बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माइतीघरमा जेनजीको धर्ना, जेनजी सम्मेलनको माग

शुक्रबार, ०७ कात्तिक २०८२, १५ : ५१
शुक्रबार, ०७ कात्तिक २०८२

सारांश

  • जेनजीको समूहले सबै जिल्लामा जेनजी सम्मेलन र काठमाडौँमा केन्द्रीय सम्मेलनको माग गर्दै माइतीघरमा धर्ना दिए।
  • उनीहरूले सरकारलाई जेनजी पुस्ताको आशा, ऊर्जा र भविष्यको जिम्मेवारी रक्षा गर्न आग्रह गरे।
  • धर्नामा सहभागीहरूले जेनजीका माग पूरा गर्न, एकता र सहकार्यको लागि आह्वान गरे।

काठमाडौँ । जेनजीको प्रतिनिधित्व गर्ने एक समूहले सबै जिल्लामा जेनजी सम्मेलन गर्न माग गरेको छ । 

जेनजीका मागका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउन आज माइतीघरमा धर्ना दिने क्रममा उनीहरुले सबै जिल्लामा जेनजी सम्मेलन र काठमाडौँमा केन्द्रीय सम्मेलनको आयोजना गर्ने वातावरण बनाउन सरकारसँग माग गरे ।

उनीहरुले आफूहरू एकजुट हुँदै एकता र समर्पण खोजिरहेको समेत बताए । यो समयमा कुनै पनि गुटबन्दी र विभाजन आफूहरूलाई सह्य नभएको बताउँदै उनीहरुले सबै जिल्लामा जेनजी सम्मेलन आयोजना गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । 

“सबै जिल्लामा जेनजी सम्मेलन गरी काठमाडौँमा केन्द्रीय जेनजी सम्मेलन आयोजना गर्नुपर्छ, जहाँ सम्पूर्ण देशबाट जेनजीको प्रतिनिधित्व हुनेछ”, जेनजी प्रतिनिधि सदिक्षा राईले भनिन्, “सम्मेलनमार्फत प्रदेशगत प्रतिनिधि छनोट गरिनेछ ।” 

उनले वर्तमान सरकार केबल नेताहरुको नभई जनता र शहीदको सपना बोकेको सरकार भएको बताए ।“यो सरकार शहीदहरूको बलिदानबाट जन्मिएको हो, सरकारले नयाँ पुस्ताको आशा, ऊर्जा र भविष्यको जिम्मेवारी रक्षा गर्नुपर्छ”, उनले भने । 

राईले वर्तमान सरकार जेनजी पुस्ताको पनि अभिभावक भएको बताए । उनले सरकार पारदर्शी हुनुपर्ने उल्लेख गर्दै मुलुक सङ्कटमा परेको अहिलेको समयमा एकता र सहकार्य महत्त्वपूर्ण भएको धारणा राखे । 

धर्नामा सहभागी मदन कार्कीले जेनजीका नाममा विभिन्न पार्टी वा समूहमा लागेर विभाजन नहुन आग्रह गर्दै देशभरका जेनजीहरु एकजुट हुन आह्वान गरे ।

“मुलुकभरका सबै जेनजीहरु एकजुट हुन आवश्यक छ, यसका लागि सरकारले हामीलाई सहयोग गर्नुपर्छ, जेनजी एकजुट हुन सरकारको साथ आवश्यक छ”, जेनजी आन्दोलनका घाइते समेत रहेका कार्कीले भने ।

धर्नामा सहभागीहरूले ‘जेनजीका माग पूरा गर’, ‘शहीदको रगत नबिर्स’, ‘देशका घाउ, हाम्रो जिम्मेवारी’, ‘शहीदहरूको सपना पूरा गर्नु हाम्रो जिम्मेवारी’, ‘राष्ट्र पहिले अहङ्कार पछि’, ‘देश दुःख्दा मौन नबसौँ, एक हौँ’ लेखिएका प्लेकार्ड र राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए । धर्नामा जेनजी आन्दोलनका घाइते, शहीद परिवारको पनि सहभागिता थियो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यसले उठाएका माग पूरा गर्नका लागि सरकारलाई दबाब दिने उद्देश्यले उनीहरुले धर्ना दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप