बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुटपाट, तोडफोड एवं आगजनीमा संलग्नलाई कारबाही गर्न महासंघको आग्रह

सोमबार, १० कात्तिक २०८२, १५ : ००
सोमबार, १० कात्तिक २०८२

सारांश

  • नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनमा भएको लुटपाट र आगजनीमा संलग्नमाथि कारबाहीको माग गरेको छ।
  • महासंघले निजी क्षेत्रको मनोबल कमजोर भएको र दण्डहीनता बढेकोमा चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएको छ।
  • महासंघले निजी क्षेत्रको सुरक्षा र लगानीको वातावरण बनाउन सरकारसँग समन्वयको अपेक्षा गरेको छ।

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएको उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारबाही अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ ।

महासंघले आन्दोलनमा लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरूको जाहेरी नै नलिएको सदस्यहरूबाट गुनासो आइरहेको हुँदा यसले समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साहित हुने उल्लेख गर्दै यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।

महासंघले यी घटनाले निजी क्षेत्रको मनोबल कमजोर पार्ने मात्र नभई आर्थिक क्रियाकलाप मै नकारात्मक असर पु-याएको जनाएको छ ।

‘घटनाका दोषीहरूमाथि जाहेरी दर्ता नलिने र कारबाहीमा उदासीनता देखिएको सदस्य व्यवसायीहरूबाट जानकारी प्राप्त भइरहेको र यस्तो अवस्था कायम रहे यसले दण्डहीनता बढ्न गई लगानीको वातावरणलाई गम्भीर चुनौती दिने देखिन्छ । यसले रोजगारी सिर्जना, राजस्व संकलन, लगानी प्रवर्द्धन र समग्र अर्थतन्त्रमा नै दीर्घकालीन असर पार्ने छ,’ महासंघद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै महासंघले सबै तहमा सरकार निजी क्षेत्र समन्वय र मुख्य गरी जिल्लास्तरीय सुरक्षा योजना, जोखिम मुल्यांकन र आकस्मिक निर्णय प्रक्रियामा पनि व्यावसायिक समुदाय प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न महासंघले समितिमा आफ्नो र सदस्य संघहरुको सहभागिताका लागि आग्रह गरेको हो ।

आइतबार महासंघका पदाधिकारी, स्थायी समिति तथा समिति/फोरमका सभापतिहरू सम्मिलित छलफलमा महासंघका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठले शान्ति सुरक्षा नभई स्थायित्व नहुने, स्थायित्व नभई उद्यम व्यवसाय सञ्चालन हुन नसक्ने र उद्यम व्यवसाय सञ्चालन नहुँदा अर्थतन्त्रमै गम्भीर समस्या उत्पन्न हुने हुँदा व्यवसायीको शान्ति सुरक्षा अपरिहार्य सर्त भएको बताए ।  

उनले दण्डहीनता अन्त्य गरी भविष्यमा पनि उद्यम व्यवसायीमाथि आक्रमण नहुने सुनिश्चितता गरिनुपर्ने बताए । उनले समाजमा थप अन्योल र अनिश्चितताको वातावरण बन्न नदिन र दण्डहीनताको अन्तको लागि दोषीमाथि छानबिन गरी कारबाहीको गर्नु पर्ने बताए ।

महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले देशको आर्थिक गतिविधिलाई दिगो रूपमा अगाडि बढाउन, लगानीको वातावरण  विश्वसनीय बनाउन तथा निजी क्षेत्र आत्मविश्वासपूर्वक क्रियाशील रहन सक्ने अवस्था सिर्जना गर्न निजी क्षेत्रले सरकारको सक्रियता अपेक्षा गरेको बताए । यस्तै उनले अहिलेको अवस्थामा शान्ति सुरक्षा कायम गरी स्थायित्वतर्फ लैजान र उद्योगी व्यवसायीहरुको मनोबल उठाउनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए ।

छलफलका क्रममा देशको अर्थतन्त्र र रोजगारीमा महत्वपूर्ण हिस्सा राख्ने निजी क्षेत्रमाथिको आक्रमणले उद्यमी व्यवसायी निरुत्साहित भएको भन्दै चिन्ता व्यक्त गरे ।  उद्यमी व्यवसायीले निर्वाध रुपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सम्पूर्ण सम्बन्धित सबै सरोकारवालाहरुको ध्यानाकर्षण गराइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप