बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अध्ययन प्रतिवेदन

वीरेन्द्रनगरः सार्वजनिक यातायात प्रणाली अस्तव्यस्त, अटोरिक्साको रजगज

यात्रुलाई सास्ती, नगर बसको माग उच्च
बुधबार, १२ कात्तिक २०८२, १८ : ००
बुधबार, १२ कात्तिक २०८२

सारांश

  • कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सार्वजनिक यातायात अव्यवस्थित रहेको एक अध्ययनले देखाएको छ।
  • अध्ययनले अटोरिक्सामाथिको अत्यधिक निर्भरता, भाडादरको मनोमानी र ट्राफिक जामको समस्या औंल्याएको छ।
  • अध्ययनले अटोरिक्सा र नगर बसलाई पूरकका रूपमा व्यवस्थित गर्न र वैज्ञानिक रुट तथा भाडा निर्धारण गर्न सुझाव दिएको छ।

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सार्वजनिक यातायात प्रणाली वर्तमानमा अव्यवस्थित र चुनौतीले भरिएको एक अध्ययनले देखाएको छ ।

ऋति फाउन्डेसन नामक संस्थाले ‘वीरेन्द्रनगरमा सार्वजनिक यातायातको अवस्था र व्यवस्थापन’ विषयमा एक अध्ययन गरेको हो । उक्त अध्ययन प्रतिवेदनले प्रदेश राजधानीको सार्वजनिक यातायातको अवस्था निकै जर्जर रहेको निष्कर्ष निकालेको छ । 

अध्ययनले सहरमा अटोरिक्सामाथिको अत्यधिक निर्भरता, यसका समस्याहरू र व्यवस्थित नगर बस प्रणालीको लागि जनचाहनालाई उजागर गरेको छ । 

अध्ययन प्रतिवेदनअनुसार वीरेन्द्रनगरमा हाल सार्वजनिक यातायातको मुख्य आधार अटोरिक्सा बनेको छ, तर यसको सञ्चालन अव्यवस्थित, भाडादर मनोमानी र ट्राफिक जामको समस्याले यात्रुहरूले असुविधा र असुरक्षित यात्राको सामना गर्नुपरेको छ । 

‘अटोरिक्सा र नगर बस दुवैको विशिष्टतालाई स्वीकार गर्दै एक–अर्काका पुरकका रूपमा व्यवस्थित गर्ने पुरक प्रणाली नै वीरेन्द्रनगरका लागि उपयुक्त हुन्छ,’ अध्ययनको निष्कर्ष छ । यस प्रणालीमा मुख्य ठुला रुटहरूमा नगर बस सञ्चालन गरी सहायक रुट र भित्री क्षेत्रमा अटोरिक्सालाई व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने सुझाव दिइएको छ । 

अटोरिक्साको एकाधिकार र चुनौती

वीरेन्द्रनगरमा सार्वजनिक यातायातको एउटै मात्र माध्यम अटोरिक्सा हुनुले एकाधिकारको सम्भावना बढेको छ । गत साउन ४ गतेसम्म वीरेन्द्रनगर नगरपालिकाबाट १ हजार २४९ वटा अटोरिक्साले बाटो इजाजतपत्र लिएका छन्, जुन निर्देशिकाले तोकेको संख्या (८००) भन्दा धेरै हो । राजधानी वीरेन्द्रनगरमा ०७४ सालदेखि अटोरिक्सा सञ्चालनमा आएको प्रतिवेदनमा उल्लेख छ । 

आर्थिक वर्ष ०७४/०७५ तिर ३७१ वटा अटोरिक्सा मात्रै वीरेन्द्रनगरमा सञ्चालन भएका थिए । ७ वर्षको अवधिमा यो चार गुणाले वृद्धि भएको छ । अझ यातायात व्यवस्थापन कार्यालय सुर्खेतमा भने कुल १८८४ वटा अटोरिक्सा दर्ता भएका छन् । यसले अटोरिक्साको संख्या मागभन्दा बढी छ । 

मनोमानीले दुर्घटना जोखिम

अटोरिक्सा मनोमानी तरिकाले चल्छन् । उनीहरूले प्रायः ट्राफिकको नियम नै पालना गरेको देखिन्न । जसले गर्दा दुर्घटनाको जोखिम उत्तिकै छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको तथ्यांकले अटोरिक्साको अव्यवसायिकतालाई पुष्टि गर्छ । 

auto-rikkk

आर्थिक वर्ष २०८१/८२ मा सुर्खेतमा ७४ वटा अटोरिक्सा दुर्घटनामा परेका छन् भने ४८८ पटक चालक अनुमतिपत्र (लाइसेन्स)बिना सवारी चलाएको पाइएको छ । यसबाहेक १०३ पटक चालकहरू मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा कारबाहीमा परेका थिए । अध्ययन प्रतिवेदनले भन्छ—‘ट्राफिक नियमको कमजोर पालना, लाइसेन्सबिनाका चालक, सवारी साधनको अव्यवस्थित पार्किङ र सडकको दुरवस्थाले यातायात सुरक्षामा गम्भीर चुनौती थपेको छ ।’

इन्धनबाट चल्ने अटोरिक्साको बढ्दो संख्याले वायु र ध्वनि प्रदूषणको समस्या पनि बढाइरहेको अध्ययनले औंल्याएको छ । वीरेन्द्रनगरको सडक पूर्वाधारको अवस्था पनि सन्तोषजनक नरहेको प्रतिवेदनले निष्कर्ष निकालेको छ । 

वीरेन्द्रनगर नगरपालिकाले उपलब्ध गराएको तथ्यांकअनुसार वीरेन्द्रनगरमा कुल ६६४.७३३ किलोमिटर सडक सञ्जाल छ । त्यमध्ये २४.२१ प्रतिशत मात्र कालोपत्र वा आरसीसी पिच गरिएको छ, जबकि ३६.६४ प्रतिशत ग्राभेल र ३९.०६ प्रतिशत कच्ची अवस्थामा छन् । यो तथ्यांक ०७९/८० सम्मको हो । त्यसपछिका दुई वर्षका राजधानीमा सडक विकासले कोल्टे फेरेको छ । 

उपत्यकाका अधिकांश सडकहरू कालोपत्रे भएका छन् भने दर्जनभन्दा बढी सडक निर्माणको चरणमा छन् । यद्यपि व्यवस्थित बस स्टप, यात्रु प्रतीक्षालय र पर्याप्त पार्किङस्थल अभावले समग्र यातायात प्रणालीको प्रभावकारितामा बाधा पुर्‍याएको प्रतिवेदनले भनेको छ । 

यात्रु मारमा, नियमन चुनौती

ऋति फाउन्डेसनले सर्वेक्षण गरेर एउटा अध्ययन गरेको थियो । सर्वेक्षणमा सहभागीमध्ये ४६.४५ प्रतिशतले सार्वजनिक यातायातको गुणस्तरलाई सामान्य बताएका छन् भने करिब ४० प्रतिशले कमजोर वा अत्यन्त कमजोर भनेका छन् ।

auto-photo

यात्रुहरूले सामना गर्ने मुख्य समस्याहरूमा महँगो भाडा (८२.३ प्रतिशतले अनुभव गरेको), सवारीको अनियमित समय, भीडभाड, महिलामैत्री सेवाको अभाव, र चालकको खराब व्यवहार रहेका छन् । ‘भित्री सडकमा बार्गेनिङ गर्नुपर्ने र थाहा नभएका यात्रुहरूलाई ठग्ने समस्या बढ्दो छ,’ सेवा ग्राहीहरूले भनेका छन् । 

अटोरिक्सा चालकहरूको मनमानी भाडादरले यात्रुहरू मर्कामा परेका छन् । नियमनकारी व्यवस्था भए पनि व्यवहारमा कार्यान्वयन नहुँदा यात्रुहरूले बार्गेनिङ गर्नुपर्ने र महँगो भाडा तिर्नुपर्ने बाध्यता रहेको औंल्याएको छ ।

अध्ययन अनुसार, वीरेन्द्रनगरमा अटोरिक्सा चालकहरूले आफूखुसी भाडा असुल्छन् । ‘सामान्यतया एक चोकबाट अर्को चोकसम्म २० देखि ५० रुपैयाँसम्म भाडा लिइन्छ, तर भित्री सडकहरूमा ५० भन्दा कममा भाडा पाइँदैन,’ यात्रुहरू गुनासो गर्छन् । सर्वेक्षणमा सहभागीमध्ये ८२.३ प्रतिशत यात्रुहरूले भाडा महँगो भएको बताएका छन् ।

सार्वजनिक यातायात छनोट गर्दा ६२ प्रतिशत यात्रुहरूले भाडा सस्तो हुनुपर्नेलाई प्रमुख प्राथमिकतामा राखेका छन् ।

वीरेन्द्रनगर नगरपालिकाले ‘अटोरिक्सा तथा ई–रिक्सा व्यवस्थापन निर्देशिका २०७५’ अनुसार भाडादर निर्धारण गरेको छ । निर्देशिका अनुसार पिच सडकमा प्रतियात्रु न्यूनतम २० र त्यसपछि प्रतिकिलोमिटर ५ थप हुने तथा कच्ची सडकमा प्रतिकिलोमिटर १० थप हुने व्यवस्था छ । यद्यपि, यो तोकिएको भाडादर व्यवहारमा लागू नभएको र बढी भाडा असुलेमा जरिवानाको व्यवस्था गरिए पनि प्रभावकारी अनुगमन नहुँदा यात्रुहरू ठगिने क्रम जारी रहेको छ । 

auto-birendranagar

अटोरिक्सा व्यवसायीहरू पनि आर्थिक चुनौतीमा देखिएका छन् । सर्वेक्षणमा सहभागीमध्ये ७४ प्रतिशत चालकको दैनिक आम्दानी  १५०० भन्दा कम रहेको बताएका छन् । नगर बस सञ्चालनमा आएमा रोजगारी र आम्दानी गुम्ने डरले उनीहरू चिन्तित छन् र सरकारबाट वैकल्पिक रोजगारी वा आर्थिक सहयोगको अपेक्षा गरेका छन् ।

नगरबसको माग

वीरेन्द्रनगर पछिल्लो एक दशकमा सबैभन्दा धेरै विकसित र उचाइ लिएको सहर हो । तर, यहाँ अहिलेसम्म नगरबससमेत छैन । वीरेन्द्रनगरका बासिन्दाहरू नगर बस सेवाको आवश्यकताप्रति अत्यन्त सकारात्मक देखिएका छन् । 

कुल प्रतिक्रियामध्ये ७२.८२ प्रतिशले तुरुन्त नगर बस किनेर नगरपालिकाले सञ्चालन गर्नुपर्छ भनेका छन् । यसको मुख्य कारणहरूमा विद्यार्थीका लागि सहजता (६३ प्रतिशत), भाडा कम हुनु (६१ प्रतिशत), सुरक्षित र व्यवस्थित सेवा प्रदान गर्न (४७ प्रतिशत), भिड कम गर्न (३७ प्रतिशत), र महिला, वृद्ध तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि मैत्रीपूर्ण सेवा दिन (३६ प्रतिशत) पर्दछन् । 

यसले नगरपालिका आफैंले अग्रसरता लिएर नगर बस सेवा सुरु गर्नुपर्छ भन्ने जनचाहना बलियो रहेको देखाउँछ । वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले चालु आर्थिक वर्षभित्रै नगरबस सञ्चालनबारे नगरपालिकाले तयारी थालेको रातोपाटीलाई बताइन् । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै उक्त विषय प्रमुखताका साथ राखिएको छ ।

दुई वर्षअघि निजी क्षेत्रबाट नै नगरबस सेवा सुरु गरिएको थियो, तर करिब चार महिनासम्म सञ्चालनमा आए पनि निरन्तरता पाउन सकेन । यसको मुख्य कारणहरूमा कानुनी जटिलता, बाटो इजाजतपत्रको अभाव, सञ्चालन तथा व्यवस्थापन खर्चको तुलनामा नाफा कम, अटोरिक्सासँगको मूल्य प्रतिस्पर्धा अभाव तथा पहुँचयोग्यता कमजोर हुनुलाई देखाइएको छ ।  

auttooo

यसरी गर्न सकिन्छ सार्वजनिक यातायातलाई व्यवस्थित

अध्ययनले वीरेन्द्रनगरको सार्वजनिक यातायात सुधार र दिगो सहरी व्यवस्थापनका लागि सुझावहरू दिएको छ । 

पहिलो सुझाव वैज्ञानिक रुट र भाडा निर्धारण गर्नुपर्ने हुन्छ । ‘सहरको आवश्यकता अनुसार बस र अटोरिक्साका लागि वैज्ञानिक (माग तथा सडकको क्षमता एवं ट्राफिक समस्यामा आधारित) रुट निर्धारण गरी पारदर्शी र एकीकृत भाडा दर लागू गर्न (मिटर सिस्टम सहित)सकिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

यस्तै व्यवस्थित बस स्टप, प्रतीक्षालय निर्माण गर्ने र सडक सञ्जालको स्तरोन्नति गर्नुपर्ने कुरा पनि उल्लेख छ । साथै सवारी साधनको नियमित प्राविधिक चेकजाँच गर्ने, चालकहरूको लाइसेन्स, सवारी दर्ता तथा बीमाको अनुगमन गर्ने, ट्राफिक नियम, सार्वजनिक यातायातको प्रयोगका फाइदा र असल व्यवहारबारे चालक तथा यात्रुमा जनचेतना फैलाउने कामहरू गर्न आवश्यक छ । 

‘सार्वजनिक सवारीका चालक र सहचालकका लागि स्पष्ट आचारसंहिता निर्माण गरी त्यसको कडाइका साथ पालना गराउने (यात्रुसँगको व्यवहार, सरसफाइ, पोसाक आदि),’ प्रतिवेदनले भन्छ । यी सबै कामहरू एक वर्षभित्रमा नै गर्न सकिने सुझाव प्रतिवेदनले दिएको छ । 

मध्यमकालीन सुधारअन्तर्गत नगर बसले समेट्न नसक्ने भित्री सडक र सहायक रुटहरूमा अटोरिक्सालाई मात्र सञ्चालनका लागि निश्चित क्षेत्र/रुट तोक्न आवश्यक छ, यसले अटोरिक्साको विशिष्टतालाई उपयोग गर्दै उनीहरूको रोजगारीलाई सुनिश्चित गर्ने र बस तथा अटोरिक्सा दुवैको पूरक भूमिका स्थापित गर्ने प्रतिवेदनमा उल्लेख छ । 

यस्तै, अटोरिक्सा व्यवसायीहरूलाई नयाँ व्यवसायमा लाग्न वा सवारी स्तरोन्नति गर्न सहुलियतपूर्ण ऋण वा अनुदानको व्यवस्था गर्ने, रुट, बस/अटोरिक्साको आगमन समय तालिका, भाडा दर र गुनासो सुन्ने संयन्त्रसहितको मोबाइल एप विकास गर्ने र नगदविहीन कारोबारलाई प्रोत्साहन गर्न कार्ड, क्युआर कोड वा मोबाइल बैंकिङमार्फत भाडा भुक्तानी गर्ने प्रणाली प्रोत्साहित गर्ने जस्ता कार्यहरू गर्न सकिने सुझाव प्रतिवेदनमा छन् ।

autophoto

दीर्घकालीन सुधार सुझाव अन्तर्गत वीरेन्द्रनगरको आवश्यकतालाई सम्बोधन गर्न स्थानीय यातायात ऐन तथा नियमावली तर्जुमा गरी सो अनुसार काम गर्ने, दीर्घकालीन रूपमा डिजेल/पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न प्रोत्साहन गर्ने र सार्वजनिक यातायात प्रणालीको नियमित कार्यसम्पादनको अनुगमन गरी आवधिक प्रतिवेदन सार्वजनिक गर्ने लगायतका सुझावहरू छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप