पुससम्म नयाँ संसद् भवन निर्माण नसकिए कृषि समिति हलबाट राष्ट्रियसभा सञ्चालनको पूर्वतयारी
सारांश
- संघीय संसद सचिवालयले नयाँ संसद् भवन पुससम्म नबने कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलबाट बैठक चलाउने तयारी थालेको छ।
- नयाँ बानेश्वरस्थित संसद् भवन आगजनीबाट ध्वस्त भएपछि राष्ट्रियसभा बैठक सञ्चालनका लागि वैकल्पिक स्थान खोजिँदैछ।
- सचिवालयले राष्ट्रियसभाको बैठकका लागि कृषि समितिको हललाई तयार पार्ने र पुरानो प्रतिनिधिसभा भवन प्रबलीकरण गर्ने विकल्पमा काम गरिरहेको छ।
काठमाडौँ । सिंहदरबार परिसरमा बनिरहेको नयाँ संसद् भवन पुससम्म बनिनसकेमा प्रतिनिधिसभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलबाट चलाउने पूर्वतयारी संघीय संसद् सचिवालयले सुरु गरेको छ । नयाँ वानेश्वरस्थित संसद् भवन जेनजी आन्दोलनका क्रममा आगजनी गरेर ध्वस्त बनाइएपछि राष्ट्रियसभा सञ्चालन कहाँबाट गर्ने भनेर स्थानको खोजीमा सचिवालय लागेको हो ।
सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रियसभा सञ्चालनका लागि अब दुई विकल्प रहेको बताए । ‘स्थायी सभाका रूपमा रहेको राष्ट्रियसभा सञ्चालनका लागि हामीसँग दुई विकल्प छन् । एउटा सिंहदरबार परिसरमा बन्न लागेको नयाँ संसद् भवन, यदी त्यो भवन समयमा बन्न सकेन भने तत्कालका लागि वैकल्पिक स्थान,’ प्रवक्ता गिरीले रातोपाटीसँग भने, ‘नयाँ संसद् भवन बन्ने नबन्ने यकिन नभएकाले तत्कालका लागि न्यूनतम पूर्वाधारसहित सञ्चालन गर्न कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलबारे पूर्वतयारी थालेका छौँ ।’
नयाँ वानेश्वरमा संसद् भवन नहुँदासम्म राष्ट्रियसभा बैठक त्यही हलबाट चलाइन्थ्यो । प्रवक्ता गिरीले विकल्पका रूपमा तयार पार्ने की भनेर पूर्वतयारीमा मात्रै सचिवालय लागेको बताए ।
राष्ट्रियसभाको अधिवेशन अन्य भएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाइसक्नु पर्ने कानुनी व्यवस्था छ । गत भदौ ३१ गते अघिल्लो अधिवेशन स्थगित भएकाले फागुनसम्म सरकारले अधिवेशन बोलाउनै पर्ने हुन्छ । त्यो भन्दा अगाडि नै सरकारले अधिवेशन बोलायो भने कहाँबाट सञ्चालन गर्ने भनेर सचिवालय न्यूनतम पूर्वाधारसहित कृषि समितिको हललाई तयार पार्ने पूर्वतयारीमा लागेको हो ।
जेनजी आन्दोलनपछि गत भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि नयाँ निर्वाचन तोकिएको छ । त्यो भन्दा अगाडि ५९ सदस्यीय राष्ट्रियसभा बैठक सरकारले बोलाइहालेमा कहाँ बसाल्ने भनेर आफूहरू पूर्वतयारीमा लागेको गिरीले बताए ।
आफूहरूको पहिलो प्राथमिकता सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संसद भवन भएको तर त्यो बनिनसकेकाले बढी उपयुक्त कृषि समितिको हल नै हुने देखेर गिरीले बताए ।
सचिवालयले विकल्पका रूपमा २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबार परिसरमा रहेको पुरानो प्रतिनिधिसभा भवन पनि प्रबलीकरणको काम गरिरहेको छ ।
न्यूनतम खर्चमा युट्युबमा लाइभ गर्न सकिने र दर्शकहरूलाई अवलोकन गराउन सक्नेगरी प्राविधिक तथा भौतिक पूर्वाधार कसरी तयार पार्ने भन्नेबारे सचिवालय छलफल रहेको गिरीको भनाइ छ । नयाँ संसद भवन बनेपछि सार्न मिल्नेगरी कृषि समितिको हललाई तयार कसरी पार्ने भन्ने विषयमा सचिवालयले छलफल थालेको हो ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभा बैठक कहाँ बस्ने भन्ने विषयमा तिहार अघि छलफल गरेका थिए ।
नयाँ संसद् बनाइसक्ने सम्झौता आगामी पुस १६ गतेसम्म छ । त्यो सम्झौताभित्र भवन निर्माण सम्पन्न गरेर ठेकेदार कम्पनीले बुझाएमा त्यतैबाट चलाउने नबुझाएमा तत्कालका लागि कृषि समिति हललाई तयार पार्ने सचिवालयको पूर्वतयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण