बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निजी अस्पतालका नर्सको आन्दोलनमा सरकारी नर्सको ऐक्यबद्धता

बुधबार, १२ कात्तिक २०८२, १७ : ३७
बुधबार, १२ कात्तिक २०८२

पोखरा । निजी अस्पतालका नर्सहरूले उचित पारिश्रमिक माग गर्दै थालेको आन्दोलनलाई सरकारी अस्पतालका नर्सहरूले पनि ऐक्यबद्धता जनाएका छन् । 

बुधबार पोखराको पश्चिमाञ्चल अस्पतालका नर्सहरूले निजी अस्पताल र मेडिकल कलेजका नर्सहरूलाई उचित पारिश्रमिकको माग गर्दै २ घण्टा प्रदर्शन गरे ।

बिहान १० देखि १२ बजेसम्म आपत्कालीन र आईसीयू बाहेकका सेवा रोकेर सरकारी अस्पतालमा कार्यरत नर्सहरूले निजी अस्पतालका नर्सको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् । 

उनीहरुले अस्पताल परिसरमै नारा लगाएका थिए । पोखराको मणिपाल शिक्षण अस्पतालबाट सुरु भएको आन्दोलन पोखराका विभिन्न निजी अस्पताल हुँदै अहिले देशव्यापी बनेको छ ।

अहिले पोखराका मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, चरक मेमोरियल अस्पतालमा सेवा पूर्ण प्रभावित भएको छ भने सरकारी अस्पतालमा पनि समस्या सुरु भएको छ । 

श्रम शोषण गर्न पाइँदैन, नर्सको तलब वृद्धि गर, सरकारी दररेट अनुसार तलब देऊ लगायत नारा लगाएर पश्चिमाञ्चल अस्पतालका नर्सले प्रदर्शन गरेका हुन् ।

नेपाल नर्सिङ सङ्घले आन्दोलनको नेतृत्व लिँदै सरकारलाई कात्तिक १८ गतेभित्र माग सम्बोधन गर्न अल्टिमेटम समेत दिइसकिएको छ । 

सङ्घको निर्णयअनुसार नै हाल दैनिक बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द राख्ने कार्यक्रम चलिरहेको छ । 

तर निजी अस्पताल र मेडिकल कलेज सञ्चालकहरू स्वास्थ्य मन्त्रालयले तोकेको तलब दिन नसक्ने बताइरहेका छन् ।

निजी अस्पतालहरूको छाता संस्था अफिन गण्डकीले पत्रकार सम्मेलन गरेर श्रम ऐन कार्यान्वयन गरिरहेको तर स्वास्थ्य मन्त्रालयको परिपत्र स्विकार्न नसकिने प्रतिक्रिया दिएको थियो ।

स्वास्थ्य मन्त्रालयले न्यूनतम नासु सरहको तलब दिन भन्दै अस्पतालहरूमा परिपत्र पठाएको थियो । त्यसपछि तहगत रूपमा छुट्टाछुट्टै तलब स्केल तोकिएको छ ।

नर्सहरूको मागबारे अध्ययन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । समितिले सातै प्रदेशमा कार्यदल बनाएर अवस्थाको मूल्याङ्कन गर्न र दीर्घकालीन समाधानका सिफारिससहित प्रतिवेदन पेस गर्ने तयारी गरेको बताइएको छ । 

नर्सिङ सङ्घले कात्तिक १८ भित्रपनि माग सम्बोधन नभए देशभरका नर्सले सेवा पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप