बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सामाजिक सुरक्षा कोष

सामाजिक सुरक्षा कोषमा आबद्धता अनिवार्य गर्ने सरकारको नीति अलपत्र

योगदानकर्ता थपिने सङ्ख्या गत वर्षभन्दा कम
सोमबार, १० कात्तिक २०८२, ०९ : ४२
सोमबार, १० कात्तिक २०८२

सारांश

  • चालु आर्थिक वर्षदेखि निजी क्षेत्रका प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने योजना अलपत्र परेको छ, सरकार परिवर्तनपछि कार्यान्वयन हुन सकेन ।
  • पहिलो त्रैमाससम्म सामाजिक सुरक्षा कोषमा नयाँ योगदानकर्ताको आबद्धता निराशाजनक देखिएको छ, रोजगारदाताको संख्या बढे पनि योगदानकर्ता घटेका छन् ।
  • कोषले हालसम्म ९३ अर्ब रुपैयाँ योगदान संकलन गरेको छ भने १७ अर्ब २१ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । चालु आर्थिक वर्षदेखि निजी क्षेत्रका प्रतिष्ठानलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने योजना अलपत्र परेको छ । जेनजी आन्दोलन र सरकार परिवर्तनपछि सरकारको योजना कार्यान्वयन नभएको हो । 

नीति तथा कार्यक्रममा जुनसुकै प्रकृतिका सेवा सर्तमा रोजगारीमा संलग्नहरूलाई अनिवार्य रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने गरी कोषको भूमिका र दायरालाई विस्तार गर्ने उल्लेख गरिएको छ । 

थप प्रस्ट पार्दै उक्त नीति तथा कार्यक्रमको बुँदा नम्बर ६१ मा  भनिएको छ, ‘कम्पनी, संस्था, सहकारी, फर्म वा अन्य सहकारी संस्थाको नवीकरण गर्दा श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराई नियमित योगदान गरेको प्रमाण पेस गर्नुपर्ने कानुनी व्यवस्था गरिनेछ ।’

अहिले आर्थिक वर्षको पहिलो त्रैमास महिना बितिसकेको छ । यो त्रैमास संगठित संस्थाको नवीकरण वा अद्यावधिक गर्ने मुख्य समय हो । 


यो अवधिसम्म अवधिमा सरकारले न त नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार सामाजिक सुरक्षा कोषको दायरा बढाउने कुनै निर्णय गरेको छ, न कुनै पनि निकायले सम्बन्धित कम्पनी, फर्म, सहकारी संस्था वा गैर नाफामूलक संस्थाहरूको नवीकरण वा अद्यावधिक गर्दा सम्बन्धित निकायले सामाजिक सुरक्षा कोषमा आबद्धताको प्रमाणपत्र नै मागेका छन् । 


संगठित संस्थाले सामान्य अवस्थामा आर्थिक वर्ष सकिएको तीन महिनाभित्र लेखापरीक्षण गराई सम्बन्धित कर कार्यालयमा कर दाखिला गरिसक्नुपर्ने व्यवस्था छ । यद्यपि यो अवधिमा सम्पन्न गर्न सक्ने अवस्थामा केही समय थप गर्न सकिने प्रावधान छँदैछ । यो वर्ष भने सरकारले यस्तो कर तिर्नुपर्ने समयलाई एकमुष्ट रूपमा एक महिना थप गरिदिएको छ । 

त्यसबाहेक कम्पनी रजिष्ट्रारको कार्यालय, जिल्ला प्रशासन कार्यालय, कल्याण परिषद्, सहकारी विभाग वा कार्यालयमा अद्यावधिक गर्नुपर्ने पुस मसान्तसम्म तोकिएको छ । यसका लागि अब करिब साढे २ महिना मात्रै बाँकी छ ।

तर यो अवधिसम्म अवधिमा सरकारले न त नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार सामाजिक सुरक्षा कोषको दायरा बढाउने कुनै निर्णय गरेको छ, न कुनै पनि निकायले सम्बन्धित कम्पनी, फर्म, सहकारी संस्था वा गैर नाफामूलक संस्थाहरूको नवीकरण वा अद्यावधिक गर्दा सम्बन्धित निकायले सामाजिक सुरक्षा कोषमा आबद्धताको प्रमाणपत्र नै मागेका छन् । 

अबको अवस्थामा चाहेर पनि यो नीति कार्यान्वयन हुनसक्ने अवस्था नरहेको सामाजिक सुरक्षा कोषका एक अधिकारी बताउँछन् । यो नीति कार्यान्वयनको लागि आर्थिक वर्ष अघि नै निर्णय गर्नुपर्नेमा नगरिएको र अहिलेको सरकारले समेत यो विषयमा चासो नदेखाएको ती अधिकारीको अनुभव छ । 

'हामीले अहिले पनि दायरमा आएका रोजगारदाता र श्रमिकको दर्ता गर्दै आएका छौँ, तर इन्फोर्समेन्ट गर्ने निकाय हामी होइनौँ,' ती अधिकारी भन्छन्, 'सरकारले नै निर्णय गरेर सामाजिक सुरक्षा कोषमा आबद्ध नभई संस्था नवीकरण नगर्न सम्बन्धित निकायलाई निर्देशन दिने हो, यसो भयो भने आबद्धता स्वतः बढ्छ ।'

  • योगदानकर्ताको आबद्धता निराशाजनक

पहिलो त्रैमास सकिँदासम्म सामाजिक सुरक्षा कोषमा नयाँ योगदानकर्ता श्रमिकको आबद्धता निराशाजनक देखिएको छ । तीन महिनाको अवधिमा १ हजार १२५ वटा रोजगारदाता संस्था र ३८ हजार ३७४ जना योगदानकर्ता थपिएको कोषले जनाएको छ । 

कोषको तथ्याङ्क अनुसार कात्तिक २ गतेसम्म आइपुग्दा कोषमा आबद्ध औपचारिक क्षेत्रका रोजगारदाताको सङ्ख्या ६ लाख ४० हजार १९९ पुगेको छ । गत असार मसान्तसम्म यो सङ्ख्या ६ लाख १ हजार ८२५ रहेको थियो ।

त्यस्तै यही हालसम्म २२ हजार ७६ रोजगारदाता आबद्ध भएका छन् । असार मसान्तमा जम्मा २० हजार ९५१ रोजगारदाताको आबद्धता रहको थियो । 

गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा रोजगारदाताको सङ्ख्या बढे पनि दर्ता भएका योगदानकर्ताको सङ्ख्या भने घटेको पाइएको छ । गत आर्थिक वर्षको तीन महिनाको अवधिमा ४६६ रोजगारदाता आबद्ध भएका थिए भने योगदानकर्ताको सङ्ख्या २५ हजार १४५ जना रहेको थियो । 

कोषले हालसम्म ९३ अर्ब रुपैयाँ योगदान सङ्कलन गरेको छ । हालसम्म १७ अर्ब २१ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको कोषले जनाएको छ ।

यो आर्थिक वर्षको पहिलो त्रैमासमा वैदेशिक रोजगारीमा जाने व्यक्तिको आबद्धता सङ्ख्या १९ लाख ३४ हजार ९४८ पुगेको छ । असार मसान्तसम्म यो सङ्ख्या १७ लाख ७१ हजार ५३७ रहेको थियो । यस अनुसार पहिलो त्रैमासमा १ लाख ६० हजार ४११ जनाको आबद्धता थपिएको देखिन्छ । गत वर्ष यही अवधिमा १ लाख ७१ हजार २८३ जनाको आबद्धता थपिएको थियो । 

वैदेशिक रोजगारीमा जान सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा आबद्ध हुनुपर्ने व्यवस्था गरिएकोले यो सङ्ख्या उल्लेख्य देखिन्छ । तर यसमा निरन्तर योगदान गर्नेको सङ्ख्या नगण्य मात्रै छ । त्यसबाहेक हालसम्म अनौपचारिक क्षेत्रका ७९४ जना  र स्वरोजगार क्षेत्रका ५३५ जनाको आबद्धता देखिन्छ । गत आवको पहिलो तीन महिनासम्म यो सङ्ख्या क्रमशः ३०३ र १९३ जना रहेको थियो ।

कोषले हालसम्म ९३ अर्ब रुपैयाँ योगदान सङ्कलन गरेको छ । हालसम्म १७ अर्ब २१ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको कोषले जनाएको छ । हालसम्म २ लाख ४६ हजार ७५८ पटक दाबी परेको र यसका लागि ८ लाख ६४ हजार ५७३ पटकमा सो बराबरको भुक्तानी दिइएको कोषको तथ्याङ्क छ ।

अहिले देशमा कति वटा संस्था सञ्चालनमा छन् भन्ने यकिन तथ्याङ्क सरकारसँग छैन । तर २०७५ सालमा गरिएको आर्थिक जनगणनामा देशमा ९ लाख २२ हजार व्यवसाय अस्थित्वमा रहेको देखिएको थियो । अहिलेसम्म सामाजिक सुरक्षाको आबद्धता हेर्ने हो भने करिब ४ प्रतिशत रोजगारदाता मात्रै कोषमा आबद्ध भएको पाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप