बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
तिहार

उपत्यका र आसपासका जनताको बुझाइमा यसपालिको तिहार

शुक्रबार, ०७ कात्तिक २०८२, १५ : ३०
शुक्रबार, ०७ कात्तिक २०८२

सारांश

  • काठमाडौं उपत्यकामा तिहारको बजार चहलपहल उल्लेख्य रह्यो, तर फूलको मूल्यवृद्धि र पटकाको अनियन्त्रित बिक्रीले उपभोक्ता चिन्तित थिए।
  • व्यापारीहरूले गत वर्षको तुलनामा व्यापार सन्तोषजनक रहेको बताए, तर सुरक्षा चिन्ता र राजनीतिक अनिश्चितताले नागरिक त्रसित थिए।
  • पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो रह्यो भने बजारमा ट्राफिक नियमको उल्लंघन र भन्सार छलेर आएका सामानको बिगबिगी देखियो।

तिहार पर्वको अवसरमा काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर, भक्तपुर) तथा वरपरका ग्रामीण तथा पर्यटकीय क्षेत्रहरू (जस्तै: कुलेखानी, चित्लाङ) मा विगत ६ दिनसम्म बृहत् बजार अवलोकन भ्रमण सम्पन्न गरियो ।

यस भ्रमणको मुख्य उद्देश्य पर्वको समयमा बजारको चहलपहल, वस्तु तथा सेवाको उपलब्धता, उपभोक्ता र व्यापारीहरूको मनोभाव साथै स्थानीय निकायको व्यवस्थापनको प्रभाव बुझ्नु थियो ।

अवलोकनका क्रममा फूलको आयातमा भएको अवरोध, पटकाको अनियन्त्रित विक्री, बजारमा देखिएको मूल्यवृद्धि तथा आम नागरिकमा बढ्दो सुरक्षा चिन्ता र राजनीतिक अनिश्चितता जस्ता महत्त्वपूर्ण अनुभवहरू बटुलिए ।

१. काठमाडौँ उपत्यकामा तिहारका अवसरमा बजारको चहलपहल दसैँको भन्दा बढी देखियो ।

२. गत सालको तुलनामा व्यापार खासै कम नभएको व्यापारीहरूले बताए भने करिब ३० प्रतिशत व्यापारीहरूले यो पटक व्यापार गत सालको भन्दा अझ राम्रो भएको बताए ।

३. यस पटक फूलको मूल्य अत्यन्तै बढेको गुनासो उपभोक्ताहरूको पाइयो ।

४. विदेशी फूलहरूको आयात रोक्ने नाममा बाहिरी जिल्लाबाट काठमाडौँ आउने फूललाई पनि महानगरले दुःख दिएको गुनासो व्यापारीहरूको पाइयो ।

५. जतिसुकै हल्ला गरिए पनि कागजका फूल काठमाडौँको बजारभरि जताततै बिक्री गरेको देख्न पाइन्थ्यो ।

६. फूलको आयातमा प्रतिबन्ध लगाएर मूल्यवृद्धि गराउने तर पटकाको आयात नरोक्दा मैले कुरा गरेका लगभग सबै नागरिकहरूको गुनासो सुनियो । यदि फूलको आयातलाई पूर्ण प्रतिबन्ध लगाउने हो भने पहिला फूल उत्पादनमा लाग्नुपर्ने सुझाव पाइयो ।

स्थानीय उत्पादनलाई बढवा दिने सरकारको कुरा ‘स्टन्ट’ मात्र भएको आम बुझाइ देखियो ।

७. सबै नागरिकले ‘यस पटकबाट के हुन लागेको हो, यत्तिको पटका पड्काएको त कहिल्यै थाहा थिएन, यस्तै हो भने अर्को वर्षबाट बम नै पड्काउलान् जस्तो छ’ भन्ने भनाइ सुन्न पाइयो ।

८. यो पटक पटकाको विक्री खुलमखुला भएको र व्यापारीहरूले अघिल्ला वर्षहरूमा भन्दा दश गुणा बढी पटका विक्री भएको र यसबाट राम्रो आम्दानी भएको खुसीयाली हामीसँग बाँडेको अनुभव पनि गर्न पाइयो ।

९. वर्षायाममा आएको पहिरोका कारणले सुरुसुरुमा वस्तुको अभाव जस्तो देखिए पनि अहिले प्रायः सामानहरू बजारमा उपलब्ध भएको व्यापारी र उपभोक्ता दुवैको भनाइ रह्यो ।

१०. सरकारी पक्षबाट बजारको अनुगमन विगतमा जस्तो नभएका कारणले व्यापारीहरू खुसी नै भएको पाइयो भने उपभोक्ताहरूले आफूहरू मारमा परेको गुनासो गरेको भेटियो ।

११. चाडपर्व भए पनि यो नमनाउने नागरिकहरू घरमा बस्नुको सट्टा कुलेखानी, बाख्रा फार्म, चित्लाङ जस्ता पर्यटकीय स्थानहरूमा आन्तरिक पर्यटकका रूपमा प्रशस्तै घुम्न आएको पाइयो ।

१२. छैमले र चित्लाङ जस्ता ठाउँहरूका किसानहरू भने तिहार मनाउनुका साथै अत्यावश्यक कृषि कर्ममा पनि निरन्तर लागिरहेको पाइयो । साथै, आफ्नो कृषि उत्पादनले यो पटक राम्रै बजार पाएको कुरा पनि उनीहरूको मुखबाट सुन्न पाउँदा खुसीको अनुभव भयो ।

१३. बजारमा जताततै ट्राफिक नियमको उल्लङ्घन गरी तीन जनासम्म बाइकमा सवार हुने, हेलमेट नलगाउने, मापसे चेकजाँच बन्द भएको, लेनको नियम पालना नगर्ने, ठुलो आवाजमा बाइक पड्काउने गरेको जताततै देख्न पाइन्थ्यो ।

१४. बजारको अवलोकन गर्दा पटका र बारुदजन्य वस्तुहरू तथा अन्य चाडपर्वमा प्रयोग हुने वस्तुहरू पनि ठुलो सङ्ख्यामा भन्सार छलेर आएको सजिलै अनुमान गर्न सकिन्थ्यो ।

१५. सबैभन्दा दुःखद पक्ष त मैले भेटेजति सबै नागरिक डर र त्रासमा बाँचिरहेको देखेँ । सबैको कुरा एउटै छ– कुन बेला कुन हुल आएर आफ्नो घर र सम्पत्तिमा आगजनी वा तोडफोड गर्छ वा ज्यानै मार्न सक्छ भन्ने डर छ ।

तर, कुनै पनि नागरिकमा सरकारप्रति रत्तिभर भरोसा र विश्वास नरहेको मैले पाएँ ।

१६. चुनावका बारेमा सोधेकामध्ये अधिकांशले चुनावै नहुने र भए पनि असुरक्षाका कारणले भोट हाल्न जाने अवस्था नहुने बताए । तसर्थ, सरकारले पहिला देशमा शान्ति सुरक्षाको जनतालाई प्रत्याभूति गराएर मात्र चुनावमा जाने सुझाव पनि उनीहरूले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. दिलनाथ दंगाल
डा. दिलनाथ दंगाल
लेखकबाट थप