बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

छठको तयारीमा स्थानीय हाटबजारमा भिड

शुक्रबार, ०७ कात्तिक २०८२, २१ : ०६
शुक्रबार, ०७ कात्तिक २०८२

सिरहा । लक्ष्मीपूजाको छैटौँ दिन अर्थात् कात्तिक शुक्ल षष्ठीका दिनदेखि सुरु हुने छठ पर्व नजिकिँदै गर्दा सिरहासहित मधेस प्रदेशका विभिन्न स्थानका स्थानीय बजारहरूमा किनमेलको चहलपहल बढेको छ ।

लहान नगरपालिका–५ स्थित नयाँ बजारको साप्ताहिक हटियामा शुक्रबार बिहानदेखि नै छठ पूजाका सामग्री किन्ने भक्तजनहरूको ठुलो भिड देखिएको छ ।

बाँस, माटो, फलफूल र हरियो तरकारीसहितका सामान खरिद गर्न आएका श्रद्धालुहरूका कारण बजार दिनभरै खचाखच रहेको थियो ।

छठ पर्वका लागि आवश्यक बाँसका कोनिया, ढाकी, नाङ्लो, माटोका हात्ती, दियोलगायत सामग्रीका साथै केरा, नरिवल, उखु, भोगटे, हरियो बोडी, मुला, अदुवाको बोट र अन्य पूजा सामग्रीको बिक्री व्यापक रूपमा भएको छ । व्यापारीहरूले पनि यो पर्वलाई लक्षित गर्दै पर्याप्त मात्रामा सामग्री भण्डारण गरेका छन् ।

सिरहा, धनुषा, सप्तरी, महोत्तरी, सर्लाहीलगायत जिल्लाहरूमा अहिले छठ पर्वको रौनक फैलिएको छ । बजारहरू रङ्गीन वस्तु, पूजा सामग्री र पारम्परिक मिठाइहरूले सजिएका छन् भने नदीघाट र पोखरीहरूमा बर्तालुहरूले घाट सफा गर्ने र सजाउने तयारी सुरु गरेका छन् ।

लहान–५ को स्थानीयवासी पार्वती चौधरीले भिनन्,“छठ हाम्रो संस्कृति र आस्थाको पर्व हो । चार दिन उपवास गरेर सूर्य भगवान्लाई अर्घ्य दिँदा मन शुद्ध र परिवार सुखी हुने विश्वास छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप