तिहार: धर्म, भावना र जीवनदर्शनको सङ्गम
सारांश
- तिहार, नेपालीहरूको महान पर्व, कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ, जसलाई यमपञ्चक पनि भनिन्छ।
- काग तिहार, कुकुर तिहार, गाई तिहार, गोवर्धन पूजा र भाइटिका गरी पाँच दिन मनाइने तिहारले प्रकृति, मानव र जनावरबीचको सम्बन्ध दर्शाउँछ।
- भाइटिकामा दाजुभाइ र दिदीबहिनीको सम्बन्ध प्रगाढ बनाइन्छ, दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिन्छन् र दीर्घायुको कामना गर्छन्।
- परिचय
शरद् ऋतुले घरघरमा अन्नसँगै धार्मिक उत्सव भित्र्याउँछ । यसै ऋतुमा नेपालीहरूको महान् पर्व दसैँ मनाइन्छ । दसैँ सकिए लगत्तै तिहारको रौनक देशभरि छाउँछ । तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने उत्सव हो ।
पाँच दिनसम्म मनाइने यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । हिन्दु धर्मअनुसार यमराजले आफ्नी बहिनी यमुनासँग बिताएको समयको सम्झना गर्दै यो पर्व मनाइन्छ । यो पर्वले दिदीबहिनी र दाजुभाइबिचको सम्बन्धलाई प्रगाढ बनाउँछ । हरेक वर्ष मनाइने पर्व तिहारले मनुष्य, पशु र प्रकृतिबिचको प्रेम, सम्मान र सम्बन्धको महŒव बुझाउँछ ।
- धार्मिक पक्ष
तिहारको आरम्भ काग तिहारबाट हुन्छ । कागलाई सन्देशवाहक र शुभ वा अशुभ समाचारको प्रतीकको रूपमा लिइन्छ । यमदूतका रूपमा पुजिने कागलाई काग तिहारका दिन बिहानै घरबाहिर दुबो, तेल र खानेकुरा राखेर पूजा गरिन्छ । कागतिहारको दिन कागलाई पूजा गरे कागले यमराजलाई राम्रो खबर लगिदिन्छ भन्ने जनविश्वास रहेको पाइन्छ ।
दोस्रो दिन कुकुर तिहार मनाइन्छ । यमराजको द्वारपाल भनेर सम्बोधन गरिने कुकुरलाई माला, टीका र मिठा परिकार अर्पण गरेर पूजा गरिन्छ । प्राकृतिक विपत्तिको पूर्वसूचना दिने, कुनै अनिष्ट हुन लाग्दा सूचित गराउने कुकुरलाई निष्ठावान् र आज्ञापालकका रूपमा लिइन्छ ।
तेस्रो दिन गाईतिहार हो । गाईलाई लक्ष्मीको रूप मानिन्छ । मिष्टान्नसहित विशेष रूपमा गाईको पूजा गरिन्छ । सम्पत्ति र समृद्धिको प्रतीक मानिने गाईको गहुँत, गोबर, दुध, दही र घ्युलाई पवित्र मानिन्छ । हिन्दुहरूले मनाउने हरेक धार्मिक कार्यमा उक्त कुराहरू आवश्यक पर्छ ।
गाईतिहारकै दिन लक्ष्मीपूजा गरिन्छ । साँझमा घरका प्रत्येक कुनामा दियो बालिन्छ । लक्ष्मी प्रवेश गर्न सकुन् भनेर घर, आँगन सफा बनाइन्छ । सोही दिनबाट देउसी र भैलो पनि खेल्न सुरु गरिन्छ ।
चौथो दिन गोवर्धनपूजा वा म्ह: पूजा गरिन्छ । यस दिन गोवर्धन पर्वतको पूजा गरेर प्रकृतिलाई कृतज्ञता प्रकट गरिन्छ । नेवार समुदायमा म्ह: पूजा गरेर आफ्नै आत्माको सम्मान गरिन्छ । यसले सृष्टिमा सबैभन्दा पवित्र शक्ति आफ्नै आत्मा हो भन्ने बोध गराउँछ ।
अन्तिम दिन भाइटिका हो । यो दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुखको कामना गर्दै शिरमा तेल हालेर सप्तरङ्गी टीका लगाइदिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर उपहार र मायाका शब्दहरू अर्पण गर्छन् । यस दिनले दिदीबहिनी र दाजुभाइबिचको आत्मीयता र पवित्र सम्बन्धको मिठास सर्वत्र फैलाउँछ ।
- सांस्कृतिक र सामाजिक पक्ष
धर्म, संस्कृति र परम्परासँग जोडिएको सांस्कृतिक पर्व तिहारले प्रकृति, मानव र जनावरबिचको अन्तरसम्बन्धलाई उजागर गरेको छ । दीप बाल्ने परम्पराले उज्यालोले अन्धकारमाथि विजय गर्छ भन्ने भाव प्रदान गर्छ । धनको महŒव र सन्तुलित प्रयोग गर्नुपर्ने सन्देश लक्ष्मीपूजाले दिएको पाइन्छ । देउसीभैलोले लोकसंस्कृतिको संरक्षण गर्दै समाजमा आपसी प्रेम र सहकार्यको भावना पैदा गराउँछ ।
तिहार पर्व सामाजिक एकताको प्रतीक पनि हो । यमपञ्चक सुरु भएपछि घरआँगन सफा गरिन्छ । रङ्गोली हालिन्छ । फूलमालाले घर, कार्यालय सजाइन्छ । दीपद्वारा प्रत्येक घरमा उज्यालो पोतिन्छ । त्यस उज्यालोमा आशा, श्रद्धा र प्रेम मिसिएको हुन्छ ।
बालबच्चादेखि बुढाबुढीसम्म देउसीभैलो गाउँदै घरघर घुम्छन् । सेलरोटी, अनरसा, फिनी, मिठाई आदि परिकारहरूले परिश्रम र स्नेहको स्वाद बोकेका हुन्छन् । तिहारले सम्बन्धमा न्यानोपन ल्याउँछ । समाजलाई उज्यालो बनाउने पर्व तिहारले हरेकको दैलोबाट सुगन्ध, खुसी र शुभेच्छा प्रवेश गराउँछ ।
- व्यक्तिगत अनुभूति
बाल्यकालमा तिहारलाई केवल रमाइलोका रूपमा लिइन्थ्यो । तिहार मात्र होइन हरेक पर्वले अनुहारमा खुसी पोतिदिन्थ्यो । दसैँको टीका लगाउँदै पैसा गन्दै हिँड्नुको रमाइलो वर्णन गर्नै सकिन्नँ । तिहारमा त झन् आधारातसम्म साथीभाइसँग देउसीभैलो खेल्दै गाउँगाउँ डुल्दाका ती अविस्मरणीय पल आँखामा फनफनी नाचिरहन्छन् ।
भाइटीकाको दिन दिदीबहिनी मिलेर भाइलाई टीका लगाउँथ्यौँ र भाइलाई दिएको खानेकुरा एकैछिनपछि मागेर खान्थ्यौँ । भाइले नदिए चोरेर पनि खान्थ्यौँ । दाजुभाइसँग झगडा गरेर बोलचाल बन्द भएको छ भने पनि भाइटीकाको दिन बोल्ने गजबको बहाना हुन्थ्यो ।
साँझ परेपछि साथीभाइसँग देउसीभैलो खेल्न निस्किन्थ्यौँ । पैसा थोरै दिने घरलाई– ‘आहै यसपालि आउँदा जस्ताको छानो, अर्कोपालि आउँदा खरको छानो’ भन्दै भट्ट्याइन्थ्यो भने सबैलाई बाँड्न पुग्ने पैसा दिने घरलाई– ‘आहै यसपालि आउँदा जस्ताको छानो अर्कोपालि आउँदा सुनको छानो’ भन्दै बिदा भइन्थ्यो ।
अलि पछि हुँदै गएपछि गाउँतिरका पसलमा पटेका बेच्न राख्थे । घरमा रोइकराइ गरेर पटका किन्न लगाइन्थ्यो । देउसीभैलो खेल्न गएको घरमा जति भट्ट्याए पनि ढोका खोलेनन् भने ढोकैमा पटका पड्काएर टाप कसिन्थ्यो । त्यो अबोध समय जीवनको एक उत्कृष्ट पल थियो । जहाँ कुनै जिम्मेवारी थिएन । थियो त केवल रमाइलो नै रमाइलो ।
जब उमेर बढ्दै गयो । जिम्मेवारीहरू थपिँदै गए । अनि तिहार मात्र होइन हरेक दैनिकी नै बदलियो । जीवनमा माया, क्षमा र कृतज्ञता नै असली सम्पत्ति हुन् भन्ने कुरा हरेक पर्वले सिकायो । तिहारले पनि सम्बन्धको गहिराइलाई नजिकबाट नाप्न सिकायो ।
रगत र भावनाको सम्बन्धलाई बलियो बनाउने पर्व तिहारले नारीलाई चेली र पुरुषलाई दाजुभाइको रूपमा चिनाउँछ । विश्वभरि छरिएर रहेका सम्पूर्ण नेपालीलाई दीपावलीको शुभकामनाका साथै सम्पूर्ण दाजुभाइलाई सुस्वास्थ्य एवम् दीर्घायुको कामना गर्छु ।
तिहार केवल पूजा वा रीतिरिवाजको पर्व मात्र होइन, यो धर्म, भावना र जीवनदर्शनको सङ्गम पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण