फेरि कसले बनाइदिन्छ सिंहदरबार, बारबरा फाउन्डेसन कि दलाई लामा ?
सारांश
- लेखमा जेनजी विद्रोह र आन्दोलनलाई दिशाहीन बनाउने षड्यन्त्र भइरहेको कुरा उल्लेख छ।
- आन्दोलनमा घुसपैठ, राज्यको दमन, र सिंहदरबार जलाउने घटनाबारे चर्चा गरिएको छ।
- लेखले २३ र २४ गते भएका घटनालाई अलग गर्न नहुने र दोषीलाई कारबाहीको माग गरेको छ।
इतिहासले सङ्घर्षको माग गर्छ । सङ्घर्षमा त्याग, समर्पण र बलिदान हुने गर्छ । हो त्यही त्याग समर्पण र बलिदानलाई ठिक ढङ्गले मर्म बोध गरेर मात्रै समाज र देशलाई ठिक दिशा प्रदान गर्न सकिन्छ । विश्वभरि नयाँ तरङ्ग दिँदै नेपाली सत्ता राजनीतिको तख्ता पलट गरेको जेनजी विद्रोह र आन्दोलन सम्पन्न नहुँदै यसलाई दिशाहीन बनाउने षड्यन्त्र भइरहेको छ ।
नौजवान युवाहरूले गरेको आन्दोलनमा व्यापक घुसपैठ भएको छ । राज्यले निर्ममतापूर्वक दमन गरेर गम्भीर गल्ती गर्यो । देशी–विदेशी प्रतिगामी तत्त्वले घुसपैठ गरेर आन्दोलनलाई विध्वंसक बनाए । जेनजीले नेतृत्व गरे पनि त्यो आन्दोलन परिवर्तनकारी सोच भएका समग्र नेपाली जनताको आन्दोलन थियो ।
त्यो आन्दोलनमा अभिव्यक्त भएको नेपाली जनताको क्रान्तिकारी भावना विभिन्न स्वार्थ समूहले आफ्नै ढङ्गले व्याख्या र विश्लेषण गरिरहेका छन् ।
यसरी २३ र २४ गते भएको आन्दोलनलाई अलग गर्नु सहिद, घाइते, नौजवान युवाहरू र तिनका सपना माथिको खेलबाड हो ।
नक्कली जेनजीको एउटा समूहले २४ गते जलाएको सिंहदरबार जतिपटक पनि बनाउन सकिने तर २३ गते ढलेका नौजवान युवाहरू फिर्ता गर्न नसकिने भनेको सुनिँदै छ । यो आंशिक सत्य हो । यस्तो तर्कमा २४ गते देश र जनताको इतिहास र वर्तमानमाथि गरिएको बर्बरतापूर्ण अपराधको ढाकछोप गर्ने अभीष्ट छ ।
यसरी २३ र २४ गते भएको आन्दोलनलाई अलग गर्नु सहिद, घाइते, नौजवान युवाहरू र तिनका सपना माथिको खेलबाड हो । सिंहदरबार जलाउने कार्य सामान्य होइन । हाम्रो पुर्खाको गाँस काटेर बनाएको हो सिंहदरबार । शिक्षा र स्वास्थ्यको बजेट कटौती गरेर बनाइएको हो सिंहदरबार ।
खाडीको ५६ डिग्रीमा पसिना बगाउने मजदुरको पनि सिंहदरबारमा लगानी थियो । भारतमा कुल्ली र दरवानको काम गरेर आउने नेपाली मजदुरको पनि लगानी थियो सिंहदरबारमा ।
२४ गते केवल सिंहदरबार मात्रै जलेको होइन । संसद् भवन, सर्वोच्च अदालत र निजी सम्पत्ति पनि जलेका हुन् । ऐतिहासिक दस्ताबेज जलेका छन् । कतिपय निर्दोष नागरिकले दुःख गरेर जम्मा गरेको निजी सम्पत्ति र संरचना जलेका छन् ।
युद्धविराम र विस्तृत शान्ति सम्झौतामार्फत विश्वमा उठ्दै गरेको हाम्रो छवि धुमिल बन्यो । पुर्खाले हाम्रा लागि दिएको इतिहासको धरोहर जल्यो । जेन अल्फालाई हामीले अब के दिने ? भावी पुस्तालाई दिनका लागि हामीसँग बचेको जम्माजम्मी त्यही खरानीको थुप्रो छ । त्यही दिने ?
राज्यको प्रत्यक्ष दमनमा मारिएका नौजवान युवाहरूको रगत र अप्रत्यक्ष रूपमा सिंहदरबार बनाउन बगेको नेपाली जनताको रगत एउटै हो ।
न्यायको आसमा सर्वोच्च अदालत पुगेका हजारौँ पीडितहरूको मिसिलसँगै सपना जल्यो ? जेल तोडेर निस्केका अपराधीहरूको आतङ्कले समाजको शान्ति सुरक्षा जलिरहेको छ ।
फेरि कसले बनाइदिन्छ सिंहदरबार ? बारबरा फाउन्डेसनले बनाइदिन्छ ? कि दलाई लामाले बनाउने हो ? दया गरेर कुनै विदेशी दाताले बनाइदिने हो र हाम्रो सिंहदरबार ? हरेक दिन बाकसमा लास बनेर फर्किन तयार खाडीमा काम गर्ने मजदुरले पठाएको रेमिट्यान्स बाट बनाउने होइन र ?
दुई किलो युरिया मलका लागि छटपटिँदै यही देशमा कृषि कर्म गरिरहेको कृषकले तिर्ने करबाट बन्ने होइन र ? अनिश्चित भविष्य बोकेर यही देशमा दुःख गरिरहेका मजदुरले तिर्ने करबाट बन्ने होइन र सिंहदरबार ? राज्यको प्रत्यक्ष दमनमा मारिएका नौजवान युवाहरूको रगत र अप्रत्यक्ष रूपमा सिंहदरबार बनाउन बगेको नेपाली जनताको रगत एउटै हो ।
त्यसैले २३ गतेको आन्दोलनका दमनकारी र २४ गतेको सिंहदरबार जलाउने अपराधी समान दण्डका भागीदार हुन् ।
नेपाली इतिहासमा पटक–पटक क्रान्तिका निम्ति ठुलठुला आन्दोलन भएका छन् । अधिकांश आन्दोलन सम्झौतामा गएर टुङ्गिएको भेटिन्छ ।
काण्डै काण्ड मच्चाएर देशको अर्थतन्त्रमा ब्रह्मलुट गर्नेहरूको छानबिन हुनुपर्छ । जनतालाई सेवा होइन सास्ती दिएर आक्रान्त बनाउने कुशासनका ठेकेदारहरूको हिसाब किताब निकाल्नैपर्छ । दुई तिहाइको दम्भमा जनतालाई हेप्ने र आन्दोलनलाई दमन गर्ने निरङ्कुश शासकलाई कानुनको दायरामा ल्याउनै पर्छ ।
सामाजिक सञ्जाल एक्कासि बन्द गराएर जेनजी विद्रोहको वातावरण बनाउने काम कसले किन गर्यो ? खोजी गर्नु पर्छ । युवाहरूको विद्रोहलाई एकातिर खेलाँची ठान्ने अर्कोतिर निर्ममतापूर्वक दमन गर्न निर्देशन दिने सबैलाई एक–एक गरेर कारबाही गर्नु पर्छ । त्यसैले २४ गतेको घटनामा कोही संलग्न छ भने ती दोषीलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउनु पर्छ ।
नेपाली इतिहासमा पटक–पटक क्रान्तिका निम्ति ठुलठुला आन्दोलन भएका छन् । अधिकांश आन्दोलन सम्झौतामा गएर टुङ्गिएको भेटिन्छ । यथास्थितिवादी र प्रतिगामी तत्त्वले आन्दोलनको मर्मलाई कुनै पनि हिसाबले पूरा हुन दिँदैनन् ।
बरु आन्दोलनको लक्ष्य र उद्देश्यको अपव्याख्या गर्ने, आन्दोलनको चरित्रलाई बङ्ग्याउने र आन्दोलनकारीलाई बदनाम गर्ने खेल भेटिन्छ । आन्दोलनकारी शक्तिलाई कमजोर पार्ने, फुट र विभाजन गराउने खेल निरन्तर चलिरहन्छ ।
आज जेनजी पुस्तालाई मात्रै होइन सिङ्गो परिवर्तनकारी शक्तिलाई कमजोर पार्न अनेक हतकण्डा अपनाएको देखिन्छ । त्यसैले जेनजी विद्रोह र आन्दोलन पक्षधर शक्तिहरूको बुझाइमा एकरूपता ल्याउनु आजको एउटा मुख्य दायित्व हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण