मंसिरमा नियमित महाधिवेशनबारे कांग्रेसभित्र आ-आफ्नै तर्क
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गत बिहीबार कार्यसम्पादन समिति बैठकमा दुई विकल्पसहित आगामी संसिर २७ देखि २९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका प्रस्तुत गरे । विधानको धारा १७ उपधारा (१) बमोजिम नियमित महाधिवेशन गर्नका लागि पहिलो विकल्पमा वडा, क्षेत्रीय प्रतिनिधि, प्रतिनिधिसभा क्षेत्र र महाधिवेशन प्रतिनिधिको चयन गरी सिधै केन्द्रीय महाधिवेशन गर्ने र दोस्रो विकल्पमा सबै तहगत अधिवेशन सकेर केन्द्रीय महाधिवेशन गर्ने महामन्त्री थापाको कार्यतालिकामा उल्लेख छ ।
वर्तमान शेरबहादुर देउवा नेतृत्वको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको चारवर्षे म्याद आगामी पुस ६ गते सकिन्छ । २०७८ पुस ६ गते १४ औँ महाधिवेशन सम्पन्न भएको थियो ।
महामन्त्री थापाको यो प्रस्ताव कार्यसम्पादन समिति बैठकबाट अनुमोदन भएर केन्द्रीय समिति बैठकमा पेस हुन सकेन । केन्द्रीय समितिमा सभापतिको अनुमतिमा महामन्त्रीले एजेन्डा पेस गर्ने कांग्रेस विधानमा व्यवस्था छ । सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । उपसभापति खड्काले अनुमति नदिएकाले महामन्त्री थापाले कार्यतालिका केन्द्रीय समितिमा पेस गर्न सकेनन् ।
गत असोज २६ गतेबाट जारी कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री थापाले पेस गरेका एजेण्डाको सातौँ नम्बरमा ‘विधानले तोकेको समयावधिभित्र नै पार्टीको १५ औँ महाधिवेशन गर्न कार्यतालिका निर्माण गर्ने सम्बन्धमा’ लेखिएको छ । तर कार्यवाहक सभापति र महामन्त्री थापाबिच महाधिवेशनको मितिमा मतैक्यता नहुँदा बैठकमा कार्यतालिका पेस हुन सकेको छैन ।
_0lyqPY1jwU.jpg)
जारी केन्द्रीय समिति बैठक अब कात्तिक १३ गते बस्नेगरी शनिबार स्थगित गरिएको छ । यसले पुस ६ गतेभित्र नियमित महाधिवेशन गर्न सम्भव हुन्छ त भन्ने प्रश्न उब्जिएको छ । महाधिवेशनको प्रारम्भिक चरण पार्टीको क्रियाशील सदस्यता हो । क्रियाशील सदस्यता टुंग्याउन महामन्त्री थापाकै संयोजकत्वमा २०८१ कात्तिक १४ गते समिति बनाइएको थियो ।
पटक–पटक म्याद थप्दा पनि थापा नेतृत्वको समितिले अहिलेसम्म सदस्यताको काम सकेको छैन । समितिका सदस्य तथा पार्टी केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइली अहिलेसम्म क्रियाशील सदस्यता नवीकरणको ८० प्रतिशत काम मात्रै सकिएको बताउँछन् । अझै नयाँ सदस्यता वितरणको काम सुरु नै भएको छैन ।
महामन्त्री थापा निकट स्नेहीले पार्टीका सबै साथीहरूले सहयोग गरेमा क्रियाशील सदस्यताको काम सकेर मंसिरमा महाधिशवेन सम्पन्न गर्न सकिने बताउँछन् ।
‘अहिलेसम्म क्रियाशील सदस्यताको ८० प्रतिशत काम सकिएको छ,’ केन्द्रीय सदस्य स्नेहीले रातोपाटीसँग भने, ‘मंसिरभित्र अधिवेशनको विपक्षमा रहेका पार्टीका साथीहरूले क्रियाशील सदस्यताको काम गर्न चाहेमा मंसिरमा महाधिवेशन गर्न सकिन्छ ।’
स्नेहीको भन्दा संस्थापन पक्षीय केन्द्रीय सदस्य रामहरि खतिवडाको धारणा भने फरक छ । महामन्त्री थापाकै नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले लामो समयसम्म तोकिएको काम पूरा नगर्दा मंसिरमा नियमित महाधिवेशन हुने सम्भावना कम रहेको खतिवडाले बताए ।
‘महाधिवेशनको प्रारम्भिक चरण क्रियाशील सदस्यता हो । पार्टीले क्रियाशील सदस्यता टुंग्याउन महामन्त्रीको संयोजकत्वमा एक वर्षअघि समिति बनाएको थियो । त्यो काम टुंगिएको छैन,’ खतिवडाले रातोपाटीसँग भने, ‘भदौ २४ गते जेनजी आन्दोलनका क्रममा पार्टीका ४८ जिल्ला कार्यालय जलेका छन् । केन्द्रीय कार्यालय जलेको छ । नवीकरण भएका क्रियाशील सदस्यताका विवरण पनि जलेका छन् । कार्यालय आगजनी हुँदा बचेका कम्प्युटरमा रहेका नविकरणका फाइल कति छन् त्यो पनि अहिलेसम्म एकिन छैन । समय अब दुई महिना मात्रै छ । त्यसैले मंसिरमा विधिवत् महाधिवशन गर्न सक्ने सम्भावना कम देखिन्छ ।’
विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलनमा लागेका महामन्त्री थापा निकट युवा नेता मनोजमणि आचार्यले संस्थापन समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्न खोजिरहेको बताए । विशेष महाधिवेशन माग्दै हस्ताक्षर बुझाउनेहरूको तर्फबाट आइतबार बिहान बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा आचार्यले भने, ‘असोज २८ बाट सुरु केन्द्रीय समिति बैठक विनाकारण लम्ब्याउने, ढिला गर्ने र आगामी बैठक कात्तिक १३ गते मात्रै डाकिएको र कहिले सकिने समेत टुङ्गो नभएकाले वर्तमान कार्यसमितिको मनसाय नै समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्नतर्फ उद्धत रहेको प्रष्ट देखिन्छ ।’
कांग्रेसमा महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा मंसिरभित्र नियमित महाधिवेशन मंसिरभित्र गर्नुपर्ने बताउँदै आएका छन् । महाधिवेशनका लागि संस्थापन तयार नभए विशेष महाधिवेशन गर्ने भन्दै थापा र शर्माकै निर्देशनमा गुरुराज घिमिरेको नेतृत्वमा हस्ताक्षर संकलन गरी महाधिवेशन प्रतिनिधिहरूले कार्यवाहक सभापति खड्कालाई बुझाएका छन् । महामन्त्री थापाले कार्यसम्पादन समितिमा नियमित महाधिवेशनको कार्यतालिका पेस गर्दा सम्भव नभए विशेष महाधिवेशन गर्ने विषय पनि राखेका छन् ।
‘अन्य विकल्प र विशेष प्रस्ताव’ शीर्षकमा थापाले लेखेका छन्, ‘अहिले विशेष र असामान्य परिस्थिति भएको हुँदा महाधिवेशनको विकल्प नरहेकाले माथि प्रस्ताव गरेका सबै विकल्प र कार्यतालिकामा उल्लेखित समयभित्र विधानको धारा १७(१) बमोजिम नियमित महाधिवेशन नगर्ने हो र गर्न नसकिने भन्ने हो भने यही केन्द्रीय कार्यसमितिको बैठकबाट विधानको धारा १७ (२) मा भएको व्यवस्था अनुसार २०८२ मंसिर मसान्तभित्र विशेष केन्द्रीय महाधिवेशनको सुनिश्चित गर्ने ।’
थापाले कार्यसम्पादन समिति बैठकमा महाधिवेशनको कार्यतालिका पेस गर्दा भनेका थिए, ‘हामीले भन्नैपर्छ, नयाँ परिवेशमा पार्टीलाई नयाँ नेतृत्व चाहिएको हो, त्यो जो पनि हुन सक्छ, तर अधिवेशनबाट नै आउनुपर्छ ।’

तर खतिवडा भने अहिलेका सारा विकृत्ति कांग्रेस महाधिवेशन नभएर हो कि अरु कारणले हो ? भन्दै प्रश्न गर्छन् । ‘अहिलेका सारा विकृत्ति कांग्रेस महाधिवेशन नभएर हो कि अरु कारणले हो,’ खतिवडा भन्छन्, ‘जेनजी प्रदर्शन र सत्ता परिवर्तन कांग्रेस महाधिवेशन नभएर हो । पार्टीमा एउटा व्यक्ति राम्रो र अरु सबै नराम्रो भन्ने हुन्छ ।’
कांग्रेसको संस्थापन विधिसम्मत तरिकाले नियमित महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ । तर मंसिरभित्र समय कम भएकाले हुने सम्भावना कम रहेको संस्थापनको तर्क छ ।
पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा मंसिरमा विधिवत् तरिकाले महाधिवेशन गर्न सकिने सम्भावना कम रहेको बताउँछन् । ‘कार्यसम्पादन समिति बैठकको सुरुमै कार्यतालिका पेस गरेर केन्द्रीय कार्यसमिति बैठक सुरु हुने दिनमै पेस गरेको भए अर्कै कुरा हुन्थ्यो । अब कार्यतालिका पेस गरेर पास भएर मंसिर मसान्तभित्र विधिवत रूपमा महाधिवेशन गर्न सक्ने सम्भावना कम छ,’ प्रचार विभाग प्रमुख विश्वकर्माले रातोपाटीसँग भने, ‘आन्तरिक तयारी नगर्ने र बाहिर सस्तो लोकप्रियताका लागि सामाजिक सञ्जालमा विषयवस्तु राख्दा समस्या देखिएको छ ।’
उनले महामन्त्री थापाले कार्यतालिका पार्टी बैठकमा नभई सामाजिक सञ्जालमा मात्रै ‘भाइरल’ बनाएको आरोप बताए । ‘केन्द्रीय कार्यसमिति बैठकमा नियमित महाधिवेशन समयमै सम्पन्न गर्ने सम्बन्धमा भन्नुभयो । अहिले सामाजिक सञ्जालमा कार्यतालिका ‘भाइरल’ बनाइरहनुभएको छ,’ विश्वकर्माले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण