिब एक दशकदेखि वैश्विक रूपमा बढिरहेको लोकरिझ्याइँबारे लेखेका छन्– 

‘म के निष्कर्षमा पुगेको छु भने पछिल्लो समय लोकरिझ्याइँको उदयका पछाडि आम रूपमा प्रविधि तथा विशेष रूपमा इन्टरनेटले महत्त्वपूर्ण भूमिका खेलेको छ । आजको लोकप्रियतावाद यस्तो बन्नुका पछाडि पनि प्रविधि र इन्टरनेटकै महत्त्वपूर्ण भूमिका छ ।’

उनी थप्छन्, ‘इन्टरनेटको उदयले लोकप्रियतावाद तथा यसको षड्यन्त्रमूलक चरित्रको कथा भन्छ । आजको अमेरिकामा डेमोक्र्याट र रिपब्लिकन दुवै पक्ष आफ्नो मान्यता र नीतिमा लडिरहेका छैनन् । बरु सानातिना तथ्यमूलक सन्दर्भमा लड्दैछन् । उनीहरूको झगडा सन् २०२०को चुनाव कसले जित्यो वा भ्याक्सिन लगाउनु सुरक्षित छ वा छैन भन्ने जस्ता विषयमा हुने गरेको छ ।’

दुइटै पक्ष पूर्ण रूपमा फरक सूचना जगतमा बस्छन् । दुवैले आफूहरू अमेरिकी लोकतन्त्रका लागि अस्तित्वकै लडाई लडिरहेको ठान्छन् । व्यवस्था माथिका खतराहरूको स्वरूप बारे उनीहरू फरक तथ्यको जगमा उभिएका छन् । 

जब विद्यार्थीहरू कम पढ्न थाल्छन्, पुस्तकका पानाहरू कम पल्टाउन थाल्छन्, लेख्नका लागि च्याटजीपीटीको सहायता लिन्छन् भने हामीले धेरै कुरा गुमाइरहेका हुन्छौँ ।

फुकुयामा थप्छन्, ‘इन्टरनेट नहुँदो हो त सन् २०२० को चुनावका बारेमा ट्रम्पले भन्ने गरेका सबै कथाको कुनै आकर्षण नै हुने थिएन ।’

कोर्नेल विश्वविद्यालयका प्राध्यापक तथा प्रकाशोन्मुख पुस्तक ‘द डुम लुपः ह्वाई द वर्ल्ड इकोनोमिक अर्डर इज स्पाइरलिङ इनटु डिसअर्डर’ का लेखक एश्वर एस. प्रसाद पनि त्यस्तै धारणा राख्छन् । उनका अनुसार प्रविधिले सत्य तथ्य सामूहिक रूपमा बाहिर ल्याउँछ भन्ने कुरा गलत साबित हुँदै गएको छ । 

‘सिद्धान्ततः भरपर्दो र उच्च गुणस्तरको सूचनाको प्रवाह हुँदा गलत र जानाजान फैलाइएका मिथ्या सूचना खारेज हुनुपर्ने हो । तर व्यवहारमा त्यस्तो देखिन्न । सूचना प्रवाहका माध्यमको संरचना तथा सूचनाका प्लेटफर्महरूको स्वरूपका कारण विपरीत नतिजा देखिएको छ । ठुला प्लेटफर्महरूमा खराब सूचना हटाउनका लागि प्रोत्साहन न्यून छ । उनीहरू सामग्रीको गुणस्तर मापनका लागि राखिने ‘फिल्टर’को दायरा घटाएर व्यापक रूपमा विविध प्रकारका प्रयोगकर्तालाई आकर्षित गर्छन् । साथै ‘अल्गोरिदम’मार्फत आफ्नो प्लेटफर्मप्रतिको वफादारिता थप सुदृढ पार्छन ।’ 

उनी थप्छन्, ‘यसले गर्दा प्रयोगकर्तालाई उनीहरूका आफ्ना आधारहीन, काल्पनिक र भद्रगोल मान्यतासँग मेल खाने र त्यस्तै मान्यतालाई थप सशक्तीकरण गर्ने जानकारी छानेर उपलब्ध गराउँछन् । यसरी प्रविधिले थोरै सङ्ख्यामा रहेका ठुला प्लेटफर्मको हातमा शक्ति केन्द्रीकृत गरेको छ । सूचनाको स्रोतलाई खण्डीकृत गर्दै प्लेटफर्ममा उपलब्ध हुने सामाग्रीको गुणस्तर पनि घटाएको छ ।’

यसबारे जानकार केही विज्ञहरू भने लोकतन्त्र र राजनीतिमा प्रविधिको प्रभावलाई लिएर नरम देखिन्छन् । साथै बढी द्विविधामा देखिन्छन् ।

अमेरिका र बेलायतको निर्वाचनमा चीन र रुसले फैलाउन सक्ने मिथ्या सूचनाबारे अनुसन्धानरत बेलायतको न्यू–क्यासल विश्वविद्यालयकी मारिया पापाजर्जियुले यसै सन्दर्भमा मैले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रविधि र ठुला प्लेटफर्मका फाइदा र बेफाइदा दुवै हुने बताइन् ।

‘कम्प्युटर तथा इन्टरनेटलगायत अन्य आमूल परिवर्तनकारी प्रविधिहरू जस्तै सामाजिक सञ्जालका पनि फाइदा र बेफाइदा छन् । यस्ता सञ्जालले सञ्चार, मनोरञ्जन तथा राजनीतिक बहसमा पार्ने व्यापक प्रभावलाई बेलैमा चिन्न नसक्नु चाहिँ मुख्य समस्या हो । त्यसैको परिणाम समयमै आवश्यक सावधानीका औजार तथा नकारात्मक प्रभावबाट जोगिने शिक्षा प्रणालीको विकास गर्न सकिएन ।’

उनले सन् २०१६ मा लेखेकी थिइन्, ‘बितेका केही निर्वाचनहरूमा सामाजिक सञ्जालले ठुलो भूमिका खेलेकै थिए । यस्तो अवस्थामा ट्रम्पले आफ्नो खास शैलीमा ट्विटरको प्रयोग राजनीतिक संवादका लागि गरे । यो विल्कुल नयाँ थियो । केही फिल्टर नगरी सोझै उत्तेजक शैलीमा सन्देश प्रवाह गर्ने उनको शैलीले राजनीतिक बहसमा नयाँ स्वरूप ल्यायो, जुन परम्परागत सञ्चार माध्यम भन्दा पृथक् थियो । साथै वैदेशिक नीति संवादमा पनि यसले प्रभाव पार्‍यो ।’

भिडियो मनोरञ्जनले पढाइलाई विस्थापित गर्दैछ । लेखाइलाई च्याजीपीटीले विस्थापित गर्दैछ । जताततै सहजै एआई उपलब्ध हुन थालेपछि गहन मानव चिन्तन नै दुर्लभ हुँदै जाने टड्कारो खतरा देखिएको छ ।

राजनीतिमा प्रविधिको प्रयोगबारे पापाजर्जियुको समग्र बुझाइसँग फुकुयामाको बुझाई फरक देखियो । फुकुयामा भन्छन्, ‘सामाजिक सञ्जालले महत्त्वपूर्ण मुद्दाहरू जोड दिएको मात्रै छैन, जनसंख्याको ठुलो हिस्साले बेवास्ता गरेका सरोकारका विषयहरू उठाउनका लागि मानिसलाई मञ्चसमेत प्रदान गरेको छ । जसले गर्दा जनतालाई सरकारी नीतिबारे सोझै प्रतिक्रिया जनाउन, आलोचना गर्न तथा विरोध गर्न पनि बाटो खोलिदिएको छ । सामाजिक सञ्जालले राजनीतिक आवाजका स्वरूपमा पनि उल्लेखनीय रूपमा परिवर्तन गरेको छ । बढ्ता औपचारिक एवम् कूटनीतिक शैलीबाट आम जनतासामु प्रस्तुत हुन छोडेर अब प्रत्यक्ष र भावनात्मक रूपमा आफ्ना विषय राख्ने शैली देखिएको छ ।’

नयाँ प्रविधिबारे मूल्याङ्कन गर्दा सकारात्मक दृष्टि राख्ने पापाजर्जियु पनि सन् २०१६ र २०२४का दुवै निर्वाचनमा ट्रम्पले त्यही प्रविधिको प्रयोगमा अन्य प्रतिस्पर्धीलाई धेरै पछि पारेको भने स्विकार्छिन् ।

‘सोसियल मिडिया, डिसन्फर्मेसन एन्ड एआई: ट्रान्स्फर्मिङ द ल्याण्डस्केप अफ द ट्वेन्टी ट्वेन्टी फोर यु.एस. प्रेर्सिडेन्सियल पोलिटिकल क्याम्पेन’ शीर्षकमा गत जनवरीमा प्रकाशित आफ्नो अनुसन्धान प्रतिवेदनमा पापाजर्जियु लेख्छिन्–

 ‘सन् २०२४को निर्वाचनमा सामाजिक सञ्जालहरूले आम मानिसका भावनाको निगरानी गर्न तथा ‘लाइक’, ‘रिपोस्ट’ र ‘फलोअर’को तथ्याङ्कका आधारमा संलग्नताबारे विस्तृतमा बुझ्न सजिलो बनाइदिए । उम्मेदवारका फलोअरका सङ्ख्या धेरै महत्त्वपूर्ण थियो । एक्समा ट्रम्पका फलोअर ९ करोड ५० लाख थिए । उनका उपराष्ट्रपति उम्मेदवार जेडी भान्सका फलोअर २८ लाख थिए । उता अर्की उम्मेदवार कमला ह्यारिसका फलोअर २ करोड १० लाख तथा उनका उपराष्ट्रपति टिम वाल्जका भने केवल १२ लाख थिए । ट्रम्पको निर्वाचन अभियानमा भएको प्रचारको दायर धेरै ठुलो थियो । जो रोगनसँगको उनको पोडकास्टले युट्युब र एक्समा दर्शकको कीर्तिमान नै कायम गरेको थियो ।’

मैले कुराकानी गरेका अन्य विज्ञको तुलनामा पेन्सिल्भानिया विश्वविद्यालयमा कम्प्युटर तथा सूचना विज्ञान विभागका प्राध्यापक रहेका डंकन वाट्स फरक धारणा राख्छन् । प्रविधिबारे भविष्यवाणी गर्नेहरूका अनुमानमा उनको ठुलो शङ्का छ । 

उनी भन्छन्–

‘अहिले स्मार्टफोन तथा सामाजिक सञ्जाल जस्ता बृहत् प्रविधिको उदयसँगै वैश्विक लोकप्रियतावाद, किशोरवयमै देखिन थालेका मानसिक समस्या वा विद्यार्थीका सिकाइको ढाँचामा देखिएको बदलावका बिचमा कार्यकारण सम्बन्ध देखाउन खोजिएको छ । तर वैज्ञानिक रूपमा हेर्दा मलाई त्यस्तो प्रयत्न निरर्थक लाग्छ । सार्वजनिक बौद्धिक रूपमा आफ्नो छवि बनाउन त सघाउला तर त्यस्तो विश्लेषणले सत्य–तथ्य भने दिँदैन ।’ 

उनी थप्छन्, ‘अहिले मानिसमा, जसरी सामाजिक सञ्जालको नकारात्मक पक्षमा केन्द्रित हुने लहर चलेको छ, हामीले बिर्सनै नहुने कुरा के छ भने यसका सकारात्मक प्रभाव पनि उत्तिकै छन् । जुन सञ्जालको प्रयोग गरेर षडयन्त्रको सिद्धान्तका व्याख्याताहरू खोपको प्रभावकारिताबारे प्रश्न उठाउँदैछन् । त्यही सञ्जालले अति उच्च गुणस्तरको विज्ञान तथा शैक्षिक गतिविधिलाई पनि फैलन सघाएको कुरा नजरअन्दाज गर्न मिल्दैन ।’

उनी आफ्नो कुरालाई अझै विस्तारमा राख्दै भन्छन्, ‘उग्रवादीहरुका साना झुण्डलाई सञ्चार तथा समन्वय गर्न सजिलो बनाएका सञ्जालले त्यति मात्रै गरेका छैनन् । क्यान्सरलगायत दुःसाध्य रोग लागेका र निको भएकाहरू समेत जोडिएर सामाजिक बहिष्करणको समस्या समाधान गर्दै आफ्नो जीवनमा सुधार ल्याउने काम पनि त्यही सामाजिक सञ्जालमा गर्दैछन् । त्यही प्रविधि, जसले केही मानिसलाई अर्थपूर्ण सामाजिक सम्बन्धबाट टाढा पुर्‍याएको छ, त्यसैले अरूलाई भने अर्थपूर्ण सामाजिक सम्बन्ध बनाउन सजिलो पनि बनाएको छ । मानिस आफ्ना सम्भावित रोमाञ्चक जोडी वा साझेदारसँग वा छिमेकीहरूसँग वा भनौँ पुराना साथीहरूसँग जोडिन पाएका छन् । यस्तो प्रविधि नहुँदो हो त उनीहरू त्यसरी जोडिन सम्भव नै हुने थिएन ।’

यसै सन्दर्भमा केही विश्लेषकहरू राजनीतिमा प्रविधि नकारात्मक शक्ति नभएको भन्दै यसले राजनीतिक प्रक्रियाको दुरुपयोग गर्ने नयाँ तरिकाहरू प्रदान गर्ने तर्कको पनि खण्डन गर्छन् । 

जर्ज मेसन विश्वविद्यालयमा सार्वजनिक नीति पढाउँदै गरेका प्राध्यापक ज्याक गोल्डस्टोन भन्छन्, ‘म सामाजिक सञ्जालका फाइदा भन्दा बेफाइदा धेरै छन् भन्दिन । हो, नियमन नगरेर खुला छाडिएका सामाजिक सञ्जालको बेफाइदा त पक्कै पनि छ ।’

प्रख्यात लेखिका हाना आरेन्टले गज्जबको अवलोकन गरेकी थिइन् । उनका अनुसार झुटको बाढी नै फैलाइए पनि मानिसले त्यही झुटलाई सत्य ठानेर विश्वास गर्छन् भन्ने छैन । बरु यस्तो व्यापक झुट फैलिएको समयमा सर्वसाधारणलाई सत्य र झुट छुट्ट्याउन अलि बढी मेहनत गर्नुपर्ने पक्कै हुन्छ । उनीहरू सत्य र झुट छुट्ट्याउने अन्य व्यक्तिको क्षमतामा शङ्का गर्न थाल्छन् । त्यस्तो समयमा उनीहरू सरकारले बोलेको सत्य होला भने विश्वास गर्न थाल्छन् ।

अधिनायकवाद तथा फस्टाउँदो दक्षिणपन्थी लोकप्रियतावादलाई प्रविधिले कसरी प्रभाव पारिरहेको छ भन्ने अध्ययन गर्ने कामलाई पनि मूर्खता ठान्नु हुँदैन ।

राष्ट्रपति ट्रम्पका मुख्य सल्लाहकारमा पर्ने स्टिभ वेननले कतै भनेका थिए, ‘अनियन्त्रित सामाजिक सञ्जालले सूचनाको व्यापक बाढी नै ल्याइदिन्छ । जसले गर्दा कसैलाई पनि सत्य के हो भन्ने बुझ्न अप्ठेरो हुन्छ । यसले यस्तो राजनीतिक क्षेत्र सिर्जना गर्छ, जहाँ सबैले आफ्नो पकड बलियो बनाउन वा आफ्ना शत्रुलाई कमजोर बनाउनका लागि झुटो बोल्न पनि अप्ठेरो नहुने अवस्था सिर्जना गर्छ ।’

गोल्डस्टोनका अनुसार सामाजिक सञ्जालमा नियमन भएन भने यसले समाजलाई विभाजनतिर लाने मात्रै नभएर लोकतन्त्रको अस्तित्व नै खतरामा पारिदिन्छ । 

उनको तर्क छ, ‘लोकतन्त्र बाँच्ने भनेको फरक विचार भएका मानिसको भरमा हो । जसमार्फत मानिस साझा मूल्य तथा लक्ष्यहरूमा आधारित उपयुक्त सम्झौता र सहमतिमा पुग्ने बाटो खोज्न सक्छन् । तर जनसङ्ख्याको एउटा ठुलो हिस्सा आफ्ना विपक्षीहरूलाई शत्रुको रूपमा हेर्छ भने, अर्काको लक्ष्य वा अझ भनौँ अस्तित्व नै आफ्ना मूल्य र लक्ष्यहरूमाथिको खतरा ठान्न थाल्छ भने अवस्था खराब हुन्छ । त्यस्तो अवस्थामा आफ्ना लागि खतरनाक ठानिएका शत्रुलाई परास्त गर्नका लागि राज्य शक्तिको प्रयोग गर्न तथा राज्यलाई नियन्त्रण गर्ने प्रतिस्पर्धाको पक्षमा दौडन लाग्ने अवस्था आउँछ । त्यसले अन्ततः लोकतन्त्र नै हराएर जाने सम्भावना हुन्छ ।’

प्रविधि क्षेत्रमा भएका नवीन आविष्कार र नवप्रवर्तनका नकारात्मक प्रभावबारेको बहस राजनीतिमा मात्रै सीमित छैन । 

न्युयोर्क विश्वविद्यालयमा सामाजिक मनोविज्ञानबारे अनुसन्धानरत जोनाथन हैड्त तथा सान डिएगो स्टेट विश्वविद्यालयमा मनोविज्ञानका प्राध्यापक जीन ट्वेन्गेले स्मार्टफोनको उदय र किशोरावस्थामा हुने चिन्ता, डिप्रेसन र आत्महत्या गर्ने प्रवृत्ति अझ खासगरी उदार परिवारमा हुर्किरहेका केटीहरूमा अचानक बढेको मानसिक समस्याको बिचमा स्पष्ट र कारणात्मक सम्बन्ध देखाउने उनको अनुसन्धानले सबैको ध्यान खिच्न सफल भएको बताए ।

उनीहरूको अनुसन्धानले अन्तर्राष्ट्रिय स्तरमै विद्यालयमा स्मार्टफोन प्रतिबन्ध लगाउने अभियान नै सुरु गराइदियो । युरोपका धेरै अध्ययनहरूले विद्यालयमा स्मार्टफोनमा प्रतिबन्ध लगाउँदा विद्यार्थीको प्रदर्शन र व्यवहारमा उल्लेख्य सुधार भएको देखाएका छन् । 

यस विपरीत सन् २०२५को अप्रिलमा ब्रिटिस मेडिकल जर्नल ‘द ल्यान्सेट’ ले प्रकाशन गरेको एउटा अध्ययनले भने त्यस्तो प्रतिबन्धले मात्रै सुधार नगर्ने बरु थप अन्य नीतिहरू पनि आवश्यक पर्ने देखाएको थियो ।

पछिल्लो समय कृत्रिम बौद्धिकता वा एआईलाई लिएर चिन्ता बढ्न थालेको पाइन्छ । ‘एबन्डेन्स’ नामको पुस्तकका लेखक डेरेक थम्पसनले गत सेप्टेम्बर २२ मा ‘द आर्गुमेन्ट’मा प्रकाशन गरेको निबन्धमा केही चिन्ताजनक प्रवृत्तिहरूबारे उल्लेख गरेका छन् । 

उनी लेख्छन्, ‘अहिले हाम्रो गहन चिन्तन क्षमतामा प्रविधिले असर पुर्‍याइरहेको छ । म त सोच्ने यन्त्रको उदयका बारेमा भन्दा, ज्यादा सोच्ने मानिसको गिरावटबारे चिन्तित छु ।’

थमसनका अनुसार विद्यार्थीहरूले अत्यधिक एआईको प्रयोग गर्दा उनीहरूको ‘लेखनमा ह्रास’ आउन थालेको छ । यसको धेरै ठुलो असर पर्छ किनभने लेख्नु भनेको सोच्नु पनि हो । विद्यार्थीहरू जत्तिकै व्यावसायिक अध्येताहरूमा पनि यही लागू हुन्छ । ‘नेचर’ पत्रिकाले ‘लेख्नु भनेको सोच्नु हो’ भन्ने शीर्षकमा सम्पादकीय नै लेख्नु पर्‍यो । 

सम्पादकीयमा सम्पूर्ण लेखनकर्म नै मेसिनलाई जिम्मा दिन थालेपछि वैज्ञानिकहरू आफ्नो आविष्कार र त्यसको महत्त्व नै बुझ्न छाड्ने अवस्था आउने बताइएको छ ।

थम्पसनले राष्ट्रको रिपोर्ट कार्डको तथ्याङ्क उद्धृत गर्दै सन् २०२४मा औसत ‘पठन स्कोर’ ३२ वर्ष यताकै न्यूनतममा झरेको देखाए । अवस्था असाध्यै चिन्ताजनक छ ।

सोही परीक्षणले पत्ता लगाए अनुसार १२ कक्षाका विद्यार्थीहरूमा न्यून दक्षता स्तर सन् १९९२मा २० प्रतिशत रहेकोमा बढेर सन् २०२४मा आइपुग्दा ३२ प्रतिशत पुगेको छ । उच्च दक्षता स्तरको पठन पाठन गर्नेको सङ्ख्या भने ४० प्रतिशतबाट घटेर ३५ प्रतिशतमा आइपुगेको छ । औसत दक्षता स्तरमा रहेकाहरू ३९ प्रतिशतबाट घटेर ३३ प्रतिशतमा पुगेका छन् । अध्ययनको गुणस्तर धेरै खस्किएको पाइएको छ ।

जब विद्यार्थीहरू कम पढ्न थाल्छन् । पुस्तकका पानाहरू कम पल्टाउन थाल्छन् । लेख्नका लागि च्याटजीपीटीको सहायता लिन्छन् भने हामीले धेरै कुरा गुमाइरहेका हुन्छौँ ।

थमसनका अनुसार त्यसो गर्दा हामी लामो र जटिल लेखनी पढ्न तथा आपसमा विरोधाभाष भएका विचारलाई दिमागमा खेलाउन, त्यहाँ भएका असङ्गतिको आनन्द लिन, लेखाइमा मसिनोगरि छिरेर हरेक हरफमा प्रतिवाद गर्न र त्यसमा भएको महत्त्वपूर्ण ज्ञानको सम्मान गर्न छाड्छौँ ।

भिडियो मनोरञ्जनले पढाइलाई विस्थापित गर्दैछ । लेखाइलाई च्याजीपीटीले विस्थापित गर्दैछ । जताततै सहजै एआई उपलब्ध हुन थालेपछि गहन मानव चिन्तन नै दुर्लभ हुँदै जाने टड्कारो खतरा देखिएको छ ।

सामाजिक सञ्जाल, एआईलगायत त्यस्तै अन्य प्रविधिहरूले सोझै राजनीतिक र सामाजिक समस्याहरू निम्त्याउँछन् भनेर प्रमाणित गर्ने प्रयास गर्नु बेकार छ भन्ने वाट्सको तर्कसँग म पनि सहमत छु । किनभने प्रविधिको उदय र सामाजिक–राजनीतिक समस्याबिच कस्तो कार्य–कारण सम्बन्ध तथा सह–सम्बन्ध छ भन्ने छुट्ट्याउन सजिलो छैन । 

तर यसो भन्दै गर्दा हामीले ट्रम्पको उदय, अधिनायकवाद तथा फस्टाउँदो दक्षिणपन्थी लोकप्रियतावादलाई प्रविधिले कसरी प्रभाव पारिरहेको छ भन्ने अध्ययन गर्ने कामलाई पनि मूर्खता ठान्नु हुँदैन ।

अमेरिकालगायत अन्य पश्चिमी मुलुकहरू निरङ्कुशतातर्फ लम्किँदै गरेको अवस्थाबाट बाहिर निस्कन चाहन्छन् भने यस विषयमा अन्वेषण अत्यन्तै आवश्यक छ । यसका लागि मानव चिन्तनको आवश्यकता पर्छ । यस सन्दर्भमा म पिल्डेसका निम्न पङ्क्ति उद्धृत गर्दै आफ्नो आलेख अन्त्य गर्न चाहन्छु–

‘सञ्चारको क्षेत्रमा देखिएको क्रान्तिले लोकतान्त्रिक सरकारहरू सामु खडा गर्ने चुनौतीहरू झुटो सूचना, मिथ्या सूचना, आपत्तिजनक भाषणबाजी तथा त्यस्तै अन्य अतिवादी चिन्तनहरू भन्दा गहन छन् । त्यस्तो क्रान्तिले व्यापक रूपमा स्वीकृत राजनीतिक प्राधिकारलाई नै कमजोर पारिदिन सक्छ । लोकतान्त्रिक प्रणालीमा प्रभावकारी रूपमा शासन गर्न सक्षम हुनका लागि चाहिने अधिकारमा धावा बोल्न सक्छ ।

लोकतन्त्रहरूले शासन गर्ने तरिकासँग असन्तुष्टिको परिणाम स्वरूप राजनीतिक खण्डीकरण देखा पर्छ । तर यसले प्रभावकारी शासनलाई थप असहज बनाइदिन्छ । राजनीतिक विखण्डनको यस्तो नयाँ युगको पर्याप्त मूल्याङ्कन हुनै बाँकी छ । तर यसबाट आउने खतराबाट जोगिँदै प्रभावकारी शासन व्यवस्था प्रदान गर्नु नै आजको दिनमा पश्चिमा लोकतन्त्रले सामना गरिरहेका सबैभन्दा गम्भीर चुनौतीहरू हुन ।’

(न्युयोर्क टाइम्सबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

थोमस बी. एड्सल
थोमस बी. एड्सल
लेखकबाट थप