इरानी तेल ट्याङ्करहरू अमेरिकी नाकाबन्दी क्षेत्रबाट बाहिर निस्कन थाले
अमेरिका र इरानबीच शान्ति सम्झौताका अन्तिम वार्ता सुरु हुन दुई दिन बाँकी रहँदा इरानी तेल ट्याङ्करहरू अमेरिकी नाकाबन्दी क्षेत्रबाट बाहिर निस्कन थालेका छन् । यसलाई दुई महिनापछि इरानको पहिलो कच्चा तेल निर्यातका रूपमा हेरिएको छ भने मध्यपूर्वमा तनाव कम हुने अपेक्षा बढेसँगै विश्व तेल बजारमा पनि यसको प्रभाव परेको छ ।
हर्मुज जलघाँटी पुनः सञ्चालनमा आएको सङ्केत पाएसँगै अन्तर्राष्ट्रिय तेल मूल्य घटेको छ । यहीबीच शुक्रबार स्विट्जरल्यान्डको बर्गेनस्टक पर्वतीय रिसोर्टमा अमेरिका र इरानबीच अन्तिम सम्झौतासम्बन्धी वार्ता सुरु हुने तयारी भइरहेको छ । वार्तामा इरानको आणविक कार्यक्रम र अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने विषय मुख्य एजेन्डाका रूपमा रहने बताइएको छ ।
तेल ढुवानी अनुगमन गर्ने ‘ट्याङ्करट्र्याकर’ वेबसाइटले स्याटेलाइट तस्बिर र डिजिटल ट्र्याकिङ तथ्याङ्कका आधारमा कम्तीमा दुई इरानी सुपरट्याङ्कर अमेरिकी नौसैनिक नाकाबन्दी क्षेत्रबाट बाहिरिएको जनाएको छ । ‘डिओना’ र ‘हिरो–२’ नामका ती ट्याङ्करमा संयुक्त रूपमा करिब ३८ लाख ब्यारेल इरानी कच्चा तेल रहेको बताइएको छ । पछि तेस्रो ट्याङ्कर पनि बाहिरिएको जानकारी सार्वजनिक गरिएको थियो ।
अधिकारीहरूका अनुसार प्रारम्भिक सहमतिपछि सुरु हुने ६० दिने वार्ताले इरानको आणविक कार्यक्रमको भविष्य र आर्थिक प्रतिबन्ध हटाउने प्रक्रियाबारे अन्तिम निर्णय गर्नेछ ।
अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले सम्झौतासँग परिचित स्रोतहरूलाई उद्धृत गर्दै युद्ध अन्त्यसम्बन्धी सहमतिअन्तर्गत अमेरिकाले इरानलाई तत्काल तेल तथा इन्धन बिक्री गर्न अनुमति दिने जनाएको छ । प्रतिबन्ध खुकुलो पार्ने व्यवस्थामा बैंकिङ, यातायात र बिमा सेवा पनि समेटिने बताइएको छ ।
यद्यपि अमेरिकाभित्रै सम्झौताप्रति मिश्रित प्रतिक्रिया देखिएको छ । केही रिपब्लिकन सांसदहरूले ट्रम्प प्रशासनसँग सम्झौताको पूर्ण पाठ र विस्तृत जानकारी माग गरेका छन् । सिनेटका बहुमत नेता जोन थुनले सम्झौताको वास्तविक स्वरूप बुझ्न आवश्यक रहेको बताए ।
तर शान्ति प्रक्रियामाथि क्षेत्रीय तनाव अझै कायमै छ । इजरायली सेनाले दक्षिण लेबनानमा आफ्ना कारबाही जारी रहेको जनाएको छ भने रकेट प्रहार रोकिएको र प्रक्षेपण स्थलमाथि हवाई आक्रमण गरिएको दाबी गरेको छ ।
लेबनानको सरकारी समाचार संस्थाका अनुसार मेफादुन र सुकिन क्षेत्रमा भएका आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ । त्यसपछि इरानको केन्द्रीय सैन्य कमान्डले इजरायललाई ‘कठोर प्रतिक्रिया’ को चेतावनी दिएको छ ।
एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भान्स, इरानका उपविदेश मन्त्री माजिद तख्त–राभान्ची र शीर्ष वार्ताकार मोहम्मद बाघेर घालीबाफले प्रारम्भिक ढाँचा सम्झौतामा विद्युतीय हस्ताक्षर गरिसकेका छन् ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले शुक्रबारदेखि इरान र अमेरिकाबीच नयाँ चरणको वार्ता सुरु हुने जानकारी दिँदै अन्तिम सम्झौतामा आणविक मुद्दा र प्रतिबन्ध हटाउने विषयमा निर्णय हुने बताए ।
हर्मुज पुनः खुल्ने अपेक्षाले विश्व बजारमा तेलको मूल्य घटेको छ । अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ७८.७४ डलरमा झरेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियेट ७५.८५ डलर प्रतिब्यारेलमा कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धवलसँग पार्टी गठनको पूर्वसन्ध्यामा दुर्गा प्रसाईँ नेतृत्वको महाअभियान छलफलमा
-
क्षयरोगका बिरामी खोज्दै टीकापुर नगरपालिका
-
५७ वर्षे नेविसंघको आयु कति ?
-
अमेरिका–इरान सम्झौता घोषणपछि लेबनानका विस्थापितहरूको स्वदेश फिर्ती सुरु : राष्ट्रसङ्घ
-
राममन्दिर गुठीको तीस रोपनी जग्गा अतिक्रमणमा
-
युद्ध अन्त्य भएपनि पेट्रोलियम पदार्थसहितको मूल्यवृद्धि सामान्य हुन महिनौँ लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण