बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

बालुवाटारमा प्रधानमन्त्री र दलहरुबिच छलफल जारी, सबै दलले पालैपालो धारणा राख्दै

मङ्गलबार, ०४ कात्तिक २०८२, १९ : १०
मङ्गलबार, ०४ कात्तिक २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अहिले राजनीतिक दलहरुसँग छलफल गरिरहेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले ११ दलका प्रतिनिधिसँग संवाद गरिरहेकी हुन् । 

जारी छलफलमा अहिले राजनीतिक दलका नेताहरुले पालैपालो आफ्नो धारणा राखिरहेका छन् । प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार अझै केही समय बैठक चल्नेछ । 
निर्वाचनमा केन्द्रित भएर सबै दलका प्रतिनिधिहरुले धारणा राखिरहेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । 

निर्वाचनमा जान सबै तयार रहेको र सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्नेमा दलहरुको चासो रहेको उनले बताए । नेकपा एमालेले सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध नगरेको जनाइएको छ ।

प्रधानमन्त्रीको सचिवालयले नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी भएको जानकारी दिएको छ । 

यस्तै जनमत पार्टीबाट चन्दनकुमार सिंह र एकीकृत समाजवादी पार्टीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपाध्यक्ष प्रकाश ज्वाला सहभागी छन् । 

आगामी चुनावका लागि आयोजित राजनीतिक दलहरूसँगको संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसँगै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप