महोत्तरीमा तीन दिनसम्म भारी वर्षाको सम्भावना, प्रशासनले जारी गर्यो उच्च सतर्कता निर्देशन
सारांश
- महोत्तरी जिल्लामा भारी वर्षाको सम्भावना रहेको भन्दै प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
- बाढी र डुबानको जोखिमलाई ध्यानमा राख्दै, प्रशासनले सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
- प्रशासनले नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन र कृषकहरूलाई धानबाली भित्र्याउन अनुरोध गरेको छ।
जनकपुरधाम । महोत्तरी जिल्लामा आगामी शनिवारसम्म लगातार भारी वर्षा हुने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चेतावनी उद्धृत गर्दै प्रशासनले बाढी र डुबानको सम्भावनालाई ध्यानमा राखी सम्पूर्ण निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी सञ्जय कुमार पोखरेलद्वारा जारी सूचनामा भनिएको छ, ‘कात्तिक १३ देखि १५ गतेसम्म जिल्लामा लगातार वर्षा हुने पूर्वानुमान भएकाले जनजीवन र सम्पत्तिमा जोखिम हुन नदिन सावधानी अपनाउन आवश्यक छ ।’
सूचनामा नदी किनार र तटीय बस्तीका बासिन्दालाई विशेष सतर्कता अपनाउन, डुबान हुने सम्भावित क्षेत्रका घरपरिवारलाई सुरक्षित स्थानमा जान तयारी गर्न अनुरोध गरिएको छ । प्रशासनले आवश्यक परे स्थानीय तहहरूले यसअघि पहिचान गरेका अस्थायी सुरक्षित स्थानहरू प्रयोगमा ल्याउन सक्ने जनाएको छ ।
सवारी साधन र यात्रुहरूको सुरक्षाका लागि पनि प्रशासनले सावधानी अपनाउन आग्रह गरेको छ । भारी वर्षाको बेला सडक जोखिमपूर्ण बन्न सक्ने भएकाले अत्यावश्यक कारणबाहेक बाहिर नजान र विशेषगरी राति यात्रा नगर्न सुझाव दिइएको छ । त्यस्तै, जोखिमपूर्ण ठाउँमा सवारी रोक्न सुरक्षाकर्मीले आवश्यक ठानेमा तुरुन्त कदम चाल्न सक्ने व्यवस्था गरिएको छ ।
कृषकहरूलाई लक्षित गर्दै प्रशासनले खेतबारीमा बाँकी धान र बालीहरू तुरुन्त भित्र्याउन अनुरोध गरेको छ ।
प्रशासनले जिल्ला स्तरीय सबै कार्यालय, स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला संस्थाहरूलाई विपद् न्यूनीकरणका स्वीकृत कार्ययोजना अनुसार तयारी अवस्थामा रहन निर्देशन दिएको छ । ‘सम्भावित जोखिम न्यूनीकरणका लागि सबै निकायबिच समन्वयात्मक रूपमा कार्य गर्नुपर्ने अवस्था आएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले भने ।
महोत्तरी जिल्लामा हरेक वर्ष मनसुन र पछिल्ला मौसमी वर्षाका समयमा बाढी र डुबानका कारण जनधनको क्षति हुने गरेको छ । यस पटकको भारी वर्षाको चेतावनीपछि स्थानीय तह र सुरक्षा निकायहरूले पनि सतर्कता बढाएका छन् ।
सुरक्षाकर्मीहरूलाई सम्भावित जोखिम क्षेत्रमा पूर्वतयारीका साथ परिचालन गर्ने तयारी भइरहेको प्रशासनले जनाएको छ । जनताको सुरक्षालाई प्राथमिकता दिँदै प्रशासनले सबैलाई सचेत र सतर्क रहन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी तेल ट्याङ्करहरू अमेरिकी नाकाबन्दी क्षेत्रबाट बाहिर निस्कन थाले
-
अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण, पछिल्लो आक्रमणमा १ जनाको मृत्यु
-
बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल
-
मस्कको एक्सएआई विरुद्धको मुद्दा रोक्न खोज्दैछ ट्रम्प प्रशासन
-
कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण
-
रास्वपा ‘गैरदलीय स्थानीय तह’बाट पछि हट्ने सम्भावना छ : खिमलाल देवकोटा (भिडियोसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण