पौवादुङमाको अकबरे खुर्सानी खेती : देशभरका किसानका लागि अध्ययन केन्द्र
सारांश
- भोजपुरको पौवादुङमा गाउँपालिकामा अकबरे खुर्सानी खेती अध्ययन केन्द्र बनेको छ, जहाँ किसान र विज्ञहरूको आकर्षण बढेको छ।
- यहाँका किसानले खुर्सानी खेतीबाट राम्रो आम्दानी गरिरहेका छन्, गत वर्ष १८ करोड रुपैयाँ आम्दानी भएको थियो।
- सिन्धुलीको टोलीले प्रविधिबारे जानकारी लिएर स्थानीय तहमा यस्तै कार्यक्रम गर्ने तयारी गरेको छ।
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा भइरहेको व्यावसायिक अकबरे खुर्सानी खेती अहिले देशैभरका किसान र कृषि विज्ञका लागि सिकाइ तथा अध्ययन केन्द्र बनेको छ। यहाँका किसानले खुर्सानी खेतीबाट लिएको उल्लेखनीय आम्दानी र उन्नत प्रविधिले अन्य जिल्लाका किसानलाई आकर्षित गरेको छ।
गाउँपालिकामा करिब चार सय हेक्टर क्षेत्रमा अकबरे खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ भने करिब नौ सय किसान यसमा आबद्ध छन्। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार अध्ययन, अवलोकनका लागि देशका विभिन्न ठाउँबाट किसान र कृषि विज्ञहरू आउने गरेका छन्।
हालै सिन्धुलीको दूधौली नगरपालिकाका कार्यवाहक प्रमुख नन्दकिशोर थारुसहितको टोलीले यहाँको खेती प्रविधि, आम्दानी र चुनौतीबारे स्थलगत जानकारी लिएको थियो। थारुले यहाँको प्रविधिबारे सिकेर आफ्नो स्थानीय तहमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको बताए।
गाउँपालिका अध्यक्ष किरण राईका अनुसार गत वर्ष खुर्सानी बिक्रीबाट मात्रै १८ करोड रुपैयाँ आम्दानी भएको थियो। खुर्सानी खेती अहिले मुख्य आम्दानीको स्रोत र अध्ययन केन्द्रको रूपमा विकास भइरहेको उनको भनाइ छ।
गाउँपालिकाले गत आर्थिक वर्षमा ७५० किसानलाई करिब ७० लाख रुपैयाँ बराबरका मल्चिङ प्लास्टिकलगायतका कृषि सामग्री वितरण गरेको उपाध्यक्ष ज्योत्सना राईले बताइन्।
किसान ठंगजीत राईले ४२ रोपनी जग्गामा करिब ३२ हजार बिरुवा विस्तार गरी वार्षिक ५५ देखि ६० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। पौवादुङमाको खुर्सानी खेतीले स्थानीय रोजगारी बढाउनुका साथै कृषि पर्यटनको सम्भावना पनि बढाएको किसानको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महानगर अनुसन्धान शोधवृत्तिका लागि उम्मेदवार छनोट गर्दै काठमाडौँ महानगरपालिका
-
चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते
-
स्ट्रेट अफ होर्मुजमा नौवहन सुरक्षाका लागि फ्रान्स र बेलायतले सैन्य सामग्री तैनाथ गर्ने
-
प्रहरी असई हुँ भन्दै ठगी गर्ने महिला काठमाडौँबाट पक्राउ
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण