प्रश्न उठेका र काम नगर्ने मन्त्रीलाई तत्काल फिर्ता बोलाउन एमालेको दबाब
सारांश
- एमाले नेता शेरधन राईले कोशी प्रदेश सरकारका विवादित मन्त्रीहरूलाई फिर्ता बोलाउन कांग्रेसलाई आग्रह गरेका छन्।
- राईले सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन आवश्यक रहेको र एमालेका नेताहरूको सम्पत्ति छानबिन गरिने बताए।
- उनले जेनजी पुस्ताको आन्दोलनलाई देशी-विदेशी शक्तिले हाइज्याक गरेको र एमालेले कोशी प्रदेशबाट आन्दोलन सुरु गरेको बताए।
विराटनगर । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारका विवादित र काम गर्न नसक्ने मन्त्रीलाई तत्कालै फिर्ता बोलाउन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।
गएको साउन महिनायता मन्त्रीपरिषद् पुनर्गठनको चर्चा भइरहे पनि प्रदेश सरकारका कतिपय विवादित मन्त्रीहरूलाई अझै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हटाउन नसकेको आरोप लागिरहेको छ । बुधबार प्रेस चौतारी नेपाल मोरङद्वारा एमाले कार्यालय विराटनगर पाञ्चालीमा आयोजित पत्रकार सम्मेलनमा इन्चार्ज राईले विवादित मन्त्रीहरूलाई एक सेकेण्ड पनि ढिला नगरी फिर्ता बोलाउन सम्बन्धित दललाई आग्रह गरेका छन् ।
सरकारलाई थप प्रभावकारी र जनउत्तरदायी बनाउन मन्त्रिपरिषद् हेरफेर आवश्यक रहेको बताउँदै उनले आफ्नो दलले गठबन्धनका अन्य साझेदारहरूलाई कार्यसम्पादनमा कमजोर देखिएका र प्रश्न उठेका मन्त्रीहरूलाई फिर्ता बोलाउन आग्रह गरिसकेको जानकारी दिए । ‘हामीले हाम्रा साझेदारहरूलाई स्पष्ट भनेका छौँ, सावधानीपूर्वक चुकेका मन्त्रीहरूलाई फिर्ता बोलाउनुहोस् र नयाँ अनुहार पठाउनुहोस्,’ उनले भने ।
यही विषयमा केही दिनभित्रै सत्ता साझेदार दल नेपाली काँग्रेससँग अन्तिम पटक छलफल गर्ने जनाउँदै उनले काँग्रेसले आफ्ना मन्त्री फिर्ता बोलाउन आनाकानी गरे मुख्यमन्त्रीले नै सरकारलाई चुस्त बनाउन आवश्यक कदम चाल्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्ने सङ्केत गरे । ‘प्रश्न उठेका र काम गर्न नसकेका मन्त्रीहरूलाई एक सेकेन्ड पनि ढिला नगरी फिर्ता बोलाएर नयाँ व्यक्तिलाई सरकारमा पठाउनुपर्छ,’ उनले भने । उनले एमालेका मन्त्रीहरूबारे पनि मूल्याङ्कन गरेर सम्पूर्ण मन्त्रिपरिषद् नै पुनरावलोकनको दायरामा आउन सक्ने सङ्केत गरे ।
अर्को प्रसङ्गमा उनले हालको सङ्घीय सरकारलाई ‘असंवैधानिक’ रहेको बताए । राईले जेनजी पुस्ताको शान्तिपूर्ण आन्दोलनलाई देशी–विदेशी शक्तिले ‘हाइज्याक’ गरी हिंसात्मक बनाएर सत्ता कब्जा गरेको आरोप लगाउँदै संसद् पुनर्स्थापनाको मागसहित आन्दोलनमा जाने निर्णय भएको बताए ।
एमालेले सुशासन र भ्रष्टाचारविरुद्धको लडाइँलाई आन्तरिक शुद्धीकरणबाटै सुरु गर्ने घोषणासमेत गरे । उनले २०४६ सालको राजनीतिक परिवर्तनपछि लाभको पदमा पुगेका एमालेका सबै नेता–कार्यकर्ताको सम्पत्ति छानबिन गर्ने ऐतिहासिक निर्णय भएको दाबी गरे ।
राईले गत भदौ २३ र २४ गतेको घटनालाई विश्लेषण गर्दै जेनजी पुस्ताले सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल नियमनसम्बन्धी सरकारी निर्णय सच्याउन माग गर्दै सुरु गरेको शान्तिपूर्ण आन्दोलन जायज भएको बताए । ‘जेनजी पुस्ताको शान्तिपूर्ण आन्दोलनलाई भड्काएर, त्यसलाई हाइज्याक गरेर, कब्जा गरेर मुलुकलाई हिंसा, हत्या, अराजकता, लुटपाट र आगजनी तर्फ धकेलियो,’ उनले भने ।
उनले यो घटना एक–दुई दिनको नभई लामो र सुनियोजित षड्यन्त्रको परिणाम भएको दाबी गरे । ‘यो घटना देशी–विदेशी शक्तिहरूले योजनाबद्ध ढंगबाट घटाएका हुन्, जसको उद्देश्य जननिर्वाचित सरकारलाई अपदस्थ गरी संविधान र लोकतन्त्रमाथि हमला गर्नु थियो,’ राईले भने ।
राईले एमालेले आफ्नो दशौँ केन्द्रीय कमिटी बैठकबाट एक महत्त्वपूर्ण र साहसिक निर्णय गरेको जानकारी दिए । ‘हामीमाथि लगाइएका भ्रष्टाचारका आरोपहरूको जवाफ दिन र क्लिन चिट लिन चाहन्छौँ,’ राईले भने, ‘यो प्रदेशमा छानबिनको सुरुवात मबाटै होस् भनेर म आह्वान गर्न चाहन्छु ।’ उनले आफू तीन पटक माननीय र साढे तीन वर्ष मुख्यमन्त्री भएको स्मरण गर्दै छानबिनका लागि तयार रहेको बताए ।
एमालेले कोशी प्रदेशबाट आफ्नो आन्दोलनको अभियान सुरु गरिसकेको जनाएको छ । इन्चार्ज राईका अनुसार प्रदेशका १४ वटै जिल्लामा कार्तिक २५ गतेभित्रमा विस्तारित बैठक र अगुवा कार्यकर्ता भेला सम्पन्न गरिनेछ । मोरङ र तेह्रथुमबाट यो अभियान सुरु भइसकेको छ । ‘हामी कोशी प्रदेशमा रहेका सवा लाख पार्टी सदस्यहरूलाई परिचालन गर्दैछौँ,’ उनले भने, ‘बैठक र भेला सम्पन्न भएपछि प्रदेश राजधानी र सबै जिल्ला सदरमुकाममा विशाल मोटरसाइकल र्याली र जनप्रदर्शनका कार्यक्रमहरू आयोजना गरिनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण